Tuesday, April 29, 2014

कोरिया हिँडेको मानिस ताल्छिखेलमा

(दीपेन्द्र राई)


काजी राई
ब्रुनाई जानुअघि गायिका पवित्र सुब्बा काजी राईकहाँ गइरहन्थिन् । अमेरिका जानुअघि गायक रोशन गुरुङ पनि सुब्बाजस्तै राईकहाँ पुग्थे । एकताका गायक दीप श्रेष्ठ बाक्लै जान्थे उनीकहाँ ।

गायिका सुब्बा, गायकद्वय गुरुङ र श्रेष्ठ अहिले उनीकहाँ जान छाडे पनि राष्ट्रगान लेखक व्याकुल माइला (प्रदीपकुमार राई), भूतपूर्व एआईजी गोविन्दबहादुर थापा, गायिका सत्यकला राई र नायक नवल खड्का भने उनीकहाँ जान छाडेका छैनन् ।

जान छाडेका र अहिले पनि गइरहने अनुहार फरक–फरक भए पनि उनीकहाँ पुग्ने उद्देश्यचाहिँ एउटै
हुन्थ्यो । उनी न वकिल हुन् । न शिक्षक नै । उनी ज्योतिषी पनि होइनन् । उनी बस्दै आएको ताल्छिखेल ललितपुरमा न कुनै संघ–संस्थाको कार्यालय नै छ । त्यहाँ संगीत पाठशाला पनि छैन । तर पनि, उनीकहाँ गइरहन्छन् उल्लिखित अनुहार । अनि जान्छन् अन्य अनुहार पनि । 

उनीकहाँ गइरहनुपर्ने एउटै कारण छ । त्यो हो मासु किन्न । धरानबाट कालो बंगुर ल्याएर काठमाडौँ उपत्यकामा मासु व्यापार गर्ने उनी पहिलो व्यवसायी हुन् । तसर्थ, धरानको कालो बंगुरको मासु खान मनपराउने उनीकहाँ पुग्ने गर्छन् । 

२५ वर्ष भयो उनले काठमाडौँ उपत्यकामा धरानको कालो बंगुरको मासु व्यापार गर्न थालेको । उपत्यकामा बसोबास गर्दै आएकाले धराने कालो बंगुरको मासु खान मन लागेको बेला आफन्तलाई धरानबाटै मासु मगाइरहनु पर्दैन । धराने बंगुरको मासु खान मन लागेको बेला ताल्छिखेलसम्म चाहिँ पुग्नैपर्छ । ग्राहकका लागि सजिलो होस् भनेर उपत्यकाको विभिन्न ठाउँमा शाखा पनि खोलिएको छ । अनामनगर, भीमसेनगोला, शान्तिनगर र महाराजगन्जमा खोलिएको शाखाले ग्राहकलाई सजिलो बनाइदिएको छ । मासु खान मन लागेको बेला आफूलाई पायक पर्ने शाखाबाट सहज रूपमा मासु उपलब्ध हुन्छ । 

व्यवसाय सुरु गर्दा २०/२५ किलोग्राम मासु बिक्री गर्न चार/पाँच दिन कुर्नुपथ्र्याे । धरानको कालो बंगुरको मासु व्यवसायी राई भन्छन्, ‘पहिले–पहिले मासु बजार व्यवस्थानका लागि मोटरसाइकलको डिकीमा राखेर घरघरै चहार्नुपरेको थियो । घरघरै चहार्दा धरानको कालो बंगुरको मासु हो, मीठो लागे पैसा दिनुस् लागेन भने दिनु पर्दैन भन्दै हिँडेँ । त्यो अवस्था छैन अहिले । हिजोआज भने सबै शाखा र ताल्छिखेलबाट गरी दैनिक चार सय केजी मासु बिक्री हुँदै आएको छ ।’ पाँच केजीभन्दा बढी चाहिने ग्राहकलाई मासु घरमै पुर्याइदिने व्यवस्था छ ।

