Tuesday, May 6, 2014

छायाँमा पीडा

(दीपेन्द्र राई)

गोंगबुको बानियाँटारमा निर्माणाधीन एक घरको पर्खाल लगाउँदै गरेको अवस्थामा भेटिए– राम तामाङ र च्यान्टी तामाङ । राम र च्यान्टी श्रीमान्–श्रीमती हुन् । च्यान्टीले लगाएको पर्खाल रामले लगाएकोभन्दा कम्तीको देखिँदैनथ्यो । भिन्नता देखिन्थ्यो भने केवल पारिश्रमिकमा मात्रै ।

रामले त्यही काम गर्दा दैनिक आठ सय पारिश्रमिक पाउँछन् भने सोही काम गर्ने च्यान्टीले पाँच सय ५० रुपैयाँमै चित्त बुझाउनुपर्छ । कारण ? तामाङद्वयका ठेकेदार अशोक राईले भने, ‘राम डकर्मी हुन् । च्यान्टीचाहिँ डकर्मीका सहयोगीमात्रै । श्रीमान् डकर्मी र उसको सहयोगी श्रीमती भएकाले श्रीमान्ले गरेको काम च्यान्टीले हेरेरै जानेकी हुन् । जानेको काम स्वविवेकले गर्दै आएकीले बिस्तारै च्यान्टीको तबल पनि बढाउने विचार गरेको छु ।’ 

बानियाँटारकै निर्माणाधीन सोही घरमा काम गरिरहेकी सानु बुढाथोकीले पनि घरको पर्खाल लगाउन जानिसकेकी छन् । तर, उनले आधिकारिक रूपमा डकर्मीको काम सम्हालेकी छैनन् । त्यसैले पाँच सय ५० रुपैयाँमै उनले पनि चित्त बुझाउनुपरेको छ ।

काठमाडौं उपत्यकामा राम, च्यान्टी र सानुजस्ता निर्माणसम्बन्धी काम गरेर जीनव निर्वाह गर्ने प्रशस्तै भेटिन्छन् । पसिनाको गीत गाएर खानुको मज्जा आफ्नो ठाउँमा होला तर राम, च्यान्टी र सानुजस्ता अनौपचारिक श्रमिक (नियुक्तिपत्र नलिई अर्थात् डकर्मी, उसका सहयोगी, सहयोगी भन्नाले बालुवा चाल्ने, मसला बनाउने, इँटा बोक्ने काम गर्छन्) को पनि त समस्या होलान् ?

‘छन् नि किन नहुनु,’ मूलपानी, काठमाडौंनिवासी अर्जुन जीसीले सुनाए, ‘हामीजस्ता सोझासिधाले गरिखान मुस्किल छ ।’ किन ? अमिलो मन बनाउँदै उनी थप्छन्, ‘जम्मा तीन पढेको छु । दायाँ–बायाँ गर्न जान्दिनँ । सोझो तरिकाले काम गर्दासमेत दुःख पाइँदोरहेछ ।’

२५ वर्षदेखि डकर्मी काम गर्दै आएका जीसीले यत्तिका अवधिमा एक सयभन्दा धेरै घर बनाइसकेका छन् । आफूले बनाइदिएको घरमा सम्बन्धित परिवार हाँसीखुसी बसेको देखेका उनले फेरि दुःख पोखे, ‘तर, घर बनाइदिनेको पीडा घरधनीलाई थाहा छैन । थाहा छ भने केवल ठेकेदारलाई । कतिपय ठेकेदारले आफू सोझो हुनुको फाइदा उठाइ छाडे नि सर ।’

अर्जुनले डकर्मी काम गरेरै मूलपानीमा घर बनाएका छन् । एकताका डकर्मी काम गर्न दार्जिलिङसम्म पुगेका उनले उता र नेपालमा कमाएको रुपियाँमा थपथाप गरेर घर बनाएको सुनाए । डकर्मी काम गरेरै घर बनाउन सके पनि उनले आफूलाई काम गरेको पारिश्रमिक नदिने ठेकेदारलाई तह लगाउन सकेका छैनन् । आफूजस्ता निर्माणसम्बन्धी काम गर्नेको संघ–संगठन छ भनेको मात्रै सुनेका उनले श्रमिकमारा ठेकेदारलाई कसरी दण्डित गर्न सकिन्छ भन्नेचाहिँ थाहा पाएका छैनन् । 

काम लगाएपछि पारिश्रमिक नदिने ठेकेदारलाई कसरी दण्डित गर्न सकिन्छ ? अर्जुनले सोधीखोजीसमेत गरेका छैनन् । उनले दुःखेसो पोखिरहँदा उनीसँगै काम गरिरहेकीे लातुबुलुङ, दोलखाकी चन्डिका गुरुङले हामी महिला श्रमिकको समस्या सुनाउन मिल्छ मिल्दैन भन्दै सोधिन्, ‘डकर्मीका सहयोगी पुरुषले पाँच सय पारिश्रमिक पाउँदा महिलाले चार सय रुपियाँमात्रै पाउँछौं  किन होला ? महिलाले पुरुषजत्तिकै काम गर्न नसक्ने भएकाले नै हो कि ? एउटै काम गर्नेलाई पनि असमान तलब किन दिइन्छ ?’ 

