Saturday, May 3, 2014

‘म नेपाली संगीतको प्रतिष्ठान हुँ’

राजेशपायल राई युवापुस्ताका चर्चित गायक हुन् । गायक राईलाई उनका पुस्ताका कुनै गायकसँग तुलना गर्न सकिँदैन । उनको आवाजमा मौलिकपन छ । आफ्नैपन छ । त्यही भएर उनलाई नेपाली सांगीतिक क्षेत्रका सदावहार गायक भन्नेको बाहुल्य छ । उनले आफूलाई नेपाली संगीतका एक प्रतिष्ठान हुँ भन्ने जिकिर गर्दै आएका छन् ।
गायक राजेशपायल राईलाई १९ व्यक्तिले प्रश्न सोधका छन् । सोधिएको प्रश्नको उत्तर राजेशपायलले  दीपेन्द्र राईमार्फत दिएका छन् ।    
राजेशपायल राई

तपाईंको स्वास्थ्य कस्तो छ ?
व्याकुल माइला, राष्ट्रगान लेखक
स्वास्थ्यमा सामान्य छ । दैनिक फिजियोथेरापी गरिरहेको छु । स्टेज प्रोग्राम भ्याएकै छु । अन्य कार्यक्रम पनि छुटेको छैन । गीत रेकर्डिङ पहिलेजस्तै चलिरहेको छ ।

एकताका स्वास्थ्यलाई निकै बेवास्ता गर्नुभयो होइन ? –गंगाराज मुकारुङ, गीतकार तथा सेनानी
बिल्कुल बेवास्ता गरेको होइन । पृथ्वीको त आयु हुन्न भने हामी त मानिस हौँ । प्राकृतिक नियम नै हो– कहिले घाम लाग्नु कहिले पानी पर्नु अनि बादल लाग्नु । प्राकृतिक नियमजस्तै मानिस पनि सधैँ एउटै अवस्थामा रहन कहाँ सक्छ र ? दुख–बिमारमा परिहालिन्छ ।

गीत गाएरै घर किन्नुभएको हो नि ? –बाला राई, पत्रकार
हो । गीतै गाएर पाएको पारिश्रमिकबाट घर किनेँ । स्वदेशमा आर्जन गरेको रुपियाँ रंगरवसमै सिध्याएँ । तर, विदेशमा भएको कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट घर किनेको हुँ ।

घर किनेको हल्ला अनावश्यक चल्यो हगि ? –राजन मुकारुङ, कवि/लेखक
शुभचिन्तक सञ्चारकर्मीले घर किनेको खबर प्रकाशन/प्रसारण गरिदिनुभयो । राजेशपायल राईले घर किनेकोे खबर सञ्चारमाध्यमबाट पोखियो । यसलाई हल्ला भन्न मिल्दैन । तपाईंहरूको राजेशपायल राईले घर किनेको खबर सञ्चारमाध्यममा प्रकाशन/प्रसारण हुनु भनेको अनावश्यक हल्ला हो र ?
मादक पदार्थ नपिई गीत गाउन सक्नुहुन्छ ? – भोगीराज राई, कर अधिकृतएकदमै सक्छु । पछिल्लो समयमा धूमपान र मद्यपान दुवै त्यागेर कन्सर्टबाहेकका कार्यक्रममा सहभागी भएको छु । पछिल्लो समयमा रेकर्डिङ भएका मेरा दस गीतमा धूमपान तथा मद्यपान गरिनँ । त्यसैले दाबी गर्छु कि अब म यो अम्मलबाट टाढा रहन सक्छु ।

जिन्दगी काटिँदै छ कि बिताइँदै छ ? –इन्द्रबहादुर राई, सगरमाथा आरोही
संघर्ष हो जीवन । त्यसैले संघर्ष गरिरहेको छु । कामको चाप दिनानुदिन बढिरहेको छ । अब तपाईं नै भन्नुस् जीवन काट्दै छु कि बिताउँदै छु ?

