Friday, May 30, 2014

तीन मिनेटमा १५ सय

(दीपेन्द्र राई)

मेघराज विश्वकर्मा
गाउँघरमा हुने शुभकार्यमा मेघराज विश्वकर्मा कहिल्यै गयल हुँदैनथे । भोज खान नभएर शुभकार्यमा हुने नाचगानले उनलाई त्यतातिर डोर्याउँथ्यो । बोलाएको ठाउँमा त ठिकै हो नबोलाएको शुभकार्यमा समेत उनी पुगिहाल्थे । त्यहाँ पुगेर मादल बजाउन पाउँदा उनलाई संसार जितेजस्तो लाग्थ्यो । 

समय परिवर्तन हुँदै गयो । मादल बजाउन मरिहत्ते गर्ने उनको रुचिमा परिवर्तन आयो । मादल बजाउन छाडेर उनी नाच्न थाले । कुशल नृत्यकार बन्ने सपना फुलाउन उनी तात्कालिक नेपाल कम्युनिस्ट पार्टीको कलाकार बनेर पार्टी लाद्दगे । यो संवत् ०६३ माघ १ गतेको कुरा हो । पार्टी कलाकार भएर पाँच वर्ष बिताएका उनको रुचिमा फेरि परिवर्तन आयो । नृत्यमा भविष्य नदेखेपछि उनी तबलावादक बन्न चाहन्थे । कुशल तबलावादक बन्न लामो अभ्यास चाहिन्छ । त्यसो भएकाले उनी पार्टी कलाकारिताबाट बिदा भएर काठमाडौं पसे । थाले तबलावादन अभ्यास । 

सुरुका दुई महिना आस्था कलाकेन्द्रमा तबलावादन अभ्यास थालेका उनी पछिल्लो समय कलानिधि संगीत विद्यालय पुल्चोक ललितपुरमा रोशन शाक्यसँग तबला बजाउन सिकिरहेका छन् । तबलामै रुचि किन ? मेघराजको तर्क छ, ‘तबलालाई बाजाहरूको राजा भनिन्छ । यो बाजा आफूले बजाएको सुनेर आफैं खुसी हुने बाजा हो । त्यही भएर ।’ 

तबला बजाउन सिक्न थालेको दुई वर्ष पूरा हुँदा उनले दुई नेपाली चलचित्रमा तबला बजाउन भ्याइसकेका छन् । उनले चलचित्र ‘लबिम्यान’को फूल चुँडेर लग्यो माली हेरेर बस्यो र ‘चियर्स’को आयो जवानी, आयो जवानीमा तबला बजाएका छन् । 

उनी कहिले रेष्टुरेन्ट त कहिले दोहोरी साँझतिरसमेत तबला बजाउन पुग्छन् । कामै तबला बजाउने भएपछि कसैले अनुरोध गरेपछि नाइँ भन्दैनन् उनी । ‘तबलामै व्यावसायिक बन्ने बेला भएको छैन,’ उनले भने, ‘सिकाइक्रम जारी छ । विभिन्न दलका सभा, सम्मेलनदेखि विभिन्न सांगीतिक कार्यक्रम आयोजकले तबला बजाउन अनुरोध गरेपछि नाइँ भन्न मन लाग्दैन । कामै तबला बजाउने । विद्यार्थी नै तबलाको हुँ ।’ तबला बजाउन भनेरै पूर्वाञ्चलका सबै पहाडी जिल्ला पुगेका मेघराज विश्वकर्मा केही समयअघि तेह्रथुम र त्यसपछि तबला बजाउन झापा पुगे ।

तबलावादक उनले कति पारिश्रमिक पाउलान् ? भने, ‘मेरो कुनै रेट छैन । आयोजकले स्वविवेकले जति दिन्छन् त्यतिमै चित्त बुझाउने गर्छु ।’ रेकर्डिङ स्टुडियोमा तीन मिनेट तबला बजाउँदा भने एक हजार पाँच सय पारिश्रमिक पाउने गर्छन् । स्टुडियोमा तबला बजाउने काम भने कहिलेकाहीँ मात्रै पाइने उनले बताए । 

आफूलाई मनपरेको विधामा भविष्य खोज्न उद्यत मेघराजलाई तबला बजाउँदा हात दुख्छ दुख्दैन ? फ्ल्यासकव्याक खोतल्दै उनले सुनाए, ‘पहिले–पहिले तबला बजाउँदा हत्केलाभरि पानीफोका आएको थियो । पानीफोका फुट्दा त मर्नुहुन्थ्यो नि । पछिपछि त बानी पर्दै गयो । अहिले त वास्तै हुँदैन ।’ 

कुशल नृत्यकार बन्न पार्टी कलाकार भएर हिँडेका उनको ठम्याइ छ, ‘नृत्यमा भविष्य देखिनँ । उमेर ढल्दै गएपछि नाच्न सकिन्न । तबला भने बुढेसकालसम्म आनन्दले बजाउन सकिन्छ । त्यही भएर तबलामै रस बस्यो ।’ फुलोस् मेघराजको तबला सपना ।

प्रकाशित मिति : २०७१ जेठ १६

No comments:

Post a Comment