Friday, May 30, 2014

‘डन’ बन्ने रहर

(दीपेन्द्र राई)

पारिवारिक कलह, गरिबी, अशिक्षा र सामाजिक भेदभावका कारण घर छाडेर सडकमा आइपुगेका बालबालिका नेपालमा कति होलान् ? उनीहरू कसरी बाँचिरहेका छन् । सडक बालबालिकासम्बन्धी ११ वर्षदेखि काम गर्दै आएको सीपीसीएस नामक संस्थाले हालै तयार पारेको प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकामा ६ सय १९ र उपत्यकाबाहिरका जिल्लामा पाँच सय ४० सडक बालबालिका रहेका छन् ।

सडक बालबालिका सडकसम्म आउनुका कारण सम्बन्धित बालबालिका जन्मे, हुर्केको समाज जिम्मेवार हुन्छ । प्रतिवेदनअनुसार ५८ प्रतिशत बालबालिका विभिन्न बहानामा घरबाट सडकसम्म आइपुगेका हुन् भने २ प्रतिशत हराएर घरपरिवार र आफन्तसँग टाढिएका हुन् । तर, १६ प्रतिशत सडक बालबालिका भने आफन्तसँगै सडकमा बस्ने गर्छन् । 
सीपीसीएसका कार्यक्रम संयोजक नवराज पोखरेलले सडक बालबालिका सडकमै आइपुग्नु र उनीहरू सडकमै रमाउनुको कारणबारे गहिरो अध्ययन गरेका छन् । काठमाडौँ उपत्यका, धरान, इटहरी, विराटनगर, हेटौँडा, नारायणगढ, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी, पोखरालगायत सहरी क्षेत्रका सडकमा रहेका नौदेखि १८ वर्षसम्मका तीन सय दुई बालबालिका र युवासँग प्रत्यक्ष्य अन्तक्र्रियामा सहभागीमध्येका एक पोखरेल सडक बालबालिका सडकमै आउनु र रमाउनुका कारणबारे भन्छन्, ‘३३ प्रतिशत बालबालिका पैसा कमाउन, ३ प्रतिशत मीठो भात खान, २४ प्रतिशत साथीको लहैलहैमा र १० प्रतिशत बालबालिका खाना खोज्दै र १ प्रतिशत राजनीतिक कारण देखाउँदै सडकमा आइपुगेका हुन् ।’ 
अपवादबाहेक प्रत्येक सडक बालबालिका जीविकोपार्जनका लागि केही न केही काम गर्ने गर्छन् ? मागेर गुजारा चलाउन पनि छन् । प्रतिवेदनले भनेको छ, ‘सडकमा आइपुगेका ५३ प्रतिशत बालबालिकाले प्लास्टिक र थोत्रा सामान खोज्ने गर्छन् । ४ प्रतिशतले सार्वजनिक यातायातमा ‘खलासी’ काम गर्छन् भने ८ प्रतिशतले सडकमै व्यापार गर्ने गर्छन् । त्यस्तै, १२ प्रतिशत सडक बालबालिकाले राति–राति थोत्रा सामान खोज्ने गरेका छन् भने ५० प्रतिशतले दिनभरि र कहिलेकाहीँ रातिसमेत थोत्रा सामान खोज्ने गर्छन् । उनीहरूले दैनिक ५० देखि पाँच सय रुपियाँसम्म कमाउने गर्छन् । उनीहरूमध्ये ३८ प्रतिशतले कमाएको रुपियाँ जोगाएर घरपरिवार र आफन्त भेट्न जाने गरेका छन् । २१ प्रतिशतले सडकमा मागेर गुजारा चलाउँदै आएका छन् ।’

प्रत्येक सडक बालबालिकाको इच्छा, आकांक्षा फरक–फरक छन् । उनीहरूमध्ये कोही डाक्टर, प्रहरी, ड्राइभर त कोही असल नागरिक बन्न चाहन्छन् भने ‘डन’ बन्छु भन्ने पनि कम छैनन् । प्रतिवेदनमा उल्लेख छ, ‘९ प्रतिशत सडक बालबालिका डाक्टर बन्न चाहन्छन् । ९ प्रतिशतले प्रहरी बन्ने चाहना व्यक्त गरेका छन् । २६ प्रतिशतले ड्राइभर बन्ने सपना देखेका छन् । १६ प्रतिशतलाई असल नागरिक बन्ने रहर छ । २ प्रतिशतले ‘डन’ बन्ने भनेका छन् ।’
भनिन्छ, ‘सपना ठूलै देख्नू ।’ पूरा भए पनि नभए पनि कतिपय सडक बालबालिकाले ठूलै सपना देखेका छन् । सडक बालबालिका आफूले देखेको सपना पूरा होला नहोला तर २ प्रतिशत सडक बालबालिकाको ‘डन’ बन्छु भन्ने अभिव्यक्तिले डरलाग्दो संकेत गरेको छ । त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग उपप्राध्यापक सुमाया राई भन्छिन्, ‘सडक बालबालिकाले ‘डन’ बन्न खोज्ने अभिव्यक्ति दिनु भनेको डरलाग्दो संकेत हो । उनीहरूले टीभी तथा विभिन्न फिल्म हेर्न गर्छन् । टीभी तथा फिल्ममा ‘डन’ बनेमा पैसा खेलाउन, मान्छेलाई तर्साउन पाइन्छ भनेर देखेका हुन्छन् । तसर्थ, उनीहरू ‘डन’ बन्न चाहेका हुन सक्छन् ।’
‘सडक बालबालिकाले कुन सही, कुन गलत हो भनेर छुट्याउन सक्दैनन् । सही मार्गदर्शन दिने अभिभावक नभएपछि उनीहरू ‘डन’ बन्न खोज्छन्,’ उपप्राध्यापक राई भन्छिन्, ‘यसलाई निप्टारा लगाउन सकिएन भने भोलि अराजक समूह बढ्दै जानेछ । जसले सभ्य समाज निर्माणमा अवरोध पुर्याउँछ ।’

यसैगरी, अधिकांश सडक बालबालिका कुलतमा फसेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार ८३ प्रतिशत बालबालिकाले चुरोट पिउने गरेका छन् भने ४५ प्रतिशतले रक्सी, ७६ प्रतिशतले डेनड्राइट र ४३ प्रतिशत सडक बालबालिका कुनै न कुनै कुलतमा फसेका छन् । ७४ प्रतिशतले भने अश्लील चलचित्र हेरेको, ४७ प्रतिशतले हस्तमैथुन गर्ने गरेको र ४५ प्रतिशतले आफूहरू यौनजन्य काममा संलग्न रहेको उल्लेख छ । 
सडक बालबालिकाको दिनचर्या सहज छैन । उनीहरूले विभिन्न किसिमका दुव्र्यवहार भोग्दै आएका छन् । आफूहरू समाज, सरकार र प्रहरीबाट समेत शोषित हुने गरेका उनीहरूले बताएका छन् । प्रतिवेदनले भनेको छ, ‘६३ प्रतिशत बालबालिका आफन्तकै दुव्र्यवहारमा परेका छन् । कतिपय भने आफू आश्रित संघ–संस्थाबाटै शारीरिक र मानसिक दुव्र्यवहार पाउने गरेका छन । प्रतिवदेनअनुसार ८२ प्रतिशत बालबालिका प्रहरीको यातना पाउने गरेका छन् । आखिर उनीहरूलाई किन यातना दिइन्छ ? पूर्वप्रहरी प्रवक्ता केशव अधिकारी भन्छन्, ‘सडक बालबालिकालाई यातना दिनै मिल्दैन । उनीहरूलाई यातना दिन कानुनमै वर्जित छ । समाजबाट हेपिएका, थिचिएका उनीहरूलाई नै ‘टार्गेट’ गरेर प्रहरीले कहिल्यै यातना दिँदैन ।’ 
यदाकदा सम्बन्धित घरधनी, पसलेले सिकायत गर्दा उनीहरूलाई तर्साएजस्तो गरेर सचेत गराउने गरिएको पूर्वप्रहरी प्रवक्ता अधिकारीको स्विकारोक्ति छ । उनी भन्छन्, ‘सडक बालबालिका सानातिना चोरीमा संलग्न हुन्छन् । त्यस्तो अवस्थामा उनीहरूसँग प्रहरी सम्पर्कमा रहन्छन् ।’ प्रतिवेदनमा १९ प्रतिशत बालबालिका खानका लागि चोर्ने गरेको उल्लेख छ । यात्रुलाई पैसा मागेर सवारीसाधन ‘जाम’ गर्दा र आन्दोलनताका भीडभाड तितरबितर गरेकोबाहेक सडक बालबालिकालाई यातना नदिएको अधिकारी बताउँछन् ।

८४ वर्षमा एसएलसी गर्नेको कथा

(दीपेन्द्र राई)
राइटरबाजे

बलबहादुर कार्की अर्थात् राइटरबाजे दुईपटक राष्ट्रिय चर्चाको विषय बने । ८४ वर्षमा एसएलसी उत्तीर्ण गर्दा राइटरबाजे पहिलोपटक राष्ट्रिय चर्चामा आए । ‘प्रधानमन्त्री बन्न पाऊँ’ भन्दै निवेदन हालेपछि उनी दोस्रोपटक चर्चामा आए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले स्वच्छ छविका प्रधानमन्त्रीका लागि आह्वान गर्दा राइटरबाजे पनि सोलुखुम्बुको काँगेलबाट जिरी (दोलखा) सम्म पैदल हिँडेर काठमाडौँ पुगी प्रम बन्न पाऊँ भन्दै तात्कालिक नारायणहिटी दरबारमा निवेदन दर्ता गराएका थिए । निवेदन हालेपछि राइटरबाजे सञ्चारमाध्यममा छाए । 

हिजोआज उनी गाउँमै छन् । गाउँमै रमाएका छन् । १०१ वर्षीय राइटरबाजेजस्ता ज्येष्ठ नागरिक भनेको पुस्तकालय हुन् । पुस्तकालय भनेको ज्ञानका भण्डार हो । त्यही भएर नै होला ज्येष्ठ नागरिकलाई पुस्तकालयसँग तुलना गरिएको । ज्येष्ठ नागरिकलाई केही समयपहिलेसम्म वृद्धवृद्धा भनिन्थ्यो भने कतिपयले त बूढाबूढी भनेर सम्बोधन गर्थे । वृद्धवृद्धा र बूढाबूढीभन्दा पुस्तकालयको अपमान होला भनेर नै हो कि पछिल्लो समय राज्यले नै उनीहरूलाई ज्येष्ठ नागरिक भनेर बोलाउने गरेको छ ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट सोधीखोजी गर्दै काँगेल पुगेका पंक्तिकारले राइटरबाजेलाई घरमा भेटेनन् । बाजेका घरका ढोका ढप्किएका थिए । गोठमा गाईबस्तु बाँध्ने दाम्लो र किलोमात्रै थिए । असार रोपेर मंसिर फलाउने ध्याउन्न रहेका किसान घरमा भेटिने कुरै भएन । असार साउँदै मंसिर भेट्ने हतारोमा रहेका एक किसानलाई राइटरबाजे कता हुनुहुन्छ होला भनेर सोध्दा उनले झर्काे नमानी उत्तर दिए, ‘बाजे त गाई चराउन जंगल पो जानुभएको छ ।’ परेन त फसाद । भेट्नुपर्ने मानिसलाई नभेटी फर्कन जाँगर चलेन ।
सल्लेरीबाट पाँच घन्टा पैदल हिँडेर काँगेल पुगेका पंक्तिकार राइटरबाजेको घरछेउछाउका जंगल चहार्न थाले । एक घन्टासम्म जंगल चहार्दा पनि उनी फेलापरेनन् । गोठालाले गाईबस्तु घर फर्काउन थालिसकेका थिए । भेटेजतिलाई राइटरबाजेलाई देख्नुभयो कि भन्दै सोधेको सोध्यै गरेँ । धेरैलाई सोधेपछि एकजना गोठालाले भने, ‘यहीँ कुर्नुहोला तल गाईबस्तु ल्याउँदै हुनुहुन्छ ।’ नभन्दै उनले म कुरिरहेकै बाटो भएर गाईबस्तु फर्काए ।
नेपालका सबै ज्येष्ठ नागरिक राइटरबाजेजस्तै गोठाला गर्न सक्लान् ? अहँ सक्दैनन् । तर, उनीसँग त्यो तागत छ । यहाँको चिसो हावापानी र वनपाखा डुलेकाले नै होला उनलाई काठमाडौँका मानिसजस्तै प्रातकालीन भ्रमण (मर्निङवाकमा) निक्लनु पर्दैन । ‘सुगर’ ले सतायो भन्नुपरेको छैन । उनलाई उच्च रक्तचापले पनि छोएन । उनलाई अनावश्यक तौल बढ्यो भन्दै चिन्ता पनि गर्नु छैन ।
सन्चै भएको ज्यान एक्कासि दुई वर्षजस्तो हातगोडा सुन्निएर थलिए पनि अहिले तंग्रिसकेका छन् । ‘कान अलि कम सुन्न थालेको छु,’ राइटर बाजेले भने, ‘पछिल्लो समय आँखाले पनि दुःख दिन थालेको छ ।’ संसार चियाउने आँखा मोतीबिन्दुले सताउन थाले पनि अस्पतालसम्म पुगेर उपचार गर्न भ्याएका छैनन् । हिजोआज जिल्लामा सोलु सामुदायिक आँखा केन्द खुलेको छ । तिलगंगा आँखा अस्पताल काठमाडौँ र हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा फाप्लुको समन्वयमा स्थापित केन्द्र फाप्लुसम्म पुगेर उनलाई आँखा जँचाउने फुर्सद मिलेको छैन । 
क्युबामा ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मेवारी राष्ट्रले लिने गरेको छ । नेपालमा भने ६० वर्ष पुगेका विधवालाई एक सय र ७५ वर्ष नाघेका ज्येष्ठ नागरिकले एक सय ५० रुपैयाँ भत्ता पाउँदै आएकोबाहेक अन्य सुविधा पाएका छैनन् । अस्ट्रेलियामा प्लेन, ट्रेनलगायत सवारीसाधनमात्र होइन, अन्य विविध क्षेत्रमा ज्येष्ठ नागरिकलाई छुट दिने गरिन्छ । नेपालमा भने ज्येष्ठ नागरिकसम्बन्धी बनेको ऐनसमेत कागजमै सीमित  छ । 

