Saturday, June 28, 2014

दही–चिउरा खाँदै, धान दिवस मनाइँदै

 (दीपेन्द्र राई)

काठमाडौं, १५ असार । आज असार १५ । नेपाली परम्पराअनुसार दही–चिउरा खाने मान्यता । असार भन्नबित्तिकै ‘रोपाइँ जात्रा’ का रूपमा मनाउने नेपालीको पुरानो चलन ।

असार भन्नबित्तिकै मानो रोपेर मुरी उब्जाउने समय । भनाइ छ, ‘यतिबेला नेपाली किसान असारको १५ बाँचेका हुन्छन् ।’ असारको १५ भनेको नेपाली किसान अत्यन्तै व्यस्त हुने समय । असार १५ ले त्यसैलाई इंगित गर्न खोजेको हो । उनीहरू यो समयमा कठिन परिश्रम गर्ने भएकाले शरीरलाई ऊर्जा मिलोस् भनेर दही–चिउरा खाने गरिन्छ । असारका रोपाहारलाई बर्खाको सर्दीले नभेटोस् भनेर दही–चिउरा खाने नेपाली परम्पराले निरन्तरता पाउँदै आएको हो ।

असारलाई ‘मानो रोपेर मानो उब्जाउने’ समयका रूपमा पनि लिइए पनि असार १५ बितिसक्दासमेत पर्याप्त मनसुन नहुँदा देशैभरि ९ प्रतिशत हाराहारीमा रोपाइँ सकिएको छ । नेपालमा करिब १५ लाख हेक्टरमा धानखेती हुन्छ । प्राप्त जानकारीअनुसार ६० बढी जातको धानखेती हुने नेपाल संसारमै सबैभन्दा उचाइमा धानखेती हुने मुलुक पनि हो । जुम्ला जिल्लाको छुमचौर संसारकै सबैभन्दा उचाइमा धानखेती हुने ठाउँका रूपमा चिनिन्छ । 

धान रोपेको अभिनय गर्दै विनिता बराल
संयुक्त राष्ट्रसंघले सन् २००४ लाई अन्तर्राष्ट्रिय धान दिवस मनाएपछि नेपालले पनि असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएको छ । नेपाल सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउन २०६९ मंसिर २९ गते निर्णय गरेको हो । 

भक्तपुरका राजा आनन्द मल्लको शासनकाल १३०१ मा लडाइँ भएको समयमा शत्रुपक्षका मानिसले गाडेको धान सडेर त्यसबाट ‘हकुवा चामल’ बनेको भनाइ छ । त्यही समयबाट ‘हकुवा चामल’ खान थालिएको विश्वास गरिन्छ ।
     
(प्रकाशित मिति : २०७१ असार १५)

Monday, June 23, 2014

संकटमा भेडापालन


(दीपेन्द्र राई)

चिन्ता । चिन्ताले चिचासम्म पुर्याउँछ भन्ने नेपाली उखान छ । प्रचलित उखानले सोलुखुम्बु, मैदेलका गुरुङ जातिले वास्ता छैन । तर पनि उनीहरूलाई एउटै चिन्ता पिरोल्न थालेको छ । उनीहरूको चिन्ता तोकिएको समयमा संविधान बन्छ बन्दैनसँग सम्बन्धित छैन् ।

यहाँका गुरुङ जातिले परापूर्वकालदेखि अँगाल्दै आएका पुख्र्याैली पेसा भेडापालन संकटमा परेकाले उनीहरूलाई चिन्ता बढ्दै गएको छ । जिल्लास्थित वन–जंगल सामुदायिक वनमा परिणत भएपछि सामुदायिक वनमा भेडा चराउन रोक लगाइएकाले चरिचरन अभावमा भेडापालन संकटमा पर्न थालेको हो ।

चरिचरन अभावले मात्र भेडापालन संकटमा परेको भने होइन । मैदेलका परशुराम गुरुङले सुनाए, ‘युवापुस्ताले पुख्र्याैली व्यवसाय अँगाल्न नचाहेपछि यो व्यवसाय संकटमा परेको हो । युवापुस्ता हामीले गरेजस्तो दुःख गर्न चाहँदैनन् बरु विदेश जाने तयार हुन्छन् । अनि कसरी पुख्र्याैली व्यवसाय बचाउन सकिन्छ ।’

