Sunday, July 27, 2014

महत्वाकांक्षी सपना सबैभन्दा खतरनाक

(दीपेन्द्र राई)
कृष्णकला वनेम

घरबाट विद्यालय पुग्न १५ मिनेट लाग्थ्यो । जहाँ उनले निम्नमाध्यमिक तहसम्मको पढाइ पार लगाइन् । धनुषा निम्नमाध्यमिक विद्यालय झापाका सबै शिक्षक–शिक्षिकाले उनलाई हृदयदेखि नै माया गर्थे । माया नगरून् पनि कसरी । जसले विद्यालयको इज्जत राख्छ, जो पढाइमा अब्बल छ, ऊसँग विद्यालयले धेरै कुरा आस गरेको हुन्छ । अनि उसैलाई त हो शिक्षक–शिक्षिकाले माया गर्ने । 

धनुषा निम्नमाध्यमिक विद्यालय पढ्दा उनी कहिल्यै दोस्रो भइनन् । न तेस्रो, चौथो । सधैँ पहिलो । पढाइमा अब्बल विद्यार्थी भएरमात्रै उनलाई शिक्षक–शिक्षिकाले माया गरेका भने होइनन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उनको सहभागिता नभएको कार्यक्रम नै हुँदैनथ्यो । त्यसमध्ये पनि वादविवाद र हाजिरीजवाफमा उनको सहभागिता अर्थपूर्ण रहन्थ्यो ।

हल्दीबारीको ८ नम्बर वडा । सुन्दर एवम् शान्त परिवेश । झापा जिल्लाअन्तर्गत गोलधाप, जलथल र सैनिक गाउँ विकास समितिले हल्दीबारीलाई अँगालो हालेकोजस्तै देखिन्छ । जहाँ कृष्णकला वनेमको सालनाल गाडिएको छ । सानैदेखि चित्त नबुझेको विषयमा विद्रोह गरिहाल्ने उनी कहिलेदेखि साहित्य सिर्जनामा लागिन् ? उनले स्काइप कुराकानीमा सुनाइन्, ‘साहित्यिक किताब र पत्रपत्रिका सानैदेखि पढे पनि १४ वर्षको हुँदासम्म मैले केही लेखिनँ ।’ 

१५ वर्ष टेकेपछि वनेमले नलेखी बस्न सकिनन् । लेखनको पहिलो प्रयास गीतिनाटक थियो । त्यसपछि एकांकी नाटक पनि लेखिन् । अनि उनको कलम साहित्यको विभिन्न विधामा दौडिन थाल्यो । कलमको दौडाइ लोभलाग्दो थियो । नभन्दै एक सय नौ गीत समेटिएका ‘बिर्सिएका गीतहरू’ गीतिसंग्रह र नौ कथा समेटिएका ‘अविश्वासको तरंग’ नामक उनको कथासंग्रह सार्वजनिक भइसकेको छ । उनले भनिन्, ‘एक सय नौ गीत समेटिएका अर्काे गीतिसंग्रह, ८० गजल समेटिएका गजलसंग्रह, दुई सय ५० मुक्तक समेटिएका मुक्तकसंग्रह, एक गीतिनाटक र एक एकांकीनाटक संग्रह प्रकाशोन्मुख छ ।’

सिर्जनशील र विधागत ज्ञान हुनेले नै त हो लेख्ने । यसको उदाहरण कृष्णकला वनेमलाई लिन सकिन्छ । उनको प्रकाशित र प्रकाशोन्मुख कृतिको नाममात्रै लिए पुग्छ । उनी साहित्यको एउटा विधामा मात्रै खुम्चिएकी छैनन् । र, खुम्चनु पनि हुँदैन । अरूले लेखेको पढेर गजल लेख्न थालेको बताउने उनको गजलसंग्रह नै प्रकाशन तयारीमा रहेको छ । अरूले लेखेको पढेर गजल लेख्न थालेकी उनले सम्बन्धित विधाको सैद्धान्तिक ज्ञान लिन पछि परिनन् । आखिर इच्छा भएपछि उपाय कति–कति हुँदोरहेछ ।
छोरी मार्जिनका साथ कृष्णकला

साहित्यिक साधकलाई साहित्य किन लेख्नुहुन्छ भनेर ‘रेडिमेड क्वैसन’ सोध्ने गरिन्छ । सोधेपछि उत्तर दिन करै लाग्छ । कसैले भन्छन्– आत्मसन्तुष्टिका लेख्छु । अर्काेले भन्लान्– देशका लागि लेख्छु । तेस्रोले भन्लान्– विश्वका लागि लेख्छु । यही प्रश्न कृष्णकला वनेमलाई सोधियो भने के भन्लिन् ? उनको सहज उत्तर छ, ‘म पनि आत्मसन्तुष्टिका लागि लेख्छु, समाजका लागि लेख्छु, देशका लागि लेख्छु, विश्वका लागि लेख्छु । तर, त्योभन्दा धेरै जातीय पहिचानका लागि लेख्छु । संस्कृतिका लागि लेख्छु ।’ हो, उनको लेखाइमा दम छ । उनी आफूभित्रको उकुसमुकुसलाई सांस्कृतिक लेपन लगाएर लेख्न सिपालु छिन् । आफूभित्र जन्मेको भावना साहित्यको विधागत संरचनाभित्र रहेर प्रस्तुत गर्ने उनको लेखनीमा लिम्बू जातिको डल्लै संस्कृति अटाएका छन् । जान्ने चाहना राख्नेले कृष्णकला वनेमको गीत, गजल, कथा, मुक्तक, गीतिनाटक र एकांकी नाटक नपढी सुखै छैन । आदिवासी जनजातिअन्तर्गत लिम्बू जाति सांस्कृतिक रूपमा निकै धनी मानिन्छ ।

वैदेशिक रोजगारीक्रममा सात वर्षदेखि इजरायलमा रहेकी उनलाई इजरायलले धेरै कुरा दिएको छ । उनको बुझाइ छ, ‘म यता नआएको भए मेरो लेखाइले कुद्ने अवसर पाउँथेन । म गृहिणीमै सीमित रहन्थेँ । त्यसो भएपछि मेरो लेखाइले बामे सर्नभन्दा बढी केही गर्न सक्दैनथ्यो ।’ भनेपछि इजरायले उनलाई ‘इकोनोमिक’ रूपमा मात्रै ‘स्ट्रोङ’ बनाएको छैन, साहित्यिक रूपमा पनि त्यत्तिकै बलशाली बनाएको छ । इजरायलमा सोचेभन्दा सजिलो काम पाएपछि उनी ड्युटीमै रहँदा पनि लेख्न सक्छिन् । ड्युटीको समयसमेत सदुपयोग गरेर साहित्यमा खर्चने उनले अलिकति पनि समय खेर फालेकी छैनन् । साहित्यिक व्यक्तित्वको परिचयसमेत बनाएपछि उनलाई आदर, सम्मान नगर्ने को होलान् । गर्ने नै भए । 