राइटरबाजे सुत्ने घर ।
राइटरबाजेजस्ता नेपालका ज्येष्ठ नागरिक पायक पर्ने ठाउँसम्म पुगेर आँखा उपचारसमेत गर्न सकिरहेका छैनन् । यदि उनीहरूका लागि भनेर नेपालमा छुट्टै अस्पताल बनाइएको भए, ज्येष्ठ नागरिक ऐनमा उल्लेख भएअनुसार, स्वास्थ्य सेवा प्रदान गर्ने प्रत्येक संस्थाले उनीहरूलाई प्राथमिकता दिई स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाए, अनि नेपाल सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले नेपाल सरकारले तोकेको संख्याका ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिँदै आएको भए देशका कुनाकाप्चामा बस्ने ज्येष्ठ नागरिक कम खुसी हुने थिएनन् ।
विभिन्न शीर्षकमा सोलुखुम्बु पुगेका सञ्चारकर्मी राइटरबाजेको सोधीखोजी गर्छन् । कतिपय त भेट्नै
पुग्छन् । ज्येष्ठ नागरिक भएर उनलाई भेट्न खोजिएको भने होइन । ८४ वर्षका पाको उमेरमा एसएलसी पास गरेकाले नै उनको सोधीखोजी हुने गर्छ । पाको उमेरमा पढ्नुको औचित्य प्रस्ट पार्दै उनी भन्छन्, ‘पढ्नु भनेको जान्नु–बुझ्नु हो । पढेर जागिरै खानुपर्छ भन्ने होइन । जागिरै खानुपर्छ भन्ने हो भने मैले किन यो पाको उमेरमा पढ्नु । मेरो गाउँठाउँमा कतिपय केटाकेटी पढिरहेका कक्षामा असफल भएपछि पढाइ नै त्यागेर बसेका छन् । तिनीहरूलाई पढ्ने हौसला मिलोस् भनेर बुढेसकालमा एसएलसीसम्म पढेको हुँ ।’
राइटरबाजेको ओछ्यान ।

‘पटक–पटक परीक्षा दिँदा एसएलसी पास गरेको हुँ,’ उनले सुनाए, ‘अचेलका केटाकेटी के भा’का होलान् † एसएलसी पास भइनँ भनेर आत्महत्या गर्नतिर पो लाग्छन् । असफल हुँदा आत्महत्या होइन, पढाइमा झनै मिहिनेत गर्नुपर्छ भन्ने सन्देश प्रवाह होस् भनेर मैले धेरैपटक फेल हुँदा भए पनि परीक्षा दिन छाडिनँ । अन्ततः प्रथम श्रेणीमा पास भइछाडेँ ।’ उनले कहिल्यै पराजित मानसिकता बनाएनन् । पराजित मानसिकतालाई काखी च्याप्नेहरू काँतर हुन् । काँतरले असफलताभित्र सफलता खोज्न डराउँछन् भन्ने उनको ठहर छ । 
चीनमा बर्सेनि अनिवार्य एकपटक आफ्ना बाबुआमालाई छोरीछोरीले भेट्नैपर्छ । त्यहाँको कानुनमै सो कुरा उल्लेख छ । भारतमा समेत बालिग सन्तानले ज्येष्ठ नागरिकको हेरविचार नगर्दा कारबाही गरिने प्रावधान
छ । नेपालमा त्यस्तो छैन । कामको सिलसिलामा छोराछोरी परदेसिएकाले वर्षमा एकपटक भेट्ने कुरै
आएन । तर पनि उनलाई एकांकी महसुुस भएको छैन । न आफू अपहेलित, उपेक्षित भएको नै ठान्छन् । उनी निष्फिक्री बाँचिरहेका छन् । क्या लोभलाग्दो जीवनशैली राइटरबाजेको ।

प्रकाशित मिति : २०७१ वैशाख ३१

तीन मिनेटमा १५ सय

(दीपेन्द्र राई)

मेघराज विश्वकर्मा
गाउँघरमा हुने शुभकार्यमा मेघराज विश्वकर्मा कहिल्यै गयल हुँदैनथे । भोज खान नभएर शुभकार्यमा हुने नाचगानले उनलाई त्यतातिर डोर्याउँथ्यो । बोलाएको ठाउँमा त ठिकै हो नबोलाएको शुभकार्यमा समेत उनी पुगिहाल्थे । त्यहाँ पुगेर मादल बजाउन पाउँदा उनलाई संसार जितेजस्तो लाग्थ्यो । 

समय परिवर्तन हुँदै गयो । मादल बजाउन मरिहत्ते गर्ने उनको रुचिमा परिवर्तन आयो । मादल बजाउन छाडेर उनी नाच्न थाले । कुशल नृत्यकार बन्ने सपना फुलाउन उनी तात्कालिक नेपाल कम्युनिस्ट पार्टीको कलाकार बनेर पार्टी लाद्दगे । यो संवत् ०६३ माघ १ गतेको कुरा हो । पार्टी कलाकार भएर पाँच वर्ष बिताएका उनको रुचिमा फेरि परिवर्तन आयो । नृत्यमा भविष्य नदेखेपछि उनी तबलावादक बन्न चाहन्थे । कुशल तबलावादक बन्न लामो अभ्यास चाहिन्छ । त्यसो भएकाले उनी पार्टी कलाकारिताबाट बिदा भएर काठमाडौं पसे । थाले तबलावादन अभ्यास । 

सुरुका दुई महिना आस्था कलाकेन्द्रमा तबलावादन अभ्यास थालेका उनी पछिल्लो समय कलानिधि संगीत विद्यालय पुल्चोक ललितपुरमा रोशन शाक्यसँग तबला बजाउन सिकिरहेका छन् । तबलामै रुचि किन ? मेघराजको तर्क छ, ‘तबलालाई बाजाहरूको राजा भनिन्छ । यो बाजा आफूले बजाएको सुनेर आफैं खुसी हुने बाजा हो । त्यही भएर ।’ 

तबला बजाउन सिक्न थालेको दुई वर्ष पूरा हुँदा उनले दुई नेपाली चलचित्रमा तबला बजाउन भ्याइसकेका छन् । उनले चलचित्र ‘लबिम्यान’को फूल चुँडेर लग्यो माली हेरेर बस्यो र ‘चियर्स’को आयो जवानी, आयो जवानीमा तबला बजाएका छन् । 

उनी कहिले रेष्टुरेन्ट त कहिले दोहोरी साँझतिरसमेत तबला बजाउन पुग्छन् । कामै तबला बजाउने भएपछि कसैले अनुरोध गरेपछि नाइँ भन्दैनन् उनी । ‘तबलामै व्यावसायिक बन्ने बेला भएको छैन,’ उनले भने, ‘सिकाइक्रम जारी छ । विभिन्न दलका सभा, सम्मेलनदेखि विभिन्न सांगीतिक कार्यक्रम आयोजकले तबला बजाउन अनुरोध गरेपछि नाइँ भन्न मन लाग्दैन । कामै तबला बजाउने । विद्यार्थी नै तबलाको हुँ ।’ तबला बजाउन भनेरै पूर्वाञ्चलका सबै पहाडी जिल्ला पुगेका मेघराज विश्वकर्मा केही समयअघि तेह्रथुम र त्यसपछि तबला बजाउन झापा पुगे ।

तबलावादक उनले कति पारिश्रमिक पाउलान् ? भने, ‘मेरो कुनै रेट छैन । आयोजकले स्वविवेकले जति दिन्छन् त्यतिमै चित्त बुझाउने गर्छु ।’ रेकर्डिङ स्टुडियोमा तीन मिनेट तबला बजाउँदा भने एक हजार पाँच सय पारिश्रमिक पाउने गर्छन् । स्टुडियोमा तबला बजाउने काम भने कहिलेकाहीँ मात्रै पाइने उनले बताए । 

आफूलाई मनपरेको विधामा भविष्य खोज्न उद्यत मेघराजलाई तबला बजाउँदा हात दुख्छ दुख्दैन ? फ्ल्यासकव्याक खोतल्दै उनले सुनाए, ‘पहिले–पहिले तबला बजाउँदा हत्केलाभरि पानीफोका आएको थियो । पानीफोका फुट्दा त मर्नुहुन्थ्यो नि । पछिपछि त बानी पर्दै गयो । अहिले त वास्तै हुँदैन ।’ 

कुशल नृत्यकार बन्न पार्टी कलाकार भएर हिँडेका उनको ठम्याइ छ, ‘नृत्यमा भविष्य देखिनँ । उमेर ढल्दै गएपछि नाच्न सकिन्न । तबला भने बुढेसकालसम्म आनन्दले बजाउन सकिन्छ । त्यही भएर तबलामै रस बस्यो ।’ फुलोस् मेघराजको तबला सपना ।

प्रकाशित मिति : २०७१ जेठ १६

Thursday, May 29, 2014

राष्ट्रपतिबाटै गणतन्त्रमाथि प्रहार

(दीपेन्द्र राई)
जेठ १५ । अर्थात् आज गणतन्त्र दिवस । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले तीन दिन दीपावली गरेर गणतन्त्र दिवस मनाइने भनिरहँदा सर्वसाधारणले भने गृहमन्त्रीको भनाइलाई खिल्ली उडाए । दावा साङ्गे शेर्पा सोध्छन्, ‘कुन खुसियालीमा दीपावली मनाउनु हो ?’

हुन पनि हो । शेर्पाको सोधाइमा दम छ । खुसियाली मनाउन पनि त शीर्षक चाहियो नि । जनता–जनाद्र्धन गणतन्त्र शब्द सुन्दासुन्दा आजित छन् । उनीहरूले सुन्दै आएका छन्– गणतन्त्र संस्थागत गर्ने कुरा । सालिन्दा गणतन्त्र दिवस मनाइन्छ । गणतन्त्र दिवसको दिन सरकारी बिदासमेत दिने गरिएको छ । भन्नेहरूले भन्छन्, ‘व्यवस्था बदलियो जीवन बदलिएन ।’ उनीहरूको बुझाइ सही छ । एउटा दरबार व्युँतिन नसक्नेगरी इतिहासमा परिणत भए पनि बल्खु, सानेपा र पेरिसडाँडा दरबारको जगजगी छ ।

त्यही भएर होला पत्रकार सचित राईलाई रिस उठेको । राई भन्छन्, ‘००७ अघि नै अंकुराएको गणतन्त्रको भ्रुणले नेपाली माटोमा पदार्पण गरेको पनि ६ वसन्त पूरा भएछ । गणतन्त्र संस्थागत गर्न धेरै काम गर्न बाँकी छ । हाम्रा सामन्ती सोच बदल्न आजको दिनले सद्बुद्धि देओस् ।’

सातवर्षे संक्रमणकालीन गणतन्त्र नेपालमा अनेकानेक देख्न पाइएको । उखानै छ– बाँचे पाए देख्न पाइन्छ । हुन पनि हो– गणतन्त्र नेपालमा उल्कापात नै भएको छ । त्यही भएर त पत्रकार राजेश राईलाई जङ चलेको । उनले सुझाए, ‘मित्रहरू, जसले हिजो शाहीकालमा कोटमा राजतन्त्रको लोगो लगाएर पेट भर्न ब्ल्याकमेलिङ गरे, आज तिनीहरूको कोट उही छ, गोजी पनि उही । फरक रातो झन्डाको टाई लगाएका छन्, रातो टाई देखाएर आज पनि ब्ल्याकमेलिङ गरिरहेका छन् । यदि पार्टी संकटमा परे उनीहरूले त्यही रातो झन्डालाई मोजा बनाउनेछन् । पेन्टी बनाएर अपमान गर्नेछन् । रातो झन्डालाई मोजा र पेन्टी बनाउनेलाई होइन, झन्डालाई सधैँ शिरमा सजाउने संकटका साथीलाई गणतन्त्र दिवसको शुभकामना । बरु भोकै मरुम् रातो झन्डा देखाएर ब्ल्याकमेलिङ नगरौँ ।’

राजेश राईसँग सहमत छन्– पत्रकार मातृका पौडेल । उनी सुनाउँछन्, ‘जनआन्दोलनका दोषी, जनताले नरुचाएका र अख्तियारले भ्रष्ट भनिसकेकालाई समेत सुनपानीले चोख्याएर माथिल्ला आसनमा विराजमान गराउनुको अर्थ गणतन्त्रलाई खिल्ली उडाउनु हो । प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनेदेखि सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी विधेयक बनाउने बेला सरकार र विभिन्न दलले जसरी नागरिक आवाज बेवास्ता गरे, त्यसले नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिलेको नेतृत्वबाट सम्भव छैन भन्ने पुष्टि हुन्छ । यतिसम्म कि उनीहरूले गरेका हरेक जनविरोधी, अलोकप्रिय र कतिपय अवस्थामा गैरसंवैधानिक हर्कतलाई अनुमोदन गर्ने गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिबाट समेत गणतन्त्रको मर्ममाथि गम्भीर प्रहार भएको छ ।’

‘अरू कुरा जेसुकै र जोसुकैको भए पनि लोकतान्त्रिक गणतन्त्र हाम्रो हो,’ पत्रकार यज्ञश पण्डितको बुझाइ छ, ‘सबैलाई समान अवसर दिने कुरा ठूलो हो । अहिलेसम्म यो भन्ने कुरा मात्रै भएको छ, आर्थिक विकास गर्न सके देखिने र बुझिने पनि हुने थियो ।’

