जयबहादुर मल्ल |
(दीपेन्द्र राई)
जयबहादुर मल्ललाई अनावश्यक रिस उठ्छ । मल्लले रिस ठाम्नै सक्दैनन् । रिसको पारो चढेपछि उनीवरिपरि रहेका जोकोही सतर्क हुनुपर्छ ।
सार्वजनिक सभा, समारोह होस् वा बैठकमा कुराकानी चलिरहँदा जयबहादुर एक्कासि झुक्दै जान्छन् । उनी यसरी झुक्न थालेको ६ वर्ष भइसक्यो । यस्तो अवस्था कसरी सिर्जना भयो कारण प्रस्ट पार्दै ४४ वर्षीय जयबहादुर मल्ल भन्छन्, ‘टाउकोमा एके-४७ को एउटा छर्रा गाडिएको छ । त्यसले मलाई सन्चोले बाँच्न दिएको छैन ।’
०६१ चैत २५ मा दोस्रोपटक खारा प्रहरी चौकी आक्रमण गर्दा उनको टाउकोमा एके-४७ को चारवटा छर्रा लागेको थियो । शल्यक्रिया गरेर तीनवटा निकालिए पनि हड्डीमा गाडिएकाले एउटा भने निकाल्न सकिएन । काठमाडौं, चितवन र बुटवलमा उपचार गर्दा पनि टाउकोको पनि हड्डीमा गाडिएकाले छर्रा निकाल्न नमिल्ने चिकित्सकले बताएपछि उनीमाथि यस्तो विपत्ति आइलागेको हो ।
यस्तो विपत्ति आइलागे पनि उनी घर-व्यवहारदेखि आफूसम्बद्ध माओवादी पार्टीमा सक्रिय छन् । मगरात राज्य समिति सदस्य उनी प्रतिकूलतामा पनि अनुकूलता खोज्नुपर्छ भन्छन् । उनको त्यही मान्यताले गर्दा होला, टाउकोमा रहेको छर्राले सधैँ टाउको भारी बनाए पनि पार्टीले दिएको जिम्मेवारीबाट विचलित भएका छैनन् । रुकुमकोटमा रहेको कमलदहमा आयोजित कार्यक्रममा भेटिएका उनले भने, ‘टाउकोमा गाडिएको छर्राले गर्दा बिर्सने बानी छ । काम गर्न पनि त्यत्तिकै अप्ठ्यारो हुन्छ । चिसो समयमा त झन जिउ दुखेर मर्नु हुन्छ नि ।’
रुकुमकोट-९ निवासी जयबहादुर ०५४ भदौ २१ देखि पार्टीमा होलटाइमर बनेका थिए । खारा रुकुमकोट, बेनी बाग्लुङ, बाहुनडाँडा, बुटवल, पाल्पा तिनगिरे गुल्मी अर्घाखाँची सिमानाको भिडन्तमा उनको प्रत्यक्ष संलग्नता थियो ।
No comments:
Post a Comment