![]() |
हरिप्रसाद घर्ती र लीलाकुमारी घले । |
‘शक्ति–भक्ति सकिगो । औषधि खाऊँ पैसा छैन । घाम लागे बाहिर आएर सुत्छु । नलागे घरभित्रै,’ हरिप्रसाद घर्तीले आफ्नो दयनीय अवस्था सुनाए ।
काठमाडौंबाट खारा–७, जिवाङ रुकुम पुगेका सञ्चारकर्मीमाझ लीलाकुमारी घर्तीले भनिन्, ‘आँखा देख्दिनँ, दाँत पनि छैन । आँखा जचाऊँ पैसा छैन, दाँत हालूँ कहाँबाट खर्च जुटाउने ?’
८० वर्षीय हरिप्रसाद र ७० वर्षीया लीलाकुमारीको उल्लिखित बिलौना कसले सुनिदिने । तीन छोरामध्ये जेठो छोरा दौलत घर्ती ‘विजय’ र कान्छा रिमबहादुर घर्तीले सशस्त्र युद्धमा ज्यान गुमाएपछि घर्ती दम्पतीमाथि यो अवस्था आइलागेको हो । तात्कालिक पश्चिम सैन्य कमान्डर रहेका विजयले १ पुस २०५३ मा डोल्पाको त्रिवेणी र रिमबहादुरले रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा १९ चैत ०५७ मा ज्यान गुमाएका थिए ।
घर्ती दम्पतीका माइला छोरा खड्गबहादुर घर्ती खलंगा बस्दै आएका छन् भने हातपाउ लाग्ने विजयका छोरा–बुहारी र नाति–नातिनीसमेत तात्कालिक जनमुक्तिसेना (हाल : होइनन्) क्रियाशील थिए । त्यसो भएकाले घर्ती दम्पतीलाई बुढेसकालमा समेत दुःखले छाडेको छैन । हामी दुःखमै बाँचे पनि जाली–फटाहालाई तह लगाउन दुई छोराको शहादत त्यतिबेलाको आवश्यकता रहेको बताउँदै लीलाकुमारीले भनिन्, ‘छोराहरू बाँचेको भए जनताको सेवा गथ्र्यो । अनि हामीजस्ताको पनि ।’
![]() |
काठमाडौंबाट रुकुम पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै हरिप्रसाद घर्ती। |
छोराहरू सशस्त्र युद्धमा लागेको आरोपमा पाकेको भातसमेत खान नपाएको गुनासो गर्दै लीलाकुमारीले भनिन्, ‘हाम्रो घर जलाइदिए, भनेको समयमा खेतीपाती गर्न पाइएन, अन्नपानी जोगाउन पाइएन ।’ त्यतिबेला पाइएको यातनाले हिजोआज पनि तर्सिन्छन् घर्ती दम्पती । हरिप्रसादले दुईपटक प्रचण्डसँग भेटेका थिए । हरि सम्झन्छन्, ‘छोरा विजयको शोकसभामा प्रचण्डसँग नाचेको थिएँ ।’ श्रीमान्ले प्रचण्डसँग भेटेको प्रसंग टुंग्याउन नपाउँदै लीलाले थपिन्, ‘प्रचण्डले हाम्रो खेतबारीमा ट्याक्टरले जोतिदिने र हेलिकोप्टरले बीउ छरिदिन्छौं भनेका थिए । खै कहिले आउने हो, त्यो दिन । आस गरिबसेका छौं ।’
No comments:
Post a Comment