![]() |
नाम्चे |
(दीपेन्द्र राई)
खुम्बु आउँदै हुनुहुन्छ ? त्यसो हो भने यता आउनुअघि यहाँका होटलको ‘मेनु’ लिन नबिर्सनुहोला । किनकि यात्राका लागि अड्कलेर बोकेको खर्चले नभ्याउला नि ।
पेटले मागेजति खाना खान तपाईंले प्रतिव्यक्ति तीनदेखि पाँच सय रुपियाँ खर्च गुर्नुपर्ने हुन्छ । तर, होटल हेरी–हेरी । अनि व्यक्ति हेरेर पनि यहाँका होटल सञ्चालकले तपाईंसँग रुपियाँ असुल्ने गर्छन् । दुई पिस पाउरोटीसँग अम्लेट खान चाहनुभयो भने तीन सय रुपियाँ खर्च गर्न तयार हुनुपर्छ । उसिनेको ६ वटा आलुको पनि तीन सय रुपियाँ नै पर्छ भने एक बोल मिनरल वाटरको दुई सय ५० र एक कप चियाको ५० रुपियाँ ।
अब भने तपाईंलाई खुम्बु आउँदा सजिलो होला । यताको होटलको ‘मेनु’ थाहा भएपछि उल्लिखित ‘मेनु’अनुसार तपाईंलाई दैनिक कति खर्च लाग्ला ? थाहा पाउनुभयो नि । यहाँका होटल सञ्चालकले आन्तरिक पर्यटकलाई खासै वास्ता गर्दैनन् । नाम नबताउने सर्तमा एक होटल सञ्चालक भन्छिन्, ‘विदेशी पर्यटक आए भने बास बसिसकेका आन्तरिक पर्यटकलाई जबरजस्ती कोठा खाली गर्न लगाइन्छ ।’ त्यस्तो अवस्था परिआएमा भोग्न तयार हुनुपर्छ तपाईंले पनि ।
‘मेनु’अनुसारको खर्च गर्न तयार भएपछि तपाईंले खुम्बु यात्रा गर्न सक्नुहुन्छ । दोलखाको जिरी हुँदै पैदल हिँडेर लुक्ला आउन सकिन्छ । काठमाडौँबाट सीधै हवाईजहाजबाट पनि लुक्ला ओर्लनु सक्नुहुन्छ । लुक्लाबाट पदयात्रा सुरु हुन्छ । यहाँबाट मास्तिर लागेपछि यातायातको साधन पाइँदैन । पाइन्छ त केवल भरिया, चौँरी र घोडाले तपाईंको यात्रा सहज बनाउनेछन् । भरियाको दैनिक ज्याला सात रुपियाँ हो । लुक्ला ओर्लेका आन्तरिक तथा बाह्य पर्यटकका सामान बोक्न भरिया र चौँरीधनी तँछाडमछाड गरेमा अचम्म मान्नु परोइन ।
पहिलो दिन तपाईं लुक्लादेखि सगरमाथा राष्ट्रिय निकुञ्जसम्म पुग्नुहुनेछ । त्यहाँबाट जोरसल्ले हुँदै नाम्चे पुग्न अर्काे एक दिन लाग्छ । बाटैभरि माने, गुम्बा, छोर्तेन देख्न सकिन्छ । शेर्पा संस्कृति, बाटैभरि र भीरपाखामा बनाइएका गुम्बाले तपाईंको यात्रा रोमाञ्चक बनाउँछ । नाम्चेबाट आमादब्लम र थामसेर्कु हिमाल दृश्यावलोकन गर्नुको बेग्लै मज्जा छ ।
![]() |
सगरमाथा |
नाम्चेबाट ३० मिनेट हिँडेपछि स्याङ्बोचे पुगिन्छ । त्यहाँबाट त्यति नै समयमा खुम्जुङ उपत्यका पुग्न सकिन्छ । खुम्जुङ पर्वतारोहीको गाउँ भनेर चिनिन्छ । यहाँका ३५ बढी युवायुवतीले सानै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । यहाँका बासिन्दाको खेतिपाती नै पर्वतारोहण हो । बाहिरबाट आएका जोकोहीले यहाँ (खुम्जुङमा) घर बनाएर बस्न पाउँदैनन् । स्थानीय संस्कृति अतिक्रमण हुने डरले यहाँका बासिन्दाले यस्तो नियम अख्तियार गरेका हुन् । जुन आजसम्म कायम रहेको छ ।
खुम्जुङबाट एक दिनमा पुगिन्छ तेङ्बोचे । ४००० मिटर उचाइमा रहेको तेङ्बोचे गुम्बाबाट सगरमाथा, आमादब्लम, लोत्से, चोयू र नुप्से हिमाल आँखैअगाडि देखिन्छन् । तेङ्बोचेमा भेटिएका सञ्चारकर्मी प्रदीप पोखरेलले भने, ‘खुम्बुको सांस्कृतिक र प्राकृतिक सुन्दरता शब्दमा वर्णन गर्न जोकोहीलाई गाह्रो हुन्छ ।’ बाटैभरि आन्तरिक तथा बाह्य पर्यटक भेटिन्छन् । कोही हिमाल आरोहणका लागि उकालो लागिरहेका त कोही सफल आरोहण सकेर ओरालो झर्दैै गरेका । पर्यटकका भारी बोकेर उकालो लागेका र ओरालो झर्दै गरेका भरियाको पनि ‘क्याराभान’ नै देख्न सकिन्छ । तिनै भरियाका ‘क्याराभान’मा कति चिनारु अनुहार भेटिन्छन् । चिरपरिचित भरिया आफू सकुशल रहेको खबर घरपरिवारसम्म पुर्याइदेऊ है भन्दै कुरा गरिहेका सुनिन्छ । बाटैभरि भेटिने आन्तरिक तथा बाह्य पर्यटक, भरिया र चौँरीका ‘क्याराभान’ले कतै–कतै बाटो काट्नसम्म हम्मेहम्मे पर्छ ।
८००० मिटरको उचाइमा रहेको विश्वको १४ मध्ये आठ हिमाल नेपालमै रहेका छन् । नेपालमा तीन सय हिमाल आरोहणका लागि खुला गरिएको छ ।
(प्रकाशन मिति : २०७१ असार १३)
(प्रकाशन मिति : २०७१ असार १३)
No comments:
Post a Comment