(दीपेन्द्र राई)
(दीपेन्द्र राई)काठमाडौं, २७ वैशाख । काठमाडौंमा जागिरभन्दा कोठा पाउन गाह्रो छ । जागिर त भनसुन गरेर पनि पाइएला तर कोठा पाउन त्यति सजिलो छैन । काठमाडौंको चर्को समस्यामध्ये कोठा पनि एक हो ।
कोठा पाइहाले पनि घरभेटी र डेरावालबीचको सम्बन्ध सौहार्द नहुँदा धेरैले धेरैखालका समस्या भोग्नुपरेको छ । तर, अपवादबाहेक यो समस्या कहिल्यै सार्वजनिक हुँदैनन् ।
‘जाडो भए घाम तापौँ, गर्मी भए शीतल तापौँ’ अभियानको दोस्रो शृंखलामा घरबेटी र डेरावालबीचको सम्बन्धबारे आज काठमाडौं रत्नपार्कको शान्तिवाटिकामा व्यापक छलफल भयो । चौकथ नेटवर्कको योे अभियान प्रत्येक दुई/दुई महिनामा हुने कला राईले बताइन् । आँगनलाई मैथिली भाषामा चौकथ भनिन्छ ।
प्रत्येक दुई/दुई महिनामा एक दिन दिउँसो १२ देखि तीन बजेसम्म प्रत्येक शृंखलामा फरक–फरक शीर्षकमा छलफल गरिन्छ । ‘पुरुषले त चिया खाँदाखाँदै पनि देश, काल, परिस्थितिलगायत विभिन्न शीर्षकमा गफ गर्न पाउँछन्,’ राईले सोधिन्, ‘हामी (महिला) लाई खोई समय ? हामीचाहिँ जहिल्यै भान्छामा सीमित ? त्यही भएर हामीले यो अभियान थालेका हौँ ।’ यो अभियान दुई महिनामा महिलाभित्र रहेका उकुस–मुकुससमेत पोख्ने माध्यम पनि हो ।
आजको शृंखलामा काठमाडौंमा पानी समस्या र संविधानसभामा मनोनीत हुन बाँकी २६ सभासद्बारे समेत छलफल भएको राईले जानकारी दिइन् । शृंखला–२ मा ३० भन्दा बढी महिलाको उपस्थिति रहेको थियो । तर, तीन घन्टाभित्र आउने जानेक्रम चलिरहेको देखिन्थ्यो ।
प्रत्येक शृंखलामा उपस्थिति जनाउनेले घरबाटै खाजा र पानी ल्याउने गर्छन् । जसकोमा जे छ त्यही खाजा बोक्ने गरिन्छ । जाडोको समयमा भए घाम ताप्दै र गर्मी भए शीतल ताप्दै अनि आफूले बोकेको खाजा खाँदै छलफल गरिने इन्दिरा घलेले बताइन् ।
चौकथले थालेको अभियानअन्तर्गत वैशाखमा ‘गर्मी भए घाम ताप, जाडो भए शीतल ताप’, जेठमा ‘किताबसम्बन्धी छलफल’ र असारमा ‘लिगल टक शो’ परेको छ । चौकथले दोस्रो संविधानसभा निर्वाचनअघि ‘भोट कसलाई नेतृलाई’ भनेर अभियान नै चलाएको थियो । उसले गएको मार्चभरि काठमाडौंको थापाथलीमा रहेको मार्टिन चौतारीमा ‘महिला वक्ता : महिलाकै सवाल’ समेत सञ्चालन गरेको थियो ।
(प्रकाशित मिति : २०७१ वैशाख २७ गते ।)
No comments:
Post a Comment