भेडापालन संकटमा पर्दै जान थालेपछि यसको प्रत्यक्ष असर राडीपाखी व्यवसायमा समेत पर्न थालेको हो । भेडाको ऊनबाट बनेको राडी आतिथ्य सत्कारका लागि ओछ्याइने र चिसोबाट बच्न सिरकका रूपमा पाखी प्रयोग गरिन्छ । भेडापालन संकटमा पर्दै जान थालेपछि ऊन उत्पादनमा कमी हुनाले राडीपाखी व्यवसायमा पनि यसको प्रत्यक्ष असर परेको मैदेलकी सीता गुरुङले बताइन् । ‘ऊनमात्र भइदिए आफूहरूले अँगाल्दै आएको व्यवसाय बचाउन सकिन्थयो कि,’ राडीपाखी व्यवसायी गुरुङले दुःख व्यक्त गरिन् ।


भेडापालनमा लागेका स्थानीय गुरुङ समुदायका पुरुष भेडा चराउन जंगलमै रहने, ऊन कात्ने र घरका लागि आवश्यक सामान जुटाउने र महिलाचाहिँ घरमै बसेर राडीपाखी बुन्ने चलन थियो । यो चलन हराउँदै जान थालेकोमा स्थानीय गुरुङ समुदायलाई नमीठो लाग्न थालेको हो । केही समय पहिले मैदेलमा देखिने रहरलाग्दो भेडाको बथान अहिले मासिँदै जान थालेको छ । तसर्थ, मैदेलवासी गुरुङ समुदायलाई चिन्ताले पिरोल्नसम्म पिरोलको हो ।


(प्रकाशन मिति : २०७१ असार १४)

Sunday, June 22, 2014

महँगो खुम्बु यात्रा

नाम्चे

(दीपेन्द्र राई)

खुम्बु आउँदै हुनुहुन्छ ? त्यसो हो भने यता आउनुअघि यहाँका होटलको ‘मेनु’ लिन नबिर्सनुहोला । किनकि यात्राका लागि अड्कलेर बोकेको खर्चले नभ्याउला नि ।

पेटले मागेजति खाना खान तपाईंले प्रतिव्यक्ति तीनदेखि पाँच सय रुपियाँ खर्च गुर्नुपर्ने हुन्छ । तर, होटल हेरी–हेरी । अनि व्यक्ति हेरेर पनि यहाँका होटल सञ्चालकले तपाईंसँग रुपियाँ असुल्ने गर्छन् । दुई पिस पाउरोटीसँग अम्लेट खान चाहनुभयो भने तीन सय रुपियाँ खर्च गर्न तयार हुनुपर्छ । उसिनेको ६ वटा आलुको पनि तीन सय रुपियाँ नै पर्छ भने एक बोल मिनरल वाटरको दुई सय ५० र एक कप चियाको ५० रुपियाँ । 

अब भने तपाईंलाई खुम्बु आउँदा सजिलो होला । यताको होटलको ‘मेनु’ थाहा भएपछि उल्लिखित ‘मेनु’अनुसार तपाईंलाई दैनिक कति खर्च लाग्ला ? थाहा पाउनुभयो नि । यहाँका होटल सञ्चालकले आन्तरिक पर्यटकलाई खासै वास्ता गर्दैनन् । नाम नबताउने सर्तमा एक होटल सञ्चालक भन्छिन्, ‘विदेशी पर्यटक आए भने बास बसिसकेका आन्तरिक पर्यटकलाई जबरजस्ती कोठा खाली गर्न लगाइन्छ ।’ त्यस्तो अवस्था परिआएमा भोग्न तयार हुनुपर्छ तपाईंले पनि । 

