(दीपेन्द्र राई)
कतिपय विद्यार्थीले भनेको सुनेको छु- परीक्षा भनेको पनौतीमा लाग्ने बाह्रवर्षे मेला हो र थोरै । उनीहरुले परीक्षालाई समेत पनौतीमा लाग्ने मेलासँग जोडेर कहावत बनाएका छन् । त्यस्तै एकथरि नेपाली समाजले अशुभ मानेकोमध्ये १२ अंकसँग जोडिएर पनौती (काभ्रे) मा मेला लाग्ने गर्छ । जुन मेला यसपालि २०६६ माघभरि पनौतीमा लाग्दै छ । प्रत्येक १२ वर्षमा लाग्ने पनौती मेला हिन्दू धर्मावलम्बीका लागि ठूलै तीर्थधाम मानिन्छ ।
प्रत्येक बाह्र वर्षमा लाग्ने पनौती मेला महिना दिन माघभरि लाग्ने गर्छ । सो मेला भर्न जाने भन्दै शैलेश चाम्लिङले टेलिफोनबाटै क्यामेरा मागे । प्रतिउत्तरमा म पनि जान्छु भनें । काठमाडौंबाट ३२ किलोमिटर दूरीमा रहेको मेला भर्न माघ १६ गते शनिबार त्यता लाग्यौं ।
पुरानो बसपार्कबाट पनौतीका लागि पाँच/पाँच मिनेटमा बस छुट्ने भए पनि सहज तरिकाले बस समात्न सकिएन । २०/२५ रुपियाँ भाडा एकोहोरो यात्राका लागि लिने पनौती रुटको बसले यतिबेला एकोहोरो यात्राका लागि सय र कुनै-कुनै बसले ५० रुपियाँ असुल्दै आएको छ । बस चढ्नुअघि नै विद्यार्थी सहुलियत छैन है भन्दै थिए- प्रत्येक बसका कन्डक्टर । बिहान ६ बजे पुरानोबसपार्क पुगे पनि बस समात्न नसकेर आजित थियौं शैलेश, पवन, नरेन्द्र र म । मुस्किलले बस समातेर पनौतीभन्दा २ किलोमिटर वर सुब्बागाउँ ओर्लियौं ।
तीर्थालु सुब्बागाउँदेखि नै पैदलयात्रामा छन् । मेला लाग्ने ठाउँसम्मै गाडी लैजान चाहनेह पनि कम छैनन् । सडकको क्षमताभन्दा बढी भएपछि सडकबाहिर हिँड्ने तीर्थयात्रीको बाहुल्य छ । उम्रनउम्रन आँटेका आलुबारीबाटै तीर्थयात्री बाटो खोज्दै छन् । आलुबारीबाटै हिँडेका तीर्थयात्रीलाई बारीमाझबाट हिँड्नु भएन नि भन्ने फुस्रद छैन कसैलाई । यहाँका बासिन्दा मेलाको नाममा विभिन्न शीर्षकमा कतै न कतै अलमलिएका छन् ।
भीड छिचोल्दै त्रिवेणीघाट पुग्यौं । त्रिवेणीघाटमा नुहाए पुण्य मिल्छ भन्ने विश्वास छ । ललितपुरको फुल्चोकीडाँडाबाट बग्ने लीलावती भक्तपुरको नगरकोटबाट बग्ने पुण्यमाता र भूमिगत रुपमा बग्ने रुद्रमतीको संगमस्थल त्रिवेणीघाटमा ननुहाए पनि मुखसम्म धोयौं हामीले । मुख धुँदै गर्दा शैलेशले भने, ‘देवराज इन्द्रले गरेजस्तो पाप हामीले नगरेकाले नुहाउन आवश्यक छैन ।’