मुलुकको एकपाखे नीतिले नेपालका आदिवासी जनजातिलाई पार्नसम्म असर पारेको छ । त्यसको चोट कृष्णकला वनेमले पनि भोग्दै छिन् । १०४ वर्षे जहानियाँ राणा शासन, ३० वर्षे पञ्चायती व्यवस्था, दसवर्षे सशस्त्र द्वन्द्वले समेत आदिवासी जनजातिलाई नै बढी मात्रामा पिरोल्यो । उल्लिखित तीन शीर्षकको उत्पीडनले थुप्रै कृष्णकलाहरूलाई वैदेशिक रोजगारीमा धकेलेको छ । तर पनि, कृष्णकला वनेमले आफूलाई दह्रो बनाएर पृथक पहिचान, परिचय बनाउन सफल छिन् । यो मामिलामा भने वदैशिक रोजगारीमा गएकाले कृष्णकला वनेमबाट धेरै कुरा सिक्नुपर्छ ।

महिलाका लागि इजरायल सुरक्षित गन्तव्य मानिन्छ । वैदेशिक रोजगारीका लागि उनले पनि यही देश रोजिन् । आम्दानी, मानसम्मान, सामाजिक सेवा गर्ने अवसर पनि उनलाई इजरायलले नै दियो । अनि यहाँका रोगी, शारीरिक रूपमा अशक्त र वृद्धवृद्धाको सेवा गर्ने मौका पाइन् । इजरायल उड्नु अघिल्लो रात उनी निकै तनावमा थिइन् । आफ्नो परिवारदेखि सारा–सारा त्यागेर त्यता जानुको पीडा शब्दमा व्यक्त गर्न जोकोहीलाई गाह्रो हुने नै भयो । तर, अहिले उनी हाँसी–खुसी छन् । हिजोआज उनी इजरायलमा एक्लै छैनन् । दुई छोरीलाई पनि इजरायल लगेकी छन् । परदेशमा पनि आमा र दुई छोरी सँगै रहन पाउने मौका कमैलाई मिल्ला । इजरायलले कृष्णकलाको सपना पूरा गर्यो कि नाइँ ? उनले भनिन्, ‘देखेजति सपना पूरा त कहाँ हुन्छ र, तर जे–जति पूरा भए त्यसैमा सन्तुष्ट छु ।’ हुनु पनि हो, सन्तोषभन्दा ठूलो सम्पत्ति केही हुँदैन । जो कृष्णकलासँग छ । 
कृष्णकला वनेम

कृष्णकलाको बुझाइ छ– जीवन भनेको नदी हो, जो अविरल बगिरहन्छ । जीवनको नदी बग्दै जाँदा उनी पनि नेपालबाट इजरायल पुगेकी छन् । नदीले बगेरमात्रै आफ्नो धर्म पूरा हुँदैन । छेउछाउका खेतबारीमा सिन्चन गर्नुमा मात्रै उसको बगाइको अर्थ पूर्ण हुन्छ । त्यस्तै कृष्णकलाको जीवनरूपी नदी अर्थपूर्ण रूपमा बग्दै गएको छ । उनले इजरायलमा कमाएको रुपैयाँ आफ्नो थैलीमा कोचेरमात्रै राखेकी छैनन् । सम्बन्धित व्यक्तिको थैलीमा सन्चित गरिराखेको रुपैयाँले खासै अर्थ राख्दैन । उनले आफूले आर्जन गरेको रुपैयाँ सामाजिक काममा समेत सदुपयोग गरेकी छन् । वैदेशिक रोजगारीक्रममा विभिन्न देश पुगेका नेपालीलाई आपतविपत परेको बेला उनी चुपचाप बस्न सक्दिनन् । आपतमा परेकालाई सहयोग गर्न उनले मासिक रूपमा निश्चित रुपैयाँ छुट्याएकी छन् । आपतविपत परेकालाई सहयोग गर्दा सबैभन्दा बढी खुसी मान्ने उनले ठूलो र महत्वाकांक्षी सपना देखेकी छैनन् रे । सपना त ठूलै देख्नु भन्छन् । तर, उनको मान्यता छ– पूरा हुने सपना देख्नुपर्छ । महत्वाकांक्षी सपना देख्न थालियो भने मानिसले बाटो बिराउन पनि सक्छन् ।

बाटो बिराउनेका लागि कृष्णकलाको बुझाइ गुरुमन्त्र मान्दा जोकोहीलाई भलो नै हुनेछ । उनी तत्काल नेपाल फर्कने मनस्थितिमा छैनन् । नेपाल फर्केपछि यही गर्छु भनेर उनले योजना पनि बनाएकी छैनन् । बाल्यकालमा गोठाला जान भाइबहिनीसँग सानोतिनो युद्ध नै गर्ने उनलाई त्यही बाल्यकाल सम्झेर परदेशमा रहँदा पनि आफू खुसी हुने गर्छिन् । कक्षा एकदेखि आठ कक्षा पुग्दासम्म आठपटक प्रथम पुरस्कार पाएकी उनले जिल्लाव्यापी लोकगीत प्रतियोगिता र क्षेत्रीय लोकगीत प्रतियोगितामा क्रमशः पहिलो र सान्त्वना पुरस्कार पाएकी थिइन् । त्यतिमात्रै होइन, बाल्यकालमा साथीसँगातीसँग डुम, चुँ, कबड्डी, डोरी नाघी, गोटी, सिन्का लुकाइ, खुट्टा नाघी खेल्दाको बालापन सम्झँदा मात्रै पनि परदेशमा रहँदासमेत उल्लिखित ‘फ्ल्यासब्याक’ ले उनलाई आफू गाउँघरमै रहेको महसुस गराउँछ । 

Sunday, July 20, 2014

समस्यालाई तपस्या मान्ने बीना

(दीपेन्द्र राई)