‘मेनु’अनुसारको खर्च गर्न तयार भएपछि तपाईंले खुम्बु यात्रा गर्न सक्नुहुन्छ । दोलखाको जिरी हुँदै पैदल हिँडेर लुक्ला आउन सकिन्छ । काठमाडौँबाट सीधै हवाईजहाजबाट पनि लुक्ला ओर्लनु सक्नुहुन्छ । लुक्लाबाट पदयात्रा सुरु हुन्छ । यहाँबाट मास्तिर लागेपछि यातायातको साधन पाइँदैन । पाइन्छ त केवल भरिया, चौँरी र घोडाले तपाईंको यात्रा सहज बनाउनेछन् । भरियाको दैनिक ज्याला सात रुपियाँ हो । लुक्ला ओर्लेका आन्तरिक तथा बाह्य पर्यटकका सामान बोक्न भरिया र चौँरीधनी तँछाडमछाड गरेमा अचम्म मान्नु परोइन ।
पहिलो दिन तपाईं लुक्लादेखि सगरमाथा राष्ट्रिय निकुञ्जसम्म पुग्नुहुनेछ । त्यहाँबाट जोरसल्ले हुँदै नाम्चे पुग्न अर्काे एक दिन लाग्छ । बाटैभरि माने, गुम्बा, छोर्तेन देख्न सकिन्छ । शेर्पा संस्कृति, बाटैभरि र भीरपाखामा बनाइएका गुम्बाले तपाईंको यात्रा रोमाञ्चक बनाउँछ । नाम्चेबाट आमादब्लम र थामसेर्कु हिमाल दृश्यावलोकन गर्नुको बेग्लै मज्जा छ । 
सगरमाथा

नाम्चेबाट ३० मिनेट हिँडेपछि स्याङ्बोचे पुगिन्छ । त्यहाँबाट त्यति नै समयमा खुम्जुङ उपत्यका पुग्न सकिन्छ । खुम्जुङ पर्वतारोहीको गाउँ भनेर चिनिन्छ । यहाँका ३५ बढी युवायुवतीले सानै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । यहाँका बासिन्दाको खेतिपाती नै पर्वतारोहण हो । बाहिरबाट आएका जोकोहीले यहाँ (खुम्जुङमा) घर बनाएर बस्न पाउँदैनन् । स्थानीय संस्कृति अतिक्रमण हुने डरले यहाँका बासिन्दाले यस्तो नियम अख्तियार गरेका हुन् । जुन आजसम्म कायम रहेको छ । 

खुम्जुङबाट एक दिनमा पुगिन्छ तेङ्बोचे । ४००० मिटर उचाइमा रहेको तेङ्बोचे गुम्बाबाट सगरमाथा, आमादब्लम, लोत्से, चोयू र नुप्से हिमाल आँखैअगाडि देखिन्छन् । तेङ्बोचेमा भेटिएका सञ्चारकर्मी प्रदीप पोखरेलले भने, ‘खुम्बुको सांस्कृतिक र प्राकृतिक सुन्दरता शब्दमा वर्णन गर्न जोकोहीलाई गाह्रो हुन्छ ।’ बाटैभरि आन्तरिक तथा बाह्य पर्यटक भेटिन्छन् । कोही हिमाल आरोहणका लागि उकालो लागिरहेका त कोही सफल आरोहण सकेर ओरालो झर्दैै गरेका । पर्यटकका भारी बोकेर उकालो लागेका र ओरालो झर्दै गरेका भरियाको पनि ‘क्याराभान’ नै देख्न सकिन्छ । तिनै भरियाका ‘क्याराभान’मा कति चिनारु अनुहार भेटिन्छन् । चिरपरिचित भरिया आफू सकुशल रहेको खबर घरपरिवारसम्म पुर्याइदेऊ है भन्दै कुरा गरिहेका सुनिन्छ । बाटैभरि भेटिने आन्तरिक तथा बाह्य पर्यटक, भरिया र चौँरीका ‘क्याराभान’ले कतै–कतै बाटो काट्नसम्म हम्मेहम्मे पर्छ । 

८००० मिटरको उचाइमा रहेको विश्वको १४ मध्ये आठ हिमाल नेपालमै रहेका छन् । नेपालमा तीन सय हिमाल आरोहणका लागि खुला गरिएको छ ।

(प्रकाशन मिति : २०७१ असार १३)

Saturday, June 21, 2014

रूपाकोटको रूप

(दीपेन्द्र राई)

खोटाङ सदरमुकाम दिक्तेल
रूपाकोट । खोटाङ सदरमुकाम दिक्तेलको टोपी । रूपाकोटलाई टोपी लगाएर ठाँटिएको देखिन्छ । दिक्तेल त्यसरी ठाँटिए पनि आखिर टोपी भनेको टोपी नै हो । शिरको शोभा भनेकै टोपी हो । समुद्र सतहबाट २३०० मिटर उचाइमा रहेको रूपाकोटको रूप शब्दमा वर्णन गर्न सकिँदैन । यसको रूप हेर्न रूपाकोट पुग्नैपर्छ ।

