(दीपेन्द्र राई)

सन् २०१४ को विश्वकप फुटबलबारे प्रसंग उल्लेख गरिरहँदा सानोछँदा आफ्नै परिवेश (दुर्छिम–१, साल्तेम्मा खोटाङ) मा खेलिने खेलसम्बन्धी फ्ल्यासव्याक सम्झिरहेको छु । मेरो फ्ल्यासव्याक समग्र खोटाङकै परिवेशमा मिल्दो थियो कि भन्ने लाग्छ । नहुन पनि सक्ला ।
हिजोआज गुच्छा खेलेको त्यति देखिँदैन । तर, मैले सात÷आठ कक्षा पढ्दासम्म गाब, दुब (गुच्छा खेल्दा भनिने शब्द) खेलेरै मनोरञ्जन लिएको बिर्सेको छैन । खेल्न उपयुक्त ठाउँ नचाहिने भएकाले प्रायः यो खेल जहीँतहीँ खेल्न सकिन्थ्यो÷सकिन्छ । म गुच्छा खेलेर मनोरञ्जन लिँदाताका मेरा अग्रज खोपी खेल्थे । उहाँहरूले थुप्रै हार–जित भएको सुनाउनुहुन्थ्यो । उहाँहरूको हार–जित मेरा लागि हर्ष न बिस्मात् ।
कत्तिलाई थाहा नहुन सक्छ– नेपालको राष्ट्रिय खेल डन्डिबियो हो भनेर । मैले पनि डन्डिबियो खेलेको छु । यो खेलमा रमाउँदा डन्डिबियो नेपालको राष्ट्रिय खेल हो भनेर मलाई पनि थाहा थिएन । केवल मनोरञ्जनका लागि खेलिन्थ्यो । डन्डिबियो खेल्दा बियोले धेरैपटक लागेको थियो । तर पनि, खेल्न छाडिएन । मेरा सँगातीलाई कतिपय अवस्थामा बियोले लागेर गहिरो चोट लागेको थियो । चोट बोकेर हिँडेका सँगाती भेट्दा बाल्यकालमा खेलेको डन्डिबियोको सम्झना गराउँछ ।
संवत् २०५६ मा भक्तपुरमा डन्डिबियो प्रतियोगिता भएको थियो । त्यसपछि प्रतियोगिता भयो कि भएन पंक्तिकार ‘अपडेट’ छैनन् । ०१९ मा स्थापित राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका ४३ खेलमध्ये डन्डिबियो राष्ट्रिय खेल हो भनेर दर्ता भएको छ जस्तो लाग्दैन । गुच्छा, डन्डिबियो हुँदै मैले गिर पनि खेल्न भ्याएँ । यो खेल आफ्ना गाउँठाउँमा हुने शुभकार्यमा भेला हुँदा मनोरञ्जनका लागि खेल्नसम्म खेलियो ।
ककफाइटसम्बन्धी ज्ञान धेरैलाई हुनुपर्छ । विद्यालयमा हुने खेलकुद प्रतियोगिताअन्तर्गत म पढेको दुर्छिम उच्चमाध्यमिक विद्यालयमा ककफाइट पनि खेलाइन्थ्यो । बाल्यकालमा यो खेल पनि धित मरुन्जेल खेलेकै हो । हिजोआज छेलो हान्ने खेल हुन छाडेको छ । साथीभाइमध्ये को बलियो भनेर आफ्नो पाइन जाँच्न मैले पनि सकीनसकी छेलो हान्न पछि परिनँ । आफू अध्ययनरत विद्यालयका खेल शिक्षकले लङजम्प, त्रिपलजम्प त खेलाउनुहुन्थ्यो नै, त्योबाहेक अन्य खेलसमेत खेल्नसम्म खेलियो । म्युजिकल चेयर पनि खेलेकै हो ।
यसैगरी, लुकामारी, रुमाल÷टोपीचोर, कपर्दी, बाघचाल, लुँडो, चेस खेलेपछि समय बितेको पत्तो हुँदैनथ्यो । गाउँघरतिर फुर्सद मिल्नसाथ उल्लिखित खेल खेलेर मनोरञ्जन लिने गरिन्छ । पछिल्लो समयमा गाउँगाउँसम्म क्यारिमबोर्ड भित्रिएको छ ।
ब्रिटेनमा जन्मेको क्रिकेट नेपालका प्रमुख सहरमा जमेर खेलिए पनि गाउँघरसम्म यो खेल खेल्न थालिएको छ । गुच्छा र खोपी खेल्नेहरू टेबुलटेनिसमा रमाएका छन् । खोटाङमा यो खेल मिलन चाम्लिङले भित्र्याएका हुन् भनिन्छ । चाम्लिङले ०५६ मा व्यावसायिक रूपमा यो खेल भित्र्याएका थिए । पछिल्लो समय जिल्लाको बाक्सिला, बुइपा, दोर्पालगायत ठाउँमा पनि टेबुलटेनिस खेलेको देखिन्छ ।
०३९ मा मान्यताप्राप्त सितोरिया कराँते भने जिल्लाको गाउँगाउँमा खेलिन्छ÷खेलाइन्छ । स्मरण रहोस्, नेपालका कराते पिता भनेर चिनिने थानेश्वर राई खोटाङ, अर्खाैलेका हुन् । नेपालमा कराते खेललाई मान्यता दिने राईले संघर्षका थुप्रै पापड बेलेका छन् । यसले मान्यता पाउनुअघि राईले राति–राति त्यो पनि जंगल–जंगलमा भूमिगत रूपमा तालिम दिएका थिए ।
जिल्लामा कराँते खेल सुरुवात बाम्राङका रुद्र राईले गरेका हुन् भनिएको छ । बताइएअनुसार, राईले ०३७ मा औपचारिक रूपमा कराँते संघ नै स्थापना गरेका थिए । नेपालमा यस खेलले ०३९ मा मात्रै मान्यता पाएकाले राईले भूमिगत कि खुला रूपमा कराँते सिकाए यसै भन्न सकिँदैन । प्राप्त जानकारीअनुसार, ०४१ मा दुर्छिम–४ चुमाखुका स्व. गणेश राईले सगरमाथा च्याम्पियनसिप प्रतियोगितामा भाग लिने प्रथम प्रतियोगी हुन् । खोटाङबाट हालसम्म ३० भन्दा बढीले ब्ल्याकबेल्ट लिइसकेका छन् । एसियन गेममा सहभागी जिल्लाकी रामकुमारी राई बिहेपछि खेल क्षेत्रबाट टाढिएकी छन् ।
खोटाङमा सबैभन्दा बढी खेलिने खेल हो– भलिबल । जिल्लाको गाउँगाउँमात्रै नभएर टोलटोलमा खेलिन्छ । स्व. राजेन्द्र राई अञ्चलस्तरीय खेलाडी हुन् । तर, फुटबलचाहिँ जिल्लाको सीमित क्षेत्रमा मात्रै खेलिन्छ । खेलमैदान अभावले फुटबल खेल्ने उत्कट अभिलाषा लिनेहरू पनि खुम्चनुपरेको छ । क्लब गठन गरेरै फुटबल खेललाई निरन्तरता दिने सम्भवतः बाक्सिला फुटबल क्लब जिल्लाकै पहिलो मानिन्छ । जिल्लाकै सप्तेश्वरका राजकुमार राईले तेक्वान्दोतर्फ एसियन खेलमा स्वर्णपदक हात पारेका थिए ।
No comments:
Post a Comment