बीना राई
गीत–संगीतमा लागेको व्यक्तिका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको के हो ? श्रोता कि गीतिएल्बम ? पक्कै दुवै हुन् । तर, श्रोताको माया पाउनका लागि गीत–संगीतमा लागेका व्यक्तिको गीतिएल्बम त सार्वजकि हुनुप¥यो नि । अनि न गायक–गायिकालाई श्रोताले चिन्छन् । यो कुरा थाहा पाएकी गायिका बीना राईले आफूलाई गायिका भनेर चिनाउन फुटकर गीत गाएरमात्रै सम्भव थिएन । त्यही भएर गायिका राईले तीन लाख ५० हजार रुपैयाँ खर्चेर ‘बीना’ नामक गीतिएल्बम सार्वजनिक गरिन् । त्यति धेरै रुपैयाँ खर्चेर १७ महिनाअघि सार्वजनिक गीतिएल्बमको बिक्रीचाहिँ कति भयो ? लगानी गरेकोमध्ये कति फिर्ता भयो ? बीनाले त्यसको हिसाब–किताब राखेकी छैनन् । उनले हिसाब–किताब राख्न जरुरी ठानेकी छैनन् । उनलाई लगानीको जोड–घटाउसम्बन्धी पटक्कै चिन्ता छैन । चिन्ता गरेर केही हुने होइन, चिन्तनचाहिँ पक्कै गरेकी होलान् । 

आफूसम्बद्ध क्षेत्रमा स्थापित हुन चिन्ता होइन, चिन्तन नै गर्ने हो । चिन्तन गरियो भने सफलताको शिखर चढ्न ऊर्जा पाइन्छ । त्यतिमात्रै होइन, समस्यालाई तपस्या मान्ने हो भने स्थापित गायिका बन्न कति लाग्दैन । त्यही भएर बीनाले गाउन थालेको चार वर्षमै गत वर्ष ‘बीना’ नामक गीतिएल्बम सार्वजनिक गर्न सफल भइन् । 

गीतिएल्बम ‘बीना’ सार्वजनिक गर्नअघि गायिका राईले ‘यस्तै हुन्छ पिरती’ नामक गीतिएल्बममा पनि आवाज दिएकी थिइन् । साथीसँगको सहकार्यमा तयार पारिएको सो गीतिएल्बम सार्वजनिक भयो कि छैन बीनालाई अहिलेसम्म पनि जानकारी छैन । उनलेसमेत सोधीखोजी गरेकी छैनन् । उनको एउटै ध्याउन्न छ– स्थापित गायिका बन्ने कर्म गर्न छाड्नुहुन्न । बाँकी तपसिलका कुरा हुन् ।

बीनाले काठमाडौं टेकेको तीन वर्ष हुँदै छ । काठमाडौं बुझ्नेलाई श्रीखण्ड नबुझ्नलाई खुर्पाको बिँड भनेजस्तै हो । काठमाडौं टेकेको दुई वर्षमै उनले गीतिएल्बम सार्वजनिक गरिन् । काठमाडौंलाई राम्ररी नपढी गीतिएल्बम सार्वजनिक गर्दा कतिपय अवस्थामा गल्ती भयो होला नि ? उनले सुनाइन्, ‘हो नि पक्का किरातीपाराले काम गर्दा कतिपय अवस्थामा अलि बढी खर्च भएछ भन्ने भेउ पाउँदै छु । अहोरात्र आफैं लागिपर्दा पनि तेत्रो लगानी भयो । फेरि–फेरिका लागि भने शिक्षा भयो । ।’ हुन पनि हो, ‘बीना’ मा समेटिएका लागि पाँच गीतका लागि झन्डै–झन्डै लाख रुपैयाँमा एउटा गीत तयार हुन पुग्यो । कुनै गीत भिजुएल गरिएको छैन । केवल गीत रेकर्डिङ, अडियो क्यासेट तयार पार्नु, विमोचन र प्रमोसनमा त्यति धेरै खर्च भएको थियो ।

एउटा गीतिएल्बम तयार पार्दा त्यति धेरै खर्च लाग्नु भनेको कम्ती होइन । तर, बीनाले त्यसलाई ठूलो मानेकी छैनन् । हृदयदेखि नै गीत–संगीतमा लाग्छु भनेर लागेपछि इच्छासँगै उपाय पनि सुझ्दोरहेछ । उनले भनिन्, ‘एल्बमका लागि सिंगापुर प्रहरी सोना राईको सहयोग पाएँ । थोर–बहुत आफूले पनि लगानी गरेकी थिएँ । आफैंले मात्र निकाल्न त गाह्रै हुन्थ्यो नि ।’

गीत–संगीत आफैंमा खर्चिलो विधा हो । सम्बन्धित व्यक्तिसँग कला र गलामात्रै भएर हुँदैन । बीनाले शुभचिन्तकको साथ–सहयोग पाएकीले उनको कला र गलाले सार्वजनिक हुने अवसर पायो । ‘बीना’ ले बीनाको परिचय फराकिलो पार्दै लगेको छ । त्यही भएर उनले लगानी गरेको रुपैयाँ फिर्ता नभए पनि हरेस खाएकी छैनन् ।

गीत–संगीतसम्बन्धी सामान्य ज्ञान नभई गीतिएल्बम सार्वजनिक गरेकी उनले पछिल्लो समय संगीत पाठशाला धाउन थालेकी छन् । काठमाडौंको पुतलीसडकमा रहेको गुरुकुलमा संगीत सिक्दै आएकी उनलाई कसैले संगीतसम्बन्धी प्रश्न गरिहालेमा उत्तर दिन सजिलो भएको छ । उनी गीतमात्रै गाउँदिनन्, गीतसमेत लेख्छिन् ।
राजेशपायल राईसँग गीत गाउँदै बीना


खोटाङ, मौवाबोटेनिवासी उनी गाउँमै छँदा रेडियो नेपालबाट बजेको गीत ध्यानपूर्वक सुन्थिन् । अरूले गाएको गीत सुन्दा आफू नजानिँदोपाराले गीत–संगीतमा लाग्ने भइसकेकी उनलाई धरान झरेपछि बाल्यकालको रहर पूरा गर्ने मौका मिल्यो । खोटाङबाट धरान र धरानबाट काठमाडौं टेकेपछि उनी झनै फराकिलो धरातलमा आइपुगिन्, फराकिलो धरातलले उनलाई बीना राई भनेर चिनाउन झनै सघाउ पुर्यायो । खोटाङका सदावहार गायक बच्चुकैलाश, युवापुस्ताकै सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई, संगीतकार तथा प्राज्ञ शान्तिराम राईको पदचाप पछ्याउँदै गरेकी बीनालाई पनि बच्चुकैलाश, राजेशपायल राई र शान्तिराम राईले पाएको सफलता मिल्ने नै छ । त्यसका लागि सम्बन्धित विधामा साधनाचाहिँ चाहियो । साधनाले नै मानिसलाई असाधारण बनाउने हो । यो कुरा गायिका बीना राईलाई थाहा नहुने कुरै छैन । उल्लिखित मन्त्र जानेपछि बीनाले आफ्नो क्षेत्रमा लोभलाग्दो परिचय बनाउनेछिन्, त्यसमा दुईमत होला र ? 

