(दीपेन्द्र राई)
जेठ १५ । अर्थात् आज गणतन्त्र दिवस । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले तीन दिन दीपावली गरेर गणतन्त्र दिवस मनाइने भनिरहँदा सर्वसाधारणले भने गृहमन्त्रीको भनाइलाई खिल्ली उडाए । दावा साङ्गे शेर्पा सोध्छन्, ‘कुन खुसियालीमा दीपावली मनाउनु हो ?’
हुन पनि हो । शेर्पाको सोधाइमा दम छ । खुसियाली मनाउन पनि त शीर्षक चाहियो नि । जनता–जनाद्र्धन गणतन्त्र शब्द सुन्दासुन्दा आजित छन् । उनीहरूले सुन्दै आएका छन्– गणतन्त्र संस्थागत गर्ने कुरा । सालिन्दा गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्र दिवसको दिन सरकारी बिदासमेत दिने गरिएको छ । भन्नेहरूले भन्छन्, ‘व्यवस्था बदलियो जीवन बदलिएन ।’ उनीहरूको बुझाइ सही छ । एउटा दरबार व्युँतिन नसक्नेगरी इतिहासमा परिणत भए पनि बल्खु, सानेपा र पेरिसडाँडा दरबारको जगजगी छ ।
त्यही भएर होला पत्रकार सचित राईलाई रिस उठेको । राई भन्छन्, ‘००७ अघि नै अंकुराएको गणतन्त्रको भ्रुणले नेपाली माटोमा पदार्पण गरेको पनि ६ वसन्त पूरा भएछ । गणतन्त्र संस्थागत गर्न धेरै काम गर्न बाँकी छ । हाम्रा सामन्ती सोच बदल्न आजको दिनले सद्बुद्धि देओस् ।’
सातवर्षे संक्रमणकालीन गणतन्त्र नेपालमा अनेकानेक देख्न पाइएको । उखानै छ– बाँचे पाए देख्न पाइन्छ । हुन पनि हो– गणतन्त्र नेपालमा उल्कापात नै भएको छ । त्यही भएर त पत्रकार राजेश राईलाई जङ चलेको । उनले सुझाए, ‘मित्रहरू, जसले हिजो शाहीकालमा कोटमा राजतन्त्रको लोगो लगाएर पेट भर्न ब्ल्याकमेलिङ गरे, आज तिनीहरूको कोट उही छ, गोजी पनि उही । फरक रातो झन्डाको टाई लगाएका छन्, रातो टाई देखाएर आज पनि ब्ल्याकमेलिङ गरिरहेका छन् । यदि पार्टी संकटमा परे उनीहरूले त्यही रातो झन्डालाई मोजा बनाउनेछन् । पेन्टी बनाएर अपमान गर्नेछन् । रातो झन्डालाई मोजा र पेन्टी बनाउनेलाई होइन, झन्डालाई सधैँ शिरमा सजाउने संकटका साथीलाई गणतन्त्र दिवसको शुभकामना । बरु भोकै मरुम् रातो झन्डा देखाएर ब्ल्याकमेलिङ नगरौँ ।’
राजेश राईसँग सहमत छन्– पत्रकार मातृका पौडेल । उनी सुनाउँछन्, ‘जनआन्दोलनका दोषी, जनताले नरुचाएका र अख्तियारले भ्रष्ट भनिसकेकालाई समेत सुनपानीले चोख्याएर माथिल्ला आसनमा विराजमान गराउनुको अर्थ गणतन्त्रलाई खिल्ली उडाउनु हो । प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनेदेखि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयक बनाउने बेला सरकार र विभिन्न दलले जसरी नागरिक आवाज बेवास्ता गरे, त्यसले नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिलेको नेतृत्वबाट सम्भव छैन भन्ने पुष्टि हुन्छ । यतिसम्म कि उनीहरूले गरेका हरेक जनविरोधी, अलोकप्रिय र कतिपय अवस्थामा गैरसंवैधानिक हर्कतलाई अनुमोदन गर्ने गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिबाट समेत गणतन्त्रको मर्ममाथि गम्भीर प्रहार भएको छ ।’
‘अरू कुरा जेसुकै र जोसुकैको भए पनि लोकतान्त्रिक गणतन्त्र हाम्रो हो,’ पत्रकार यज्ञश पण्डितको बुझाइ छ, ‘सबैलाई समान अवसर दिने कुरा ठूलो हो । अहिलेसम्म यो भन्ने कुरा मात्रै भएको छ, आर्थिक विकास गर्न सके देखिने र बुझिने पनि हुने थियो ।’
पत्रकार मेघराज रसाइलीले चाहिँ कलिलो गणतन्त्रलाई बिचरा भनेर खिसिटिउरी गर्छन् । भन्छन्, ‘नेपालको गणतन्त्र र मेघराज रसाइलीको दाम्पत्य जीवन एकै दिन सुरु भएको हो । रसाइलीको जीवन सुखद बितिरहेको छ । गणतन्त्रले भने खुबै दुःख पायो । बिचरा गणतन्त्र ।’
नरेश सुनुवारलाई भने खुब रिस उठेको छ । गणतन्त्र दिवसमा कहीँ न कहीँ कार्यक्रम भइहाल्छ । त्यही दृष्टान्तसहितको उदाहरण पेस गर्दै सुनुवार रिस पोख्छन्, ‘जहाँ पुगेर पनि गाँडुहरूको कर्कशमा ताली पिट्नैपरेको छ । शरीर कहिल्यै पुच्छर हुन सकेन । पुच्छर कहिल्यै शरीर हुन सकेन । जय पुच्छर । जय गणतन्त्र ।’
प्रकाशि मिति : २०७१ जेठ १४ गते
No comments:
Post a Comment