(दीपेन्द्र राई)
चौध वर्ष । यो समय कतिलाई छोटो लाग्ला, कतिलाई लामो । काठमाडौं टेकेको १४ वर्षमा के–के गर्न
सकिएला ? जोकोहीलाई सजिलै उत्तर दिन गाह्रै पर्छ । यत्तिका अवधिमा सबैले आ–आफ्नै प्रकृतिका उन्नति गर्लान् । प्रगति गर्लान् ।
सकिएला ? जोकोहीलाई सजिलै उत्तर दिन गाह्रै पर्छ । यत्तिका अवधिमा सबैले आ–आफ्नै प्रकृतिका उन्नति गर्लान् । प्रगति गर्लान् ।
नाम्दु–१ दोलखाकी सविता उप्रेतीले १४ वर्षमै लोभलाग्दो प्रगति गरेकी छन् । उप्रेतीले प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर काठमाडौं टेकेको १४ वर्ष पूरा भएको छ । उनी ०५६ मा उच्चशिक्षा हासिल गर्न काठमाडौं टेकेकी हुन् । जुन उद्देश्यले काठमाडौं टेकिन्, त्यसले मूर्त रूप लियो । अहिले उनको हातमा समाशास्त्रमा स्नातकोत्तर गरेको प्रमाणपत्र छ । त्यतिमात्रै होइन, उनले समाजसेवी भन्ने परिचय पनि बनाएकी छन् ।
समाजसेवामा लाग्न जोकोहीले हिम्मत गर्दैनन्, त्यो पनि युवापुस्ताले । समाजसेवा गर्नु भनेको महिनाभरि काम गरेपछि सम्बन्धित कार्यालयले दिने तनखाजस्तो होइन । समाजसेवामा लाग्न फराकिलो छाती चाहिन्छ । सविता तिनै हिम्मतिला व्यक्ति हुन्, जसको छाती काठमाडौंको टुँडिखेलजस्तै छ ।
समाजशास्त्रमा स्नातकोत्तर गरेकाले राम्रै जागिर पाउँछन् । उनले पनि सरकारी तथा गैरसरकारी संघ–संस्थामा आकर्षक तलबसहित सम्मानित जागिर पाउँथिन् । त्यसमा दुईमत छैन । तर, उनलाई आकर्षक जागिरले तानेन । तसर्थ, स्नातकोत्तर पढ्दापढ्दै समाजसेवामा लागिन् ।
पढ्दै र पढाउँदै ‘करिअर’ बनाउन थालेकी उनले एकाएक शिक्षण पेसा छाडिन् । काठमाडौं पसेको वर्ष दिन अर्थात् ०५७ बाट काठमाडौंको जोरपाटीमा रहेको सरस्वती उच्चमाविबाट उनले अध्यापन थालेकी हुन् । ६ वर्षसम्म आफूले गरेको एउटै कामप्रति उनी सन्तुष्ट हुन सकिनन् ।
ढुंगा खोज्दा देउता मिलेझैं उनी समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय अपांग कोषको शारीरिक पुनस्र्थापना केन्द्रको व्यवस्थापन अधिकृत भइन् । यो ०६४ को कुरा हो । नजानिँदोपाराले सानैदेखि समाजसेवा गर्ने रहर पालेकी उनको रहरले फुल्ने, फल्ने मौका पायो । त्यसको प्रतिफल हो– विशेष स्कुल तथा पुनस्थार्पना केन्द्र । ०६७ मा स्थापित केन्द्र काठमाडौंको सिनामंगलमा रहेको छ ।
यो नेपालको पहिलो विशेष स्कुल हो । यहाँ शारीरिक तथा बौद्धिक रूपमा अपांगता भएको बालबालिकालाई पढाइन्छ । स्पेसल स्कुल फर डिसेबल एन्ड रिह्याबिटेसन सेन्टरकी संस्थापक तथा प्रबन्ध निर्देशक सविता उप्रेतीले भनिन्, ‘यहाँ अपांगताको प्रकृति हेरेर पाठ्यक्रम तयार गरी श्रव्य–दृश्य, कम्प्युटर तथा मन्टेश्वरी प्रणालीबाट शिक्षा प्रदान गरिन्छ ।’
विशेष स्कुलमा दुई तरिकाले अध्यापन गराइन्छ । यहाँ पढ्न चाहने १६ वर्षमुनिका शारीरिक रूपले अशक्त, मस्तिष्क पक्षघात भएका, बोल्न नसक्नेलगायत विद्यार्थीलाई अपांगताको प्रकृतिअनुसार विशेष प्रणालीद्वारा पढाइन्छ भने १६ वर्षमाथिका अपांगता भएका व्यक्तिलाई पनि विशेष शिक्षाको साथसाथै तालिमसमेत व्यवस्था गरिएको हुन्छ ।
‘यहाँ अध्ययनरत विद्यार्थीलाई खाना, खाजा र यातायातको व्यवस्था छ,’ सविताले सुनाइन्, ‘फिजियोथेरापी, अकुपेसनल थेरापी, स्पीच थेरापीका साथै नियमित स्वास्थ्यजाँच पनि गराइन्छ । स्कुल भर्ना भएकाबाहेक अपांगता भएका बालबालिकालाई पनि फिजियोथेरापी गराइन्छ ।’