पत्रकार मेघराज रसाइलीले चाहिँ कलिलो गणतन्त्रलाई बिचरा भनेर खिसिटिउरी गर्छन् । भन्छन्, ‘नेपालको गणतन्त्र र मेघराज रसाइलीको दाम्पत्य जीवन एकै दिन सुरु भएको हो । रसाइलीको जीवन सुखद बितिरहेको छ । गणतन्त्रले भने खुबै दुःख पायो । बिचरा गणतन्त्र ।’

नरेश सुनुवारलाई भने खुब रिस उठेको छ । गणतन्त्र दिवसमा कहीँ न कहीँ कार्यक्रम भइहाल्छ । त्यही दृष्टान्तसहितको उदाहरण पेस गर्दै सुनुवार रिस पोख्छन्, ‘जहाँ पुगेर पनि गाँडुहरूको कर्कशमा ताली पिट्नैपरेको छ । शरीर कहिल्यै पुच्छर हुन सकेन । पुच्छर कहिल्यै शरीर हुन सकेन । जय पुच्छर । जय गणतन्त्र ।’

प्रकाशि मिति : २०७१ जेठ १४ गते

Wednesday, May 21, 2014

सञ्चारमन्त्री रिजालको एक दिन

(दीपेन्द्र राई)

सञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको एक दिन कसरी बित्ला ? मन्त्री रिजालका परिवार र स्वकीय सचिवभन्दा अरूलाई जानकारी हुने कुरै भएन । 

मन्त्री रिजाल बिहान कति बजे उठ्नुहुन्छ ? उहाँका स्वकीय सचिव जितेन्द्र ठकुरीले भने, ‘बिहान सवादेखि साढे पाँच बजे उठिसक्नुहुन्छ । उठेपछि इन्टरनेटमा बस्नुहुन्छ ।’ उनले करिब दुई घन्टा नेटमा बिताउँछन् । धेरैजसो नेपाली अनलाइन म्यागेजिन नै हेर्ने मन्त्री रिजालले तात्कालिक अवस्थामा देशमा कुनै पनि शीर्षकमा उठेका प्रश्न, बहस विकसित, अल्पविकसित र विकासोन्मुख देशमा कसरी विकसित भएका थिए भनेर तुलनात्मक अध्ययन गर्ने गर्छन् । 

‘पछिल्लो समय नेपालमा बुलन्द हुँदै गएको जातीय राज्य, जातीय मुद्दाबारे मन्त्रीज्यूले तथ्यांक तयार पार्नुभएको थियो,’ उदाहरण पेस गर्दै ठकुरीले जानकारी दिए, ‘एमाओवादीले प्रस्ताव गरेको प्रदेशमध्ये मगरातमा मगर जाति कति बस्छन् भनेर मन्त्रीज्यूले तथ्यांक संकलन गर्नुभएको थियो । कतै छलफल, बहस तथा भाषण गर्दा सो तथ्यांकले सम्बन्धित शीर्षकमा तर्क गर्न सजिलो बनाउँँदोरहेछ ।’ सदनमा कुनै शीर्षकमा बहस, छलफल हुनु स्वाभाविकै हो । सोबारे मन्त्रीले आफूलाई चाहिएको विषय नेटमै ‘सर्च’ गरेर जानकारी लिने गर्छन् । 

हिजोआज नेटले धेरैलाई काम गर्न सहज बनाइदिएको छ । मन्त्री रिजाल कुनै कार्यक्रममा जानु छ भने कार्यक्रमको प्रकृति हेरेर नेटबाटै ‘अपडेट’ हुन्छन् । ठकुरीले सुनाए, ‘उहाँ सञ्चारमन्त्री भएको हैसियतले भोलि नेपाली चलचित्र वा एफएम रेडियोको वार्षिकोत्सवमा जाँदै हुनुहुन्छ भने त्यसबारे नेटबाटै जानकारी
लिनुहुन्छ ।’ 

यति काम सकेपछि मन्त्री रिजालले १० देखि १५ मिनेटसम्म सर्सर्ती दैनिक पत्रिका हेर्ने गर्छन् । त्यतिबेलासम्म बिहानको साढे सात बजिसकेको हुन्छ । उनी बाथरुम जान्छन् । नुहाउँछन् । ‘त्यसपछि कार्यकर्ता भेटघाट सुरु हुन्छ,’ सञ्चारमन्त्रीका स्वकीय सचिव ठकुरीले प्रस्ट्याए, ‘यो मन्त्री क्वार्टरमा बस्दाको हकमा मात्रै लागू हुन्छ । बिहान कुनै पनि कार्यक्रममा जानुपर्ने छैन भने साढे सातदेखि साढे नौसम्म कार्यकर्ता भेटघाटका लागि समय दिनुहुन्छ । उहाँ सरकारका प्रवक्तासमेत भएकाले पनि मन्त्री क्वार्टरमा खाली बस्न पाउनुहुन्न ।’

यसैगरी, स्वकीय सचिवलगायत सहयोगीले मन्त्री रिजाललाई दिनभरि क–कसले फोन गरे, कतिले भेट्न खोजेका छन् नोट गरेका हुन्छन् । त्यसपछि महत्वका आधारमा ‘सर्ट लिस्ट’ बनाएर मन्त्रालयमा भेटघाट हुन नपाएकालाई क्वार्टरमै बोलाएर भेटघाट गराइन्छ । 

मन्त्री रिजाल १० बजे मन्त्रालय पुगिसक्छन् । बिहान कतै कार्यक्रम, बैठक पर्यो भनेचाहिँ समय अघि–पछि हुन्छ । नत्र कार्यालयीय समयमा उनी मन्त्रालय पुग्छन् ।

‘मन्त्रीज्यूले प्रायः बिहानको खाना खानुहुन्न,’ ठकुरीले भने, १२ बजेतिर दुई/तीन पिस डाइजेस्टिभ बिस्कुट र कफी पिउनुहुन्छ ।’ दैनिक चार कपसम्म चिया/कफी पिउने मन्त्रीले बिस्कुट र चिया पिउँदा कहिले साढे १२ बज्छ भने कहिलेकाहीँ त एक पनि बज्छ । त्यसपछि ? ठकुरीले सुनाए, ‘हामीले अगाडि नै कसैलाई मन्त्रीसँग भेटघाटका लागि समय दिएका छौँ भने भेटघाट गर्नुहुन्छ । तर, मन्त्रालय पस्दा भेटिहालौँ न त भन्नेले भेट्न नपाउन पनि सक्छन् किनकि उहाँले मन्त्रालयको कामलाई नै प्राथमिकता दिनुहुन्छ ।’ 
स्वकीय सचिव जितेन्द्र ठकुरी

कार्यालयीय कामबाट फुर्सद पाउनुभयो भने मन्त्री रिजाल नेटमै बस्ने गर्छन् । उनी बिहान, बेलुका सामाजिक सञ्जाल फेसबुक पनि खोल्ने गर्छन् । चाडबाडमा स्टाटससमेत लेख्न भ्याउने उनले आमाको मुख हेर्ने दिन आमाको फोटो राखेर स्टाटस लेखेका थिए । कहिलेकाहीँ आफ्नो बाल्यकालको फोटोसमेत राखेर स्टाटस लेख्ने उनी मन्त्रालयमै बसेर सकेसम्म अनलाइन म्यागेजिन हेर्ने गर्छन् । साथै रिजाललाई कसैले मेल गरेमा प्रेषकले तुरुन्त प्रतिउत्तर पाउँछन् । ठकुरीका अनुसार, नेटमा नहुँदा मोबाइलबाटै पनि उनको मेल गर्ने बानी छ । 

कतै, केही कार्यक्रम नभएको दिन उनी सिधै क्वार्टर फर्कन्छन् । पुगेपछि दिनभरि विभिन्न शीर्षकमा परेको निवेदनको ‘सर्ट लिस्ट’ बनाइन्छ । अनि दिनभरिको कामको समीक्षा पनि हुन्छ । मन्त्रालयमा भेटघाट गर्न नपाएका पार्टीसम्बद्ध नेता तथा अन्यलाई क्वार्टरमै बोलाएर भेटघाट गर्ने मन्त्री रिजालको योक्रम साढे आठ बजेसम्मै चल्छ । यदि उहाँ मन्त्रालयबाट सिधै क्वार्टर फर्कनुभएको अवस्थामा मात्रै यो रुटिनले काम गर्छ । पार्टीका जिम्मेवार नेता र बाहिर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताले बिहान भेट्न नपाए बेलुका क्वार्टरमै भेट्न पाउँछन् । 

‘बेलुका भने मन्त्रीज्यूले खाना खानुहुन्छ,’ स्वकीय सचिव जितेन्द्र ठकुरीले भने, ‘उहाँले नौ, सवा नौभित्र खाना खाइसक्नुहुन्छ । उहाँले दाल–भात, तरकारी मन पराउनुहुुन्छ । साग औधी मन पराउने उहाँले माछा, मासु भने त्यति रुचाउनुहुन्न । साता÷दस दिनमा एकपटक माछामासु खाने उहाँले मौसमअनुसारको फलफूल
खानुहुन्छ ।’ खाना खाइसकेपछि टीभी हेर्दाहेर्दै साढे १०/११ बजिसकेको हुन्छ । ११ बजेभित्र सञ्चारमन्त्री ओछ्यानमा पुगिसक्छन् ।

(प्रकाशित मिति : २०७१ जेठ ६)

Monday, May 12, 2014

फेसबुकबाटै समाजसेवा

(दीपेन्द्र राई)

सरिता गुरुङ
‘समाजसेवा गर्न कुनै संघ–संस्था नै चाहिन्छ भन्ने छैन,’ समाजसेवी सरिता गुरुङले भनिन्, ‘समाजसेवा गर्न चाहेमा माध्यम कति–कति । त्यहीमध्ये मैले सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाएँ । मेरो संघ–संस्था छैन । संघ–संस्था भनेकै सरिता गुरुङ हो ।’

समाजसेवी गुरुङले फेसबुकलाई माध्यम बनाएर समाजसेवामा लागिपरेकी छन् । उनले यही माध्यममार्फत आफ्नो काम अगाडि बढाएकी हुन् । यही सञ्जाल प्रयोग गर्दै उनले सर्वप्रथम ०६८ माघबाट समाजसेवामा लागेकी हुँ । ‘मैले भाचोक–६ मकैखोला कास्कीकी मिर्गाैलारोगी बुद्धिमाया गुरुङको उपचारका लागि १० लाख रुपैयाँभन्दा बढी संकलन गरेँ,’ उनले सुनाइन्, ‘यो नै मेरो पहिलो अभियान थियो । उल्लिखित रुपैयाँ फेसबुकमार्फत मेरै नेतृत्वमा संकलन भएको हो ।’
यसैगरी, गत ०६९ वैशाखमा कास्कीकै खारपानीमा हिमपहिरो जाँदा पीडितका लागि उनले पाँच लाख रुपैयाँभन्दा बढी उठाएकी थिइन् । त्यो पनि उनकै नेतृत्वमा भएको हो । त्यस्तै, साथी–साथी झगडा गर्दा हेल्मेटले लागेर मस्तिष्कमा रगत जमेको पर्वतका एक व्यक्तिको उपचारका लागि ३४ हजार रुपैयाँ संकलन भएको सो रुपैयाँचाहिँ दुबईबाट एकमुस्ट पठाइएको थियो । उनले भरतपुर–१० विशालनगरको चौतारीमा बस्ने वृद्धवृद्धालाई सहयोगार्थ ९२ हजार रुपैयाँ संकलन गरेर उनीहरूकै हातमा थमाइदिइन् । भनिन्, ‘रुपैयाँ हात लागेपछि तिनीहरूको अवस्था बदलियो कि छैन अद्यावधि गर्न पाएको छैन ।’
पछिल्लो समय, पोखराका ब्लड क्यान्सररोगी रितिज श्रेष्ठ कुँवरलाई सहयोगार्थ ‘दसैँ दक्षिणा कलेक्सन’ मार्फत ४५ हजार रुपैयाँ संकलन गरेकी थिएँ । उनको उपचारका लागि रुपैयाँ संकलन गर्न यसपालिको दसैँपछि तिहारअघि वसन्तपुरमा मेरै नेतृत्वमा ‘क्याम्पियन’ गरेका थियौँ ।’
०६९ माघ १३ गते म दोलखा पुगेँ । बेलायती सेनामा कार्यरत गोर्खालीद्वारा सञ्चालित डब्ल्युडब्ल्युडट गोर्खाजडटकमले आलम्पु, दोलखाका थामी दम्पतीलाई सहयोगार्थ ३१ हजार ६ सय रुपैयाँ पठाएका थिए । सो सहयोग थामी दम्पतीलाई हात लगाउन वेबसाइट प्रतिनिधिका हैसियतले म त्यता गएकी थिएँ,’ उनले विगत सुनाइन्, ‘त्यही ३१ हजार ६ सयबाटै उनीहरूका लागि दुई थान सिरक, दुई थान सिरानी, दुई थान सिरानीको खोल र दम्पतीका लागि एक÷एक जोर कपडा किनेर लगिदिएकी थिएँ । बाँकी रहेको १२ हजार उनीहरूकै हातमा थमाइदिएँ ।’ लन भयो । कुँवरको उपचारका लागि रुपैयाँ संकलनार्थ ०६९ को दसैँपछि तिहारअघि वसन्तपुरमा उनकै नेतृत्वमा ‘क्याम्पियन’ गरिएका थियो ।
पहिलोपटक गाडी चढेर दोखला आइपुगेका थामी दम्पतीले दोलखामा रहँदा होटलमा खाएको, बसेको रुपैयाँ पनि ३१ हजार ६ सयभित्रैबाट उनले बुझाइन् । थामी दम्पतीबारे इकान्तिपुरमा ‘भोको छु खान देऊ, जाडो छ लाउन देऊ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । सोही समाचार पढेर डब्ल्युडब्ल्युडट गोर्खाजडटकमले गुरुङमार्फन उनीहरूलाई सहयोग पठाएका थिए ।3 नेपाल पत्रकार महासंघ दोलखाद्वारा स्थापित पत्रकार कल्याणकारी कोषको प्रथम अधिवेशनमा उनले सो सहयोग थामी दम्पतीलाई हात लगाइदिएकी थिइन् ।

