(दीपेन्द्र राई)
![]() |
खोटाङ सदरमुकाम दिक्तेल |
जिल्लाका उचाइमा रहेका डाँडामध्ये रूपकोट पनि एक हो । डाँडा भनेपछि धेरैलाई मन पर्छ । त्यही भएर दिक्तेल पुगेका जोकोही एकपटक रूपाकोट पुग्ने गर्छन् । दिक्तेलमै दिक्तेल बहुमुखी क्याम्पस रहेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी सातामा एकपटक रूपाकोट चढेकै हुन्छन् । भर्खर हातपाउ चलेकादेखि हालपाउ नरहेका जोकोही फुर्सद पाउनसाथ साताभरिको थकान मेट्न रूपाकोट चढ्छन् ।
जिल्लावासीका साथै उदयपुर, भोजपुर, ओखलढुंगा र सोलखुम्बुबाट समेत रूपाकोट घुम्न आउने गरेको पत्रकार रामधन वेदनाले जानकारी गराए । ‘रूपाकोट पुग्नैपर्ने ठाउँ रहेछ,’ भोजपुरका कवि नवराज वर्तमानको ठम्याइ छ, रूपाकोट नेपालका घुम्नैपर्नेमध्येको लोभलाग्दा पर्यटीकय गन्तव्यमध्ये एक हो ।’
रूपाकोट वनभोजका लागि पहिलो रोजाइमा पर्छ । यहाँ नेपाली नयाँ वर्ष, माघेसंक्रान्ति, साउनेसंक्रान्ति, तीजमा मात्रै होइन, किरात राईको महान् चाड वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) फागुपूर्णिमा, शिवरात्री, रामनवमीजस्ता चाडबाडमा भीडभाड लाग्ने गर्छ । खोटाङ सदरमुकाम दिक्तेलदेखि डेढ घन्टाको दूरीमा रहेको रूपाकोट प्रकृतिको सुन्दर पहिरन लगाएर उभिएको छ । यहाँबाट जिल्लाका अधिकांश ठाउँमात्रै देखिँदैनन् पूर्वी तराईका समथर भू–भागसमेत धितमरुन्जेल हेर्न सकिन्छ ।
गुराँस, सुनाखरी, चाँप, चिमाललगायतका फूलले रूपाकोट सिँगारिएको छ । त्यतिमात्रै होइन, यहाँ विभिन्न प्रजातिका रूख र विभिन्न पशुपक्षीको चिरबिरले मनै लोभ्याउँछ । चारैतिर चउर र जंगलबीचमा सिद्घबाबाको मन्दिर रहेकाले धर्मभीरु दर्शन गर्नसमेत पुग्ने गर्छन् । सिद्घबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने धर्मभीरुको विश्वास छ ।
दिक्तेल, नेर्पा, पाथेका, खार्मी, जालपा, हौंचुर, खार्पा, नुन्थला गाबिसबीचमा रहेको रूपाकोट घुम्दा संसारै भुलिने पूर्वमाननीय टंक राईले सुनाए ।
(प्रकाशन मिति : २०७१ असार १२)
(प्रकाशन मिति : २०७१ असार १२)
No comments:
Post a Comment