(दीपेन्द्र राई)
![]() |
सरला राई |
स्वर परीक्षा पास गरेको पनि १८ वर्ष भयो । उनले खोटाङको बुइपामा रहेको चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी र रेडियो नेपालबाट स्वर परीक्षा एकै वर्ष पास गरेकी थिइन् । दुवै परीक्षा उत्तिकै महत्त्वपूर्ण थिए । विक्रम संवत् २०५३ मा पास गरेको परीक्षामध्ये एउटाले क्याम्पस जानका लागि ढोका खोलिदिएको थियो भने अर्काले उनको परिचय गायिका भनेर थपिदियो ।
एसएलसी पास गर्नाका लागि दस वर्ष खर्चिनुपर्यो भने उनले दुईजनाको अगाडि गीत नगाई पहिलोपटकमै स्वर परीक्षा पास गरिन् । त्यहाँदेखि आजसम्म उनले विभिन्न विधामा तीन सयभन्दा गीत गाइसकेकी छन् ।
सामूहिक पहलमा मिनिबसैमा, अजम्बरी माया, फूलै फुल्यो चिमालको लगायत थुप्रै गीतिएल्बम सार्वजनिक भइसकेको उनको एकल (सोलो) गीतिएल्बम भने स्वर परीक्षा पास गरेको एघार वर्षपछि ०६३ मा मात्रै सार्वजनिक भएको थियो । बाह्र वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान प्रचलिन रहे पनि उनका लागि ११ वर्षमै खोलो फर्केको थियो ।
युके कम्पनी गीतिएल्बम सार्वजनिकसँगै उनको व्यस्तता बढेको छ । गीत गाउनकै लागि एकताका उनी पोखरा, पाल्पा, दाङलगायत अधिराज्यका विभिन्न ठाउँ र कतारसम्म पुगेकी थिइन् । समयले कोल्टे फेर्दै गएको छ । गायिका सरला राई समयको त्यही कोल्टे फेराइसँगै गृहिणी भएकी छन् । कसैको धर्मपत्नी र छोरा स्पन्दनकी ममतामयी आमा बनेकी छन् । यतिबेलाको उनको ‘आइडिन्टिटी’ हो यो । यति धेरै आइडिन्टिटी जगेर्ना गर्दै गीत–संगीतबाट उनले आफूलाई टाढा राखेकी छैनन् । तसर्थ सोध्नै पर्दैन– उनले गीत–संगीतमा भविष्य खोज्छिन् कि खोज्दिनन् ।
सरला राईले गीत गाएर खान्छिन् भन्नेमा ढुक्क छन् गीतकार भूपाल राईदेखि दिनेश अधिकारीसम्म । संगीतकार भरत लामा, शिलाबहादुर मोक्तान, राजु सिंह र शान्तिराम राई पनि विश्वस्त छन् उनले गीत गाएर खान्छन् भन्ने कुरामा ।
धेरैको अगाडि गाउँदा लाज मान्ने उनी घाँस–गोठाला गर्दा पनि अरूले सुन्लान् कि भनेर मनमनै गीत गाउँथिन् । पोल एक दिन खुलिहाल्यो– सरलाले गीत गाउँछिन् भनेर । सरलाले गीत गाउँछिन् भनेर थाहा पाएपछि दिदी रेखा राईले उनलाई काठमाडौँ पठाइन् ।
संगीत पढ्न काठमाडौँ आएकी सरला नेपाली सांगीतिक क्षेत्रको परिचित नाम बन्न सफल भएको छ । उनले गाएको गीत श्रोताको अनुरोधमा बारम्बार प्रसारण हुन्छ रेडियो र एफएम रेडियोहरूमा । आवाजलाई मन पराइएकैले स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमका लागि उनलाई निम्तो दिइन्छ ।
यो लोकप्रियता हात पार्न उनले मीरा राणा, ओमकार गर्ताैलासँग प्रशिक्षण लिइन् । राष्ट्रिय नाचघरबाट एकवर्षे प्रशिक्षण लिएकी छन् । आरआर (प्रस्तावित नेपाल मानविकी) क्याम्पसबाट संगीत विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन पार लगाइसकेकी छन् भने हाल शारदा क्षेत्रीलाई गुरु थापेकी छन् ।
गीत–संगीतमा लागेको यत्तिका अवधिमा उनले थुप्रै पुरस्कार हात पारे पनि रेयुकाई नेपाल मध्यमाञ्चलद्वारा आयोजित दोस्रो राष्ट्रिय खुला लोकगीत प्रतियोगितामा प्रथम हुँदाताकाको क्षण आज पनि बिर्सेकी छैनन् ।
No comments:
Post a Comment