जिल्लाका उचाइमा रहेका डाँडामध्ये रूपकोट पनि एक हो । डाँडा भनेपछि धेरैलाई मन पर्छ । त्यही भएर दिक्तेल पुगेका जोकोही एकपटक रूपाकोट पुग्ने गर्छन् । दिक्तेलमै दिक्तेल बहुमुखी क्याम्पस रहेको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी सातामा एकपटक रूपाकोट चढेकै हुन्छन् । भर्खर हातपाउ चलेकादेखि हालपाउ नरहेका जोकोही फुर्सद पाउनसाथ साताभरिको थकान मेट्न रूपाकोट चढ्छन् ।

जिल्लावासीका साथै उदयपुर, भोजपुर, ओखलढुंगा र सोलखुम्बुबाट समेत रूपाकोट घुम्न आउने गरेको पत्रकार रामधन वेदनाले जानकारी गराए । ‘रूपाकोट पुग्नैपर्ने ठाउँ रहेछ,’ भोजपुरका कवि नवराज वर्तमानको ठम्याइ छ, रूपाकोट नेपालका घुम्नैपर्नेमध्येको लोभलाग्दा पर्यटीकय गन्तव्यमध्ये एक हो ।’
हिउँले ढाकिएको रूपाकोट

रूपाकोट वनभोजका लागि पहिलो रोजाइमा पर्छ । यहाँ नेपाली नयाँ वर्ष, माघेसंक्रान्ति, साउनेसंक्रान्ति, तीजमा मात्रै होइन, किरात राईको महान् चाड वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) फागुपूर्णिमा, शिवरात्री, रामनवमीजस्ता चाडबाडमा भीडभाड लाग्ने गर्छ । खोटाङ सदरमुकाम दिक्तेलदेखि डेढ घन्टाको दूरीमा रहेको रूपाकोट प्रकृतिको सुन्दर पहिरन लगाएर उभिएको छ । यहाँबाट जिल्लाका अधिकांश ठाउँमात्रै देखिँदैनन् पूर्वी तराईका समथर भू–भागसमेत धितमरुन्जेल हेर्न सकिन्छ ।

गुराँस, सुनाखरी, चाँप, चिमाललगायतका फूलले रूपाकोट सिँगारिएको छ । त्यतिमात्रै होइन, यहाँ विभिन्न प्रजातिका रूख र विभिन्न पशुपक्षीको चिरबिरले मनै लोभ्याउँछ । चारैतिर चउर र जंगलबीचमा सिद्घबाबाको मन्दिर रहेकाले धर्मभीरु दर्शन गर्नसमेत पुग्ने गर्छन् । सिद्घबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने धर्मभीरुको विश्वास छ ।

दिक्तेल, नेर्पा, पाथेका, खार्मी, जालपा, हौंचुर, खार्पा, नुन्थला गाबिसबीचमा रहेको रूपाकोट घुम्दा संसारै भुलिने पूर्वमाननीय टंक राईले सुनाए ।

(प्रकाशन मिति : २०७१ असार १२)

Tuesday, June 17, 2014

ताल देखाएर पनि आम्दानी गर्न सकिने

रुकुमको रुकुमकोटमा रहेको कमल दह ।

(दीपेन्द्र राई)

‘पर्यटकलाई तालमात्रै देखाएर रुकुमले प्रशस्त आर्थिक आम्दानी गर्न सक्छ,’ पर्यटन प्रवद्र्धक सुरेन्द्र रानाले यस्तो उपाय सुझाइरहँदा सञ्चारकर्मी सन्तोष शर्मा र हरि लामिछाने डुंगा चढेर स्यार्पुताल फन्को मार्ने रहर गरे । सञ्चारकर्मी प्रदीप पोखरेलले पनि शर्मा र लामिछानेलाई पछ्याए । 