‘कान सुन्ने, आँखा नदेख्ने ८२ वर्षीय मानबहादुर थामी र आँखा नदेख्ने र कानसमेत नसुन्ने ८५ वर्षीया बुद्धिमाया थामीको दुःख देखेर उनीहरू बाँचुन्जेल मैले पाँच सय रुपैयाँ दिने प्रतिबद्धता जाहेर गर्दै ६ महिनाको एकमुस्ट रुपैयाँ सोही दिन दिएँ,’ उनले भनिन्, ‘दोलखाका समाजसेवी माधवमणि राजभण्डारीले मासिक पाँच सय दिने भन्नुभयो । पत्रकार रवीन्द्र मिश्रकी छोरी रेया मिश्रले पाँच हजार
थपिदिइन् । स्थानीय अधिकारवादी संस्था हुराडेक नेपालले समेत पाँच हजार रुपैयाँ थमाइदिए । आलम्पु गाविससचिव गौरी कार्कीले पनि एक हजार पाँच सय दिइन् । नेपाली भाषा बोल्नसमेत नजान्ने थामी दम्पती सहयोग पाएर खुसी देखिन्थे । उनीहरू खुसी भएको देखेर मलाई पनि आनन्द लाग्यो ।

‘आगामी दिनमा आलम्पु गाविसका बालबच्चाको शिक्षा–दीक्षाका लागि केही गर्नेछु,’ दोलखामै रहँदा उनले भनिन्, ‘अब त मेरो मिसन नै एजुकेसनमा केन्द्रित हुनेछ ।’ संस्था हुराडेक नेपालले समेत पाँच हजार रुपैयाँ थमाइदिए । आलम्पु गाविससचिव गौरी कार्कीले पनि एक हजार पाँच सय दिइन् ।’ नेपाली भाषा बोल्नसमेत नजान्ने थामी दम्पती सहयोग पाएर खुसी देखिन्थे । थामीदम्पतीको खुसी भएको देखेर आफूलाई समेत आनन्द लागेको गुरुङले बताइन् ।

ढिकुरपोखरी–६ पाउँदुरकोट कास्कीकी उनी ०५९/६० मा काठमाडौं पसेकी हुँ । आएकै वर्ष कान्छा रानाभाट (जो फिरन्ते जीवन बिताउँथे) लाई उनले पशुपति वृद्धाश्रममा राखकी थिइन् ।

‘आमा गुनको तामा’ भनेझैं उनले आमाको समाजसेवी पदचाप पछ्याएकी हुन् । भनिन्, ‘मदर टेरेसाको जीवनी पढेपछि यस क्षेत्रमा लाग्न झनै प्रतिबद्ध भएँ ।’ समाजसेवा अलावा उनको रहर फोटो पत्रकारिता हो । व्यावसायिक रूपमा फोटो पत्रकारिता थालेको वर्ष दिन नाघिसकेको छ । ‘म पोखरासीटी डटकम र ठीकठाक डटकममा काम गर्छु,’ रहरको कामबारे उनले सुनाइन्, ‘आत्मसन्तुष्टि मिलेको छ । फोटो पत्रकारिता गरिरहेकी छु– रहर पूरा गर्दै छु । फेसबुकमार्फत साथीभाइ बनाएकी छु । उनीहरूको विश्वास जितेकी छु । त्यही भएर समाजसेवी सरिता गुरुङ भनेर चिनिने मौका पाएकी हुँ ।’ समाजसेवा र फोटो पत्रकारिताबाहेक उनी कविता, गीत लेख्छन् । केही गीत ‘रेकर्ड’ भइसकेका छन् । छुट्ने बेला उनले सुनाइन्, ‘सामाजिक जीवनले कतै व्यक्तिगत जीवन अप्ठ्यारोमा पर्ने त होइन भन्ने डर लाग्छ । तर, म सचेत छु ।’

प्रकाशित मिति : २०७० चैत ६

मोर्चाको सम्मेलन गरे ‘नोट अफ डिसेन्ट’

गोपाल किराती

(दीपेन्द्र राई)

काठमाडौं, २९ वैशाख । एमाओवादी केन्द्रीय सदस्य गोपाल किरातीले पार्टी केन्द्रीय समितिको आयोजनामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको संघीयता र जातीय, क्षेत्रीय मुक्तिको नीतिबारे प्रतिवेदन प्रस्तुत गर्नेगरी विस्तारितस्तरको बैठक डाक्नुपर्ने बताएका छन् । नेता किरातीले ३५ वटा राष्ट्रिय मोर्चाको सम्मेलन गर्न खोजिएमा आफूले नोट अफ डिसेन्ट लेख्ने जिकिर गरे ।

नेता किरातीका अनुसार, बैठकमा पार्टीका जिल्ला अध्यक्ष, जनवर्गीय संगठन एवम् ३५ राष्ट्रिय मोर्चाका केन्द्रीय प्रमुखको सहभागिता रहनुपर्छ । ०७० भदौमा एमाओवादी केन्द्रीय समिति सदस्य र मोर्चा केन्द्रीय समितिका सबैको उपस्थितिमा सर्वहारा आन्दोलन र जातीय मुक्ति आन्दोलनबीच समायोजन कार्यदिशा र पहिचानसहितको संघीयताबारे राजनीतिक प्रशिक्षण गरिएको थियो । ‘त्यसबाट पार्टीका केन्द्रीय सदस्य प्रशिक्षित भएको देखिएन,’ किरातीले भने, ‘अब मोर्चाको सम्मेलन गरेर भाषण सुनाउनुको औचित्य छैन ।’

‘एमाओवादीले यो सवाल कि दह्रो गरी उठाउनुपर्यो, नछाड्ने हो भने उम्किने र खुस्किन नपाउनेगरी दह्रोसँग समात्नुपर्यो,’ नेता किरातीले सुझाए, ‘नेताहरूको नवसंशोधनवादी तरिकाले क्रान्ति र मुक्ति सम्भव छैन ।’ स्मरण रहोस्, कम्युनिस्ट आन्दोलन कागजमा लेख्ने, मुखले भट्याउने तर व्यवहारमा कार्यान्वयन नगर्ने क्रान्तिको कार्यक्रमलाई नवसंशोधनवादी तरिका भनिन्छ ।

लामो समयदेखि पहिचानको संघीयताका पक्षमा संघर्ष गर्दै आएका नेता गोपाल किरातीलाई गत वर्ष एमाओवादीले ३५ मोर्चा हेर्ने गरी विभागीय इन्चार्जको जिम्मेवारी दिएको हो ।

पहिचानको संघीयता र जातीय मुक्तिलाई नेपाली जनवादी क्रान्तिको महत्वपूर्ण कार्यभार ठान्ने किरातीले विराटनगर राष्ट्रिय सम्मेलनमा प्रचण्डले यसबारे गम्भीरतापूर्वक पार्टी नीति ‘अपडेट’ गर्न माग गरेका थिए । तर, प्रचण्डबाट त्यसको सम्बोधन नभएपछि किरातीलगायत नेता अन्तरपार्टी संघर्षमा जोडदार रूपले लागेका छन् ।

स्रोतका अनुसार, संघीयताबारे दह्रो गरी समात्ने पार्टी पहल नभए यसबारे गम्भीरप्रकारको नोट अफ डिसेन्ट लेख्ने तयारीमा नेता किराती लागेका छन् ।

प्रकाशित मिति : २०७१ वैशाख २९

Sunday, May 11, 2014

डेढ सय घरको छानो एउटै रङको


(दीपेन्द्र राई) 
घर बनाउँदा हरियो रङकै छानो छाउनुपर्छ भन्ने छैन । तर, सोलुखुम्बुको खुम्जुङ र खुन्दे गाउँमा घरको छानो हरियो रङकै हुनुपर्छ । यो अनिवार्य सर्त हो ।
 
स्थानीय बासिन्दाले यो सर्त पालना गर्नैपर्छ । र, गर्दै पनि आएका छन् । तसर्थ, खुम्जुङ र खुम्जुङसँगैका सीमावर्ती गाउँ खुन्देवासीका घरको छानो एकै रङका बन्न पुगे । खुम्जुङ र खुन्देमा डेढ सय घर धुरी रहेका
छन् । डेढ सय घरका छानो एकै रङको बनेपछि गाउँको रूप बदलिएको छ ।
 
हरियो रङको छानो भएकाले नै खुम्जुङ र खुन्दे गाउँ लोभलादो देखिन्छ । गाउँभरिका घरको छानो हरियो रङको भएकाले खुम्जुङले ग्रीनभ्यालीको उपमा पाएको हो । ‘ग्रीन भ्यालीका रूपमा चिनिएका खुम्जुङ र खुन्दे सोलुखुम्बुका अन्य गाउँभन्दा पृथक र लोभलाग्दो देखिएको,’ खुम्जुङ गाउँ विकास समिति पूर्वउपाध्यक्ष लाक्पा नुरु शेर्पाले बताए ।
 
‘गाउँ लोभलाग्दो देखिएपछि नाम्चे हुँदै तेङ्बोचे जानुपर्ने पर्यटकको पाइला खुम्जुङतिर सोझिन्छ । खुम्जुङलाई ग्रीनसिटीका रूपमा अघि सार्नुको औचित्य भनेको यहाँ आइपुगेका पर्यटकको बसाइ लम्ब्याउनु पनि होे । जानियो भने घरको छानो देखाएरसमेत पर्यटक लोभ्याउन सकिँदोरहेछ,’ स्थानीय तेन्जिङ टासी शेर्पाले भने, ‘अन्ततः यहाँका घरको छानो नै पर्यटक लोभ्याउने शीर्षक बन्यो ।’
 
यहाँको घरको छानो हरियो भएकाले पर्यटकमात्रै होइन, चराचुरुङ्गी समेत आकर्षित भएका छन् । पहिले–पहिले जंगलमा मात्रै देखिने चराचुरुङ्गी अहिले घरका छानोछानोमा चिरबिरचिरबिर गरिरहेका देखिन्छन् । ‘चराचुरुङ्गीले चिरबिरचिरबिर गर्दै गाएको गीत सुनिरहूँ लाग्ने,’ स्थानीय खुम्जुङ महिला समूहकी पेमाडोमा शेर्पाले बताइन् । शेर्पाका अनुसार कतिपय चराचुरुङ्गी त गाउँमै बास बस्छन् पनि । त्यसमा पनि कतिपय चराचुरुङ्गीले घर–घरमै गुँड लगाएका छन् ।
 
गाउँभरिका सबै घरको छानो एकै रङको बनाउने आपूmले देखेको सपना गाउँलेलाई सुनाउँदा एकताका स्थानीय तेन्जिङ शेर्पा आलोचित बनेका थिए । आलोचित शेर्पाले देखेका सपना टीएमआई (द माउन्ट) नामक संस्थाले साकार पारेको छ । द माउन्ट र स्थानीय बासिन्दाको सहकार्यमा गाउँको रूप बदल्न सहज भएको हो ।
 
पर्वतारोहीका गाउँ भनेर चिनिने खुम्जुङका ३५ भन्दा बढीले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहण यहाँका बासिन्दाको मुख्य काम हो । खुम्जुङमा जोकोहीले घर बनाउँदा घरमालिकले घरको छानो हरियो रङको छाउनैपर्छ ।

प्रकाशित मिति : २०७० चैत १४, (इनेपाली खबर डटकम)

‘घाम तापौं अभियान’मा घरभेटीको चर्चा


(दीपेन्द्र राई)
 (दीपेन्द्र राई)

काठमाडौं, २७ वैशाख । काठमाडौंमा जागिरभन्दा कोठा पाउन गाह्रो छ । जागिर त भनसुन गरेर पनि पाइएला तर कोठा पाउन त्यति सजिलो छैन । काठमाडौंको चर्को समस्यामध्ये कोठा पनि एक हो ।

कोठा पाइहाले पनि घरभेटी र डेरावालबीचको सम्बन्ध सौहार्द नहुँदा धेरैले धेरैखालका समस्या भोग्नुपरेको छ । तर, अपवादबाहेक यो समस्या कहिल्यै सार्वजनिक हुँदैनन् ।

‘जाडो भए घाम तापौँ, गर्मी भए शीतल तापौँ’ अभियानको दोस्रो शृंखलामा घरबेटी र डेरावालबीचको सम्बन्धबारे आज काठमाडौं रत्नपार्कको शान्तिवाटिकामा व्यापक छलफल भयो । चौकथ नेटवर्कको योे अभियान प्रत्येक दुई/दुई महिनामा हुने कला राईले बताइन् । आँगनलाई मैथिली भाषामा चौकथ भनिन्छ ।

प्रत्येक दुई/दुई महिनामा एक दिन दिउँसो १२ देखि तीन बजेसम्म प्रत्येक शृंखलामा फरक–फरक शीर्षकमा छलफल गरिन्छ । ‘पुरुषले त चिया खाँदाखाँदै पनि देश, काल, परिस्थितिलगायत विभिन्न शीर्षकमा गफ गर्न पाउँछन्,’ राईले सोधिन्, ‘हामी (महिला) लाई खोई समय ? हामीचाहिँ जहिल्यै भान्छामा सीमित ? त्यही भएर हामीले यो अभियान थालेका हौँ ।’ यो अभियान दुई महिनामा महिलाभित्र रहेका उकुस–मुकुससमेत पोख्ने माध्यम पनि हो ।

आजको शृंखलामा काठमाडौंमा पानी समस्या र संविधानसभामा मनोनीत हुन बाँकी २६ सभासद्बारे समेत छलफल भएको राईले जानकारी दिइन् । शृंखला–२ मा ३० भन्दा बढी महिलाको उपस्थिति रहेको थियो । तर, तीन घन्टाभित्र आउने जानेक्रम चलिरहेको देखिन्थ्यो ।

