Tuesday, May 6, 2014

रोजीको रहर

(दीपेन्द्र राई)


रोजी खालिङ
तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर जोकोही बालबालिकालाई सोधियो भने उनीहरूले ‘रेडिमेड’ उत्तर दिने गर्छन्, ‘म डाक्टर, इन्जिनियर, पाइलट बन्छु ।’ यही प्रश्न १० वर्षीया रोजी खालिङलाई सोध्दा उनले भनिन्, ‘म पर्वतारोही बन्छु ।’

काठमाडौँको बाँसबारीमा रहेको चाँद वाग स्कुलमा कक्षा पाँचमा अध्ययनरत खालिङ वाल क्लाम्बिङ गर्न औधी मन पराउँछिन् । उनले नर्सरी पढ्न थालेदेखि नै वाल क्लाम्बिङ गर्न थालेकी हुन् । वाल क्लाम्बिङ गर्नु भनेको साहसिक र जोखिमपूर्ण काम हो ।

रोजीको बुवा धन खालिङ राई ट्रेकिङ व्यवसायी हुन् । उनले ६ हजार मिटरसम्मको पाँचवटा हिमालको ‘ट्रेकिङ पिक’ गरिसकेका छन् । आधार शिविरबाट एकै दिनमा सम्बन्धित हिमाल चढेर आधार शिविरसम्म फर्कनुलाई ‘ट्रेकिङ पिक’ भनिन्छ । धन आफूले प्रत्येकपटक पर्वतारोहण गर्दाको सफलता परिवारलाई सुनाउँछन् । बुवाको सफलताको कथा सुन्दासुन्दै रोजीलाई पर्वतारोहणप्रति चाख लागेको
हो । त्यसपछि रोजी आफू बसेको घरको झ्यालको ग्रीलमा नाइलनको डोरी अल्झाएर कम्मरमा टेपसिलिन (माथि लैजाने तल झार्ने साधन) बाँधेर वाल क्लाम्बिङ गर्न थालिन् । उनी भन्छिन्, ‘मलाई पढ्नभन्दा क्लाम्बिङमा रुचि छ । तर पनि म पढाइलाई पनि त्यत्तिकै प्राथमिकता दिएकी छु ।’

धनले वाल क्लाम्बिङ गर्नु भनेको जोखिमपूर्ण काम हो भने पनि रोजीले नमानेपछि उनले छोरीलाई वाल क्लाम्बिङ गर्न सिकाए । रोजीले निरन्तरता दिइन् । उनले भनिन्, ‘मैले क्लाम्बिङ गर्न थालेपछि ममीले लड्छ–लड्छ भन्नुहुन्थ्यो तर मैले वाल क्लाम्बिङ गर्न छाडिनँ ।’ विद्यालय छुट्टीपछि घर पुगेर खाजा खाई एक घन्टा पढेपछि उनी सधैं वाल क्लाम्बिङ गर्न थाल्थिन् ।

रोजी चार वर्षअघि देखि पासाड ल्हामु फाउन्डेसन धुम्बाराही काठमाडौँ जान थालेकी हुन् । उनलाई ममी धनमाया खालिङ राईले त्यहाँ पुर्याउँछिन् । फाउन्डेसनमा वाल क्लाम्बिङसम्बन्धी आधारभूतदेखि विशेष कोर्ससमेत सिकाइन्छ । उनी सातामा दुई/तीनपटक त्यहाँ पुगेर वाल क्लाम्बिङ गर्छिन् । त्यहाँ रहेको वाल क्लाम्बिङ गर्न उनलाई आधा घन्टा लाग्छ । ‘सुरु–सुरुमा वाल क्लाम्बिङ गर्न निकै डर लाग्थ्यो । माथि पुगेपछि तल हेर्दा रिंगटा लाग्लाझैँ हुन्थ्यो । अहिले त बानी परिसक्यो,’ उनले भनिन् । फाउन्डेसनमा वाल क्लाम्बिङ गरेबापत एक सय ५० रुपैयाँ बुझाउनुपर्छ । तोकिएको रुपैयाँ बुझाएपछि दिनभरि वाल क्लाम्बिङ गर्न पाइन्छ । 

वाल क्लाम्बिङ गर्न जुत्ता, डोरी, सेफबेल्ट, हार्नेस, टेपसिलिन, सजिलोखालको लुगा र पीठो चाहिन्छ । क्लाम्बिङ गर्दा पसिना धेरै आयो भने पीठो दल्नुपर्ने उनले सुनाइन् । सुरु–सुरुमा वाल क्लाम्बिङ गर्दा स्टेप लिन गाह्रो भए पनि अहिले उनले जानिसकेकी छन् । स्टेप कसरी लिने, कुन ठाउँमा बिसाउने भनेर उनलाई अहिले सिकाइरहनु पर्दैन । 

१२/१३ वर्ष पुगेपछि मात्रै वाल क्लाम्बिङसम्बन्धी विशेष ‘कोर्स’ लिन पाइन्छ । रोजीले अबको तीन वर्षपछि मात्रै सो ‘कोर्स’ गर्न पाउँछिन् । अझ विशेष ‘कोर्स’ लिन चाहनेले फ्रान्स जानुपर्छ । विशेष ‘कोर्स’ पूरा गरेपछि हिमाल चढ्ने रोजीले बताइन् । 

रोजीको घर सोलुखुम्बुको टाक्सिन्दु हो । उनी बुवा, ममी र दिदीसँग समय–समयमा कहिले चिसापानी, कहिले शिवपुरी त कहिले ककनी र नगरकोटतिर घुम्न जान्छिन् । उनलाई चित्रकलाप्रति पनि रुचि छ । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उनी नाच्ने, गाउने गर्छिन् । उनको बुवाले गीत पनि लेख्ने गर्छन् । बुवाले लेखेको गीतमा उनी नाच्छिन् ।

No comments:

Post a Comment