Tuesday, July 8, 2014

जागरुक जानुका

(दीपेन्द्र राई)
जानुका निरौला
‘कतै पढेकी थिएँ, अमेरिकाको न्युयोर्कमा एक दिनमा हुने अपराध जापानमा वर्ष दिनमा पनि हुँदैन,’ जापानको सिजुओका विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी जानुका निरौलाले भनिन्, ‘जापानी कामप्रति एकदमै लगनशील हुन्छन् । उनीहरू कामलाई मात्रै पूजा गर्छन् ।’
सात वर्ष बस्दा निरौलाले जापानलाई नजिकबाट नियालिन् । काठमाडौँको बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा अध्यापन गर्दै गरेकी उनी सन् २००१ मा दोस्रोपटक जापान पुगिन् । समाजशास्त्रमा स्नातकोत्तर गर्न छात्रावृत्ति पाएपछि उनी त्यता गइन् । रहँदा–बस्दा उनले जापान र जापान पुगेका नेपालीबारे जान्ने–बुझ्ने मौका पाइन् ।

‘कामको पूजा गर्ने जापानीप्रवृत्तिले मलाई एकदमै प्रभाव पार्यो,’ निरौलाको सुनाइन्, ‘मैले पनि अनुभवका लागि पार्टटाइम जब गरेँ । त्यहाँ मजदुर र हाकिम चिनिँदैनन् । मैले हप्तामा २८ घन्टा काम गर्दा जो पनि एकाग्र भएर काम गरिरहेकै देखेँ ।’ 

कामको पुजारी मानिने जापानी आफूले गरेको काममा असफल भए वा कम्पनीले कामबाट निकाले भने धैर्य नगरी आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ । जापान संसारमै सबैभन्दा बढी आत्महत्या गर्नेको देश भनेर तथ्यांकले देखाएको छ ।  

जापानका अभिभावकले पढाइमा छोराछोरीप्रति भेदभाव गर्दैनन् । तर, छात्रालाई भन्दा छात्रलाई पढाइको भार बढी रहेको निरौलाले बुझाइ छ । जापानका अभिभावकले आफ्ना छोराछोरीलाई कक्षा एकदेखि नै ट्युसन पढाउने चलन बढ्दो छ । कारण ? निरौलाले भनिन्, ‘उच्च शिक्षा हासिल गर्न छोराले राम्रो कलेजमा नाम निकाल्नुपर्छ । पढ्नुपर्छ । राम्रो कलेजमा पढेपछि उसको भविष्य स्वतः राम्रो हुन्छ भन्ने उनीहरूको बुझाइ छ ।’
नेपालमा आफ्ना छोराछोरीलाई सकेसम्म नाम चलेका बोर्डिङमा स्कुलमा पढाउने गरिन्छ । जापानमा त्यस्तो छैन । त्यहाँ जापान सरकारले तोकेकै स्कुलमा बालबच्चा पढाउनुपर्छ । निश्चित क्षेत्रले निश्चित स्कुल तोकेको हुन्छ । त्यहीँ पढाउनुपर्छ, अन्त पढाउन पाइँदैन । निश्चित क्षेत्रबाहिर पढाउन चाहेमा कारण खुलाउनुपर्छ । यो प्राइमरीदेखि जुनियर हाइस्कुलका विद्यार्थीका हकमा मात्रै लागू हुन्छ । जापानमा अहिलेसम्म सरकारी स्कुल तथा कलेजको बाहुल्य छ ।
जानुका
त्यतिमात्र होइन, जापानमा महिना दिनभन्दा बढी बच्चालाई घरमा राख्न पाइँदैन । अनिवार्य स्कुल पठाउनुपर्छ । ब्राजिलियनले आफ्ना बच्चालाई स्कुल नपठाएकाले जापानको हामामात्सुमा सामाजिक विकृति बढेको जापानी सरकारको बुझाइ छ । त्यसैले विशेषगरेर ब्राजिलियन अभिभावकलाई लक्षित गर्दै सरकार र त्यहाँका सामाजिक संघ–संस्थाले उनीहरूका बालबच्चा स्कुल पठाउन प्रोत्साहित गर्दै आएका छन् ।
निरौलाको ठम्याइ छ, ‘जापानका स्कुलमा जापानी भाषाबाटै अध्यापन गरिन्छ । संसारको जुनसुकै ठाउँमा प्रकाशित किताब जापानमा सात दिन आइपुग्छ । र, तुरुन्त अनुवाद गरेर पढाउन थालिन्छ । भाषिक प्रवद्र्धनका लागि पनि उनीहरूले यस्तो नीति बनाएको हुनुपर्छ । 

रोचक कुरा, जापान बूढाबूढी बढी भएको देश हो । नेपालका वृद्धवृद्धाले तीर्थ जाने अनि धर्मकर्म गरेर फुर्सदको समय सदुपयोग गर्ने गर्छन् । जापानमा धर्म मानिँदैन तर उनीहरूले नेपाली वृद्धवृद्धा गरेको काम अवलम्बन गरी फुर्सदको समय सदुपयोग गर्न सक्छन् । जापान मानिसको जन्मदर १ प्रतिशतबाट तल झरिसकेको छ । जापानमा महिलाभन्दा पुरुषको आयु कम छ । जापानी महिला गृहिणी भएपछि पहिले गरिरहेको कामसमेम छाड्ने गर्छन् । कारण ? जापानको सामाजिक संरचना नै त्यस्तै रहेको छ । सम्बन्धित दम्पतीको बच्चा जन्मेपछि श्रीमान्–श्रीमती नै काममा गए भने श्रीमान्
ले काम गरिरहेको कार्यालयबाट पाउने भत्ता कम हुन्छ । ‘कारण त्यतिमात्रै होइन,’ नेपाल र जापानबाट समेत समाजशास्त्रमै स्नातकोत्तर गरेकी जानुका निरौलाले प्रस्ट्याइन्, ‘हाउसवाइफले बच्चा हेर्नैपर्यो । बच्चा हेर्ने नभएपछि जागिर गरिरहन अप्ठ्यारो पर्छ । जागिर गरिहालेमा बच्चालाई डे केयरमा राख्दा महँगा शुल्क बुझाउनुपर्नेहुन्छ  । त्यही भएर उनीहरूले आफ्ना बालबच्चा स्कुल गएको बेला ‘पार्ट टाइम जब’ मात्रै गर्ने गर्छन् । बच्चाको स्कुल बिदा समर तथा विन्टर भ्याकेसनमा उनीहरू कहिल्यै काममा जाँदैनन् ।’ जापानी यस्तै समस्याबाट गुज्रँदै आएकाले ढिलो बिहे गर्ने गरेको निरौलाको बुझाइ छ ।

