![]() |
कन्याम |
(दीपेन्द्र राई)
पवन चाम्लिङ र सोफिया तुलाधर आउँदो दसैँमा इलाममा हुनेछन् । चाम्लिङ र तुलाधरले विजयादशमीकोे सूर्योदयको दृश्य इलामबाट नियाल्नेछन् । इलामको प्राकृतिक सुन्दरताप्रति सबै–सबै लोभिएका हुन्छन् । ‘अरूले भनेको मात्रै सुनेका हामीले इलामको प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्न यसपालिको दसैँ इलाममा मनाउने सोच बनाएका हौँ,’ राई र तुलाधरले बताए ।
दुवैको सामूहिक उत्तर थियो, ‘गाउँखाने कथा हाल्दा उत्तर दिन नसक्नेसँग प्रश्नकर्ताले इलाम माग्ने गथ्र्याैं । गाउँ माग्नेक्रममा उत्तर दिन नसक्नेले इलाम दिएपछि उत्तर दिन्थ्यौँ । एकताका गाउँखाने कथा हाल्दा उत्तर दिन नसकी इलाम लैजाऊ भन्नेहरू हामी इलाम जाने थाहा पाएपछि उनीहरूले फोटोमै भए पनि हामीलाई इलाम कैद गरेर ल्याउन लगाएका छन् ।’
‘उत्तर–दक्षिण फैलिएको पहाडी शृंखलाले इलामलाई कुँदिएको हीराजस्तै बनाएको छ भने चियाका बुटाले बैंसको कुमारी बनाएको छ । नयाँबजारको सल्लाघारीले इलामलाई कपाल कोेरेर पोइल हिँड्न आँटेकी कान्छीजस्तो बनाएको छ भने माइपोखरी र उत्तरपोखरीले इलामलाई आँखाभरि आँसु छचल्काएर प्रसूति व्यथामा रुन लागेकी नववधुजस्तो बनाएको छ,’ इलामको प्राकृतिक सुन्दरतालाई इलामकै चेतनाथ आचार्यले यसरी चित्रण गरेका छन्, ‘चारवटा माइखोलाले इलामलाई कपाल फुलेकी बूढी आमैजस्तो बनाएको छ भने घुमाउरो मोड र घुम्तीले भर्खरै ब्युटीपार्लर गएर ‘कर्ली हेयर बनाएकी सहरिया मैयाँजस्तो बनाएको छ । चित्रे र इभाङमा फुलेको हराभरा लालीगुराँसले इलामलाई लाली र लिपिस्टिक लगाएकी नक्कलीजस्तै बनाएको छ ।’
![]() |
श्रीअन्तु |
त्यसैले होला, शैक्षिक भ्रमण होस् या वनभोज जाने छलफलमा इलाम जाऊँ न है भन्नेहरू बाक्लै भेटिन्छन् । कवि भूपी शेरचनले पनि इलामको प्राकृतिक सुन्दरताबारे जानेको, बुझेको हुनुपर्छ । नत्र शेरचनले नेपालभरि अलिकति इलाम छर्ने चाहना किन गर्थे होलान् ।
१० हजार ६०० हेक्टर भूमि चिया खेतीयोग्य भए पनि इलाममा अहिले एक हजार ६२५ हेक्टरमा मात्रै चिया खेती गरिँदै आएको तथ्यांकमा उल्लेख छ । चियासँग मात्रै इलामको चिनारी जोडिएको छैन । पर्यटीय स्थल पनि इलामको गहना मानिन्छ ।
पूर्वको बिहानसँगै श्रीअन्तुबाट दार्जिलिङको टाइगरहिलबाट भन्दा प्रस्ट र धेरै बेर सूर्याेदयको दृश्य नियाल्न सकिन्छ । सूर्याेदयको दृश्यका साथसाथै यहाँबाट टिस्टा नदी, मेची शिर, खर्साङ, बंगलादेशको केही भू–भागका साथै हिमाल, पहाड र तराई एकैठाउँ बसेर नियाल्न सकिन्छ । जिल्लाकै सबैभन्दा उचाइमा रहेको सन्दकपुरबाट मोतीझैँ टल्किने हिमशृंखला (सगरमाथा, कञ्चनजंघा, मकालु र कुम्भकर्ण) आँखाअगाडि नै देखिन्छन् । सुलुबुङ पहाडको शिरमा अवस्थित नौकुने माइपोखरी पनि यहाँको प्रसिद्ध पर्यटकीय स्थल हो । ‘यहाँ आइपुगेपछि सन्दकपुर, माइपोखरी र श्रीअन्तु नटेके इलामको यात्रा अधुरो मानिन्छ,’ पन्यकन्या–४ माघेकी सुमित्रा राईले बताइन् ।