प्रत्येक शृंखलामा उपस्थिति जनाउनेले घरबाटै खाजा र पानी ल्याउने गर्छन् । जसकोमा जे छ त्यही खाजा बोक्ने गरिन्छ । जाडोको समयमा भए घाम ताप्दै र गर्मी भए शीतल ताप्दै अनि आफूले बोकेको खाजा खाँदै छलफल गरिने इन्दिरा घलेले बताइन् ।

चौकथले थालेको अभियानअन्तर्गत वैशाखमा ‘गर्मी भए घाम ताप, जाडो भए शीतल ताप’, जेठमा ‘किताबसम्बन्धी छलफल’ र असारमा ‘लिगल टक शो’ परेको छ । चौकथले दोस्रो संविधानसभा निर्वाचनअघि ‘भोट कसलाई नेतृलाई’ भनेर अभियान नै चलाएको थियो । उसले गएको मार्चभरि काठमाडौंको थापाथलीमा रहेको मार्टिन चौतारीमा ‘महिला वक्ता : महिलाकै सवाल’ समेत सञ्चालन गरेको थियो ।

(प्रकाशित मिति : २०७१ वैशाख २७ गते ।)

Wednesday, May 7, 2014

सविताको सत्कर्म

(दीपेन्द्र राई)
विशेष स्कुलका विद्यार्थीसँग सविता ।

चौध वर्ष । यो समय कतिलाई छोटो लाग्ला, कतिलाई लामो । काठमाडौं टेकेको १४ वर्षमा के–के गर्न
सकिएला ? जोकोहीलाई सजिलै उत्तर दिन गाह्रै पर्छ । यत्तिका अवधिमा सबैले आ–आफ्नै प्रकृतिका उन्नति गर्लान् । प्रगति गर्लान् ।

नाम्दु–१ दोलखाकी सविता उप्रेतीले १४ वर्षमै लोभलाग्दो प्रगति गरेकी छन् । उप्रेतीले प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र बोकेर काठमाडौं टेकेको १४ वर्ष पूरा भएको छ । उनी ०५६ मा उच्चशिक्षा हासिल गर्न काठमाडौं टेकेकी हुन् । जुन उद्देश्यले काठमाडौं टेकिन्, त्यसले मूर्त रूप लियो । अहिले उनको हातमा समाशास्त्रमा स्नातकोत्तर गरेको प्रमाणपत्र छ । त्यतिमात्रै होइन, उनले समाजसेवी भन्ने परिचय पनि बनाएकी छन् । 

समाजसेवामा लाग्न जोकोहीले हिम्मत गर्दैनन्, त्यो पनि युवापुस्ताले । समाजसेवा गर्नु भनेको महिनाभरि काम गरेपछि सम्बन्धित कार्यालयले दिने तनखाजस्तो होइन । समाजसेवामा लाग्न फराकिलो छाती चाहिन्छ । सविता तिनै हिम्मतिला व्यक्ति हुन्, जसको छाती काठमाडौंको टुँडिखेलजस्तै छ ।

समाजशास्त्रमा स्नातकोत्तर गरेकाले राम्रै जागिर पाउँछन् । उनले पनि सरकारी तथा गैरसरकारी संघ–संस्थामा आकर्षक तलबसहित सम्मानित जागिर पाउँथिन् । त्यसमा दुईमत छैन । तर, उनलाई आकर्षक जागिरले तानेन । तसर्थ, स्नातकोत्तर पढ्दापढ्दै समाजसेवामा लागिन् । 

पढ्दै र पढाउँदै ‘करिअर’ बनाउन थालेकी उनले एकाएक शिक्षण पेसा छाडिन् । काठमाडौं पसेको वर्ष दिन अर्थात् ०५७ बाट काठमाडौंको जोरपाटीमा रहेको सरस्वती उच्चमाविबाट उनले अध्यापन थालेकी हुन् । ६ वर्षसम्म आफूले गरेको एउटै कामप्रति उनी सन्तुष्ट हुन सकिनन् । 

ढुंगा खोज्दा देउता मिलेझैं उनी समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय अपांग कोषको शारीरिक पुनस्र्थापना केन्द्रको व्यवस्थापन अधिकृत भइन् । यो ०६४ को कुरा हो । नजानिँदोपाराले सानैदेखि समाजसेवा गर्ने रहर पालेकी उनको रहरले फुल्ने, फल्ने मौका पायो । त्यसको प्रतिफल हो– विशेष स्कुल तथा पुनस्थार्पना केन्द्र । ०६७ मा स्थापित केन्द्र काठमाडौंको सिनामंगलमा रहेको छ । 

यो नेपालको पहिलो विशेष स्कुल हो । यहाँ शारीरिक तथा बौद्धिक रूपमा अपांगता भएको बालबालिकालाई पढाइन्छ । स्पेसल स्कुल फर डिसेबल एन्ड रिह्याबिटेसन सेन्टरकी संस्थापक तथा प्रबन्ध निर्देशक सविता उप्रेतीले भनिन्, ‘यहाँ अपांगताको प्रकृति हेरेर पाठ्यक्रम तयार गरी श्रव्य–दृश्य, कम्प्युटर तथा मन्टेश्वरी प्रणालीबाट शिक्षा प्रदान गरिन्छ ।’ 

विशेष स्कुलमा दुई तरिकाले अध्यापन गराइन्छ । यहाँ पढ्न चाहने १६ वर्षमुनिका शारीरिक रूपले अशक्त, मस्तिष्क पक्षघात भएका, बोल्न नसक्नेलगायत विद्यार्थीलाई अपांगताको प्रकृतिअनुसार विशेष प्रणालीद्वारा पढाइन्छ भने १६ वर्षमाथिका अपांगता भएका व्यक्तिलाई पनि विशेष शिक्षाको साथसाथै तालिमसमेत व्यवस्था गरिएको हुन्छ ।

‘यहाँ अध्ययनरत विद्यार्थीलाई खाना, खाजा र यातायातको व्यवस्था छ,’ सविताले सुनाइन्, ‘फिजियोथेरापी, अकुपेसनल थेरापी, स्पीच थेरापीका साथै नियमित स्वास्थ्यजाँच पनि गराइन्छ । स्कुल भर्ना भएकाबाहेक अपांगता भएका बालबालिकालाई पनि फिजियोथेरापी गराइन्छ ।’

अपांगता भएका बालबालिकालाई उनीहरूको बौद्धिक  क्षमताअनुसार शिक्षा प्रदान गरिने यो स्कुलमा सर्वसाधारणले प्राप्त गर्ने शिक्षाजस्तो पूर्वप्राथमिक, प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक शिक्षाजस्तो तह छुट्याएर पढाइँदैन । यहाँ श्रव्य–दृश्य, कम्प्युटर तथा मन्टेश्वरी प्रणालीबाट साधारण लेखपढ गर्न सक्ने तथा दैनिक काममा कसैको सहयोग नलिई आफैँ गर्न सक्ने क्षमता अभिवृद्धि गराई उनीहरूमा सक्षम र समाजमा पुनःस्थापना गराउने प्रयास गरिन्छ । 

भनिन्छ– पढ्न पाउनु सबैको अधिकार हो । यसो भनिए पनि नेपालमा अपांगता भएका बालबालिकाका लागि भनेर विशेष स्कुल खुलेका छैनन् । सविता उप्रेतीको एक्लो प्रयासमा सञ्चालित विशेष स्कुल तथा पुनस्थार्पना केन्द्र नेपालकै पहिलो हो । सरकारले गर्नुपर्ने काम उनी एक्लैले थालेकी छन् । भारतलगायत विभिन्न देशमा विशेष शिक्षाको व्यवस्था गरिएको हुन्छ । नेपालमा भने विशेष शिक्षासम्बन्धी नियम, कानुन बने पनि कानुनमै सीमित छ । 

नेपालमा विशेष शिक्षाको व्यवस्था न सरकारले गरेको छ न त निजी क्षेले नै । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी प्रिन्सिपलसमेत रहेकी सविताले गुनासो सुनाइन्, ‘यहाँको विशेष शिक्षा सर्वसाधारण विद्यार्थीले प्राप्त गर्ने शिक्षासँग गाभिएको छ । सरकारी तथा गैरसरकारी विद्यालयले अपांगता भएका बालबालिकालाई भर्ना लिनै हिच्किचाउ“छन् । धेरैजसोले त भर्ना लिँदै लिँदैनन् । भर्ना लिइहाले पनि उनीहरूले एउटै कक्षामा धेरै वर्ष झुन्डिनुपर्छ ।’ 

कारण ? उनले भनिन्, ‘अपांगता भएका विद्यार्थी विद्यालय जाँदा अस्पताल जान छुट्ने, अस्पताल गए पढाइ छुट्ने । त्यसो भएकाले उनीहरूलाई नर्मल स्कुलमा पढाउँदा एउटै कक्षामा वर्षाैं झुन्डिरहनुपर्छ । अपांगता भएकाको दुवै कामले निरन्तरता पाओस् भनेर मैले विशेष स्कुल खोलेकी हुँ ।’

उनको स्कुलमा विभिन्न प्रकृतिका अपांगता भएका ४० जना अध्ययनरत छन् । आफ्नै पहलमा थालिएको कामले उनलाई सन्तुष्टि मिलेको छ । भन्छिन्, ‘समाजसेवा गरेर मैले पैसा त कमाउँदिनँ तर आत्मसन्तुष्टि पाएकी छु । साथै मेरा विद्यार्थी, अभिभावक, स्टाफकोे न्यानो माया पाएकी छु । यो नै मेरा लागि अमूल्य सम्पत्ति हो ।’ 

अहिलेसम्म उनको कामप्रति कुनै दाताको आँखा परेको छैन । उनको कामलाई बुवा, आमा, दाजुभाइ, बहिनी अनि मावलीले सघाइरहेका छन् । ११ वर्षदेखि विभिन्न सञ्चारमाध्यमसँग सम्बद्ध उप्रेतीले अनुरोध गरिन्, ‘अपांगता भएका व्यक्तिलाई दया होइन अवसरको खाँचो छ । यदि उहाँहरूले समयमैै अवसर पाउनुभयो भने राष्ट्रका लागि अमूल्य योगदान दिन सक्नुहुनेछ । हामीले उहाँहरूलाई आ–आफ्नो क्षेत्रबाट अवसर दिन सकुँ ।’
आधा दर्जन सामाजिक संघ–संस्थामा रहेर काम गरेको अनुभवले उनलाई स्कुल सञ्चालन गर्न सजिलो भएको छ । साहित्यप्रति त्यत्तिकै रुचि राख्ने उनको तीन उपन्यास निकट भविष्यमा सार्वजनिक हुँदै छ । ११ वर्षमा उनले आधा दर्जन पत्रपत्रिका, टेलिभिजन र एफएम रेडियोमा काम गरेको अनुभव सँगालेकी छन् । त्यसैले उनी अलिकति समाजसेवी, अलिकति पत्रकार र अलिकति साहित्यका विद्यार्थी भई विभाजित भएर बाँचेकी छन् ।

raideependra@gmail.com 

Tuesday, May 6, 2014

छायाँमा पीडा

(दीपेन्द्र राई)

गोंगबुको बानियाँटारमा निर्माणाधीन एक घरको पर्खाल लगाउँदै गरेको अवस्थामा भेटिए– राम तामाङ र च्यान्टी तामाङ । राम र च्यान्टी श्रीमान्–श्रीमती हुन् । च्यान्टीले लगाएको पर्खाल रामले लगाएकोभन्दा कम्तीको देखिँदैनथ्यो । भिन्नता देखिन्थ्यो भने केवल पारिश्रमिकमा मात्रै ।

रामले त्यही काम गर्दा दैनिक आठ सय पारिश्रमिक पाउँछन् भने सोही काम गर्ने च्यान्टीले पाँच सय ५० रुपैयाँमै चित्त बुझाउनुपर्छ । कारण ? तामाङद्वयका ठेकेदार अशोक राईले भने, ‘राम डकर्मी हुन् । च्यान्टीचाहिँ डकर्मीका सहयोगीमात्रै । श्रीमान् डकर्मी र उसको सहयोगी श्रीमती भएकाले श्रीमान्ले गरेको काम च्यान्टीले हेरेरै जानेकी हुन् । जानेको काम स्वविवेकले गर्दै आएकीले बिस्तारै च्यान्टीको तबल पनि बढाउने विचार गरेको छु ।’ 

बानियाँटारकै निर्माणाधीन सोही घरमा काम गरिरहेकी सानु बुढाथोकीले पनि घरको पर्खाल लगाउन जानिसकेकी छन् । तर, उनले आधिकारिक रूपमा डकर्मीको काम सम्हालेकी छैनन् । त्यसैले पाँच सय ५० रुपैयाँमै उनले पनि चित्त बुझाउनुपरेको छ ।

काठमाडौं उपत्यकामा राम, च्यान्टी र सानुजस्ता निर्माणसम्बन्धी काम गरेर जीनव निर्वाह गर्ने प्रशस्तै भेटिन्छन् । पसिनाको गीत गाएर खानुको मज्जा आफ्नो ठाउँमा होला तर राम, च्यान्टी र सानुजस्ता अनौपचारिक श्रमिक (नियुक्तिपत्र नलिई अर्थात् डकर्मी, उसका सहयोगी, सहयोगी भन्नाले बालुवा चाल्ने, मसला बनाउने, इँटा बोक्ने काम गर्छन्) को पनि त समस्या होलान् ?