तपाईंले गाउनुभएका गीत श्रवणीय लाग्छन् । आवाजलाई सन्तुलनमा राख्न कति समय खर्चिनुहुन्छ ? –राधा राई, गायिका
दैनिकजसो रेकर्डिङमै व्यस्त हुन्छु । त्यसैलाई मैले साधनाका रूपमा लिएको छु । आवाजलाई सन्तुलनमा राख्नै भनेर छुट्टै समय छुट्ट्याएको छैन ।

सार्वजनिक हुनै नपाई क्यासेट विदेशतिर पुगेको हुन्छ । यसलाई रोक्न के गर्ने होला ? –कला राई, गायिका
त्यो राम्रो होइन । यस्तो कामले कसरी प्रश्रय पाइरहेको छ । हामी कलाकार एकजुट भई गलत कामको पहिचानका गर्नुपर्छ ।
राजेशपायल राईको घरजम भएको हेर्न कहिले पाउने ? –शान्तिराम राई, संगीतकार
बुवाआमाले बिहे गर्न सधैँ कर गर्नुहुन्थ्यो । विभिन्न बहानमा म टार्दै जान्थेँ । घर बनाएरमात्रै बिहे गर्छु भनेको थिएँ बुवाआमालाई ।  घर पनि किनेँ । अब टार्ने कुनै शीर्षक बा“की छैन । समयानुकूल मिल्नासाथ राजेशपायल राईले घरजम गरेको तपाईंहरूले देख्न पाउनुहुनेछ ।
मानिस पूर्ण र महान् कसरी बन्ने ? तिलक चाम्लिङ, कवि
मानिस कहिल्यै पूर्ण बन्न सकिँदैन । हामी सांसारिक मोहमा फसेको हुन्छौँ । यो मोह र लालसाबाट मुक्त भएमात्र पूर्ण बन्न सकिएला । पूर्ण हुनु भनेको महात्मा बन्नु हो । जो आफ्नै पसिनामा बाँच्ने मानिस नै महान् हो ।
तपाईंले गाउनुभएको गीत सुनेर के सन्देश पाउने आमनेपालीले ?
दुर्गाजयन्ती राई, पूर्वसभासद्  मैले वर्गीय गीत कम गाएको छु । किनकि व्यावसायिकताले गर्दा त्यसो भएको हो । तर, नगाएको भने होइन । गाइएका कतिपय गीत प्रसारणमा रोक लगाइएका छन् । चलचित्र कालापानी, धोका, खुकुरीका गीत अझै पनि प्रसारणमा रोक लगाइएका छन् । प्रसारणमा आएका गीतबाट श्रोताले एकखालको सन्देश पाएकै होलान् भन्ने लाग्छ ।  
 
संगीतका लागि जीवन कि जीवनका लागि संगीत ? –शुभ मुकारुङ, गीतकार मेरो जीवन संगीतका लागि भएको हो । किनकि संगीतबाटै तपाईंले राजेशपायल राई चिन्नुभयो । त्यसैले तपाईं मेरो घरसम्म आउनुभयो । नत्र म कसैको छोरा, कसैको नाति र कसैका दाजु या भाइमात्रै हुन्थेँ । संगीतले गर्दा नै म तपाईंहरूको राजेशपायल राई भएर चिनिएको छु ।

आम रूपमा चर्चा र सम्मान पाउनुभएको छ तर बौद्धिक जमातले तपाईंलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्वीकार्दैनन् किन ? –राजेश चाम्लिङ, पत्रकार
मलाई त त्यस्तो लाग्दैन । कसैले मान्दैमा र कसैले नमान्दैमा मेरो बौद्धिकताको मापन हुने होइन । कतिपयलाई मेरो नाम उच्चारण गर्दा आकाश नै खस्लाजस्तो हुन्छ । तर, यतिचाहि“ सत्य हो– राजेशपायल राई नेपाली गीत–संगीतको एउटा प्रतिष्ठान हो । 