अपांगता भएका बालबालिकालाई उनीहरूको बौद्धिक क्षमताअनुसार शिक्षा प्रदान गरिने यो स्कुलमा सर्वसाधारणले प्राप्त गर्ने शिक्षाजस्तो पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक शिक्षाजस्तो तह छुट्याएर पढाइँदैन । यहाँ श्रव्य–दृश्य, कम्प्युटर तथा मन्टेश्वरी प्रणालीबाट साधारण लेखपढ गर्न सक्ने तथा दैनिक काममा कसैको सहयोग नलिई आफैँ गर्न सक्ने क्षमता अभिवृद्धि गराई उनीहरूमा सक्षम र समाजमा पुनःस्थापना गराउने प्रयास गरिन्छ ।
भनिन्छ– पढ्न पाउनु सबैको अधिकार हो । यसो भनिए पनि नेपालमा अपांगता भएका बालबालिकाका लागि भनेर विशेष स्कुल खुलेका छैनन् । सविता उप्रेतीको एक्लो प्रयासमा सञ्चालित विशेष स्कुल तथा पुनस्थार्पना केन्द्र नेपालकै पहिलो हो । सरकारले गर्नुपर्ने काम उनी एक्लैले थालेकी छन् । भारतलगायत विभिन्न देशमा विशेष शिक्षाको व्यवस्था गरिएको हुन्छ । नेपालमा भने विशेष शिक्षासम्बन्धी नियम, कानुन बने पनि कानुनमै सीमित छ ।
नेपालमा विशेष शिक्षाको व्यवस्था न सरकारले गरेको छ न त निजी क्षेले नै । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी प्रिन्सिपलसमेत रहेकी सविताले गुनासो सुनाइन्, ‘यहाँको विशेष शिक्षा सर्वसाधारण विद्यार्थीले प्राप्त गर्ने शिक्षासँग गाभिएको छ । सरकारी तथा गैरसरकारी विद्यालयले अपांगता भएका बालबालिकालाई भर्ना लिनै हिच्किचाउ“छन् । धेरैजसोले त भर्ना लिँदै लिँदैनन् । भर्ना लिइहाले पनि उनीहरूले एउटै कक्षामा धेरै वर्ष झुन्डिनुपर्छ ।’
कारण ? उनले भनिन्, ‘अपांगता भएका विद्यार्थी विद्यालय जाँदा अस्पताल जान छुट्ने, अस्पताल गए पढाइ छुट्ने । त्यसो भएकाले उनीहरूलाई नर्मल स्कुलमा पढाउँदा एउटै कक्षामा वर्षाैं झुन्डिरहनुपर्छ । अपांगता भएकाको दुवै कामले निरन्तरता पाओस् भनेर मैले विशेष स्कुल खोलेकी हुँ ।’
उनको स्कुलमा विभिन्न प्रकृतिका अपांगता भएका ४० जना अध्ययनरत छन् । आफ्नै पहलमा थालिएको कामले उनलाई सन्तुष्टि मिलेको छ । भन्छिन्, ‘समाजसेवा गरेर मैले पैसा त कमाउँदिनँ तर आत्मसन्तुष्टि पाएकी छु । साथै मेरा विद्यार्थी, अभिभावक, स्टाफकोे न्यानो माया पाएकी छु । यो नै मेरा लागि अमूल्य सम्पत्ति हो ।’
अहिलेसम्म उनको कामप्रति कुनै दाताको आँखा परेको छैन । उनको कामलाई बुवा, आमा, दाजुभाइ, बहिनी अनि मावलीले सघाइरहेका छन् । ११ वर्षदेखि विभिन्न सञ्चारमाध्यमसँग सम्बद्ध उप्रेतीले अनुरोध गरिन्, ‘अपांगता भएका व्यक्तिलाई दया होइन अवसरको खाँचो छ । यदि उहाँहरूले समयमैै अवसर पाउनुभयो भने राष्ट्रका लागि अमूल्य योगदान दिन सक्नुहुनेछ । हामीले उहाँहरूलाई आ–आफ्नो क्षेत्रबाट अवसर दिन सकुँ ।’
आधा दर्जन सामाजिक संघ–संस्थामा रहेर काम गरेको अनुभवले उनलाई स्कुल सञ्चालन गर्न सजिलो भएको छ । साहित्यप्रति त्यत्तिकै रुचि राख्ने उनको तीन उपन्यास निकट भविष्यमा सार्वजनिक हुँदै छ । ११ वर्षमा उनले आधा दर्जन पत्रपत्रिका, टेलिभिजन र एफएम रेडियोमा काम गरेको अनुभव सँगालेकी छन् । त्यसैले उनी अलिकति समाजसेवी, अलिकति पत्रकार र अलिकति साहित्यका विद्यार्थी भई विभाजित भएर बाँचेकी छन् ।
raideependra@gmail.com
No comments:
Post a Comment