‘जापान रहँदा म जुन ठाउँ बसेँ, त्यहाँ महिला हिंसासम्बन्धी घटना कहिल्यै देखिनँ,’ उनले सुनाइन्, ‘घरभित्र जापानी महिला बलशाली हुन्छन् । घरभित्रको सप्पै अधिकार उनीहरूकै हातमा हुन्छ । तर, डिसिजन मेकिङ लेभलमा उनीहरूको उपस्थिति एकदमै न्यून छ ।’
जापानी सप्पै कुरा सुखी सम्पन्न भए पनि ‘ह्युमेन रिलेसन’ मा कमजोर मानिन्छन् । निरौलाको दाबी छ, ‘बिहे भन्नसाथ नेपाली समाजमा दुई परिवारबीचको सम्बन्ध हुन्छ । जापानमा त्यो हुँदैन । त्यहाँ दुईजनाबीचको मात्रै सम्बन्ध हुन्छ । हुँदाहुँदा हिजोआज त यतिसम्म भएको छ कि बिहे गर्छन्, त्यसपछि हनिमुन मनाएर फर्कंदै गर्दा बाटैमा सम्बन्धविच्छेद गर्छन् ।’ जापानमा सम्बन्धविच्छेद प्रतिशत पनि उच्च रहेको छ । नेपाल भने सम्बन्धमा धनी छ । उनीहरूको वैवाहिक सम्बन्ध सुमधुर हुन्छ । उल्लिखित प्रसंग प्रस्ट्याउँदै उनले उदाहरण पेस गरिन्, ‘मैले मेरो एक विद्यार्थीसँग कुराकानी गर्दा उनले भनेका थिए, ‘मैले बुवासँग सँगै बसेर खाना नखाएको दुई वर्ष भयो । ती विद्यार्थी उठ्दा उनको बुवा काम गइसकेका हुन्थे । बुवा घर फर्कंदा उनी सुतिसकेका हुन्थे ।’ 

नेपालीलाई जापानीले सधैँ सम्मान गर्छन् । उनीहरू नेपालीलाई हिमालयको देशबाट आएका हुन् भनेर चिन्छन् । नेपाली र जापानी एउटै कम्पनीमा काम गरिरहेकाछन् भने पनि यिनीहरू विदेशी मजदुर हुन् भनेर हेलाँहोचा गर्दैनन् । कामलाई पूजा गरे पनि  जापानी फ्याक्ट्रीमा काम गर्न रुचाउँदैनन् । 

 नेपालबाट अध्ययन गर्न जापान जाने पहिलो नेपाली डोरबहादुर विष्ट हुन् भनेर सुनेकी निरौलाको भनाइ छ, ‘जापान पढ्न जाने भने पनि नेपाली पैसा कमाउनै गएका हुन् । तर, पछिल्लो समय काम सजिलै पाउन छाडिएको छ । जापानमा एकताका विकास निर्माणसम्बन्धी धेरैभन्दा धेरै काम थियो । अहिले विकास निर्माणसम्बन्धी काम त्यति छैन ।’  
जानुका निरौला
नेपाली तीन किसिमले जापान जान्छन् । पहिलो ‘वर्किङ भिसा’ र दोस्रो युनिभर्सिटी पढ्न जाने र तेस्रो अहिले चलेको ‘ट्रेन्ड’ भाषा पढ्न । भाषा पढ्न जानेले आईए पास गरेको हुनपर्छ । साथै उसले ६ महिना अर्थात् दुई ६० घन्टा जापानी भाषा पढेको हुनुपर्छ । भाषा पढ्न जापान जान चाहनेले आईए पास गरेको छ भने २३ ननाघेको, स्नातक पढ्दै गरेकालाई २५ र पास गरेकालाई ३० वर्षको उमेर हद तोकिएको छ । उनीहरूले दुई ६० घन्टा जापानी भाषा पढेको हुनुपर्छ । 

स्नातकोत्तर पढ्न जापान जान चाहनेलाई जापानी दूतावासले छात्रावृत्ति दिने गरेको छ । उसले पनि भाषा जान्नैपर्छ । भाषा नजान्दा काम पाउन गाह्रो । जापानबाट नेपाल फर्केपछि जापानी भाषा पढाउँदै आएकी निरौलाले सुनाएन्, ‘जापानी प्रोफेसरसँग सीधा सम्पर्क सम्बन्ध बढाएर पनि जान सकिन्छ । तर, भाषा जानेको छ भने उत्तम ।’  

भाषिक ज्ञान भएमा जापानमा काम खोज्न पनि सजिलो हुने उनको भनाइ छ । उनले जापान गएका र जाँदै गरेका नेपाली विद्यार्थीलाई अनुरोध गरिन्, ‘अलिकति दुःख गर, मिहिनेत गर । युनिभर्सिटी जाऊ । जापानबाट स्नातक वा स्नातकोत्तर पूरा गर्नसाथ भविष्य फराकिलो हुन्छ । राम्रा–राम्रा कम्पनीमा काम पाइन्छ । पार्टटाइम जबमा मात्रै अल्झनुपर्दैन ।’

Monday, July 7, 2014

बाटो काट्न रेडियो

(दीपेन्द्र राई)

भरियालाई लक्षित समूह बनाएर रेडियो तथा एफएम रेडियोबाट कार्यक्रम प्रसारण नभए पनि डिल्ली तामाङ रेडियो सुन्छन् । जुबु–४ सोलुखुम्बुका तामाङले रेडियो सुन्न थालेको १८ वर्ष भयो । अनि त्यति नै भयो, उनले भारी बोक्न थालेको ।

जिल्लाका अधिकांश भरियाले मनोरञ्जनका लागि रेडियो सुन्छन् । आफूभन्दा अग्लो भारी, भारीमाथि सिउरिएको रेडियो तामाङ आफूले त सुन्छन् नै, उनका पछि–पछि रहेका साथीहरूले पनि सुनिरहेका हुन्छन् । उनले १८ वर्षदेखि किन रेडियो सुनिरहेका छन् ? सोलुखुम्बुको गार्मामा भेटिएका डिल्ली तामाङले भने, ‘बाटो काट्न ।’ 

भारी बोकेर जीवन निर्वाह गर्दै आएका सोलुखुम्बुका डिल्ली तामाङहरूको बाटो काट्ने गतिलो माध्यम भनेकै रेडियो बनेको छ । त्यतिमात्रै होइन, जेठ, असारको टन्टलापुर घाममा शीतल र पुस, माघको मुटु कमाउने जाडोमा पनि भारी बोक्न बाध्य भरियालाई न्यानोपन दिने माध्यम रेडियो बनेको छ भन्दा फरक नपर्ला । गर्मी होस् वा जाडो उनीहरू रेडियो सुन्दै भारी बोकिरहेका हुन्छन् । सायद, रेडियोबाट प्रसारित गीत–संगीतले उनीहरूलाई बाटो काट्ने ऊर्जा दिइरहेको हुन्छ । 

