Monday, June 23, 2014

संकटमा भेडापालन


(दीपेन्द्र राई)

चिन्ता । चिन्ताले चिचासम्म पुर्याउँछ भन्ने नेपाली उखान छ । प्रचलित उखानले सोलुखुम्बु, मैदेलका गुरुङ जातिले वास्ता छैन । तर पनि उनीहरूलाई एउटै चिन्ता पिरोल्न थालेको छ । उनीहरूको चिन्ता तोकिएको समयमा संविधान बन्छ बन्दैनसँग सम्बन्धित छैन् ।

यहाँका गुरुङ जातिले परापूर्वकालदेखि अँगाल्दै आएका पुख्र्याैली पेसा भेडापालन संकटमा परेकाले उनीहरूलाई चिन्ता बढ्दै गएको छ । जिल्लास्थित वन–जंगल सामुदायिक वनमा परिणत भएपछि सामुदायिक वनमा भेडा चराउन रोक लगाइएकाले चरिचरन अभावमा भेडापालन संकटमा पर्न थालेको हो ।

चरिचरन अभावले मात्र भेडापालन संकटमा परेको भने होइन । मैदेलका परशुराम गुरुङले सुनाए, ‘युवापुस्ताले पुख्र्याैली व्यवसाय अँगाल्न नचाहेपछि यो व्यवसाय संकटमा परेको हो । युवापुस्ता हामीले गरेजस्तो दुःख गर्न चाहँदैनन् बरु विदेश जाने तयार हुन्छन् । अनि कसरी पुख्र्याैली व्यवसाय बचाउन सकिन्छ ।’

भेडापालन संकटमा पर्दै जान थालेपछि यसको प्रत्यक्ष असर राडीपाखी व्यवसायमा समेत पर्न थालेको हो । भेडाको ऊनबाट बनेको राडी आतिथ्य सत्कारका लागि ओछ्याइने र चिसोबाट बच्न सिरकका रूपमा पाखी प्रयोग गरिन्छ । भेडापालन संकटमा पर्दै जान थालेपछि ऊन उत्पादनमा कमी हुनाले राडीपाखी व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको मैदेलकी सीता गुरुङले बताइन् । ‘ऊनमात्र भइदिए आफूहरूले अँगाल्दै आएको व्यवसाय बचाउन सकिन्थयो कि,’ राडीपाखी व्यवसायी गुरुङले दुःख व्यक्त गरिन् ।


भेडापालनमा लागेका स्थानीय गुरुङ समुदायका पुरुष भेडा चराउन जंगलमै रहने, ऊन कात्ने र घरका लागि आवश्यक सामान जुटाउने र महिलाचाहिँ घरमै बसेर राडीपाखी बुन्ने चलन थियो । यो चलन हराउँदै जान थालेकोमा स्थानीय गुरुङ समुदायलाई नमीठो लाग्न थालेको हो । केही समय पहिले मैदेलमा देखिने रहरलाग्दो भेडाको बथान अहिले मासिँदै जान थालेको छ । तसर्थ, मैदेलवासी गुरुङ समुदायलाई चिन्ताले पिरोल्नसम्म पिरोलको हो ।


(प्रकाशन मिति : २०७१ असार १४)

No comments:

Post a Comment