‘छन् नि किन नहुनु,’ मूलपानी, काठमाडौंनिवासी अर्जुन जीसीले सुनाए, ‘हामीजस्ता सोझासिधाले गरिखान मुस्किल छ ।’ किन ? अमिलो मन बनाउँदै उनी थप्छन्, ‘जम्मा तीन पढेको छु । दायाँ–बायाँ गर्न जान्दिनँ । सोझो तरिकाले काम गर्दासमेत दुःख पाइँदोरहेछ ।’

२५ वर्षदेखि डकर्मी काम गर्दै आएका जीसीले यत्तिका अवधिमा एक सयभन्दा धेरै घर बनाइसकेका छन् । आफूले बनाइदिएको घरमा सम्बन्धित परिवार हाँसीखुसी बसेको देखेका उनले फेरि दुःख पोखे, ‘तर, घर बनाइदिनेको पीडा घरधनीलाई थाहा छैन । थाहा छ भने केवल ठेकेदारलाई । कतिपय ठेकेदारले आफू सोझो हुनुको फाइदा उठाइ छाडे नि सर ।’

अर्जुनले डकर्मी काम गरेरै मूलपानीमा घर बनाएका छन् । एकताका डकर्मी काम गर्न दार्जिलिङसम्म पुगेका उनले उता र नेपालमा कमाएको रुपियाँमा थपथाप गरेर घर बनाएको सुनाए । डकर्मी काम गरेरै घर बनाउन सके पनि उनले आफूलाई काम गरेको पारिश्रमिक नदिने ठेकेदारलाई तह लगाउन सकेका छैनन् । आफूजस्ता निर्माणसम्बन्धी काम गर्नेको संघ–संगठन छ भनेको मात्रै सुनेका उनले श्रमिकमारा ठेकेदारलाई कसरी दण्डित गर्न सकिन्छ भन्नेचाहिँ थाहा पाएका छैनन् । 

काम लगाएपछि पारिश्रमिक नदिने ठेकेदारलाई कसरी दण्डित गर्न सकिन्छ ? अर्जुनले सोधीखोजीसमेत गरेका छैनन् । उनले दुःखेसो पोखिरहँदा उनीसँगै काम गरिरहेकीे लातुबुलुङ, दोलखाकी चन्डिका गुरुङले हामी महिला श्रमिकको समस्या सुनाउन मिल्छ मिल्दैन भन्दै सोधिन्, ‘डकर्मीका सहयोगी पुरुषले पाँच सय पारिश्रमिक पाउँदा महिलाले चार सय रुपियाँमात्रै पाउँछौं  किन होला ? महिलाले पुरुषजत्तिकै काम गर्न नसक्ने भएकाले नै हो कि ? एउटै काम गर्नेलाई पनि असमान तलब किन दिइन्छ ?’ 

निर्माणसम्बन्धीे बानियाँटार, काठमाडौंमा काम गर्ने डकर्मीका सहयोगीले पाँच सय ५० रुपियाँ पाए पनि यता काठमाडौंकै मूलपानीमा सोही काम गर्ने चन्डिकाले चार सय रुपियाँमात्रै पाउँदै आएकी छन् ।

जीसी र गुरुङको समस्या धेरैले भोगेका छन् । कतिपय अवस्थामा कतिपयको समस्यालाई निप्टारा लगाइएको होला तर धेरैजसोको समस्या समस्यामै सीमित छ । यस्तो किन हुन्छ ? अखिल नेपाल ट्रेड युनियन महासंघ उपाध्यक्ष जय कार्की भन्छन्, ‘यस्तो समस्या अनौपचारिक श्रमिकमा मात्रै देखिएका छन् । निर्माणसम्बन्धी काम लगाउने सबै ठेकेदार सज्जन हुन्छन् भन्ने छैन । त्यसैले यस्ता समस्या समाधान बारम्बर दोहोरिइरन्छन् । तर, समस्या आउनसाथ सम्बन्धित जिल्लाका श्रमिकले सम्बन्धित जिल्ला विकास समिति, प्रमुख जिल्ला अधिकारी, गाउँ विकास समिति र श्रम विभागमा सिकायत गरे तुरुन्तै कारबाही हुन्छ ।’ सिकायत भएपछि समान काम गर्नेलाई पारिश्रमिक भेदभाव गरिएको छ भने तुरुन्त क्षतिपूर्ति भरिदिनुका साथै जसलाई ठेकेदारले काम लगाएर पनि पारिश्रमिक दिएको छैन, त्यस्ता ठेकेदारलाई पाँच हजार जरिवाना र कामदारको पारिश्रमिक उपलब्ध गराउन बाध्य पारिन्छ । 

अखिल नेपाल निर्माण मजदुर संघ अध्यक्ष रूपक गुरुङले निर्माणसम्बन्धी काम गर्ने श्रमिक आफू अन्यायमा परेको भन्दै संघमा सिकायत गर्नेको चाप बढेको जानकारी दिए । गुरुङले भने, ‘त्यस्तो सिकायत आउनसाथ अन्यायमा परेका श्रमिकलाई न्याय दिलाउन आफ्नो संघले ठेकेदारलाई दबाब दिएरै पनि समस्या समाधान गरेको छ ।’ 

समस्या असमान तलबका मात्रै रहेन । त्योबाहेकका समस्याले पनि गाँजेको छ– चन्डिका गुरुङलाई । ४० वर्षीया गुरुङले सुनाइन्, ‘पुरुषभन्दा महिला श्रमिकको समस्या धेरै छन् । कतिपय अवस्थामा पुरुषसरह काम गर्न खोजे पनि महिलाको स्वास्थ्यले साथ दिँदैन । गह्रौँ वस्तु उचाले पेट खस्छ । काम गर्नेक्रममा धेरैपटक मेरो पेट खसेको छ । पेट खसेमा साता दिन काममा जान सकिँदैन । नचाहेरै पनि आराम गर्नैपर्यो । साता दिन काममा नगएपछि आयस्रोत घट्ने नै भयो ।’

खानुसम्म गोता खाएपछि हिजोआज अर्जुन जीसी ठेकेदारमार्फत गर्दैनन् । उनले घर बनाउनेसँग सिधा सम्पर्क गरेर काम गर्न थालेका छन् । सिधा सम्पर्कमार्फत काम गरे फाइदा हुने उनको ठम्याइ छ । भने, ‘ठेकेदारमार्फत काम गर्दा भनेको समयमा पारिश्रमिक नपाउनुको पीडा आफ्नो ठाउँमा छ । साथै पारिश्रमिक पनि कमै पाइन्छ ।’ जीसीको उल्लिखित अभिव्यक्तिले श्रमिक र ठेकेदारबीचको सम्बन्ध सौहार्द छैन भन्ने बुझाउँछ । तर, ५१ जना कामदार परिचालन गर्दै आएका लेखर्क, भोजपुरका ठेकेदार अशोक राई भने ठेकेदार र श्रमिकबीचको सम्बन्ध सौहार्द हुनुपर्ने बताउँछन् । आठ दिनमात्रै डकर्मी काम गरेर सिधै ठेकेदार बनेका उनको तर्क छ, ‘ठेकेदार र श्रमिकबीच सम्बन्ध राम्रो भएन भने कुनै पनि योजना/परियोजना सोचेजस्तो सम्पन्न हुँदैन । कुनै पनि योजना सोचेजस्तो नभएपछि ठेकेदार बेइमानी ठहर्छ । त्यसको असर उसैलाई पर्ने हो ।’

नेपालका सन्दर्भमा घर बनाउने काममा लागेका श्रमिकले तीन महिनाजस्तो हात बाँधेरै बस्नुपर्ने हुन्छ । जीसीका अनुसार, असार, साउन र भदौभरि घर बनाउने काम त्यति हुँदैन । तीन महिना काम नभए पनि चन्डिका गुरुङलाई छैन । यो समयमा उनी कहिले ऊन डल्लो पार्ने काम गर्छिन् भने कहिले आलु खन्न जाने, बालुवा चाल्ने र भारी बोक्ने गर्छिन् । उनले भनाइ छ, ‘काम गर्छु भन्नेलाई काठमाडौंमा कामको खाँचो छैन ।’

कपाल कोेरेर प्रेमीको प्रतीक्षा गरिरहेकी इलाम

कन्याम
(दीपेन्द्र राई)

पवन चाम्लिङ र सोफिया तुलाधर आउँदो दसैँमा इलाममा हुनेछन् । चाम्लिङ र तुलाधरले विजयादशमीकोे सूर्योदयको दृश्य इलामबाट नियाल्नेछन् । इलामको प्राकृतिक सुन्दरताप्रति सबै–सबै लोभिएका हुन्छन् । ‘अरूले भनेको मात्रै सुनेका हामीले इलामको प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्न यसपालिको दसैँ इलाममा मनाउने सोच बनाएका हौँ,’ राई र तुलाधरले बताए ।

दुवैको सामूहिक उत्तर थियो, ‘गाउँखाने कथा हाल्दा उत्तर दिन नसक्नेसँग प्रश्नकर्ताले इलाम माग्ने गथ्र्याैं । गाउँ माग्नेक्रममा उत्तर दिन नसक्नेले इलाम दिएपछि उत्तर दिन्थ्यौँ । एकताका गाउँखाने कथा हाल्दा उत्तर दिन नसकी इलाम लैजाऊ भन्नेहरू हामी इलाम जाने थाहा पाएपछि उनीहरूले फोटोमै भए पनि हामीलाई इलाम कैद गरेर ल्याउन लगाएका छन् ।’

‘उत्तर–दक्षिण फैलिएको पहाडी शृंखलाले इलामलाई कुँदिएको हीराजस्तै बनाएको छ भने चियाका बुटाले बैंसको कुमारी बनाएको छ । नयाँबजारको सल्लाघारीले इलामलाई कपाल कोेरेर पोइल हिँड्न आँटेकी कान्छीजस्तो बनाएको छ भने माइपोखरी र उत्तरपोखरीले इलामलाई आँखाभरि आँसु छचल्काएर प्रसूति व्यथामा रुन लागेकी नववधुजस्तो बनाएको छ,’ इलामको प्राकृतिक सुन्दरतालाई इलामकै चेतनाथ आचार्यले यसरी चित्रण गरेका छन्, ‘चारवटा माइखोलाले इलामलाई कपाल फुलेकी बूढी आमैजस्तो बनाएको छ भने घुमाउरो मोड र घुम्तीले भर्खरै ब्युटीपार्लर गएर ‘कर्ली हेयर बनाएकी सहरिया मैयाँजस्तो बनाएको छ । चित्रे र इभाङमा फुलेको हराभरा लालीगुराँसले इलामलाई लाली र लिपिस्टिक लगाएकी नक्कलीजस्तै बनाएको छ ।’
श्रीअन्तु

त्यसैले होला, शैक्षिक भ्रमण होस् या वनभोज जाने छलफलमा इलाम जाऊँ न है भन्नेहरू बाक्लै भेटिन्छन् । कवि भूपी शेरचनले पनि इलामको प्राकृतिक सुन्दरताबारे जानेको, बुझेको हुनुपर्छ । नत्र शेरचनले नेपालभरि अलिकति इलाम छर्ने चाहना किन गर्थे होलान् ।

१० हजार ६०० हेक्टर भूमि चिया खेतीयोग्य भए पनि इलाममा अहिले एक हजार ६२५ हेक्टरमा मात्रै चिया खेती गरिँदै आएको तथ्यांकमा उल्लेख छ । चियासँग मात्रै इलामको चिनारी जोडिएको छैन । पर्यटीय स्थल पनि इलामको गहना मानिन्छ ।

पूर्वको बिहानसँगै श्रीअन्तुबाट दार्जिलिङको टाइगरहिलबाट भन्दा प्रस्ट र धेरै बेर सूर्याेदयको दृश्य नियाल्न सकिन्छ । सूर्याेदयको दृश्यका साथसाथै यहाँबाट टिस्टा नदी, मेची शिर, खर्साङ, बंगलादेशको केही भू–भागका साथै हिमाल, पहाड र तराई एकैठाउँ बसेर नियाल्न सकिन्छ । जिल्लाकै सबैभन्दा उचाइमा रहेको सन्दकपुरबाट मोतीझैँ टल्किने हिमशृंखला (सगरमाथा, कञ्चनजंघा, मकालु र कुम्भकर्ण) आँखाअगाडि नै देखिन्छन् । सुलुबुङ पहाडको शिरमा अवस्थित नौकुने माइपोखरी पनि यहाँको प्रसिद्ध पर्यटकीय स्थल हो । ‘यहाँ आइपुगेपछि सन्दकपुर, माइपोखरी र श्रीअन्तु नटेके इलामको यात्रा अधुरो मानिन्छ,’ पन्यकन्या–४ माघेकी सुमित्रा राईले बताइन् ।

छिनछिनमा बदलिरहने कन्याम चिया बगान वनभोजका लागि उपयुक्त ठाउँ मानिन्छ । वनभोज र घुम्न आउनेको संख्या बढ्दै गएको कन्याम गाउँ विकास समिति सचिव नेत्र पोखरेलको स्वीकारोक्ति छ । झापा, मोरङ, सुनसरी र इलामका वनभोजप्रेमीका लागि उत्कृष्ट गन्तव्य बनेको कन्यामबारे निबन्धकार तारानाथ शर्माले ‘इलामको माया’ शीर्षाकृत लेखमा जापानको साथीसँग कन्याम घुम्दा जापानी साथीले दिएको प्रतिक्रिया यसरी उल्लेख गरेका छन्, ‘पहाड गोलो रोटीजस्तो फनक्क घुमेको छ । यी गाउँ र खोलाखोल्सी हिस्सी परेकी युवतीका पछ्यौरीजस्तै लाजले लत्रिएका छन् । यस्तो रमणीय स्थल पृथ्वीमा अरू कतै हुन सक्दैन । यहाँ चलचित्र ‘वरपीपल’, ‘आमाको काख’ लगायत थुप्रै चलचित्र छायांकन गरिएको छ भने म्युजिक भिडियो छायांकन लागि कन्याम आउनेक्रम बाक्लिएको छ ।
माइपोखरी

सूर्याेदयको जिल्ला इलामका वनपाखासमेत सदुपयोगमा आएका छन् । कतै खाली ठाउँ नराखी खेती गर्नु यहाँका किसानको विशेषता हो । अलैंची, अदुवा, अम्रिसो, ओलान, अकबरे खुर्सानी, आलु गरी ‘६’ वटा ‘अ’ नामक नगदे बालीले इलामे किसानलाई उँभो लगाएको छ । भनिन्छ, ‘अन्य जिल्लाको भन्दा यहाँका किसानको आम्दानी उकासिएको छ ।’ कारण यहाँका किसान जाँगरिला हुन्छन् । उखान नै बनेको छ– ‘जाँगर नभए इलाम
जानू’ ।