छिनछिनमा बदलिरहने कन्याम चिया बगान वनभोजका लागि उपयुक्त ठाउँ मानिन्छ । वनभोज र घुम्न आउनेको संख्या बढ्दै गएको कन्याम गाउँ विकास समिति सचिव नेत्र पोखरेलको स्वीकारोक्ति छ । झापा, मोरङ, सुनसरी र इलामका वनभोजप्रेमीका लागि उत्कृष्ट गन्तव्य बनेको कन्यामबारे निबन्धकार तारानाथ शर्माले ‘इलामको माया’ शीर्षाकृत लेखमा जापानको साथीसँग कन्याम घुम्दा जापानी साथीले दिएको प्रतिक्रिया यसरी उल्लेख गरेका छन्, ‘पहाड गोलो रोटीजस्तो फनक्क घुमेको छ । यी गाउँ र खोलाखोल्सी हिस्सी परेकी युवतीका पछ्यौरीजस्तै लाजले लत्रिएका छन् । यस्तो रमणीय स्थल पृथ्वीमा अरू कतै हुन सक्दैन । यहाँ चलचित्र ‘वरपीपल’, ‘आमाको काख’ लगायत थुप्रै चलचित्र छायांकन गरिएको छ भने म्युजिक भिडियो छायांकन लागि कन्याम आउनेक्रम बाक्लिएको छ ।
![]() |
माइपोखरी |
सूर्याेदयको जिल्ला इलामका वनपाखासमेत सदुपयोगमा आएका छन् । कतै खाली ठाउँ नराखी खेती गर्नु यहाँका किसानको विशेषता हो । अलैंची, अदुवा, अम्रिसो, ओलान, अकबरे खुर्सानी, आलु गरी ‘६’ वटा ‘अ’ नामक नगदे बालीले इलामे किसानलाई उँभो लगाएको छ । भनिन्छ, ‘अन्य जिल्लाको भन्दा यहाँका किसानको आम्दानी उकासिएको छ ।’ कारण यहाँका किसान जाँगरिला हुन्छन् । उखान नै बनेको छ– ‘जाँगर नभए इलाम
जानू’ ।
जानू’ ।
पञ्चकन्या–४ माघेका किसान विक्रम राई भन्छन्, ‘यहाँका एउटै परिवारले वार्षिक दुई लाख रुपैयाँबराबरको त इस्कुसमात्रै बेच्ने गर्छन् । कन्याम, पञ्चकन्या, कोल्बुङ, पशुपतिनगर, जिर्मले र प्याङमा जिल्लामै सबैभन्दा बढी इस्कुस फलाइन्छ ।’
यहाँको भीरपाखामा समेत रुपियाँ फल्छ । चिया खेतीको होडसँगै उत्तीस, इस्कुस, नासपाती, घिउ, चिराइतो, चीज, बाँस, घिउसिमी, सुन्ताला, नेपाली कागज र फूल इलामका किसानका नियमित आम्दानी स्रोत हुन् ।
नेपाली जनजिब्रोमा इलामसँग जोडिएर आउने अर्काे प्रसंग हो उखान–टुक्का । नेपाली उखान–टुक्कामा पनि इलामको प्रसंग त्यत्तिकै जनप्रिय मानिन्छ । जसमध्ये ‘झापाको खेती इलामकी केटी’ ले चर्चा पाएको छ । ‘इलामकी केटी चिरस्मरणीय हुन्छन्,’ झापालीको स्वीकोरोक्ति छ । इलामबाट बिहे गरेर ल्याएको छ भने झापालीहरू भन्छन्, ‘इलामकी बुहारी भएपछि केको चिन्ता ।’
No comments:
Post a Comment