Tuesday, April 29, 2014

९५ प्रतिशत आमा ‘फेसबुक एकाउन्ट’विहीन

(दीपेन्द्र राई)

आज मातृदिवस । तस्बिर : दीपक श्रेष्ठको फेसबुकबाट ।
आज आमाको मुख हेर्ने दिन । अर्थात् मातृदिवस । जन्म दिने आमालाई धन्यवाद दिँदै मीठो–मसिनो खुवाएर यो दिवस मनाइँदै छ । आमा जीवित नभएका छोराछोरीले स्थानविशेषको नदी, तलाउ र जलाशय पुगी श्राद्ध तथा पिण्ड तर्पण गर्ने गर्छन् ।


घरभन्दा पर रहेकाले समेत टेलिफोन गरेर तथा सामाजिक सञ्जाल फेसबुकमार्फत हिजो (सोमवार) मध्यरातदेखि यो समाचार तयार पार्दासम्म आमालाई शुभकामना दिनेक्रम रोकिएको छैन ।


‘सब कुछ मिल्ता है, लेकिन माँ नहीँ मिल्ती,’ जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘म १६ वर्षको किशोरवयमा नख्खू जेलमा थुनिएको बखत ५३ वर्षको उमेरमा बुवा बित्नुभयो । त्यतिबेला ४५ वर्षकी मेरी आमाले अनेक दुःख गरेर हामी ६ सन्तानलाई हुर्काउनुभयो । अहिले आमालाई मधुमेह र उच्चरक्तचापले समातेको छ । कामना गर्छु– केही नहोस् उहाँलाई । मार्गदर्शन गर्दै, स्नेह पोख्दै रहनुहोस् । मातृदिवसको अवसरमा हामी सबै सन्तानबाट लाख–लाख शुभकामना ।’


आज फेसबुकका भित्ता आमाको तस्बिरले रंगिएका छन् । वरिष्ठ सञ्चारकर्मी रवीन्द्र मिश्रले समेत आफ्नो फेसबुकमा आमाको तेलचित्र ‘पोस्ट’ गरेका छन् । बुवा (मनुजबाबु मिश्र) ले सन् १९८९ मा बनाएको आमाको तेलचित्र ‘पोस्ट’ गर्दै सञ्चारकर्मी मिश्रले लेखेका छन्, ‘धर्तीजस्ती मेरी आमाले एकताका गफैगफमा स्वस्फूर्त रूपमा भनेकी थिइन्– ढाँटेर, ठगेर, घुस खाएर कमाउने मलाई मन पर्दैन ।’ आमाको भनाइ सराहना गर्दै मिश्र थप्छन्– तपाईंजस्तै सबै आमालाई त्यस्तो कहिल्यै मन नपरोस् । अनि सबै सन्तानमा सद्बुद्धि पलाउनेछ । संसारका सबै आमालाई नमन गर्छु ।


फेसबुकको भित्तामा आमाको तस्बिरले रंगिएको देखेपछि संगम प्राप्ति लेख्छन्, ‘सालिन्दा दुईपटक हामीले सम्झने आमाले हामीलाई पलपल सम्झेकी हुन्छन् । एक दिन मीठो ख्वाउँदैमा आमाप्रतिका कर्तव्य पूरा भएको मानिँदैन । आमाले ३६४ दिन कति पीडा भोगिन् ? हाम्रा ९५ प्रतिशत आमाको फेसबुक एकाउन्ट छैन । अनि फेसबुकमा लभ यु भनेर दुनियाँअगागि के स्वाङ पार्नु ?’


संगमको फरकमतसँग धेरैको सहमति हुन सक्छ । उनले भनेका छन्, ‘आमाको महिमा बुझ्न आफैँ आमा बन्नुपर्छ । अनि मात्रै अनुभूति गर्न सकिन्छ । हामी जो जहाँ छौँ त्यो आमाकै देन हो । देशलाई माया गर्नेले मात्रै आमालाई माया गर्न सक्छ । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ उनी सोध्छन्– आमाले गरेको त्याग र सहयोग अरू कसैसँग तुलना गर्न सकिँदैन । त्यसैले आजैदेखि आमालाई माया गर्न सिकौँ । अनि त सधैँ मातृदिवस होइन र ? मातृदिवसले हामी सबैको बुद्धि फिरोस् ।


