Tuesday, April 8, 2014

पानी घट्दै गए अनिष्ट

रौतापोखरी
(दीपेन्द्र राई)
काठमाडौँ, २५ चैत । ‘यदाकदा पोखरीको पानी थपघट हुन्छ,’ पोखरी छेउमै रहेको मन्दिरका पुजारी हितबहादुर रानामगरले भने, ‘पोखरीको पानी घट्दै गएमा देशमा अनिष्ट भएरै छाड्छ ।’ विक्रम संवत् ०५८ मा यहाँको पानी घट्दै जाँदा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

पोखरीको पानी कहिल्यै धमिलो हुँदैन । माछा नपाइने यो पोखरीमा भ्यागुता मात्रै हुनुले सबैलाई अचम्म पारेको छ । त्यतिमात्रै कहाँ हो र, पोखरीमा पातपतिङ्गर झरे सिउर उम्रेको चराले सफा गरिहाल्छ ।

इच्छासिद्धिका लागि जपतप, रुद्रीलगायत पूजापाठ गर्न रौता आइपुग्ने धर्मभीरु बाक्लै भेटिन्छन् । सालिन्दा वैशाख १ र माघ १ गते साता दिनसम्म मेला लाग्ने यहाँ साधु–सन्त र श्रद्धालुको घुइँचो छिचोलिनसक्नुको हुन्छ । पुजारी रानामगरका अनुसार रौता मन्दिरमा बाख्राको पाठी र परेवा बलि दिने गरिन्छ ।
५९०० फिट उचाइमा रौतापोखरी रहेको छ । न पानीको स्रोत छ न त मुहान नै । तर पनि त्यत्तिका उचाइमा रहेको डाँडामा बर्तुलाकार पोखरी छ । जुन पोखरीलाई रौतापोखरी भनिन्छ । यो पोखरी उदयपुरको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिएको हो ।

सधैँ कुहिरोभित्र लुकिरहने रौतापोखरीबाट देखिने मनै लोभ्याउने प्राकृतिक सुन्दरताको बयान गरिसाध्य
छैन । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्नुको मज्जा बेग्लै हुन्छ । वनभोज खान यहाँ आउने पनि बाक्लै भेटिन्छन् ।

यस पोखरीको नाम लिई अपशब्द प्रयोग गर्नेको तत्कालै खति  (अनिष्ट) हुने किंवदन्ती रहेको छ । निकै पहिले यस पोखरीलाई सुँगुर आहाल खेल्ने ठाउँ भनेर हाँसिमजाक गर्दा ओखलढुंगाका भेँडा, च्याङ्ग्रा व्यापारी भुजुङ गुरुङले ठूलो विपत्ति भोग्नुपर्यो । व्यापारी गुरुङले त्यसो भन्नबित्तिकै तत्काल आँधीबेहरी चल्यो । असिना पर्यो । पोखरीवरिपरि चरिरहेका गुरुङका भेँडा, च्याङ्ग्रा एकाएक हराए । विपत्ति आइलागेपछि उनले तत्काल माफी माग्दा प्राकृतिक प्रकोपमात्रै हटेन चरिरहेका भेँडा, च्याङ्ग्रा एकैठाउँ भएको स्थानीय वृद्धवृद्धा हिजोआज पनि यहाँ आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई सुनाउने गर्छन् ।

यहाँ आइपुगेकाका लागि सुविधाको नाममा जिल्ला विकास समिति उदयपुरले पोखरीको उत्तरपट्टि धर्मशाला बनाइदिएको छ । जहाँ मुस्किलले ५० जनासम्म बस्न सकिन्छ । होटल तथा लज र सूचनाकेन्द्रको व्यवस्था नहुँदा पहिलोपटक यहाँ आइपुगेका तीर्थालु अलमलमा पर्छन् ।

बिरामी परे प्राथमिक उपचार गराउने स्वास्थ्यकेन्द्रसमेत नहुँदा यहाँ आइपुगेकाहरू अप्ठ्यारोमा पर्ने समस्या नयाँ भने होइन । आँपटार–७ का घमानबहादुर केप्छाकीमगरले भने, ‘यहाँ आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकका लागि गाँस, बास, सूचनाकेन्द्र र प्राथमिक उपचारसम्म व्यवस्था गर्न सकिए, यो ठाउँ पर्यटकका लागि उपयुक्त गन्तय बन्ने थियो ।’

रौतापोखरी आसपासमा यतीका पाइला, ढुंगामा देखिने पानको पात, धर्म र पापद्वार, गाडधनको घैँटो, साधु–सन्त र गीतावालको गुफा, चिसापानी डाँडा र सातकन्या धारा हेर्न छुटाउनै नहुने ठाउँ हुन् ।

स्थानीय होटल व्यवसायी कमला मगरका अनुसार असोजदेखि चैतसम्ममा रौता आउन उपयुक्त मानिन्छ । राँकुली, अँधेरी, हुल्मा, बरुवा र त्रियुगा नदीको जलाधार स्रोत मानिने रौतापोखरी उदयपुरको रौता गाउँ विकास समितिअन्तर्गत पर्छ । यहाँसम्म आउनका लागि उदयपुरको गाईघाटबाट गाईघाट–साउने–रौता सडक सञ्चालनमा आएको छ । गाडीबाट ओर्लेर १० मिनेट उकालो चढेपछि रौता पुगिन्छ ।

No comments:

Post a Comment