Sunday, July 20, 2014

समस्यालाई तपस्या मान्ने बीना

(दीपेन्द्र राई)

बीना राई
गीत–संगीतमा लागेको व्यक्तिका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको के हो ? श्रोता कि गीतिएल्बम ? पक्कै दुवै हुन् । तर, श्रोताको माया पाउनका लागि गीत–संगीतमा लागेका व्यक्तिको गीतिएल्बम त सार्वजकि हुनुप¥यो नि । अनि न गायक–गायिकालाई श्रोताले चिन्छन् । यो कुरा थाहा पाएकी गायिका बीना राईले आफूलाई गायिका भनेर चिनाउन फुटकर गीत गाएरमात्रै सम्भव थिएन । त्यही भएर गायिका राईले तीन लाख ५० हजार रुपैयाँ खर्चेर ‘बीना’ नामक गीतिएल्बम सार्वजनिक गरिन् । त्यति धेरै रुपैयाँ खर्चेर १७ महिनाअघि सार्वजनिक गीतिएल्बमको बिक्रीचाहिँ कति भयो ? लगानी गरेकोमध्ये कति फिर्ता भयो ? बीनाले त्यसको हिसाब–किताब राखेकी छैनन् । उनले हिसाब–किताब राख्न जरुरी ठानेकी छैनन् । उनलाई लगानीको जोड–घटाउसम्बन्धी पटक्कै चिन्ता छैन । चिन्ता गरेर केही हुने होइन, चिन्तनचाहिँ पक्कै गरेकी होलान् । 

आफूसम्बद्ध क्षेत्रमा स्थापित हुन चिन्ता होइन, चिन्तन नै गर्ने हो । चिन्तन गरियो भने सफलताको शिखर चढ्न ऊर्जा पाइन्छ । त्यतिमात्रै होइन, समस्यालाई तपस्या मान्ने हो भने स्थापित गायिका बन्न कति लाग्दैन । त्यही भएर बीनाले गाउन थालेको चार वर्षमै गत वर्ष ‘बीना’ नामक गीतिएल्बम सार्वजनिक गर्न सफल भइन् । 

गीतिएल्बम ‘बीना’ सार्वजनिक गर्नअघि गायिका राईले ‘यस्तै हुन्छ पिरती’ नामक गीतिएल्बममा पनि आवाज दिएकी थिइन् । साथीसँगको सहकार्यमा तयार पारिएको सो गीतिएल्बम सार्वजनिक भयो कि छैन बीनालाई अहिलेसम्म पनि जानकारी छैन । उनलेसमेत सोधीखोजी गरेकी छैनन् । उनको एउटै ध्याउन्न छ– स्थापित गायिका बन्ने कर्म गर्न छाड्नुहुन्न । बाँकी तपसिलका कुरा हुन् ।

बीनाले काठमाडौं टेकेको तीन वर्ष हुँदै छ । काठमाडौं बुझ्नेलाई श्रीखण्ड नबुझ्नलाई खुर्पाको बिँड भनेजस्तै हो । काठमाडौं टेकेको दुई वर्षमै उनले गीतिएल्बम सार्वजनिक गरिन् । काठमाडौंलाई राम्ररी नपढी गीतिएल्बम सार्वजनिक गर्दा कतिपय अवस्थामा गल्ती भयो होला नि ? उनले सुनाइन्, ‘हो नि पक्का किरातीपाराले काम गर्दा कतिपय अवस्थामा अलि बढी खर्च भएछ भन्ने भेउ पाउँदै छु । अहोरात्र आफैं लागिपर्दा पनि तेत्रो लगानी भयो । फेरि–फेरिका लागि भने शिक्षा भयो । ।’ हुन पनि हो, ‘बीना’ मा समेटिएका लागि पाँच गीतका लागि झन्डै–झन्डै लाख रुपैयाँमा एउटा गीत तयार हुन पुग्यो । कुनै गीत भिजुएल गरिएको छैन । केवल गीत रेकर्डिङ, अडियो क्यासेट तयार पार्नु, विमोचन र प्रमोसनमा त्यति धेरै खर्च भएको थियो ।

एउटा गीतिएल्बम तयार पार्दा त्यति धेरै खर्च लाग्नु भनेको कम्ती होइन । तर, बीनाले त्यसलाई ठूलो मानेकी छैनन् । हृदयदेखि नै गीत–संगीतमा लाग्छु भनेर लागेपछि इच्छासँगै उपाय पनि सुझ्दोरहेछ । उनले भनिन्, ‘एल्बमका लागि सिंगापुर प्रहरी सोना राईको सहयोग पाएँ । थोर–बहुत आफूले पनि लगानी गरेकी थिएँ । आफैंले मात्र निकाल्न त गाह्रै हुन्थ्यो नि ।’

गीत–संगीत आफैंमा खर्चिलो विधा हो । सम्बन्धित व्यक्तिसँग कला र गलामात्रै भएर हुँदैन । बीनाले शुभचिन्तकको साथ–सहयोग पाएकीले उनको कला र गलाले सार्वजनिक हुने अवसर पायो । ‘बीना’ ले बीनाको परिचय फराकिलो पार्दै लगेको छ । त्यही भएर उनले लगानी गरेको रुपैयाँ फिर्ता नभए पनि हरेस खाएकी छैनन् ।

गीत–संगीतसम्बन्धी सामान्य ज्ञान नभई गीतिएल्बम सार्वजनिक गरेकी उनले पछिल्लो समय संगीत पाठशाला धाउन थालेकी छन् । काठमाडौंको पुतलीसडकमा रहेको गुरुकुलमा संगीत सिक्दै आएकी उनलाई कसैले संगीतसम्बन्धी प्रश्न गरिहालेमा उत्तर दिन सजिलो भएको छ । उनी गीतमात्रै गाउँदिनन्, गीतसमेत लेख्छिन् ।
राजेशपायल राईसँग गीत गाउँदै बीना


खोटाङ, मौवाबोटेनिवासी उनी गाउँमै छँदा रेडियो नेपालबाट बजेको गीत ध्यानपूर्वक सुन्थिन् । अरूले गाएको गीत सुन्दा आफू नजानिँदोपाराले गीत–संगीतमा लाग्ने भइसकेकी उनलाई धरान झरेपछि बाल्यकालको रहर पूरा गर्ने मौका मिल्यो । खोटाङबाट धरान र धरानबाट काठमाडौं टेकेपछि उनी झनै फराकिलो धरातलमा आइपुगिन्, फराकिलो धरातलले उनलाई बीना राई भनेर चिनाउन झनै सघाउ पुर्यायो । खोटाङका सदावहार गायक बच्चुकैलाश, युवापुस्ताकै सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई, संगीतकार तथा प्राज्ञ शान्तिराम राईको पदचाप पछ्याउँदै गरेकी बीनालाई पनि बच्चुकैलाश, राजेशपायल राई र शान्तिराम राईले पाएको सफलता मिल्ने नै छ । त्यसका लागि सम्बन्धित विधामा साधनाचाहिँ चाहियो । साधनाले नै मानिसलाई असाधारण बनाउने हो । यो कुरा गायिका बीना राईलाई थाहा नहुने कुरै छैन । उल्लिखित मन्त्र जानेपछि बीनाले आफ्नो क्षेत्रमा लोभलाग्दो परिचय बनाउनेछिन्, त्यसमा दुईमत होला र ? 

No comments:

Post a Comment