(दीपेन्द्र राई)

जिल्लाका अधिकांश भरियाले मनोरञ्जनका लागि रेडियो सुन्छन् । आफूभन्दा अग्लो भारी, भारीमाथि सिउरिएको रेडियो तामाङ आफूले त सुन्छन् नै, उनका पछि–पछि रहेका साथीहरूले पनि सुनिरहेका हुन्छन् । उनले १८ वर्षदेखि किन रेडियो सुनिरहेका छन् ? सोलुखुम्बुको गार्मामा भेटिएका डिल्ली तामाङले भने, ‘बाटो काट्न ।’
भारी बोकेर जीवन निर्वाह गर्दै आएका सोलुखुम्बुका डिल्ली तामाङहरूको बाटो काट्ने गतिलो माध्यम भनेकै रेडियो बनेको छ । त्यतिमात्रै होइन, जेठ, असारको टन्टलापुर घाममा शीतल र पुस, माघको मुटु कमाउने जाडोमा पनि भारी बोक्न बाध्य भरियालाई न्यानोपन दिने माध्यम रेडियो बनेको छ भन्दा फरक नपर्ला । गर्मी होस् वा जाडो उनीहरू रेडियो सुन्दै भारी बोकिरहेका हुन्छन् । सायद, रेडियोबाट प्रसारित गीत–संगीतले उनीहरूलाई बाटो काट्ने ऊर्जा दिइरहेको हुन्छ ।
दोलखाको जिरीदेखि सोलुखुम्बुको जुबुसम्म १५/१५ दिनमा ओहोर–दोहोर गरिरहने डिल्ली तामाङलाई आफूले बोकेको ३२ धार्नी सामानमाथि तीन सय रुपैयाँमा किनेको (तस्बिरमा देखिएको) रेडियोले नै बाटो काट्न सघाएको छ । प्रत्येक १५ दिनमा दुई जोडी ब्याट्री फेरेरै भए पनि उनी रेडियो सुन्न छुटाउँदैनन् । रेडियोमा धेरै कुरा प्रसारण हुन्छन् । प्रसारित सबै सामग्रीले उनलाई खासै तान्दैन । त्यसो भए उनले के सुन्लान् ? भने, ‘गीत ।’ गीतमध्ये पनि उनलाई मन पर्ने गीत त होलान् ? भारी बोकीबोकी पंक्तिकारसँग गफिएका उनले गाएरै सुनाए, ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भइसक्यो ८० झन् ठूलो दुःखले घेरेको ।’ उनलाई मन परेको गीत जीवन शर्माले गाएका हुन् भनेर थाहा नभए पनि यो गीत उनलाई औधी मन पर्छ रे । गफ छोट्याउँदै उनले भने, ‘यो गीतले मेरै पीडा बोलेजस्तो लाग्छ हजुर ।’
भारी बोकेर जीवन निर्वाह गर्दै आएका डिल्ली तामाङहरूलाई भरियासम्बन्धी रेडियो कार्यक्रम किन बन्दैनन् भन्ने कहिल्यै उत्सुकता लागेन । उनीहरूलाई यतातिर सोच्ने फुर्सदसमेत छैन । यही समाजका भरियाबारे रेडियो कार्यक्रम बन्दै नबन्नुका कारण पनि त होलान् ? ‘बजार संस्कृतिले प्रभावित रेडियो तथा एफएम रेडियोबाट प्रसारित कुनै पनि कार्यक्रममा भरिया अटाउँदैनन्,’ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका समाजशास्त्र अध्यापक प्रकाश राईको बुझाइ छ, ‘सम्बन्धित रेडियोले भरियालाई लक्षित समूह बनाएर कार्यक्रम बनाउनुको पछाडि अर्थ खोजिन्छ ।’ अध्यापक राईका अनुसार, सम्बन्धित रेडियो, एफएम रेडियोका कार्यक्रम उत्पादक भरियासँग त्यति जानकार छैनन् । त्यसो भएपछि भरियासम्बन्धी कार्यक्रम बन्ने कुरा भएन । भरियासम्बन्धी कार्यक्रम बनाउन ‘स्पोन्सर’ पाइने सम्भावना कत्ति पनि छैन । स्पोन्सर पनि बजार संस्कृतिसँग प्रभावित छन् ।
उज्यालो ९० नेटवर्कका कार्यक्रम उत्पादक पीटी लोप्चनले भरियालाई लक्षित समूह बनाएर कार्यक्रम उत्पादन गर्न आवश्यक ठान्छन् । लोप्चनले सुझाए, ‘असंगठित भरियालाई संगठित गराई आफ्नो हक–अधिकार बुलन्द बनाउने जागरण कार्यक्रम आवश्यक छ ।’ महँगीले मानिसको टुपी नाघ्न खोज्दै छ । तर, भरियाको ज्याला भनेजस्तो बढ्न सकेको छैन । सञ्चारकर्मी लोप्चनले सुनाए, ‘सबै क्षेत्रमा संगठन बनेका छन्, युनियन छन् । भरियाको छैन । उनीहरूलाई समेटेर रेडियो कार्यक्रम बनाइएमा उनीहरूले पनि आफ्ना हक–अधिकार खोज्दै मालिकले भरियालाई गरेको विभेद थाहा पाउँथे । दुःख गरेअनुसार ज्याला नबढेकोमा मालिकसँग शिर ठाडो पारेर कुरा राख्न सक्थे ।’
सञ्चार (प्रकाशन/प्रसारण) माध्यमलाई बजारमुखी संस्कृतिले प्रभाव पारेको छ । आमसञ्चारका विद्यार्थीलाई सञ्चारमाध्यमको काम शिक्षित बनाउनु, सुसूचित गराउनु, मनोरञ्जन प्रदान गर्नु र निगरानी राख्नु भनेर पढाइएको हुन्छ । कलेजमा पढाइएका सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्न सकिएको भए भारी बोकेर जीवन निर्वाह गर्ने सोलुखुम्बुका डिल्ली तामाङजस्ता थुप्रै भरियाले रेडियोमा भरियासम्बन्धी कार्यक्रम सुनेर भरियाका हक–हितका कुरा गर्न सक्ने बनाउँथ्यो होला । ज्यालाका विषयमा मालिकसँग कचकच गरिरहन पर्दैनथ्यो होला ।
No comments:
Post a Comment