Wednesday, May 21, 2014

सञ्चारमन्त्री रिजालको एक दिन

(दीपेन्द्र राई)

सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको एक दिन कसरी बित्ला ? मन्त्री रिजालका परिवार र स्वकीय सचिवभन्दा अरूलाई जानकारी हुने कुरै भएन । 

मन्त्री रिजाल बिहान कति बजे उठ्नुहुन्छ ? उहाँका स्वकीय सचिव जितेन्द्र ठकुरीले भने, ‘बिहान सवादेखि साढे पाँच बजे उठिसक्नुहुन्छ । उठेपछि इन्टरनेटमा बस्नुहुन्छ ।’ उनले करिब दुई घन्टा नेटमा बिताउँछन् । धेरैजसो नेपाली अनलाइन म्यागेजिन नै हेर्ने मन्त्री रिजालले तात्कालिक अवस्थामा देशमा कुनै पनि शीर्षकमा उठेका प्रश्न, बहस विकसित, अल्पविकसित र विकासोन्मुख देशमा कसरी विकसित भएका थिए भनेर तुलनात्मक अध्ययन गर्ने गर्छन् । 

‘पछिल्लो समय नेपालमा बुलन्द हुँदै गएको जातीय राज्य, जातीय मुद्दाबारे मन्त्रीज्यूले तथ्यांक तयार पार्नुभएको थियो,’ उदाहरण पेस गर्दै ठकुरीले जानकारी दिए, ‘एमाओवादीले प्रस्ताव गरेको प्रदेशमध्ये मगरातमा मगर जाति कति बस्छन् भनेर मन्त्रीज्यूले तथ्यांक संकलन गर्नुभएको थियो । कतै छलफल, बहस तथा भाषण गर्दा सो तथ्यांकले सम्बन्धित शीर्षकमा तर्क गर्न सजिलो बनाउँँदोरहेछ ।’ सदनमा कुनै शीर्षकमा बहस, छलफल हुनु स्वाभाविकै हो । सोबारे मन्त्रीले आफूलाई चाहिएको विषय नेटमै ‘सर्च’ गरेर जानकारी लिने गर्छन् । 

हिजोआज नेटले धेरैलाई काम गर्न सहज बनाइदिएको छ । मन्त्री रिजाल कुनै कार्यक्रममा जानु छ भने कार्यक्रमको प्रकृति हेरेर नेटबाटै ‘अपडेट’ हुन्छन् । ठकुरीले सुनाए, ‘उहाँ सञ्चारमन्त्री भएको हैसियतले भोलि नेपाली चलचित्र वा एफएम रेडियोको वार्षिकोत्सवमा जाँदै हुनुहुन्छ भने त्यसबारे नेटबाटै जानकारी
लिनुहुन्छ ।’ 

यति काम सकेपछि मन्त्री रिजालले १० देखि १५ मिनेटसम्म सर्सर्ती दैनिक पत्रिका हेर्ने गर्छन् । त्यतिबेलासम्म बिहानको साढे सात बजिसकेको हुन्छ । उनी बाथरुम जान्छन् । नुहाउँछन् । ‘त्यसपछि कार्यकर्ता भेटघाट सुरु हुन्छ,’ सञ्चारमन्त्रीका स्वकीय सचिव ठकुरीले प्रस्ट्याए, ‘यो मन्त्री क्वार्टरमा बस्दाको हकमा मात्रै लागू हुन्छ । बिहान कुनै पनि कार्यक्रममा जानुपर्ने छैन भने साढे सातदेखि साढे नौसम्म कार्यकर्ता भेटघाटका लागि समय दिनुहुन्छ । उहाँ सरकारका प्रवक्तासमेत भएकाले पनि मन्त्री क्वार्टरमा खाली बस्न पाउनुहुन्न ।’

यसैगरी, स्वकीय सचिवलगायत सहयोगीले मन्त्री रिजाललाई दिनभरि क–कसले फोन गरे, कतिले भेट्न खोजेका छन् नोट गरेका हुन्छन् । त्यसपछि महत्वका आधारमा ‘सर्ट लिस्ट’ बनाएर मन्त्रालयमा भेटघाट हुन नपाएकालाई क्वार्टरमै बोलाएर भेटघाट गराइन्छ । 