दोलखाको जिरीदेखि सोलुखुम्बुको जुबुसम्म १५/१५ दिनमा ओहोर–दोहोर गरिरहने डिल्ली तामाङलाई आफूले बोकेको ३२ धार्नी सामानमाथि तीन सय रुपैयाँमा किनेको (तस्बिरमा देखिएको) रेडियोले नै बाटो काट्न सघाएको छ । प्रत्येक १५ दिनमा दुई जोडी ब्याट्री फेरेरै भए पनि उनी रेडियो सुन्न छुटाउँदैनन् । रेडियोमा धेरै कुरा प्रसारण हुन्छन् । प्रसारित सबै सामग्रीले उनलाई खासै तान्दैन । त्यसो भए उनले के सुन्लान् ? भने, ‘गीत ।’ गीतमध्ये पनि उनलाई मन पर्ने गीत त होलान् ? भारी बोकीबोकी पंक्तिकारसँग गफिएका उनले गाएरै सुनाए, ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको, उमेर भइसक्यो ८० झन् ठूलो दुःखले घेरेको ।’ उनलाई मन परेको गीत जीवन शर्माले गाएका हुन् भनेर थाहा नभए पनि यो गीत उनलाई औधी मन पर्छ रे । गफ छोट्याउँदै उनले भने, ‘यो गीतले मेरै पीडा बोलेजस्तो लाग्छ हजुर ।’

भारी बोकेर जीवन निर्वाह गर्दै आएका डिल्ली तामाङहरूलाई भरियासम्बन्धी रेडियो कार्यक्रम किन बन्दैनन् भन्ने कहिल्यै उत्सुकता लागेन । उनीहरूलाई यतातिर सोच्ने फुर्सदसमेत छैन । यही समाजका भरियाबारे रेडियो कार्यक्रम बन्दै नबन्नुका कारण पनि त होलान् ? ‘बजार संस्कृतिले प्रभावित रेडियो तथा एफएम रेडियोबाट प्रसारित कुनै पनि कार्यक्रममा भरिया अटाउँदैनन्,’ त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका समाजशास्त्र अध्यापक प्रकाश राईको बुझाइ छ, ‘सम्बन्धित रेडियोले भरियालाई लक्षित समूह बनाएर कार्यक्रम बनाउनुको पछाडि अर्थ खोजिन्छ ।’ अध्यापक राईका अनुसार, सम्बन्धित रेडियो, एफएम रेडियोका कार्यक्रम उत्पादक भरियासँग त्यति जानकार छैनन् । त्यसो भएपछि भरियासम्बन्धी कार्यक्रम बन्ने कुरा भएन । भरियासम्बन्धी कार्यक्रम बनाउन ‘स्पोन्सर’ पाइने सम्भावना कत्ति पनि छैन । स्पोन्सर पनि बजार संस्कृतिसँग प्रभावित छन् । 

उज्यालो ९० नेटवर्कका कार्यक्रम उत्पादक पीटी लोप्चनले भरियालाई लक्षित समूह बनाएर कार्यक्रम उत्पादन गर्न आवश्यक ठान्छन् । लोप्चनले सुझाए, ‘असंगठित भरियालाई संगठित गराई आफ्नो हक–अधिकार बुलन्द बनाउने जागरण कार्यक्रम आवश्यक छ ।’ महँगीले मानिसको टुपी नाघ्न खोज्दै छ । तर, भरियाको ज्याला भनेजस्तो बढ्न सकेको छैन । सञ्चारकर्मी लोप्चनले सुनाए, ‘सबै क्षेत्रमा संगठन बनेका छन्, युनियन छन् । भरियाको छैन । उनीहरूलाई समेटेर रेडियो कार्यक्रम बनाइएमा उनीहरूले पनि आफ्ना हक–अधिकार खोज्दै मालिकले भरियालाई गरेको विभेद थाहा पाउँथे । दुःख गरेअनुसार ज्याला नबढेकोमा मालिकसँग शिर ठाडो पारेर कुरा राख्न सक्थे ।’

 सञ्चार (प्रकाशन/प्रसारण) माध्यमलाई बजारमुखी संस्कृतिले प्रभाव पारेको छ । आमसञ्चारका विद्यार्थीलाई सञ्चारमाध्यमको काम शिक्षित बनाउनु, सुसूचित गराउनु, मनोरञ्जन प्रदान गर्नु र निगरानी राख्नु भनेर पढाइएको हुन्छ । कलेजमा पढाइएका सैद्धान्तिक ज्ञान व्यवहारमा उतार्न सकिएको भए भारी बोकेर जीवन निर्वाह गर्ने सोलुखुम्बुका डिल्ली तामाङजस्ता थुप्रै भरियाले रेडियोमा भरियासम्बन्धी कार्यक्रम सुनेर भरियाका हक–हितका कुरा गर्न सक्ने बनाउँथ्यो होला । ज्यालाका विषयमा मालिकसँग कचकच गरिरहन पर्दैनथ्यो होला ।

Sunday, July 6, 2014

घरमै बसीबसी ३ लाख


(दीपेन्द्र राई)

खोटाङ जिल्लाको हलेसी क्षेत्रलाई आर्थिक रूपमा समृद्ध बनाउन ‘एक घर, एक सय बोट अनार’
अभियान थालिने भएको छ ।

जिल्लाको दुर्छिम गाउँ विकास समितिअन्तर्गत साल्तेम्मामा यो अभियान थालिए पनि अब हलेसी क्षेत्रमै यो अभियान थालिने शिक्षा मन्त्रालयका शाखा अधिकृत भूपेन्द्रकुमार राईले बताए । हलेसी क्षेत्रअन्तर्गत दुर्छिम, च्यास्मिटार, बडहरे, बाहुनीडाँडा, डिकुवा, हलेसी, सल्ले, अर्खाैले, धितुङ गाविस पर्छन् ।

राईका अनुसार, एक बोट अनारमा कम्तीमा ४० किलोग्राम फल्छ । जोकोही किसानले सय बोट अनार लगाएको छ भने ४ हजार किलो अनार फल्छ । ४ हजार केजी अनार कम्तीमा ७५ रुपैयाँ केजीमा मात्रै बेचे उसले ३ लाख रुपैयाँ हात पार्छ ।
हलेसी क्षेत्रमा यो अभियान थाल्नुको औचित्य प्रस्ट्याउँदै राईले भने, ‘यहाँका किसानको आर्थिक स्थिति उकासिनु त छँदै छ, यस क्षेत्रको वातावरणसमेत स्वच्छ र हराभरा हुनेछ ।’ उनका अनुसार, पूर्वको पशुपतिनाथ भनेर परिचित हलेसी आइपुगेका पर्यटकलाई यहाँको अनार बगान घुमाएर एक दिनमात्रै भए पनि उनीहरूको बसाइ लम्ब्याउन सघाउ पुग्छ ।