ठीकै लाग्यो- शैलेशको टिप्पणी । ‘हुन पनि स्वर्गका राजा इन्द्र पापिष्टै रहेछन् नि,’ पवनले थपे । इन्द्रले गरेको खन्दारी काम पवनलाई नि थाहा रहेछ । पवनलाई मात्रै होइन, हिन्दू धर्मावलम्बलीलाई इन्द्रले गरेको खन्दार थाहा छ । इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यालाई झुक्याएर अनैतिक काम गरेका कारण त्यो पापस्वरुप इन्द्रको शरीरभरि योनि उत्पन्न भएको थियो । त्यही पापबाट मुक्त हुन देवराज इन्द्रले त्रिवेणीघाटमा १२ वर्ष तपस्या गरी पापमोचन गरेको किंवदन्ती छ ।
मकरमेलामा लगाएको पिरती नटुट्ने किंवदन्ती युवायुवतीले बिर्सेका छैनन् । त्रिवेणीघाटबाट मुख धोएर इन्द्रेश्वर महादेव मन्दिर घुम्दै गर्दा पवनले भने, ‘यी तीर्थालु पापमोचनकै लागि यहाँ आएका हुन् त ?, त्रिवेणीघाटमा नुहाउँदैमा पापमोचन होला के ?’ नरेन्द्रले प्रतिप्रश्न गरे । ‘यहाँ आएका कतिपयले त इन्द्रले जस्तै कुकृत्य पनि गरेका होलान् है,’ शैलेशले बोले ।
देशकै ठूलो र धार्मिक मेला घुम्दा देखियो, यहाँका अधिकांश ढुंगेधारामा मकर अर्थात् गोहीको मुखाकृति । १७औं शताब्दीको ढुंगेधारा संरक्षण गरेकै रहेछन् पनौतीवासीले । मेलाको अर्काे आकर्षण रहेको छ- जय मानन्धरले छ्वालीबाट बनाएका मानव जीवनका अवयव ।
मेलामा खुट्टा राख्ने ठाउँसम्म छैन । सुब्बागाउँदेखि त्रिवेणीघाटसम्मै मानवसागर उर्लेको छ । मानवसागरमा युवायुवती, वॄद्धवृद्धा, केटाकेटीमात्रै होइन, छोराछोरीलाई पिठ्यूँमा बोकेर तीर्थ निक्लेकाहरु बाक्लै भेटिन्छन् । मेला आयोजक समितिले महिना दिनमा ५० लाख तीर्थालु पनौती आउने लख काटेका छन् ।
एकैछिनअघि त्रिवेणीघाटमा मुख धुँदै गर्दा गौँथली कोइरालाको व्यस्तता सम्झें । उनको व्यस्तता हेरुँहेरुँ लाग्ने देखिन्थ्यो । कोइरालाले भक्तजनलाई टीका र प्रसाद बाँड्नमै सास फेर्न फुर्सद पाएकी थिइनन् । दैनिक पाँच सय बढी तीर्थालुलाई टीका लगाइदिँदा उनको कमाइ पाँच सयदेखि एक हजार रुपैयाँसम्म दक्षिणा हात लाग्ने सोध्नेलाई बताउँदै थिइन् । सायद उनले कल्पेकी होलिन्- पनौतीमा सधैं यसरी नै मेला लागे त । मेलाका नाममा कमाउधन्दामा लाग्ने पनि कम छैनन् । अरु त अरु गोरखनाथ गणका सिपाहीसमेत बनेपा काभ्रेबाट ब्याग ल्याई सडकमै व्यापार गर्न थालेपछि ट्राफिक प्रहरीलाई बाटो खुलाउन हम्मेहम्मे परेको छ ।
व्यावसायिक व्यापारी पनि मेलालाई क्यास गर्ने ध्याउन्नमै छन् । सुब्बागाउँदेखि नै मेलास्थलसम्म जताततै पार्किङस्थल भेटिन्छन् । धाराको पानी भर्दै बेच्ने बालबालिकाको अपरिपक्व व्यावसायिक भूमिका देख्दा तीनछक लाग्यो । बस समात्न फर्किँदै गर्दा प्रधानमन्त्री माधवकुमार नेपालका सल्लाहकार रघुजी पन्त भने अल्छीलाग्दो पारामा मेलास्थल जाँदै थिए ।
No comments:
Post a Comment