बाँफीकोट गाविसअन्तर्गत ३, ७, र ९ नम्बर वडाको सिमानामा रहेको स्यार्पुताल पुगेपछि जोकोहीलाई डुंगा चढेर ताल फन्को मार्ने रहर लाग्नु स्वाभाविकै हो । 
‘बन्चरे, अंगारे, सिमैछहरी, कालाखोला र चिसाखोलाबाट बगेर आउने बालुवाले ताल पुरिँदै गएको छ,’ सञ्चारकर्मी हरि लामिछानेले स्यार्पुताल ताल फन्को मार्दा आफूले देखेको दृश्य सुनाए, ‘बालुवाले पुरिँदै जाँदा तालको शोभा घट्दै गएको छ । तत्काल संरक्षण, सम्बद्र्धन गरिएन भने तालको अस्तित्व मेटिँदै जानेछ ।’  रुकुमलाई ५२ पोखरी, ५३ टाकुरीको जिल्ला भनेरसमेत चिनिन्छ । जिल्लामा स्यार्पुतालजस्तो ५२ वटा पोखरी रहे पनि प्रचार–प्रसार नहुँदा पर्यटकलाई ती पोखरी देखाएर रुकुमले आर्थिक आम्दानी गर्न सकेको छैन । 

गत ११ देखि १५ असोज २०६७ मा स्यार्पुताल महोत्सव गरिएको थियो । महोत्सव उद्घाटन गर्न सभासमुख सुवास नेम्वाङ र उपसभामुख पूर्णाकुमारी सुवेदी हेलिकोप्टरमा स्यार्पुताल आए । महोत्सव उद्घाटनलगत्तै उनीहरू हेलिकोप्टरमै फर्के ।

बाँफीकोट–६ रुकुमका राजनीतिक कार्यकर्ता विद्यापति रिजालका अनुसार, महोत्सव सकिएको १४ महिनासम्म एकजना पर्यटक स्यार्पुताल आएका छैनन् । उनको ठम्याइ छ, ‘पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय पूर्वाधार नहुनु त छँदै छ, यसको प्रचार–प्रचारसमेत भएन । महोत्सव गरेरमात्रै नहुँदो रहेछ ।’ 

रुकुमलाई ‘युद्ध पर्यटकीय गन्तव्य’ बनाउन गतिशील युवा समाज रुकुम र हिमालयन मेन्टर काठमाडौं लागिपरेको छ । दसवर्षे सशस्त्र जनयुद्धमा माओवादी जनसेनाले धेरैभन्दा धेरै ओहोर–दोहोर गरेको रुकुमका गाउँठाउँलाई ‘युद्ध पर्यटकीय’ गन्तव्यका रूपमा प्रवद्र्धन गरिने भएको हो । दसवर्षे जनयुद्धताका माओवादी जनसेना स्यार्पुतालको बाटो हिँडेका थिए । रुकुमलाई ‘युद्ध पर्यटकीय गन्तव्य’ बनाउन सके स्यार्पुतालको रूप–रंग बदलिनेछ । 

‘पर्यटनलाई रुकुमेली जनतासँग जोड्न ढिला भइसकेको छ,’ पूर्वयुवा तथा खेलकुदमन्त्री कमला रोकाले भनिन्, ‘पर्यटन प्रवद्र्धन गर्न मात्रै सके यहाँका जनताको जीवनस्तर उकास्न धेरै समय लाग्दैन ।’ काठमाडौंबाट स्यार्पुताल आइपुगेका सञ्चारकर्मी कीर्तन अधिकारीले भने, ‘तालक्षेत्रका मानिसले ×सिस्नु, लालबिरीको अचार र मकैको रोटी बेचेरमात्रै पनि जीविकोर्जन गर्न सक्नेछन् ।’ 
स्यार्पुताल ।

स्यार्पुताल आइपुगेका पर्यटकले काठेडुंगामा ताल फन्को मानेर मनोरञ्जन गर्न पाउँछन् । पर्यटक स्वयम्ले बल्छीमा माछा पारेर त्यहीँ माछा पकाएर खान सक्छन् । यहाँ फागुपूर्णिमामा मेला लाग्छ । फागुपूर्णिमामा यहाँ आइपुगेका पर्यटकले मयुर, सिगारु, झाँक्री, भुम्या र पैसरू नाच हेर्न पाउँछन् । नागधारे गाउँमा बनेको भ्युटावरबाट ताल हेर्नुको मज्जा खनिखोस्री साध्य छैन । 