यो अभियान साकार पार्न दुर्छिम गाविसअन्तर्गत साल्तेम्मा र डाँडाटोलका किसानले अनार खेती थालेका छन् । वैदेशिक रोजगारीक्रममा धेरै वर्ष विदेशमा बसेका यज्ञराज राई (प्रभात चाम्लिङ) ले गत वर्षदेखि अनार खेतीमा जुटेका छन् । विदेशबाट फर्कनसाथ उनले अनार खेती सुरु गरेका हुन् । प्रभात चाम्लिङजस्ता ‘वेल एजुकेटेड’ व्यक्ति अनार खेतीमा लागेपछि उनको सिको गर्ने बढ्दै गएका छन् ।

मुस्किलले मासिक १० हजार रुपैयाँ कमाउन खाडी मुलुक जानेले वर्षमा १ लाख २० हजार कमाउँछन् भने सय बोट अनार खेती गरे वार्षिक ३ लाख रुपैयाँ कमाउन सकिन्छ । घरपरिवारसँग बसेर ३ लाख कमाउन जानुभन्दा सय अनार लगाएर घरमै बसीबसी ३ लाख कमाउने कि ?

(प्रकाशित मिति : २०७१ जेठ २३)

Friday, July 4, 2014

नयाँ प्रधानमन्त्रीको खोजी

(दीपेन्द्र राई)

अमेरिकाको न्युयोर्कमा रहेको स्लोन मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा २ दशमलव २ सेन्टिमिटरको दाग देखिएपछि गत बुधबारबाट रेडियोथेरापी प्रविधिबाट उपचार थालिएको छ भने नेपालमा नयाँ प्रधानमन्त्रीको खोजी तीव्र पारिएको छ । 

प्रधानमन्त्री कोइरालालाई रेडियोथेरापीबाट उपचार गरिने सेन्टरले आधिकारिक जानकारी दिएलगत्तै नेपालमा भने नयाँ प्रधानमन्त्रीको खोजीकार्य तीव्र पारिएको हो । कांग्रेसले सरकारको नेतृत्व गरिरहेकाले नयाँ प्रधानमन्त्री सोही पार्टीबाट बनाउनुपर्ने आमबुझाइ छ । तर, कांग्रेसबाट को प्रधानमन्त्री बन्ने भनेर सानो–सानो युद्ध नै चलिरहेको छ । विधानतः पार्टी सभापतिपछि उपसभापति प्रधानमन्त्रीका दाबेदार मानिन्छन् । 

पार्टी उपसभापति तथा कार्यवाहक सभापति रामचन्द्र पौडेल छन् । प्रधानमन्त्री बन्नलाई संसदीय दलका नेता चुनिनुपर्यो । संसदीय दलका नेता चयन गरेर पौडेललाई प्रधानमन्त्री बनाए उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र अर्का शक्तिशाली मन्त्रीले सरकारमा एक मिनेट पनि नरहने चेतावनी दिइसकेको स्रोतले बताएको छ । त्यसो भएपछि एकताका १४/१४ पटकसम्म प्रधानमन्त्रीका लागि लडभीड गरेका पौडेलको यसपटक प्रधानमन्त्री बन्ने सपना विपनामा परिणत हुन सकेन ।

त्यतिमात्रै होइन, संवैधानिक मस्यौदा समिति सभापति बनाइदिनुपर्यो भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई लिएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका रामचन्द्र पौडेलको रोइकराइ रोइकराइमै सीमित रह्यो । पौडेलको प्रस्तावप्रति राजी हुँदै प्रचण्डले कोइरालाले मनाउने प्रयास गरे । प्रचण्डलाई कोइरालाले दिएको उत्तर उद्धृत गर्दै कोइरालानिकट कांग्रेस नेताले भने, ‘मैले प्रधानमन्त्रीबाट राजीनामा दिन सजिलो छ तर पौडेलजीलाई संवैधानिक मस्यौदा समितिको सभापति बनाउन गाह्रो छ ।’ अन्ततः समितिको सभापति कृष्णप्रसाद सिटौलालाई बनाइयो । 

यो कुरा चाल पाएपछि शेरबहादुर देउवासमेत प्रधानमन्त्री बन्ने ध्याउन्न लागे । देउवालाई अमेरिकाको आशिर्वाद रहे पनि उसको आशिर्वाद लागेन । देउवालाई प्रधानमन्त्री बनाइदिनूपर्यो भन्दै अमेरिकाले गुहार मागे पनि भारतले नेपालको मामिला आफैंले मिलाउने वचन दिएपछि देउवासमेत जिल्लिएका छन् । 

त्यसो भए खोजिँदै गरेको नेपालको नयाँ प्रधानमन्त्री को होलान् ? यसै भन्न सकिँदैन । तर, नेपालको भावी प्रधानमन्त्री केपी ओली हुन् भनेर चर्चा हुन थालेको छ । एमालेसम्बद्ध एक सभासद्ले नाम उल्लेख नगर्न सर्तमा भने, ‘भारतले ओलीलाई दुई दिन भए पनि प्रधानमन्त्री बनाउन चाहन्छ ।’ 

Tuesday, July 1, 2014

गाब, दुबमै मनोरञ्जन

(दीपेन्द्र राई)

ब्राजिलमा जारी विश्वकप फुटबलमा कसले बाजी मार्ला भनेर यसै भन्न सकिने अवस्था छैन । आफूलाई मन पर्ने देशको टी–सर्ट लगाएर नेपाली फुट
बलप्रेमीसमेत विभाजित छन् । फेसबुक वालमा सम्बन्धित व्यक्तिले आफू समर्थक देशको पक्षमा स्टाटस लेख्न छाडेका छैनन् ।

सन् २०१४ को विश्वकप फुटबलबारे प्रसंग उल्लेख गरिरहँदा सानोछँदा आफ्नै परिवेश (दुर्छिम–१, साल्तेम्मा खोटाङ) मा खेलिने खेलसम्बन्धी फ्ल्यासव्याक सम्झिरहेको छु । मेरो फ्ल्यासव्याक समग्र खोटाङकै परिवेशमा मिल्दो थियो कि भन्ने लाग्छ । नहुन पनि सक्ला ।

