Sunday, July 17, 2011

बिसेक भएन द्वन्द्वको घाउ

(दीपेन्द्र राई)

दसवर्षे सशस्त्र द्वन्द्वमा घाइते भएका जिल्लाका ६ सय ६३ ले अहिलेसम्म उपचार गराउन सकेका छैनन् । उपचारका लागि कहीँ-कतैबाट
सहयोग नपाएपछि उनीहरूले उपचार गराउन नसकेका हुन् । 

शान्ति मन्त्रालयको निर्देशिकाअनुसार प्रत्येक जिल्लामा औषधि उपचार समिति गठन गरिएको छ । गठित समितिले उपचारका लागि यहाँका ६ सय ६३ मध्ये १ सय २५ जनाको नाम सिफारिस गरी शान्ति मन्त्रालय पठाएको थियो । तर, सुनुवाई नभएको शान्ति समिति रुकुमका सचिव पुस्तक चन्दले बताए ।

'द्वन्द्वमा घाइते भएकामध्ये पहिलो प्राथमिकता जनमुक्ति सेनालाई दिइनेछ,' सभासद् कमला रोकाले भनिन्, 'प्रत्यक्ष भिडन्तमा परी घाइते भएकाले उपचार गराई सम्बन्धित अस्पताल र चिकित्सकले दिएको कागजात पेस गरेपछि उनीहरूले क्षतिपूर्ति पाउनेछन् ।'
द्वन्द्वमा जिल्लाका ७ सय ९३ घरपरिवार विस्थापित भएका थिए । जिल्लाका हुकाम गाविसबाट मात्रै ३२ घरपरिवार विस्थापित भएका थिए । उनीहरूलाई ०५९ साल दसैँको टीकाको दिन उल्टो शंख बजाएर गाउँनिकाला गरिएको थियो ।

स्थानीय शान्ति समितिले क्षतिपूर्तिका लागि विस्थापित सबै घरपरिवारको सिफारिस गरी शान्ति मन्त्रालय पठाए पनि अहिलेसम्म १ सय २ घरपरिवारले मात्र क्षतिपूर्ति पाएका छन् । सचिव चन्दले भने, 'सदरमुुकामबाट पाँच किलोमिटरका दूरीलाई एक हजार र सोभन्दा बढीलाई दूरीका आधारमा बाटो खर्च दिइएको थियो । विस्थापित परिवारलाई घर मर्मत खर्च र उनीहरूलाई तीन महिना खान पुग्ने खाद्यान्नको जोहोसमेत गरिएको थियो ।'

सशस्त्र द्वन्द्वकै समयमा जिल्लाका ४ सय २ घरमा आगो लगाइएको थियो । त्यसताका, १ हजार १ सय ८२ घरमा लुटपाट गरिएको
थियो । आगो लगाइएका र लुटपाटमा परेका घरपरिवारले अहिलेसम्म क्षतिपूर्ति पाएका छैनन् । द्वन्द्वकालमै यहाँका ७ सय १ अपहरणमा परेका थिए । अपहरणमा परेकामध्ये २ सय १७ कैदी-बन्दी हुन् ।


द्वन्द्वकालमा जिल्लाका ८ सय १४ जनाको अंंगभंंग भएको थियो । त्यसमा ६२ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । क्षतिपूर्ति पाउनेमा ५४ जनमुक्ति सेना छन् भने नेपाली सेना र प्रहरी गरी ८ जना रहेका छन् । उनीहरूले अपांंगता प्रतिशतका आधारमा क्षतिपूर्ति पाएका
थिए ।


द्वन्द्वताका जिल्लाका ६ सय ८५ जनाले ज्यान गुमाएका थिए । चन्दले भने, 'ज्यान गुमाएकाहरू रुकुममै जन्मेर रुकुममै मारिएका हुन् । ६ सय ८५ मध्ये ५ सय ९५ राज्य पक्षको कारबाहीमा मारिएका थिए भने विद्रोही पक्षको कारबाहीमा ९२ ले ज्यान गुमाए । त्यसताका ज्यान गुमाएका ३२ जना विवादित छन् ।' द्वन्द्वमा जिल्लाको महत गाविसका ४७ ले ज्यान गुमाएका थिए । त्यसैगरी, स्यालापाखा ४४, चुनवाङ ३७, पीपल ३३, शोभा ३१, रन्मामैकोट ३१, खारा २९, साँख २४ र विजेश्वरीका २२ ले ज्यान गुमाए ।

शान्ति समितिका अनुसार, रुँघा २१, खोलागाउँ २१, हुकाम २१, मुरु २०, बाँफीकोट १९, दुली १८, मग्मा, १७, काँक्री १७, चौखावाङ १६, प्वाङ १६ र छिवाङका १६ जनाले ज्यान गुमाए । त्यस्तै, पुर्तिमडाँडा १५, सिम्ली १४, जाङ १३, गराइला १३, कोटजहारी १२, झुला १२, तकसेरा १२, आठबिस डाँडागाउँ ११, खलंगा ११, भलाक्चा ९, आठबिसकोट ८, नुवाकोट ५, मोरावाङ ५, पोखरा ५, पेउघा ५, स्यालाखदी ४, काँडा ४, राङ्सी ३, कोल ३, गोतामकोट ३, अर्मा ३ र सिस्ने गाविसका १ जनाको ज्यान गएको थियो । जिल्लामा ४३ गाविस रहे पनि घेत्मा गाविसका कसैले ज्यान गुमाउनु परेन ।

ज्यान गुमाएकामध्ये ६ सय ६७ का परिवारले एक लाखका दरले क्षतिपूर्ति पाइसकेका छन् । १८ जनाले पाउन बाँकी छ । जिल्लाका २ सय २४ एकल महिलाले समेत २५ हजारका दरले क्षतिपूर्ति पाइसकेका छन् भने ६ जनाले पाउन बाँकी छ । 

प्रकाशन मिति : २०६७ असार २३ 
(नयाँ पत्रिका दैनिक)

No comments:

Post a Comment