मातृदिवसका अवसरमा ह्याप्पी मदर्स डेदेखि आई लभ यु ममी भन्नेको बाहुल्य रहेको छ । साथै आफ्ना आमालाई सुस्वास्थ्यको कामना गर्ने पनि उत्तिकै छन् । कवयित्री कविता राई ‘गाउँले’ ले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘मेरी आमा, जसले अमूल्य जीवन प्रदान गरेर कहिल्यै तिर्न नसक्ने रिन लगाउनुभयो, म हृदयदेखि उहाँको दीर्घायुको अनि सुस्वास्थ्यको कामनासहित सादर प्रणाम अर्पण गर्छु ।’

पत्रकार दीपक श्रेष्ठले आमाका महिमा गाउँदै कविता लेखेका छन् । उनको कविताले भन्छ : 
मझेरीभरि
रहरको बिस्कुन सुकाएर 
सन्तानका खुसीखातिर
आफ्ना सबै खुसी
गाउँबेँसी, वनपाखामा रित्याएर
जून खोज्न पठाइन्
मेरी आमाले 
म 
यो सहरमा जूनको खोजीमा
भौँतारिइरहेको छु
उता
मझेरीमा 
नातिनीसँगै 
जून लेख्न सिक्दै छिन्
मेरी आमा । 

आमाले कुन सन्तानलाई माया
नगर्लान् । सन्तानले पनि आमालाई माया गर्छन् नै । पत्रकार राजेश राईले भनेका छन्, ‘मेरो विचारमा म आमालाई माया गर्छु । मलाई पनि आमाले माया गर्नुहुन्छ भनिरहनु नपर्ला
कि ।’ राईको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ज्ञानेन्द्र खड्का लेख्छन्, ‘कुरो सही हो । माया गर्छु भनेर माया हुने भए त ।’
वैदेशिक रोजगारीक्रममा इजरायल रहेकी भगवती बस्नेत भन्छिन्, ‘आमा शब्द नै अवर्णनीय छ । आमाको गुणगान शब्दमा व्यक्त गर्न सकिँदैन । अरूको लाख, आमाको काख आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ । अर्थात् त्यो ममता किनेर पाइँदैन ।’ कवयित्री बस्नेतसँग सहमत नहुने को होलान् र ? उनको बुझाइ छ– आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ । आमाले सन्तानको सुखमा आफ्नो खुसी देख्छिन् । आफ्ना र संसारभरिका आमालाई शुभकामना दिँदै उनले भनिन्, ‘जे–जे खोज सबै चीज धर्तीमै छ थरीथरी, जन्म दिने आमा अर्काे पाइँदैन कसैगरी ।’


आमालाई भगवान् मानेकी छन्– दाहालनी रन्जनाले । उनले आमाको महिमागान गाउँदै फेसबुक स्टाटसमा लेखेकी छन्, ‘आमा कति प्यारो शब्द । सबैले मामु पनि भन्नुहुन्छ । हजुर भगवान्को साथमा हुनुहुन्छ रे । तर, मेरा लागि हजुर त आँट, विश्वास, साहस, उद्देश्य, लक्ष्य अनि मेरो सुख, दुःख र खुसीमा सँगै हुनुहुन्छ । मामु हजुर कति महान् । हजुरलाई धेरै–धेरै धन्यवाद, यो सारमा मलाई ल्याइदिनुभयो ।’


मातृदिवसले मेजना राईलाई पनि भावुक बनाएको छ । उनी सोध्छिन्, ‘आमालाई माया गर्नेले आजैको दिन पर्खनुपर्छ भन्ने छैन । म तिमीलाई धेरै माया गर्छु भनेर झरेको आँसु पुछिदिने छोराछोरी त होलान् तर विवेकी छोराछोरी बनी आमाको आँखाबाट आँसु नै झर्न नदिने छोराछोरी कति छन् ?’


मेरो परिवारको सबैभन्दा पुछारको सन्तान म तर शुभकामना पहिले दिएँ मेरी आमालाई । बाउहरू पनि दुःख नमान्नुस् फादर्स डे पनि त आउन बाँकी नै छ नि ।’ 
बेलायतमा रहेकी सुष्मा राईले पनि फेसबुकमार्फत आफ्ना दिवंगत आमालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । राईले तमाम जीवित आमाहरूलाई मातृदिवसको शुभकामनासमेत दिएकी छन् । कवयित्री दीपा एवाई राईले विश्वभरिका सबै आमालाई सबै छोरीका तर्फबाट शुभकामना अर्पण गर्दै भनेकी छन्, ‘मेरी आमा ध्रुवतारा हुन्, मलाई मेरी आमा ग्यालिलियो लाग्छ, मलाई मेरी आमा पिकासो लाग्छ ।’

(प्रकाशित मिति : २०७१ वैशाख १२)

No comments:

Post a Comment