पञ्चकन्या–४ माघेका किसान विक्रम राई भन्छन्, ‘यहाँका एउटै परिवारले वार्षिक दुई लाख रुपैयाँबराबरको त इस्कुसमात्रै बेच्ने गर्छन् । कन्याम, पञ्चकन्या, कोल्बुङ, पशुपतिनगर, जिर्मले र प्याङमा जिल्लामै सबैभन्दा बढी इस्कुस फलाइन्छ ।’

यहाँको भीरपाखामा समेत रुपियाँ फल्छ । चिया खेतीको होडसँगै उत्तीस, इस्कुस, नासपाती, घिउ, चिराइतो, चीज, बाँस, घिउसिमी, सुन्ताला, नेपाली कागज र फूल इलामका किसानका नियमित आम्दानी स्रोत हुन् ।

नेपाली जनजिब्रोमा इलामसँग जोडिएर आउने अर्काे प्रसंग हो उखान–टुक्का । नेपाली उखान–टुक्कामा पनि इलामको प्रसंग त्यत्तिकै जनप्रिय मानिन्छ । जसमध्ये ‘झापाको खेती इलामकी केटी’ ले चर्चा पाएको छ । ‘इलामकी केटी चिरस्मरणीय हुन्छन्,’ झापालीको स्वीकोरोक्ति छ । इलामबाट बिहे गरेर ल्याएको छ भने झापालीहरू भन्छन्, ‘इलामकी बुहारी भएपछि केको चिन्ता ।’

रोजीको रहर

(दीपेन्द्र राई)


रोजी खालिङ
तिमी भविष्यमा के बन्न चाहन्छौ भनेर जोकोही बालबालिकालाई सोधियो भने उनीहरूले ‘रेडिमेड’ उत्तर दिने गर्छन्, ‘म डाक्टर, इन्जिनियर, पाइलट बन्छु ।’ यही प्रश्न १० वर्षीया रोजी खालिङलाई सोध्दा उनले भनिन्, ‘म पर्वतारोही बन्छु ।’

काठमाडौँको बाँसबारीमा रहेको चाँद वाग स्कुलमा कक्षा पाँचमा अध्ययनरत खालिङ वाल क्लाम्बिङ गर्न औधी मन पराउँछिन् । उनले नर्सरी पढ्न थालेदेखि नै वाल क्लाम्बिङ गर्न थालेकी हुन् । वाल क्लाम्बिङ गर्नु भनेको साहसिक र जोखिमपूर्ण काम हो ।

रोजीको बुवा धन खालिङ राई ट्रेकिङ व्यवसायी हुन् । उनले ६ हजार मिटरसम्मको पाँचवटा हिमालको ‘ट्रेकिङ पिक’ गरिसकेका छन् । आधार शिविरबाट एकै दिनमा सम्बन्धित हिमाल चढेर आधार शिविरसम्म फर्कनुलाई ‘ट्रेकिङ पिक’ भनिन्छ । धन आफूले प्रत्येकपटक पर्वतारोहण गर्दाको सफलता परिवारलाई सुनाउँछन् । बुवाको सफलताको कथा सुन्दासुन्दै रोजीलाई पर्वतारोहणप्रति चाख लागेको
हो । त्यसपछि रोजी आफू बसेको घरको झ्यालको ग्रीलमा नाइलनको डोरी अल्झाएर कम्मरमा टेपसिलिन (माथि लैजाने तल झार्ने साधन) बाँधेर वाल क्लाम्बिङ गर्न थालिन् । उनी भन्छिन्, ‘मलाई पढ्नभन्दा क्लाम्बिङमा रुचि छ । तर पनि म पढाइलाई पनि त्यत्तिकै प्राथमिकता दिएकी छु ।’

धनले वाल क्लाम्बिङ गर्नु भनेको जोखिमपूर्ण काम हो भने पनि रोजीले नमानेपछि उनले छोरीलाई वाल क्लाम्बिङ गर्न सिकाए । रोजीले निरन्तरता दिइन् । उनले भनिन्, ‘मैले क्लाम्बिङ गर्न थालेपछि ममीले लड्छ–लड्छ भन्नुहुन्थ्यो तर मैले वाल क्लाम्बिङ गर्न छाडिनँ ।’ विद्यालय छुट्टीपछि घर पुगेर खाजा खाई एक घन्टा पढेपछि उनी सधैं वाल क्लाम्बिङ गर्न थाल्थिन् ।

रोजी चार वर्षअघि देखि पासाड ल्हामु फाउन्डेसन धुम्बाराही काठमाडौँ जान थालेकी हुन् । उनलाई ममी धनमाया खालिङ राईले त्यहाँ पुर्याउँछिन् । फाउन्डेसनमा वाल क्लाम्बिङसम्बन्धी आधारभूतदेखि विशेष कोर्ससमेत सिकाइन्छ । उनी सातामा दुई/तीनपटक त्यहाँ पुगेर वाल क्लाम्बिङ गर्छिन् । त्यहाँ रहेको वाल क्लाम्बिङ गर्न उनलाई आधा घन्टा लाग्छ । ‘सुरु–सुरुमा वाल क्लाम्बिङ गर्न निकै डर लाग्थ्यो । माथि पुगेपछि तल हेर्दा रिंगटा लाग्लाझैँ हुन्थ्यो । अहिले त बानी परिसक्यो,’ उनले भनिन् । फाउन्डेसनमा वाल क्लाम्बिङ गरेबापत एक सय ५० रुपैयाँ बुझाउनुपर्छ । तोकिएको रुपैयाँ बुझाएपछि दिनभरि वाल क्लाम्बिङ गर्न पाइन्छ । 

वाल क्लाम्बिङ गर्न जुत्ता, डोरी, सेफबेल्ट, हार्नेस, टेपसिलिन, सजिलोखालको लुगा र पीठो चाहिन्छ । क्लाम्बिङ गर्दा पसिना धेरै आयो भने पीठो दल्नुपर्ने उनले सुनाइन् । सुरु–सुरुमा वाल क्लाम्बिङ गर्दा स्टेप लिन गाह्रो भए पनि अहिले उनले जानिसकेकी छन् । स्टेप कसरी लिने, कुन ठाउँमा बिसाउने भनेर उनलाई अहिले सिकाइरहनु पर्दैन । 

१२/१३ वर्ष पुगेपछि मात्रै वाल क्लाम्बिङसम्बन्धी विशेष ‘कोर्स’ लिन पाइन्छ । रोजीले अबको तीन वर्षपछि मात्रै सो ‘कोर्स’ गर्न पाउँछिन् । अझ विशेष ‘कोर्स’ लिन चाहनेले फ्रान्स जानुपर्छ । विशेष ‘कोर्स’ पूरा गरेपछि हिमाल चढ्ने रोजीले बताइन् । 

रोजीको घर सोलुखुम्बुको टाक्सिन्दु हो । उनी बुवा, ममी र दिदीसँग समय–समयमा कहिले चिसापानी, कहिले शिवपुरी त कहिले ककनी र नगरकोटतिर घुम्न जान्छिन् । उनलाई चित्रकलाप्रति पनि रुचि छ । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा उनी नाच्ने, गाउने गर्छिन् । उनको बुवाले गीत पनि लेख्ने गर्छन् । बुवाले लेखेको गीतमा उनी नाच्छिन् ।

Saturday, May 3, 2014

‘म नेपाली संगीतको प्रतिष्ठान हुँ’

राजेशपायल राई युवापुस्ताका चर्चित गायक हुन् । गायक राईलाई उनका पुस्ताका कुनै गायकसँग तुलना गर्न सकिँदैन । उनको आवाजमा मौलिकपन छ । आफ्नैपन छ । त्यही भएर उनलाई नेपाली सांगीतिक क्षेत्रका सदावहार गायक भन्नेको बाहुल्य छ । उनले आफूलाई नेपाली संगीतका एक प्रतिष्ठान हुँ भन्ने जिकिर गर्दै आएका छन् ।
गायक राजेशपायल राईलाई १९ व्यक्तिले प्रश्न सोधका छन् । सोधिएको प्रश्नको उत्तर राजेशपायलले  दीपेन्द्र राईमार्फत दिएका छन् ।    
राजेशपायल राई

तपाईंको स्वास्थ्य कस्तो छ ?
व्याकुल माइला, राष्ट्रगान लेखक
स्वास्थ्यमा सामान्य छ । दैनिक फिजियोथेरापी गरिरहेको छु । स्टेज प्रोग्राम भ्याएकै छु । अन्य कार्यक्रम पनि छुटेको छैन । गीत रेकर्डिङ पहिलेजस्तै चलिरहेको छ ।

एकताका स्वास्थ्यलाई निकै बेवास्ता गर्नुभयो होइन ? –गंगाराज मुकारुङ, गीतकार तथा सेनानी
बिल्कुल बेवास्ता गरेको होइन । पृथ्वीको त आयु हुन्न भने हामी त मानिस हौँ । प्राकृतिक नियम नै हो– कहिले घाम लाग्नु कहिले पानी पर्नु अनि बादल लाग्नु । प्राकृतिक नियमजस्तै मानिस पनि सधैँ एउटै अवस्थामा रहन कहाँ सक्छ र ? दुख–बिमारमा परिहालिन्छ ।

गीत गाएरै घर किन्नुभएको हो नि ? –बाला राई, पत्रकार
हो । गीतै गाएर पाएको पारिश्रमिकबाट घर किनेँ । स्वदेशमा आर्जन गरेको रुपियाँ रंगरवसमै सिध्याएँ । तर, विदेशमा भएको कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट घर किनेको हुँ ।

घर किनेको हल्ला अनावश्यक चल्यो हगि ? –राजन मुकारुङ, कवि/लेखक
शुभचिन्तक सञ्चारकर्मीले घर किनेको खबर प्रकाशन/प्रसारण गरिदिनुभयो । राजेशपायल राईले घर किनेकोे खबर सञ्चारमाध्यमबाट पोखियो । यसलाई हल्ला भन्न मिल्दैन । तपाईंहरूको राजेशपायल राईले घर किनेको खबर सञ्चारमाध्यममा प्रकाशन/प्रसारण हुनु भनेको अनावश्यक हल्ला हो र ?
मादक पदार्थ नपिई गीत गाउन सक्नुहुन्छ ? – भोगीराज राई, कर अधिकृतएकदमै सक्छु । पछिल्लो समयमा धूमपान र मद्यपान दुवै त्यागेर कन्सर्टबाहेकका कार्यक्रममा सहभागी भएको छु । पछिल्लो समयमा रेकर्डिङ भएका मेरा दस गीतमा धूमपान तथा मद्यपान गरिनँ । त्यसैले दाबी गर्छु कि अब म यो अम्मलबाट टाढा रहन सक्छु ।

जिन्दगी काटिँदै छ कि बिताइँदै छ ? –इन्द्रबहादुर राई, सगरमाथा आरोही
संघर्ष हो जीवन । त्यसैले संघर्ष गरिरहेको छु । कामको चाप दिनानुदिन बढिरहेको छ । अब तपाईं नै भन्नुस् जीवन काट्दै छु कि बिताउँदै छु ?

तपाईंले गाउनुभएका गीत श्रवणीय लाग्छन् । आवाजलाई सन्तुलनमा राख्न कति समय खर्चिनुहुन्छ ? –राधा राई, गायिका
दैनिकजसो रेकर्डिङमै व्यस्त हुन्छु । त्यसैलाई मैले साधनाका रूपमा लिएको छु । आवाजलाई सन्तुलनमा राख्नै भनेर छुट्टै समय छुट्ट्याएको छैन ।

सार्वजनिक हुनै नपाई क्यासेट विदेशतिर पुगेको हुन्छ । यसलाई रोक्न के गर्ने होला ? –कला राई, गायिका
त्यो राम्रो होइन । यस्तो कामले कसरी प्रश्रय पाइरहेको छ । हामी कलाकार एकजुट भई गलत कामको पहिचानका गर्नुपर्छ ।
राजेशपायल राईको घरजम भएको हेर्न कहिले पाउने ? –शान्तिराम राई, संगीतकार
बुवाआमाले बिहे गर्न सधैँ कर गर्नुहुन्थ्यो । विभिन्न बहानमा म टार्दै जान्थेँ । घर बनाएरमात्रै बिहे गर्छु भनेको थिएँ बुवाआमालाई ।  घर पनि किनेँ । अब टार्ने कुनै शीर्षक बा“की छैन । समयानुकूल मिल्नासाथ राजेशपायल राईले घरजम गरेको तपाईंहरूले देख्न पाउनुहुनेछ ।
मानिस पूर्ण र महान् कसरी बन्ने ? तिलक चाम्लिङ, कवि
मानिस कहिल्यै पूर्ण बन्न सकिँदैन । हामी सांसारिक मोहमा फसेको हुन्छौँ । यो मोह र लालसाबाट मुक्त भएमात्र पूर्ण बन्न सकिएला । पूर्ण हुनु भनेको महात्मा बन्नु हो । जो आफ्नै पसिनामा बाँच्ने मानिस नै महान् हो ।
तपाईंले गाउनुभएको गीत सुनेर के सन्देश पाउने आमनेपालीले ?
दुर्गाजयन्ती राई, पूर्वसभासद्  मैले वर्गीय गीत कम गाएको छु । किनकि व्यावसायिकताले गर्दा त्यसो भएको हो । तर, नगाएको भने होइन । गाइएका कतिपय गीत प्रसारणमा रोक लगाइएका छन् । चलचित्र कालापानी, धोका, खुकुरीका गीत अझै पनि प्रसारणमा रोक लगाइएका छन् । प्रसारणमा आएका गीतबाट श्रोताले एकखालको सन्देश पाएकै होलान् भन्ने लाग्छ ।  
 
