(दीपेन्द्र राई)
खोटाङ जिल्लाको हलेसी क्षेत्रलाई आर्थिक रूपमा समृद्ध बनाउन ‘एक घर, एक सय बोट अनार’
अभियान थालिने भएको छ ।
जिल्लाको दुर्छिम गाउँ विकास समितिअन्तर्गत साल्तेम्मामा यो अभियान थालिए पनि अब हलेसी क्षेत्रमै यो अभियान थालिने शिक्षा मन्त्रालयका शाखा अधिकृत भूपेन्द्रकुमार राईले बताए । हलेसी क्षेत्रअन्तर्गत दुर्छिम, च्यास्मिटार, बडहरे, बाहुनीडाँडा, डिकुवा, हलेसी, सल्ले, अर्खाैले, धितुङ गाविस पर्छन् ।
राईका अनुसार, एक बोट अनारमा कम्तीमा ४० किलोग्राम फल्छ । जोकोही किसानले सय बोट अनार लगाएको छ भने ४ हजार किलो अनार फल्छ । ४ हजार केजी अनार कम्तीमा ७५ रुपैयाँ केजीमा मात्रै बेचे उसले ३ लाख रुपैयाँ हात पार्छ ।
हलेसी क्षेत्रमा यो अभियान थाल्नुको औचित्य प्रस्ट्याउँदै राईले भने, ‘यहाँका किसानको आर्थिक स्थिति उकासिनु त छँदै छ, यस क्षेत्रको वातावरणसमेत स्वच्छ र हराभरा हुनेछ ।’ उनका अनुसार, पूर्वको पशुपतिनाथ भनेर परिचित हलेसी आइपुगेका पर्यटकलाई यहाँको अनार बगान घुमाएर एक दिनमात्रै भए पनि उनीहरूको बसाइ लम्ब्याउन सघाउ पुग्छ ।
यो अभियान साकार पार्न दुर्छिम गाविसअन्तर्गत साल्तेम्मा र डाँडाटोलका किसानले अनार खेती थालेका छन् । वैदेशिक रोजगारीक्रममा धेरै वर्ष विदेशमा बसेका यज्ञराज राई (प्रभात चाम्लिङ) ले गत वर्षदेखि अनार खेतीमा जुटेका छन् । विदेशबाट फर्कनसाथ उनले अनार खेती सुरु गरेका हुन् । प्रभात चाम्लिङजस्ता ‘वेल एजुकेटेड’ व्यक्ति अनार खेतीमा लागेपछि उनको सिको गर्ने बढ्दै गएका छन् ।
मुस्किलले मासिक १० हजार रुपैयाँ कमाउन खाडी मुलुक जानेले वर्षमा १ लाख २० हजार कमाउँछन् भने सय बोट अनार खेती गरे वार्षिक ३ लाख रुपैयाँ कमाउन सकिन्छ । घरपरिवारसँग बसेर ३ लाख कमाउन जानुभन्दा सय अनार लगाएर घरमै बसीबसी ३ लाख कमाउने कि ?
(प्रकाशित मिति : २०७१ जेठ २३)
No comments:
Post a Comment