हिजोआज गुच्छा खेलेको त्यति देखिँदैन । तर, मैले सात÷आठ कक्षा पढ्दासम्म गाब, दुब (गुच्छा खेल्दा भनिने शब्द) खेलेरै मनोरञ्जन लिएको बिर्सेको छैन । खेल्न उपयुक्त ठाउँ नचाहिने भएकाले प्रायः यो खेल जहीँतहीँ खेल्न सकिन्थ्यो÷सकिन्छ । म गुच्छा खेलेर मनोरञ्जन लिँदाताका मेरा अग्रज खोपी खेल्थे । उहाँहरूले थुप्रै हार–जित भएको सुनाउनुहुन्थ्यो । उहाँहरूको हार–जित मेरा लागि हर्ष न बिस्मात् । 

कत्तिलाई थाहा नहुन सक्छ– नेपालको राष्ट्रिय खेल डन्डिबियो हो भनेर । मैले पनि डन्डिबियो खेलेको छु । यो खेलमा रमाउँदा डन्डिबियो नेपालको राष्ट्रिय खेल हो भनेर मलाई पनि थाहा थिएन । केवल मनोरञ्जनका लागि खेलिन्थ्यो । डन्डिबियो खेल्दा बियोले धेरैपटक लागेको थियो । तर पनि, खेल्न छाडिएन । मेरा सँगातीलाई कतिपय अवस्थामा बियोले लागेर गहिरो चोट लागेको थियो । चोट बोकेर हिँडेका सँगाती भेट्दा बाल्यकालमा खेलेको डन्डिबियोको सम्झना गराउँछ । 

संवत् २०५६ मा भक्तपुरमा डन्डिबियो प्रतियोगिता भएको थियो । त्यसपछि प्रतियोगिता भयो कि भएन पंक्तिकार ‘अपडेट’ छैनन् । ०१९ मा स्थापित राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका ४३ खेलमध्ये डन्डिबियो राष्ट्रिय खेल हो भनेर दर्ता भएको छ जस्तो लाग्दैन । गुच्छा, डन्डिबियो हुँदै मैले गिर पनि खेल्न भ्याएँ । यो खेल आफ्ना गाउँठाउँमा हुने शुभकार्यमा भेला हुँदा मनोरञ्जनका लागि खेल्नसम्म खेलियो ।

ककफाइटसम्बन्धी ज्ञान धेरैलाई हुनुपर्छ । विद्यालयमा हुने खेलकुद प्रतियोगिताअन्तर्गत म पढेको दुर्छिम उच्चमाध्यमिक विद्यालयमा ककफाइट पनि खेलाइन्थ्यो । बाल्यकालमा यो खेल पनि धित मरुन्जेल खेलेकै हो । हिजोआज छेलो हान्ने खेल हुन छाडेको छ । साथीभाइमध्ये को बलियो भनेर आफ्नो पाइन जाँच्न मैले पनि सकीनसकी छेलो हान्न पछि परिनँ । आफू अध्ययनरत विद्यालयका खेल शिक्षकले लङजम्प, त्रिपलजम्प त खेलाउनुहुन्थ्यो नै, त्योबाहेक अन्य खेलसमेत खेल्नसम्म खेलियो । म्युजिकल चेयर पनि खेलेकै हो ।

यसैगरी, लुकामारी, रुमाल÷टोपीचोर, कपर्दी, बाघचाल, लुँडो, चेस खेलेपछि समय बितेको पत्तो हुँदैनथ्यो । गाउँघरतिर फुर्सद मिल्नसाथ उल्लिखित खेल खेलेर मनोरञ्जन लिने गरिन्छ । पछिल्लो समयमा गाउँगाउँसम्म क्यारिमबोर्ड भित्रिएको छ । 

ब्रिटेनमा जन्मेको क्रिकेट नेपालका प्रमुख सहरमा जमेर खेलिए पनि गाउँघरसम्म यो खेल खेल्न थालिएको छ । गुच्छा र खोपी खेल्नेहरू टेबुलटेनिसमा रमाएका छन् । खोटाङमा यो खेल मिलन चाम्लिङले भित्र्याएका हुन् भनिन्छ । चाम्लिङले ०५६ मा व्यावसायिक रूपमा यो खेल भित्र्याएका थिए । पछिल्लो समय जिल्लाको बाक्सिला, बुइपा, दोर्पालगायत ठाउँमा पनि टेबुलटेनिस खेलेको देखिन्छ ।

०३९ मा मान्यताप्राप्त सितोरिया कराँते भने जिल्लाको गाउँगाउँमा खेलिन्छ÷खेलाइन्छ । स्मरण रहोस्, नेपालका कराते पिता भनेर चिनिने थानेश्वर राई खोटाङ, अर्खाैलेका हुन् । नेपालमा कराते खेललाई मान्यता दिने राईले संघर्षका थुप्रै पापड बेलेका छन् । यसले मान्यता पाउनुअघि राईले राति–राति त्यो पनि जंगल–जंगलमा भूमिगत रूपमा तालिम दिएका थिए ।

जिल्लामा कराँते खेल सुरुवात बाम्राङका रुद्र राईले गरेका हुन् भनिएको छ । बताइएअनुसार, राईले ०३७ मा औपचारिक रूपमा कराँते संघ नै स्थापना गरेका थिए । नेपालमा यस खेलले ०३९ मा मात्रै मान्यता पाएकाले राईले भूमिगत कि खुला रूपमा कराँते सिकाए यसै भन्न सकिँदैन । प्राप्त जानकारीअनुसार, ०४१ मा दुर्छिम–४ चुमाखुका स्व. गणेश राईले सगरमाथा च्याम्पियनसिप प्रतियोगितामा भाग लिने प्रथम प्रतियोगी हुन् । खोटाङबाट हालसम्म ३० भन्दा बढीले ब्ल्याकबेल्ट लिइसकेका छन् । एसियन गेममा सहभागी जिल्लाकी रामकुमारी राई बिहेपछि खेल क्षेत्रबाट टाढिएकी छन् ।

खोटाङमा सबैभन्दा बढी खेलिने खेल हो– भलिबल । जिल्लाको गाउँगाउँमात्रै नभएर टोलटोलमा खेलिन्छ । स्व. राजेन्द्र राई अञ्चलस्तरीय खेलाडी हुन् । तर, फुटबलचाहिँ जिल्लाको सीमित क्षेत्रमा मात्रै खेलिन्छ । खेलमैदान अभावले फुटबल खेल्ने उत्कट अभिलाषा लिनेहरू पनि खुम्चनुपरेको छ । क्लब गठन गरेरै फुटबल खेललाई निरन्तरता दिने सम्भवतः बाक्सिला फुटबल क्लब जिल्लाकै पहिलो मानिन्छ । जिल्लाकै सप्तेश्वरका राजकुमार राईले तेक्वान्दोतर्फ एसियन खेलमा स्वर्णपदक हात पारेका थिए ।