स्यार्पुताल जिल्ला सदरमुकाम मुसिकोट खलंगादेखि पाँच कोस उत्तरपूर्वमा रहेको छ । सिस्ने स्यार्पु सरोकार केन्द्र रुकुम अध्यक्ष गोपाल केसीका अनुसार, ०४२/४३ मा जापानबाट आएका अध्ययन टोलीले तालको सर्वेक्षण गरेको थियो । वैशाख (तालमा सबैभन्दा कम पानी हुने समय) मा उनीहरूले गरेको सर्वेक्षणअनुसार तालको कुल क्षेत्रफल २ दशमलव ६ वर्ग किलोमिटर र गहिराइ २९ मिटर रहेको थियो ।

ट्याक्टरले जोत्दै हेलिकोप्टरले बीउ छरिदिएको हेर्न रहर

हरिप्रसाद घर्ती र लीलाकुमारी घले ।
‘शक्ति–भक्ति सकिगो । औषधि खाऊँ पैसा छैन । घाम लागे बाहिर आएर सुत्छु । नलागे घरभित्रै,’ हरिप्रसाद घर्तीले आफ्नो दयनीय अवस्था सुनाए ।

काठमाडौंबाट खारा–७, जिवाङ रुकुम पुगेका सञ्चारकर्मीमाझ लीलाकुमारी घर्तीले भनिन्, ‘आँखा देख्दिनँ, दाँत पनि छैन । आँखा जचाऊँ पैसा छैन, दाँत हालूँ कहाँबाट खर्च जुटाउने ?’

८० वर्षीय हरिप्रसाद र ७० वर्षीया लीलाकुमारीको उल्लिखित बिलौना कसले सुनिदिने । तीन छोरामध्ये जेठो छोरा दौलत घर्ती ‘विजय’ र कान्छा रिमबहादुर घर्तीले सशस्त्र युद्धमा ज्यान गुमाएपछि घर्ती दम्पतीमाथि यो अवस्था आइलागेको हो । तात्कालिक पश्चिम सैन्य कमान्डर रहेका विजयले १ पुस २०५३ मा डोल्पाको त्रिवेणी र रिमबहादुरले रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा १९ चैत ०५७ मा ज्यान गुमाएका थिए ।
घर्ती दम्पतीका माइला छोरा खड्गबहादुर घर्ती खलंगा बस्दै आएका छन् भने हातपाउ लाग्ने विजयका छोरा–बुहारी र नाति–नातिनीसमेत तात्कालिक जनमुक्तिसेना (हाल : होइनन्) क्रियाशील थिए । त्यसो भएकाले घर्ती दम्पतीलाई बुढेसकालमा समेत दुःखले छाडेको छैन । हामी दुःखमै बाँचे पनि जाली–फटाहालाई तह लगाउन दुई छोराको शहादत त्यतिबेलाको आवश्यकता रहेको बताउँदै लीलाकुमारीले भनिन्, ‘छोराहरू बाँचेको भए जनताको सेवा गथ्र्यो । अनि हामीजस्ताको पनि ।’
काठमाडौंबाट रुकुम पुगेका सञ्चारकर्मीसँग कुराकानी गर्दै हरिप्रसाद घर्ती।


छोराहरू सशस्त्र युद्धमा लागेको आरोपमा पाकेको भातसमेत खान नपाएको गुनासो गर्दै लीलाकुमारीले भनिन्, ‘हाम्रो घर जलाइदिए, भनेको समयमा खेतीपाती गर्न पाइएन, अन्नपानी जोगाउन पाइएन ।’ त्यतिबेला पाइएको यातनाले हिजोआज पनि तर्सिन्छन् घर्ती दम्पती । हरिप्रसादले दुईपटक प्रचण्डसँग भेटेका थिए । हरि सम्झन्छन्, ‘छोरा विजयको शोकसभामा प्रचण्डसँग नाचेको थिएँ ।’ श्रीमान्ले प्रचण्डसँग भेटेको प्रसंग टुंग्याउन नपाउँदै लीलाले थपिन्, ‘प्रचण्डले हाम्रो  खेतबारीमा ट्याक्टरले जोतिदिने र हेलिकोप्टरले बीउ छरिदिन्छौं भनेका थिए । खै कहिले आउने हो, त्यो दिन । आस गरिबसेका छौं ।’