Sunday, April 20, 2014

पारुहाङ सपना

(दीपेन्द्र राई) 

गीतकारमात्रै भनियो भने भुवन पारुहाङको परिचय पूरा हुँदैन । पारुहाङ गीतकारका अलावा अलिकति रेडियो जकी (आरजे) र अलिकति कलाकार भएर पनि बाँचेका छन् ।

संवत् ०५८ मा काठमाडौं पसेका उनले बुझेर गीत लेख्न थालेको पनि त्यहीँदेखि होे । बाल्यकालदेखि नै कविता, गीत, गजल लेखे पनि आफूले लेखेको विधागत सिर्जना खुट्याउने क्षमता काठमाडौँले नै बनायो ।

‘१२ वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान सत्य साबित भएको छ– भुवन पारुहाङका लागि । उनले १२ वर्षमा पाँच सय गीत लेखिसकेका छन् । आफूद्वारा लेखिएका गीतहरूको संग्रह सार्वजनिक गर्न १२ वर्ष लागे पनि उनी पुलकित छन् । यस अर्थमा उनलाई १२ वर्षले साँच्चैको गीतकार बनायो । यसअघि उनी डायरीमा सीमित गीतहरूको गीतकारका रूपमा चिनिन्थे । पाँच सय गीतमध्ये सय गीतचाहिँ पत्रपत्रिकामा छापिएका होलान् ।
पारिवारिक वातावरणले गीत लेख्न थालेको बताउने गीतकार पारुहाङ आफूले यो उचाइ नाप्नु पछाडिको जस मामा कवि बाल आवारा र माइजू मनीषा केयरलेसलाई दिन्छन् । उहाँहरूको पदचाप पछ्याउनेक्रममै आफू गीतकार बनेको उनको स्विकारोक्ति छ । भने, ‘काठमाडौँमा मामामाइजूसँगै बस्थेँ । उहाँहरू लेख्नुहुन्थ्यो । उहाँहरू लेखेरै स्थापित भइसक्नुभएको थियो । उहाँहरूको लोभलाग्दो परिचय देखेर म पनि मामामाइजूजस्तै बन्ने प्रयत्नस्वरूप लेख्न थालेँ । लेख्न त पहिलेदेखि नै लेख्थेँ, काठमाडौँ पसेपछि विधागत अध्ययन गरेर, बुझेर लेख्न थालेँ ।’

भुवनले काठमाडौँ पसेपछि नै गीत, कविता र गजल भनेको के हो थाहा पाए । ‘कल्पनामा बहकिएरभन्दा वास्तविक भोगाइमा आधारित गीत लेख्दा शक्तिशाली हुन्छ,’ उनको तर्क छ, ‘गीतकारसँग संवेदना हुनुपर्यो । संवेदना छाम्न सक्नुपर्यो । चिन्न सक्नुपर्यो । अनुभूत गर्न सक्नुपर्यो ।’ उल्लिखित योग्यता भएमा जोकोही गीतकार बन्ने बलियो सम्भावना हुन्छ । केही समयअघि सार्वजनिक उनको गीतिएल्बम ‘सुनको अक्षर’मा उल्लिखित योग्यताभित्र परेका छन् । सुनको अक्षरमा मानवीय संवेदना, जीवन र जगत् समेटिएको बताउने उनी नेपालको असल र सफल गीतकार बन्ने ध्याउन्नमा छन् ।

भुवन पारुहाङले रेडियो जकी ‘आरजे’का रूपमा पनि परिचय बनाएका छन् । उनले खोटाङको दिक्तेलमा रहेको रेडियो हलेसीमा वर्ष दिनजति रेडियो जकीका रूपमा काम गरे । उनका लागि जिन्दगीको सबैभन्दा सुखद पाटो त्यही समय थियो रे । कहिल्यै माइक्रोफोन नसमातेका उनी कसरी रेडियो जकी बन्न पुगे ? भने,
‘जिल्लामा रूपाकोट एफएम सञ्चालनमा आइसकेको थियो । हलेसी एफएम पनि सञ्चालनमा आयो । त्यहाँ गाउँकै भाइबहिनीले कार्यक्रम चलाउँथे । उनीहरूलेभन्दा भाँती पुर्याएर म पनि बोल्न सक्छु भन्ने हिम्मतसाथ रेडियो जकी बन्न पुगेँ ।’ हलेसीमा वर्ष दिनजति काम गर्दा धेरै श्रोताको माया पाएँ । भन्नेले अझै पनि भन्छन्– हलेसीको अत्यन्त रुचाइएको आरजे भुवन पारुहाङ नै हो ।
दयाहाङ राई र सौगात मल्लसाथ भुवन पारुहाङ बीचमा ।


रेडियो जकीको परिचय बनाउनुअघि भुवन पारुहाङले राम गुरुङ निर्देशित चलचित्र अनागरिकमा अभिनय गरेका थिए । सो चलचित्रका लागि नायक भनेर छानिए पनि उनी नायक साथी भएर चलचित्रमा अनुहारिएका छन् । कहिल्यै अभिनय नगरेका उनलाई अनागरिकमा नायकको भूमिका निर्वाह गर्न सकस परेपछि नायकका साथी हुन पुगे । भने, ‘अभिनय के हो ज्ञानै थिएन । क्यामेरा तेर्सिंदा होशहवास उड्यो । बन्दुक हो कि क्यामेरा तेर्सिएको भनेर सातोपुत्लो 
उड्यो । तसर्थ तोकिएको भूमिकामा अभिनय गर्न सकिएन । तर, आफूले आफैँलाई बुझाउने नायकको साथीको भूमिकामा देखिएको छु ।’ 

गीतकार भुवन पारुहाङले सुनको अक्षर–२ गीतिएल्बम तयारी गर्दै छन् । निकट भविष्यमै सार्वजनिक गर्न सो गीतिएल्बमा समेटिएका केही गीतमा आफैँले मोडलिङ गर्ने उनले बताए । सार्थक होस् पारुहाङको रहर ।

No comments:

Post a Comment