(दीपेन्द्र राई)
सल्पापोखरी । तस्बिर सौजन्य : राजेश राई |
सिलिचुङ । पूर्वााचलकै सबैभन्दा अग्लो थुम्कॊ । यो थुम्कॊ खोटाङ भोजपुर संखुवासभा र सोलुखुम्बुको संगमस्थल पनि हो । समुद्र सतहबाट ४१५३ मिटर उचाइमा रहेको यो थुम्कोको काखैमा रहेको छ- साल्पापोखरी ।
दोभाने-८ भोजपुरमा रहेको यो पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सके खोटाङ भोजपुर संखुवासभा र सोलुखुम्बुवासीलाई प्रत्यक्ष फाइदा पुग्नेछ । धार्मिक सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेको यो पोखरी सबै धर्मावलम्बीका लागि उत्तिकै पवित्र मानिन्छ ।
‘मैले देखेको नेपाल’ किताबमा डा. हर्क गुरुङले लेखेका छन्- साल्पा सबै धर्म-समुदायको सांस्कृतिक संगमस्थल रहेछ मैले पहिलोपटक यस्तो ठाउँको भ्रमण गरेँ । त्यस्तो ठाउँ भएर नै होला वर्षैभरि स्वदेशी तथा विदेशी कोही न कोही साल्पापोखरी पुगिरहेका हुन्छन् । कुलुङ राई भाषामा सल्पा भनेको लाम्चो हुन्छ । लाम्चो भएकाले नै यस पोखरीलाई सल्पापोखरी भन्ने गरिएको । सल्पापोखरीलाई पछि साल्पापोखरी भन्न थालिएको हो ।
साल्पापोखरीलाई गंगा नदीको शिर हो भनिन्छ । धर्मभीरुहरु गंगाभन्दा साल्पापोखरीलाई चोखो मान्छन् । त्यसैले होला गंगामा नुहाउसकेपछि साल्पामा नुहाउनैपर्ने किम्वदन्ती रहेको छ । भनिन्छ, ‘साल्पामा नुहाएपछि गंगामा नुहाउन हुँदैन ।’ वर्षमा यहाँ दुईपटक मकर नुहाउने मेला लाग्छ । यहाँ एकपटक नुहाइसकेपछि अनिवार्य रुपमा तीनपटकसम्म नुहाउनुपर्ने मान्यता रहिआएको छ ।
साल्पापोखरी जाँदा बाटोमा थुप्रै स-साना पोखरी भेटिन्छन् । धर्मभीरुहरु यी सबै पोखरीमा देउताले बास गरेको सम्झँदै नुहाउने गर्छन् । तिनै स-साना पोखरीमध्ये कालो रंगको एउटा पोखरी पनि देखिन्छ । त्यही कालो रंगको पोखरीलाई हाँडीपोखरी पोखरीको नामले चिनिन्छ । जुन पोखरी साल्पाको सौता हो भनेको हामीले पनि सुनेका हौँ भन्दै स्थानीय बताउँछन् । जोकोहीले साल्पापोखरी तीनपटक परिक्रमा गरे पाप काटिने विश्वास रहिआएको छ । तसर्थ, स्वदेश तथा विदेशबाट बाबुआमा लिएर साल्पापोखरी पुग्ने छोराछोरी बाक्लै भेटिन्छन् ।
तीनपटक साल्पापोखरी पुगेका साचारकर्मी राजेश राई भन्छन्, ‘केही गर्न नसके पनि साल्पापोखरी पुर्याएर बाबुआमालाई तीनपटक परिक्रमा गराए ती छोराछोरीले दूधको भारा चुक्ता गरेको ठहरिन्छ ।’ साल्पापोखरीमा नुहाउँदा चिताएको कुरा पूरा हुने विश्वासमा हिजोआज पनि कमी आएको छैन ।
