Friday, May 30, 2014

‘डन’ बन्ने रहर

(दीपेन्द्र राई)

पारिवारिक कलह, गरिबी, अशिक्षा र सामाजिक भेदभावका कारण घर छाडेर सडकमा आइपुगेका बालबालिका नेपालमा कति होलान् ? उनीहरू कसरी बाँचिरहेका छन् । सडक बालबालिकासम्बन्धी ११ वर्षदेखि काम गर्दै आएको सीपीसीएस नामक संस्थाले हालै तयार पारेको प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकामा ६ सय १९ र उपत्यकाबाहिरका जिल्लामा पाँच सय ४० सडक बालबालिका रहेका छन् ।

सडक बालबालिका सडकसम्म आउनुका कारण सम्बन्धित बालबालिका जन्मे, हुर्केको समाज जिम्मेवार हुन्छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत बालबालिका विभिन्न बहानामा घरबाट सडकसम्म आइपुगेका हुन् भने २ प्रतिशत हराएर घरपरिवार र आफन्तसँग टाढिएका हुन् । तर, १६ प्रतिशत सडक बालबालिका भने आफन्तसँगै सडकमा बस्ने गर्छन् । 
सीपीसीएसका कार्यक्रम संयोजक नवराज पोखरेलले सडक बालबालिका सडकमै आइपुग्नु र उनीहरू सडकमै रमाउनुको कारणबारे गहिरो अध्ययन गरेका छन् । काठमाडौँ उपत्यका, धरान, इटहरी, विराटनगर, हेटौँडा, नारायणगढ, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी, पोखरालगायत सहरी क्षेत्रका सडकमा रहेका नौदेखि १८ वर्षसम्मका तीन सय दुई बालबालिका र युवासँग प्रत्यक्ष्य अन्तक्र्रियामा सहभागीमध्येका एक पोखरेल सडक बालबालिका सडकमै आउनु र रमाउनुका कारणबारे भन्छन्, ‘३३ प्रतिशत बालबालिका पैसा कमाउन, ३ प्रतिशत मीठो भात खान, २४ प्रतिशत साथीको लहैलहैमा र १० प्रतिशत बालबालिका खाना खोज्दै र १ प्रतिशत राजनीतिक कारण देखाउँदै सडकमा आइपुगेका हुन् ।’ 
अपवादबाहेक प्रत्येक सडक बालबालिका जीविकोपार्जनका लागि केही न केही काम गर्ने गर्छन् ? मागेर गुजारा चलाउन पनि छन् । प्रतिवेदनले भनेको छ, ‘सडकमा आइपुगेका ५३ प्रतिशत बालबालिकाले प्लास्टिक र थोत्रा सामान खोज्ने गर्छन् । ४ प्रतिशतले सार्वजनिक यातायातमा ‘खलासी’ काम गर्छन् भने ८ प्रतिशतले सडकमै व्यापार गर्ने गर्छन् । त्यस्तै, १२ प्रतिशत सडक बालबालिकाले राति–राति थोत्रा सामान खोज्ने गरेका छन् भने ५० प्रतिशतले दिनभरि र कहिलेकाहीँ रातिसमेत थोत्रा सामान खोज्ने गर्छन् । उनीहरूले दैनिक ५० देखि पाँच सय रुपियाँसम्म कमाउने गर्छन् । उनीहरूमध्ये ३८ प्रतिशतले कमाएको रुपियाँ जोगाएर घरपरिवार र आफन्त भेट्न जाने गरेका छन् । २१ प्रतिशतले सडकमा मागेर गुजारा चलाउँदै आएका छन् ।’