निर्माणसम्बन्धीे बानियाँटार, काठमाडौंमा काम गर्ने डकर्मीका सहयोगीले पाँच सय ५० रुपियाँ पाए पनि यता काठमाडौंकै मूलपानीमा सोही काम गर्ने चन्डिकाले चार सय रुपियाँमात्रै पाउँदै आएकी छन् ।

जीसी र गुरुङको समस्या धेरैले भोगेका छन् । कतिपय अवस्थामा कतिपयको समस्यालाई निप्टारा लगाइएको होला तर धेरैजसोको समस्या समस्यामै सीमित छ । यस्तो किन हुन्छ ? अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष जय कार्की भन्छन्, ‘यस्तो समस्या अनौपचारिक श्रमिकमा मात्रै देखिएका छन् । निर्माणसम्बन्धी काम लगाउने सबै ठेकेदार सज्जन हुन्छन् भन्ने छैन । त्यसैले यस्ता समस्या समाधान बारम्बर दोहोरिइरन्छन् । तर, समस्या आउनसाथ सम्बन्धित जिल्लाका श्रमिकले सम्बन्धित जिल्ला विकास समिति, प्रमुख जिल्ला अधिकारी, गाउँ विकास समिति र श्रम विभागमा सिकायत गरे तुरुन्तै कारबाही हुन्छ ।’ सिकायत भएपछि समान काम गर्नेलाई पारिश्रमिक भेदभाव गरिएको छ भने तुरुन्त क्षतिपूर्ति भरिदिनुका साथै जसलाई ठेकेदारले काम लगाएर पनि पारिश्रमिक दिएको छैन, त्यस्ता ठेकेदारलाई पाँच हजार जरिवाना र कामदारको पारिश्रमिक उपलब्ध गराउन बाध्य पारिन्छ । 

अखिल नेपाल निर्माण मजदुर संघ अध्यक्ष रूपक गुरुङले निर्माणसम्बन्धी काम गर्ने श्रमिक आफू अन्यायमा परेको भन्दै संघमा सिकायत गर्नेको चाप बढेको जानकारी दिए । गुरुङले भने, ‘त्यस्तो सिकायत आउनसाथ अन्यायमा परेका श्रमिकलाई न्याय दिलाउन आफ्नो संघले ठेकेदारलाई दबाब दिएरै पनि समस्या समाधान गरेको छ ।’ 

समस्या असमान तलबका मात्रै रहेन । त्योबाहेकका समस्याले पनि गाँजेको छ– चन्डिका गुरुङलाई । ४० वर्षीया गुरुङले सुनाइन्, ‘पुरुषभन्दा महिला श्रमिकको समस्या धेरै छन् । कतिपय अवस्थामा पुरुषसरह काम गर्न खोजे पनि महिलाको स्वास्थ्यले साथ दिँदैन । गह्रौँ वस्तु उचाले पेट खस्छ । काम गर्नेक्रममा धेरैपटक मेरो पेट खसेको छ । पेट खसेमा साता दिन काममा जान सकिँदैन । नचाहेरै पनि आराम गर्नैपर्यो । साता दिन काममा नगएपछि आयस्रोत घट्ने नै भयो ।’

खानुसम्म गोता खाएपछि हिजोआज अर्जुन जीसी ठेकेदारमार्फत गर्दैनन् । उनले घर बनाउनेसँग सिधा सम्पर्क गरेर काम गर्न थालेका छन् । सिधा सम्पर्कमार्फत काम गरे फाइदा हुने उनको ठम्याइ छ । भने, ‘ठेकेदारमार्फत काम गर्दा भनेको समयमा पारिश्रमिक नपाउनुको पीडा आफ्नो ठाउँमा छ । साथै पारिश्रमिक पनि कमै पाइन्छ ।’ जीसीको उल्लिखित अभिव्यक्तिले श्रमिक र ठेकेदारबीचको सम्बन्ध सौहार्द छैन भन्ने बुझाउँछ । तर, ५१ जना कामदार परिचालन गर्दै आएका लेखर्क, भोजपुरका ठेकेदार अशोक राई भने ठेकेदार र श्रमिकबीचको सम्बन्ध सौहार्द हुनुपर्ने बताउँछन् । आठ दिनमात्रै डकर्मी काम गरेर सिधै ठेकेदार बनेका उनको तर्क छ, ‘ठेकेदार र श्रमिकबीच सम्बन्ध राम्रो भएन भने कुनै पनि योजना/परियोजना सोचेजस्तो सम्पन्न हुँदैन । कुनै पनि योजना सोचेजस्तो नभएपछि ठेकेदार बेइमानी ठहर्छ । त्यसको असर उसैलाई पर्ने हो ।’

नेपालका सन्दर्भमा घर बनाउने काममा लागेका श्रमिकले तीन महिनाजस्तो हात बाँधेरै बस्नुपर्ने हुन्छ । जीसीका अनुसार, असार, साउन र भदौभरि घर बनाउने काम त्यति हुँदैन । तीन महिना काम नभए पनि चन्डिका गुरुङलाई छैन । यो समयमा उनी कहिले ऊन डल्लो पार्ने काम गर्छिन् भने कहिले आलु खन्न जाने, बालुवा चाल्ने र भारी बोक्ने गर्छिन् । उनले भनाइ छ, ‘काम गर्छु भन्नेलाई काठमाडौंमा कामको खाँचो छैन ।’

No comments:

Post a Comment