उनका साथीभाइ यतिबेला मलाया छाउनीमा लेफ्टराइट गरिरहेका छन् । कोही अरब गएर कमाइरहेका छन् । कोरिया जाने भनेर धरानबाट काठमाडौँ छिरेका उनी भने यतै अल्मलिए । भने, ‘विदेश गएर मिहिनेत गर्ने समय नेपालमै गरे पनि हुन्छ होला भनेर व्यवसाय सुरु गरेँ ।’ उनी विदेश गएका भए कति कमाउँथे । तर, स्वदेशमै बसेर पनि उनी दैनिक ८० हजार रुपैयाँको कारोबार गर्छन् । भन्छन्, ‘रुपियाँ कमाउन कोरिया गएको भए मैले मात्रै रोगजारी पाउँथे । स्वदेशमै बसेरे व्यवसाय गर्दा मैले १७ जनालाई बेरोजगार हुनबाट जोगाएको छु ।’ आफू, आफ्नो परिवार र रोजगारी पाएकाको परिवार गरी ६०/७० जना यही व्यवसाय निर्भर छन् । 

उपत्यकामा बसोबास गरिरहेकाका लागि मात्र होइन, बु्रनाई, युके, अमेरिका, सिंगापुर, हङकङसम्म धरानको कालो बंगुरको मासुले प्रसिद्धि पाएको छ । त्यसैले उल्लिखित देशबाट धरानको कालो बंगुरको मासु
मगाइन्छ । मासु पठाइएको देशबाट साथीसँगातीले ‘मासु स्वादिष्ट छ है भन्दै टेलिफोनमा प्रतिक्रिया दिँदा व्यवसायलाई निरन्तरता दिन प्रेरित गर्ने’ उनले बताए ।

‘धरानको कालो बंगुरको मासुको लोकप्रियता त यस्तो छ झन् धरान त कस्तो होला भनेर उनीसँग भन्ने पनि थुप्रै छन् । त्यसो भन्नेमध्ये कतिपय त धरान पुगिसकेको,’ उनले बताए । इन्द्रेणीपोखरी–४ खोटाङबाट धरान झरेका काजी राईले हङकङमा समेत धराने कालो बंगुरको मासुको व्यवसाय सुरु गर्दै छन् ।


धरानबाट बंगुर ल्याएर उपत्यका तथा विदेशसम्मका ग्राहकलाई ताजा मासु उपलब्ध गराउन सफल भए पनि आफूले सञ्चालन गर्दै आएको व्यवसाय आफैँलाई घाँडो बन्दै गएको
छ । ‘नेपालमा बारम्बार हुने बन्द–हडतालले व्यवसाय धराशयी बन्दै गएको,’ उनले सुनाए । भन्छन्, कहिले कसले, कहिले कसको बन्दले गर्दा घाटामा पनि व्यवसाय चलाउनुपरेको
 छ । बन्द–हडतालले बाटो अवरुद्ध भएपछि ल्याइँदै गरेको बंगुरले समयमा खान नपाएर तौल घट्ने भएकाले व्यापारमा घाटैघाटा छ । त्यसमाथि बाटोबाटोमा चन्दा माग्नेले हैरान पार्छन् । चार/पाँचजनाको समूह बनाएर क्लबका लागि भन्दै चन्दा माग्न थालेपछि दिनै पर्यो । नदिए बाटो छेक्ने गर्छन् । गाडी अगाडि बढ्नै दिँदैनन् ।’ 

व्यवसायलाई निरन्तरता दिन असजिलो बन्दै जानुको अर्काे कारण हो– बंगुर उत्पादनमा कमी । भन्छन्, ‘अरूले धरानको कालो बंगुरको मासु भन्दै स्थानीय बंगुरको मासु बेच्छन् । तर, आफूले त्यसरी ग्राहकलाई झुक्याउन जान्दिनँ । र सक्दिनँ पनि । व्यवसाय सुरु गरेदेखि आजसम्म धरानबाटै कालो बंगुर ल्याएर ग्राहकलाई मासु उपलब्ध गराइरहेको छु । पछिल्लो समयमा धरानमा बंगुर उत्पादनमा कमी आएकाले पनि व्यवसायलाई कसरी निरन्तरता दिने हो । धराने कालो बंगुरको मासु खाँदै आएका १० हजार ग्राहकलाई कहिलेसम्म निरन्तर मासु उपलब्ध गर्न पाउँछु । चिन्ता लाग्न थालेको छ ।’