किरात राई समुदायको उत्थानका लागि तपाईंको योगदान के रहला ? –सुमाया राई, उप्रप्राध्यापक
गीत–संगीतको माध्यमबाट मैले आफ्नो समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएको छु भन्ने लागेको छ । जुन तपाईंहरूले पनि मूल्यांकन गर्नुभएकै होला । आफ्नो समुदायका लागि मात्र नभएर सिंगो राष्ट्रका लागि राजेशपायल राई गौरवान्वित नाम हो ।

संगीतजस्तै मीठो शासनप्रणाली स्थापना गर्न के गर्नुपर्ला ? – मुगाधन राई, फोटो पत्रकार
गीत–संगीतमा लागेकाले जसरी संगीतको नोटेसन जान्नुपर्छ, जसले गर्दा एउटा श्रवणीय गीत बन्छ । त्यसरी नै देश बनाउने ठेक्का लिएका ठेकेदारलाई राजनीतिशास्त्रबारे जानकारी हुनुपर्छ । अनि लोभ, लालचा, स्वार्थ त्यागेमा समाज रूपान्तरण हुन समय लाग्दैन ।

राम्रो गीत गाउनुहुन्छ । अब पनि गाउनुपर्छ । साथै आफूलाई समयसापेक्ष परिवर्तन गराउँदै लैजानुपर्छ । त्यसो गर्न सक्नुहुन्छ तपाईं ? –डा. विष्णु राई, कवि लाग्छ, समय सापेक्ष परिवर्तन हु“दै गएको छु म पनि । यदि तपाईंहरू मैले गाएको गीत ध्यान दिएर सुन्नुभएको छ भने पक्कै पनि थाहा पाउनुहुनेछ कि राजेशपायल राई आफ्नो गायनलाई समयसापेक्ष परिवर्तन गर्दै लगेको छ । केही समयअघि सार्वजनिक गीतिएल्बम ‘दर्शन नमस्ते’ मा तपाईं म समयसापेक्ष परिवर्तन हुन जानेको नजानेको तपाईंले महसुस गर्न सक्नुहुनेछ ।

तपाईं किन गीत गाउनुहुन्छ ? –आनन्दकला राई, सर्वसाधारण
म राष्ट्रका लागि गीत गाउँछु । अनि जसले राम्रो गीत–संगीतको अपेक्षा राख्छ उनीहरूका लागि म गीत
गाउँछु । अनि आफ्ना लागि पनि गीत गाइरहेको छु ।

सामाजिक रूपान्तरणका किन गीत नगाउनुभएको ? –राजकुमार राई, स्ववियु सभापति, आरआर क्याम्पस
गाउँदै नगाएको भने होइन । यदि तपाईंले मैले गाएको गीत सुन्दै आउनुभएको हो भने । कोसोभो, कारगिलजस्ता गीत मैले गाएको छु । अरू पनि छन् । तर, यस्ता गीत कमै गाएको छु । किनकि व्यावसायिकताले गर्दा पनि यसो हुन गएको हो । यदि राजेशपायल राई व्यावसायिक भएन भने कसैले एकछाक खान देला तर दुईछाक दिँदैनन् । आफ्नो क्षेत्रमा व्यावसायिक बन्दा सामाजिक रूपान्तरणका गीत कम गाउन पुगेको भने सत्य हो । गाउँदै नगाएको भन्नचाहिँ मिल्दैन ।

गीत गाएरै देशका लागि कसरी योगदान पुर्याउनुहुन्छ ? – मोनालिसा खम्बू, खेलाडीमैले गीत गाएबापत नेपाल सरकारले लिने राजश्व पनि त राष्ट्रका लागि आर्थिक योगदान हो । मैले गीत गाउँदा राष्ट्रले असुल्ने करलाई कम आँक्न मिल्दैन । त्यसको अलावा मैले गाएको गीत सुनेर श्रोताले मनोरञ्जन लिनु पनि एककिसिमको योगदान नै हो । मैले गाएको गीतबाट विभिन्न किमिसका सन्देश प्रवाह हुन्छन् । त्यसलाई पनि योगदान भन्न सकिन्छ । 

No comments:

Post a Comment