संगीतका लागि जीवन कि जीवनका लागि संगीत ? –शुभ मुकारुङ, गीतकार मेरो जीवन संगीतका लागि भएको हो । किनकि संगीतबाटै तपाईंले राजेशपायल राई चिन्नुभयो । त्यसैले तपाईं मेरो घरसम्म आउनुभयो । नत्र म कसैको छोरा, कसैको नाति र कसैका दाजु या भाइमात्रै हुन्थेँ । संगीतले गर्दा नै म तपाईंहरूको राजेशपायल राई भएर चिनिएको छु ।

आम रूपमा चर्चा र सम्मान पाउनुभएको छ तर बौद्धिक जमातले तपाईंलाई राष्ट्रिय व्यक्तित्वका रूपमा स्वीकार्दैनन् किन ? –राजेश चाम्लिङ, पत्रकार
मलाई त त्यस्तो लाग्दैन । कसैले मान्दैमा र कसैले नमान्दैमा मेरो बौद्धिकताको मापन हुने होइन । कतिपयलाई मेरो नाम उच्चारण गर्दा आकाश नै खस्लाजस्तो हुन्छ । तर, यतिचाहि“ सत्य हो– राजेशपायल राई नेपाली गीत–संगीतको एउटा प्रतिष्ठान हो । 

किरात राई समुदायको उत्थानका लागि तपाईंको योगदान के रहला ? –सुमाया राई, उप्रप्राध्यापक
गीत–संगीतको माध्यमबाट मैले आफ्नो समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएको छु भन्ने लागेको छ । जुन तपाईंहरूले पनि मूल्यांकन गर्नुभएकै होला । आफ्नो समुदायका लागि मात्र नभएर सिंगो राष्ट्रका लागि राजेशपायल राई गौरवान्वित नाम हो ।

संगीतजस्तै मीठो शासनप्रणाली स्थापना गर्न के गर्नुपर्ला ? – मुगाधन राई, फोटो पत्रकार
गीत–संगीतमा लागेकाले जसरी संगीतको नोटेसन जान्नुपर्छ, जसले गर्दा एउटा श्रवणीय गीत बन्छ । त्यसरी नै देश बनाउने ठेक्का लिएका ठेकेदारलाई राजनीतिशास्त्रबारे जानकारी हुनुपर्छ । अनि लोभ, लालचा, स्वार्थ त्यागेमा समाज रूपान्तरण हुन समय लाग्दैन ।

राम्रो गीत गाउनुहुन्छ । अब पनि गाउनुपर्छ । साथै आफूलाई समयसापेक्ष परिवर्तन गराउँदै लैजानुपर्छ । त्यसो गर्न सक्नुहुन्छ तपाईं ? –डा. विष्णु राई, कवि लाग्छ, समय सापेक्ष परिवर्तन हु“दै गएको छु म पनि । यदि तपाईंहरू मैले गाएको गीत ध्यान दिएर सुन्नुभएको छ भने पक्कै पनि थाहा पाउनुहुनेछ कि राजेशपायल राई आफ्नो गायनलाई समयसापेक्ष परिवर्तन गर्दै लगेको छ । केही समयअघि सार्वजनिक गीतिएल्बम ‘दर्शन नमस्ते’ मा तपाईं म समयसापेक्ष परिवर्तन हुन जानेको नजानेको तपाईंले महसुस गर्न सक्नुहुनेछ ।

तपाईं किन गीत गाउनुहुन्छ ? –आनन्दकला राई, सर्वसाधारण
म राष्ट्रका लागि गीत गाउँछु । अनि जसले राम्रो गीत–संगीतको अपेक्षा राख्छ उनीहरूका लागि म गीत
गाउँछु । अनि आफ्ना लागि पनि गीत गाइरहेको छु ।

सामाजिक रूपान्तरणका किन गीत नगाउनुभएको ? –राजकुमार राई, स्ववियु सभापति, आरआर क्याम्पस
गाउँदै नगाएको भने होइन । यदि तपाईंले मैले गाएको गीत सुन्दै आउनुभएको हो भने । कोसोभो, कारगिलजस्ता गीत मैले गाएको छु । अरू पनि छन् । तर, यस्ता गीत कमै गाएको छु । किनकि व्यावसायिकताले गर्दा पनि यसो हुन गएको हो । यदि राजेशपायल राई व्यावसायिक भएन भने कसैले एकछाक खान देला तर दुईछाक दिँदैनन् । आफ्नो क्षेत्रमा व्यावसायिक बन्दा सामाजिक रूपान्तरणका गीत कम गाउन पुगेको भने सत्य हो । गाउँदै नगाएको भन्नचाहिँ मिल्दैन ।

गीत गाएरै देशका लागि कसरी योगदान पुर्याउनुहुन्छ ? – मोनालिसा खम्बू, खेलाडीमैले गीत गाएबापत नेपाल सरकारले लिने राजश्व पनि त राष्ट्रका लागि आर्थिक योगदान हो । मैले गीत गाउँदा राष्ट्रले असुल्ने करलाई कम आँक्न मिल्दैन । त्यसको अलावा मैले गाएको गीत सुनेर श्रोताले मनोरञ्जन लिनु पनि एककिसिमको योगदान नै हो । मैले गाएको गीतबाट विभिन्न किमिसका सन्देश प्रवाह हुन्छन् । त्यसलाई पनि योगदान भन्न सकिन्छ । 

Thursday, May 1, 2014

धनी मरे श्रद्धाञ्जली, गरिब मरे रमिता


(दीपेन्द्र राई)

‘कलम रोए अक्षर बन्छ, कवि रोए कविता
धनी मरे श्रद्धाञ्जली गरिब मरे रमिता ।’


उल्लिखित अभिव्यक्ति कुनै कवि, लेखकको होइन । त्यसो हो भने कसका हुन् त ? त्यो पनि थाहा छैन । सार्वजनिक सवारीसाधनमा कोरिएका चरम गरिबीको अभिव्यक्ति यहाँ साभार गरिएको हो ।


सवारीसाधनमा यस्ता अभिव्यक्ति प्रशस्त पढ्न पाइन्छन् । सवारीसाधनमा कोरिएका यस्ता अभिव्यक्तिमा मायाप्रेमले प्रशस्त ठाउँ पाएका हुन्छन् भने अर्ती–उपदेश, जागरण गीत, आग्रह, सन्देश, आक्रोश, उखान–टुक्का र धार्मिक अभिव्यक्ति पनि पढ्न पाइन्छन् । साहित्यिक पत्रपत्रिकाको अलावा हामीले पढ्न पाएका छौं, सवारी साहित्य । जुन साहित्य पढ्नलाई रुपियाँ खर्चिनु पर्दैन । केवल सार्वजनिक सवारीसाधनमा यात्रा गरे पुग्छ ।

सवारी साहित्य पढ्दा साहित्यक अभिव्यक्तिसँगै पढ्न पाइन्छ, मानवीय अवयवका कुरा । ‘धुम्रपान, मदिरापान गर्ने पैसाले छोराछोरी पढाउन र बिहान–बेलुकाको छाक टार्न सकिन्छ ।’ उक्त भनाइ पनि सार्वजनिक सवारीसाधनमै कोरिएको हो । मदिरा पिउनेलाई राम्रो सवक सिकाएको छ उल्लिखित अभिव्यक्तिले । जसले सामान्य रूपमै भए पनि सामाजिक जागरणको काम गरेको छ ।

‘सभ्यता नै परिचय हो, साँचो परिचय दिनुहोला
आफू बाँच्नका लागि अरूलाई नमार्नुहोला ।’
‘अरूलाई दुःख दिने असत्ती,
दैवले छाड्दैन तँलाई एकरत्ति ।’


अरूलाई दुःख दिने अनि थिचोमिचो गरी आनन्दले बाँच्न खोज्नेलाई गाली गरेको छ उल्लिखित
अभिव्यक्तिले । जसले आफू बाँचौँ र अरूलाई पनि बाँच्न दिऊँ भन्ने समभावको पाठ सिकाएको छ ।

‘सवारीसाधनमा कोरिएका अभिव्यक्तिले खासै मान्यता नराखे पनि यो एककिसिमको साहित्य हो । जहाँ वैचारिक अभिव्यक्ति सहज, सरल, रसिलो पारामा प्रस्तुत गरिएको हुन्छ,’ प्रकाश सायमीको स्वीकारोक्ति छ, ‘नर्वे, डेनमार्क र फिन्ल्यान्डमा पनि सवारीसाधनमा यस्ता अभिव्यक्ति कोरिएका हुन्छन्, त्यहाँ यस्ता साहित्यलाई ‘ट्राभल पोयट्री’ भन्दारहेछन् ।’ भारतीत प्रतिष्ठित कवि श्रीलाल शुक्लले त सवारीसाधनमा कोरिएका कतिपय अभिव्यक्ति आफ्ना सिर्जनामा थोर–बहुत उतारेका थिए । उनको कविता ‘आधागाउँ’ नामक कविता जसको प्रमाण हो ।

‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ –थोरो ।
सवारी साधनमा समेत थोरोको यो अभिव्यक्तिलाई साभार गरिएको पाइन्छ । जुन अभिव्यक्ति पढ्नेलाई सोचमग्न बनाउँछ ।

‘क, ख, ग, पढेर के हुन्छ
ट्रकड्राइभर भएमा पेट भर्छ ।’


उच्चशिक्षा हासिल गर्नेले सानातिना काम गर्न लाज मानी विदेश जान हौसिनेका लागि उल्लिखित अधिव्यक्तिले शालीन व्यंग्य गरेको छ । उल्लिखित अभिव्यक्तिले भनेको छ, ‘काम भनेको सानो र ठूलो हुँदैन ।’

सवारी चालक बेसारे हुन्छन् । जहाँ गयो त्यहीँ मायापिरतीमा लहसिन्छन् भन्ने अभिव्यक्ति पनि सवारीसाधनमा पढ्न पाइन्छ । अनि त्यति नै सजिलै उनीहरूको बिर्सने प्रवृत्तिले आफ्ना मान्छे (सवारी चालक) लाई आग्रह गरिन्छ :

‘आँखामा आँसु भए नि ओठमा मुस्कान छरिदेऊ
बिर्सने बानी भए पनि सम्झिने कोसिस गरिदेऊ ।’
‘माया बसालेर छाडी नजाऊ
अलपत्र पारी मेरो प्राण नलेऊ ।’

यत्रो अनुनय विनय गर्दा नि केही नलागेपछि उनीहरू भन्न बाध्य हुन्छन्– ‘चाहिँदैन माया कसैको ।’ आफ्ना मान्छेसँग अघाएको यस्तो अभिव्यक्ति पनि सवारीसाधनमै पढ्न पाइन्छ । कतिपयलाई घुर्की लगाउँदै उनीहरू सवारीचालकलाई आग्रह गर्छन् :

सडक छेउ बसेर नगर है हाई
कन्डम छैन भने आजलाई बाई ।


सवारी साधनमा यात्रा गर्ने कतिपयले लागेको भाडा लिन करकर गर्नुपर्ने, त्यति गर्दा नि लागेको भाडा तिर्न कन्जुस गर्ने यात्रुलाई यसरी गाली गरिन्छ :

‘घडीको दोष छैन समय पापी हो
बसमा चढेर भाडा नतिर्ने अपराधी हो ।’


भाडा तिर्न आनाकानी गर्नेलाई अपराधी भनिए पनि यात्रुलाई उस्तै माया गर्छाैं भन्ने अभिव्यक्ति पनि पढ्न पाइन्छ । आफूले गुडाएको सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई माया पनि गर्न जानेका हुन्छन् सवारी चालक ।

‘पूर्णेको जून प्यारो लाग्छ, ज्योति झनै प्यारो लाग्छ
जे–जे देख्छु त्यो सबैभन्दा पेसेन्जरको माया प्यारो लाग्छ ।’


विद्यार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट दिने प्रावधान छ । तर, तीनपाङ्ग्रे सवारीमा भने होइन । तीनपाङ्ग्रे सवारीसाधनमा पनि विद्यार्थी सहुलियत मागेर हैरान बनाएकाले ती सवारी साधनमा लेखिएको पाइन्छ :

‘सरी ल विद्यार्थी सहुलियत छैन ।’
‘नक्कली कार्ड देखाएर लज्जित नहुनुहोला ।’

विद्यार्थी सहुलियत पाउने भएपछि सबैले नक्कली कार्ड बनाइएकोमा उनीहरू पनि जानकार छन्, त्यसैले उनीहरूको आग्रह छ :

‘फूल हो गुलाफको बासना छर्दै जानुहोस्
गाडी हो गरिब ड्राइभरको भाडा दिन नभुल्नुहोस्’

त्यसो त सवारी चालकलाई पनि मादकपदार्थ पिए भनेर यात्रुले आक्षेप लगाउने गर्छन् । त्यही आक्षेपको प्रतिउत्तरस्वरूप उनीहरू सवारीसाधनकै माध्यम बनाएर भन्छन्  :

भमराले रस पिउँछ मौरी बद्नाम हुन्छ
दुनियाँ सबै रक्सी पिउँछ ड्राइभर बद्नाम हुन्छ ।

अधिकांश सवारीचालक मालिकको गाडी सवारीसाधन चलाउँछन् । सबैको अवस्था सधैँ एउटै हुँदैन । मालिकले सवारीसाधन गुडाउने दिए पनि कतिपय अवस्था उनीहरू आफूलाई रोजीरोटी दिने मालिक र पसिनाको गीत गाएर खाने आफूबीच यसरी तुलना गर्छन् :

मालिकको जिन्दगी दूध र केके
ड्राइभरको जिन्दगी स्टेरिङ र ब्रेक ।


पछिल्लो समयमा सार्वजनिक सवारी साधन विभिन्न किसिमका विज्ञापन गर्ने उपर्युक्त माध्यम पनि बनेको छ । सवारीसाधनमा यात्रारत यात्रुलाई आफ्नो सामान छुट्यो कि भनेर सचेत गराइएको पाइन्छ । जहाँ लेखिएको हुन्छ– तपाईंको सामान छुट्यो कि ? पाकेटमारदेखि सावधानजस्ता भनाइले सार्वजनिक सवारीसाधनमा यात्रारत यात्रुलाई सतर्क गराइएको हुन्छ ।