मन्त्री रिजाल १० बजे मन्त्रालय पुगिसक्छन् । बिहान कतै कार्यक्रम, बैठक पर्यो भनेचाहिँ समय अघि–पछि हुन्छ । नत्र कार्यालयीय समयमा उनी मन्त्रालय पुग्छन् ।

‘मन्त्रीज्यूले प्रायः बिहानको खाना खानुहुन्न,’ ठकुरीले भने, १२ बजेतिर दुई/तीन पिस डाइजेस्टिभ बिस्कुट र कफी पिउनुहुन्छ ।’ दैनिक चार कपसम्म चिया/कफी पिउने मन्त्रीले बिस्कुट र चिया पिउँदा कहिले साढे १२ बज्छ भने कहिलेकाहीँ त एक पनि बज्छ । त्यसपछि ? ठकुरीले सुनाए, ‘हामीले अगाडि नै कसैलाई मन्त्रीसँग भेटघाटका लागि समय दिएका छौँ भने भेटघाट गर्नुहुन्छ । तर, मन्त्रालय पस्दा भेटिहालौँ न त भन्नेले भेट्न नपाउन पनि सक्छन् किनकि उहाँले मन्त्रालयको कामलाई नै प्राथमिकता दिनुहुन्छ ।’ 
स्वकीय सचिव जितेन्द्र ठकुरी

कार्यालयीय कामबाट फुर्सद पाउनुभयो भने मन्त्री रिजाल नेटमै बस्ने गर्छन् । उनी बिहान, बेलुका सामाजिक सञ्जाल फेसबुक पनि खोल्ने गर्छन् । चाडबाडमा स्टाटससमेत लेख्न भ्याउने उनले आमाको मुख हेर्ने दिन आमाको फोटो राखेर स्टाटस लेखेका थिए । कहिलेकाहीँ आफ्नो बाल्यकालको फोटोसमेत राखेर स्टाटस लेख्ने उनी मन्त्रालयमै बसेर सकेसम्म अनलाइन म्यागेजिन हेर्ने गर्छन् । साथै रिजाललाई कसैले मेल गरेमा प्रेषकले तुरुन्त प्रतिउत्तर पाउँछन् । ठकुरीका अनुसार, नेटमा नहुँदा मोबाइलबाटै पनि उनको मेल गर्ने बानी छ । 

कतै, केही कार्यक्रम नभएको दिन उनी सिधै क्वार्टर फर्कन्छन् । पुगेपछि दिनभरि विभिन्न शीर्षकमा परेको निवेदनको ‘सर्ट लिस्ट’ बनाइन्छ । अनि दिनभरिको कामको समीक्षा पनि हुन्छ । मन्त्रालयमा भेटघाट गर्न नपाएका पार्टीसम्बद्ध नेता तथा अन्यलाई क्वार्टरमै बोलाएर भेटघाट गर्ने मन्त्री रिजालको योक्रम साढे आठ बजेसम्मै चल्छ । यदि उहाँ मन्त्रालयबाट सिधै क्वार्टर फर्कनुभएको अवस्थामा मात्रै यो रुटिनले काम गर्छ । पार्टीका जिम्मेवार नेता र बाहिर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताले बिहान भेट्न नपाए बेलुका क्वार्टरमै भेट्न पाउँछन् । 

‘बेलुका भने मन्त्रीज्यूले खाना खानुहुन्छ,’ स्वकीय सचिव जितेन्द्र ठकुरीले भने, ‘उहाँले नौ, सवा नौभित्र खाना खाइसक्नुहुन्छ । उहाँले दाल–भात, तरकारी मन पराउनुहुुन्छ । साग औधी मन पराउने उहाँले माछा, मासु भने त्यति रुचाउनुहुन्न । साता÷दस दिनमा एकपटक माछामासु खाने उहाँले मौसमअनुसारको फलफूल
खानुहुन्छ ।’ खाना खाइसकेपछि टीभी हेर्दाहेर्दै साढे १०/११ बजिसकेको हुन्छ । ११ बजेभित्र सञ्चारमन्त्री ओछ्यानमा पुगिसक्छन् ।

(प्रकाशित मिति : २०७१ जेठ ६)

No comments:

Post a Comment