प्रत्येक सडक बालबालिकाको इच्छा, आकांक्षा फरक–फरक छन् । उनीहरूमध्ये कोही डाक्टर, प्रहरी, ड्राइभर त कोही असल नागरिक बन्न चाहन्छन् भने ‘डन’ बन्छु भन्ने पनि कम छैनन् । प्रतिवेदनमा उल्लेख छ, ‘९ प्रतिशत सडक बालबालिका डाक्टर बन्न चाहन्छन् । ९ प्रतिशतले प्रहरी बन्ने चाहना व्यक्त गरेका छन् । २६ प्रतिशतले ड्राइभर बन्ने सपना देखेका छन् । १६ प्रतिशतलाई असल नागरिक बन्ने रहर छ । २ प्रतिशतले ‘डन’ बन्ने भनेका छन् ।’
भनिन्छ, ‘सपना ठूलै देख्नू ।’ पूरा भए पनि नभए पनि कतिपय सडक बालबालिकाले ठूलै सपना देखेका छन् । सडक बालबालिका आफूले देखेको सपना पूरा होला नहोला तर २ प्रतिशत सडक बालबालिकाको ‘डन’ बन्छु भन्ने अभिव्यक्तिले डरलाग्दो संकेत गरेको छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग उपप्राध्यापक सुमाया राई भन्छिन्, ‘सडक बालबालिकाले ‘डन’ बन्न खोज्ने अभिव्यक्ति दिनु भनेको डरलाग्दो संकेत हो । उनीहरूले टीभी तथा विभिन्न फिल्म हेर्न गर्छन् । टीभी तथा फिल्ममा ‘डन’ बनेमा पैसा खेलाउन, मान्छेलाई तर्साउन पाइन्छ भनेर देखेका हुन्छन् । तसर्थ, उनीहरू ‘डन’ बन्न चाहेका हुन सक्छन् ।’
‘सडक बालबालिकाले कुन सही, कुन गलत हो भनेर छुट्याउन सक्दैनन् । सही मार्गदर्शन दिने अभिभावक नभएपछि उनीहरू ‘डन’ बन्न खोज्छन्,’ उपप्राध्यापक राई भन्छिन्, ‘यसलाई निप्टारा लगाउन सकिएन भने भोलि अराजक समूह बढ्दै जानेछ । जसले सभ्य समाज निर्माणमा अवरोध पुर्याउँछ ।’

यसैगरी, अधिकांश सडक बालबालिका कुलतमा फसेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार ८३ प्रतिशत बालबालिकाले चुरोट पिउने गरेका छन् भने ४५ प्रतिशतले रक्सी, ७६ प्रतिशतले डेनड्राइट र ४३ प्रतिशत सडक बालबालिका कुनै न कुनै कुलतमा फसेका छन् । ७४ प्रतिशतले भने अश्लील चलचित्र हेरेको, ४७ प्रतिशतले हस्तमैथुन गर्ने गरेको र ४५ प्रतिशतले आफूहरू यौनजन्य काममा संलग्न रहेको उल्लेख छ । 
सडक बालबालिकाको दिनचर्या सहज छैन । उनीहरूले विभिन्न किसिमका दुव्र्यवहार भोग्दै आएका छन् । आफूहरू समाज, सरकार र प्रहरीबाट समेत शोषित हुने गरेका उनीहरूले बताएका छन् । प्रतिवेदनले भनेको छ, ‘६३ प्रतिशत बालबालिका आफन्तकै दुव्र्यवहारमा परेका छन् । कतिपय भने आफू आश्रित संघ–संस्थाबाटै शारीरिक र मानसिक दुव्र्यवहार पाउने गरेका छन । प्रतिवदेनअनुसार ८२ प्रतिशत बालबालिका प्रहरीको यातना पाउने गरेका छन् । आखिर उनीहरूलाई किन यातना दिइन्छ ? पूर्वप्रहरी प्रवक्ता केशव अधिकारी भन्छन्, ‘सडक बालबालिकालाई यातना दिनै मिल्दैन । उनीहरूलाई यातना दिन कानुनमै वर्जित छ । समाजबाट हेपिएका, थिचिएका उनीहरूलाई नै ‘टार्गेट’ गरेर प्रहरीले कहिल्यै यातना दिँदैन ।’ 
यदाकदा सम्बन्धित घरधनी, पसलेले सिकायत गर्दा उनीहरूलाई तर्साएजस्तो गरेर सचेत गराउने गरिएको पूर्वप्रहरी प्रवक्ता अधिकारीको स्विकारोक्ति छ । उनी भन्छन्, ‘सडक बालबालिका सानातिना चोरीमा संलग्न हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूसँग प्रहरी सम्पर्कमा रहन्छन् ।’ प्रतिवेदनमा १९ प्रतिशत बालबालिका खानका लागि चोर्ने गरेको उल्लेख छ । यात्रुलाई पैसा मागेर सवारीसाधन ‘जाम’ गर्दा र आन्दोलनताका भीडभाड तितरबितर गरेकोबाहेक सडक बालबालिकालाई यातना नदिएको अधिकारी बताउँछन् ।

No comments:

Post a Comment