धार्मिकमात्रै होइन, साल्पाको सांस्कृतिक महत्त्व पनि त्यत्तिकै रहेको छ । धामीझाँक्रीले साल्पापोखरीलाई आफ्नो उत्पत्ति थलोका रुपमा मान्दै आएका छन् । सिलिचुङवरिपरि नै आफ्ना गुरुले बास गर्ने गरेको धामीझाँक्रीको विश्वास छ । आफ्नो उत्पत्ति थलो र आफ्ना गुरु यहीँ बसोबास गर्ने भएकाले नै उनीहरु सालिन्दा साल्पा पुगी गुरुसँग आशिर्वचनका साथै शक्ति लिने गर्छन् । धामीझाँक्रीको मेला लाग्ने ठाउँ भनेर पनि चिनिन्छ साल्पापोखरीलाई ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको साल्पाले प्राकृतिक रुपमा पनि त्यत्तिकै प्रसिद्धि पाएको छ । साल्पा र सिलिचुङको अन्योन्याश्रित सम्बन्ध छ । साल्पालाई कख्याएर राखेको सिलिचुङ त्यत्तिकै गौरवान्वित थुम्को हो । जुन थुम्कोबाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथामात्रै देखिँदैन, नेपालकै सबैभन्दा होचो ठाउँ झापाको केचनाकलन पनि यहीँबाट देखिन्छ । यही थुम्कोबाट मकालु, कुम्भकर्ण, कञ्चनजंघा आँखैअगाडि देखिँदा त्यतैतिर क्यामेरा सोझ्याउनेहरु हतारिएका हुन्छन् । अनि यहीँबाट प्रस्ट र धेरै समय सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्नसमेत पाइन्छ ।
सल्पापोखरी । |
यहाँ १३ भन्दा बढी प्रजातिको गुराँस पाइन्छन् । एउटै थुम्कोलाई १३ भन्दा प्रजातिको गुराँसले सिँगारेको छ । वसन्त ऋतुमा गुराँसको सुगन्धले बाटो काट्न सहज बनाउँछ । गुराँसको अलावा सुनपाती, भैरुङपाती, चिमाल, तोलिन्दा वनैभरि देख्न सकिन्छ । यही ठाउँमा सिन्कौली, चिराइतो, जिम्बु, सतुवा, पाखनवेद, पाँचऔँलेजस्ता जडीबुटी पाइन्छन् । यी जडीबुटी बजार अभावमा त्यत्तिकै खेर गइहेका छन् ।
स्थानीय दौलत राई भन्छन्, ‘साल्पापोखरीलाई धार्मिक, प्राकृतिक र सांस्कृतिक महत्त्व बोकेको ठाउँ हो भनेर चिनाउन लागिपरेका छौँ ।’ साल्पालाई पर्यटकीय गन्तव्य बनाउन साचारकर्मी शाहीमान राईले साल्पा-सिलिचुङ वृत्तचित्र निर्माण गरेका छन् । साल्पालाई पर्यटकीय गन्तव्य बनाउन सके यहाँ उत्पादित छुर्पी, सेरग्याम, चौरी र भेडाको घीउ, भीरमौरीको मह र कुरौनीले बजार पाउनेछ । यहाँ आइपुगेका जोकोहीले कोसेलीका रुपमा मात्रै भए पनि केही न केही किनिदिए स्थानीय किसानका पसिनाले मूल्य पाउनेछ । साथसाथै यहाँका आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई आदिवासी जनजातिको परम्परागत खानपिनको स्वाद चखाउन हौस्याएमा स्थानीयको आम्दानीको स्रोत बढ्नेछ । मकै-भटमासमात्रै बेच्न सकेमा नुन, तेल किन्न स्थानीयले रिनपान नै गर्नु पर्दैनथ्यो ।
साल्पा जान चाहनेका लागि हवाई र बस सेवा उपलब्ध छ । काठमाडौंबाट ४५ मिनेटमा संखुवासभाको तुम्लिङटार पुगिन्छ । त्यहाँबाट चेवाबेँसी, गोथेबजार, तेन्दो र साल्पाफेदी हुँदै साल्पापोखरी पुगिन्छ । काठमाडौं या तराईबाट बसबाट त्यता जाँदै हुनुहुन्छ भने धरान, धनकुटा र तुम्लिङटार जानुपर्छ । साल्पा जान चाहने खोटाङ र सोलुखुम्बुवासी पनि पैदलै हिँडेर जानुपर्नेछ ।
No comments:
Post a Comment