(दीपेन्द्र राई)
अमेरिकाको न्युयोर्कमा रहेको स्लोन मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा २ दशमलव २ सेन्टिमिटरको दाग देखिएपछि गत बुधबारबाट रेडियोथेरापी प्रविधिबाट उपचार थालिएको छ भने नेपालमा नयाँ प्रधानमन्त्रीको खोजी तीव्र पारिएको छ ।
प्रधानमन्त्री कोइरालालाई रेडियोथेरापीबाट उपचार गरिने सेन्टरले आधिकारिक जानकारी दिएलगत्तै नेपालमा भने नयाँ प्रधानमन्त्रीको खोजीकार्य तीव्र पारिएको हो । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले नयाँ प्रधानमन्त्री सोही पार्टीबाट बनाउनुपर्ने आमबुझाइ छ । तर, कांग्रेसबाट को प्रधानमन्त्री बन्ने भनेर सानो–सानो युद्ध नै चलिरहेको छ । विधानतः पार्टी सभापतिपछि उपसभापति प्रधानमन्त्रीका दाबेदार मानिन्छन् ।
पार्टी उपसभापति तथा कार्यवाहक सभापति रामचन्द्र पौडेल छन् । प्रधानमन्त्री बन्नलाई संसदीय दलका नेता चुनिनुपर्यो । संसदीय दलका नेता चयन गरेर पौडेललाई प्रधानमन्त्री बनाए उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र अर्का शक्तिशाली मन्त्रीले सरकारमा एक मिनेट पनि नरहने चेतावनी दिइसकेको स्रोतले बताएको छ । त्यसो भएपछि एकताका १४/१४ पटकसम्म प्रधानमन्त्रीका लागि लडभीड गरेका पौडेलको यसपटक प्रधानमन्त्री बन्ने सपना विपनामा परिणत हुन सकेन ।
त्यतिमात्रै होइन, संवैधानिक मस्यौदा समिति सभापति बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई लिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका रामचन्द्र पौडेलको रोइकराइ रोइकराइमै सीमित रह्यो । पौडेलको प्रस्तावप्रति राजी हुँदै प्रचण्डले कोइरालाले मनाउने प्रयास गरे । प्रचण्डलाई कोइरालाले दिएको उत्तर उद्धृत गर्दै कोइरालानिकट कांग्रेस नेताले भने, ‘मैले प्रधानमन्त्रीबाट राजीनामा दिन सजिलो छ तर पौडेलजीलाई संवैधानिक मस्यौदा समितिको सभापति बनाउन गाह्रो छ ।’ अन्ततः समितिको सभापति कृष्णप्रसाद सिटौलालाई बनाइयो ।
यो कुरा चाल पाएपछि शेरबहादुर देउवासमेत प्रधानमन्त्री बन्ने ध्याउन्न लागे । देउवालाई अमेरिकाको आशिर्वाद रहे पनि उसको आशिर्वाद लागेन । देउवालाई प्रधानमन्त्री बनाइदिनूपर्यो भन्दै अमेरिकाले गुहार मागे पनि भारतले नेपालको मामिला आफैंले मिलाउने वचन दिएपछि देउवासमेत जिल्लिएका छन् ।
त्यसो भए खोजिँदै गरेको नेपालको नयाँ प्रधानमन्त्री को होलान् ? यसै भन्न सकिँदैन । तर, नेपालको भावी प्रधानमन्त्री केपी ओली हुन् भनेर चर्चा हुन थालेको छ । एमालेसम्बद्ध एक सभासद्ले नाम उल्लेख नगर्न सर्तमा भने, ‘भारतले ओलीलाई दुई दिन भए पनि प्रधानमन्त्री बनाउन चाहन्छ ।’
No comments:
Post a Comment