९५ प्रतिशत आमा ‘फेसबुक एकाउन्ट’विहीन

(दीपेन्द्र राई)

आज मातृदिवस । तस्बिर : दीपक श्रेष्ठको फेसबुकबाट ।
आज आमाको मुख हेर्ने दिन । अर्थात् मातृदिवस । जन्म दिने आमालाई धन्यवाद दिँदै मीठो–मसिनो खुवाएर यो दिवस मनाइँदै छ । आमा जीवित नभएका छोराछोरीले स्थानविशेषको नदी, तलाउ र जलाशय पुगी श्राद्ध तथा पिण्ड तर्पण गर्ने गर्छन् ।


घरभन्दा पर रहेकाले समेत टेलिफोन गरेर तथा सामाजिक सञ्जाल फेसबुकमार्फत हिजो (सोमवार) मध्यरातदेखि यो समाचार तयार पार्दासम्म आमालाई शुभकामना दिनेक्रम रोकिएको छैन ।


‘सब कुछ मिल्ता है, लेकिन माँ नहीँ मिल्ती,’ जनआस्था साप्ताहिक सम्पादक किशोर श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘म १६ वर्षको किशोरवयमा नख्खू जेलमा थुनिएको बखत ५३ वर्षको उमेरमा बुवा बित्नुभयो । त्यतिबेला ४५ वर्षकी मेरी आमाले अनेक दुःख गरेर हामी ६ सन्तानलाई हुर्काउनुभयो । अहिले आमालाई मधुमेह र उच्चरक्तचापले समातेको छ । कामना गर्छु– केही नहोस् उहाँलाई । मार्गदर्शन गर्दै, स्नेह पोख्दै रहनुहोस् । मातृदिवसको अवसरमा हामी सबै सन्तानबाट लाख–लाख शुभकामना ।’


आज फेसबुकका भित्ता आमाको तस्बिरले रंगिएका छन् । वरिष्ठ सञ्चारकर्मी रवीन्द्र मिश्रले समेत आफ्नो फेसबुकमा आमाको तेलचित्र ‘पोस्ट’ गरेका छन् । बुवा (मनुजबाबु मिश्र) ले सन् १९८९ मा बनाएको आमाको तेलचित्र ‘पोस्ट’ गर्दै सञ्चारकर्मी मिश्रले लेखेका छन्, ‘धर्तीजस्ती मेरी आमाले एकताका गफैगफमा स्वस्फूर्त रूपमा भनेकी थिइन्– ढाँटेर, ठगेर, घुस खाएर कमाउने मलाई मन पर्दैन ।’ आमाको भनाइ सराहना गर्दै मिश्र थप्छन्– तपाईंजस्तै सबै आमालाई त्यस्तो कहिल्यै मन नपरोस् । अनि सबै सन्तानमा सद्बुद्धि पलाउनेछ । संसारका सबै आमालाई नमन गर्छु ।


फेसबुकको भित्तामा आमाको तस्बिरले रंगिएको देखेपछि संगम प्राप्ति लेख्छन्, ‘सालिन्दा दुईपटक हामीले सम्झने आमाले हामीलाई पलपल सम्झेकी हुन्छन् । एक दिन मीठो ख्वाउँदैमा आमाप्रतिका कर्तव्य पूरा भएको मानिँदैन । आमाले ३६४ दिन कति पीडा भोगिन् ? हाम्रा ९५ प्रतिशत आमाको फेसबुक एकाउन्ट छैन । अनि फेसबुकमा लभ यु भनेर दुनियाँअगागि के स्वाङ पार्नु ?’


संगमको फरकमतसँग धेरैको सहमति हुन सक्छ । उनले भनेका छन्, ‘आमाको महिमा बुझ्न आफैँ आमा बन्नुपर्छ । अनि मात्रै अनुभूति गर्न सकिन्छ । हामी जो जहाँ छौँ त्यो आमाकै देन हो । देशलाई माया गर्नेले मात्रै आमालाई माया गर्न सक्छ । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ उनी सोध्छन्– आमाले गरेको त्याग र सहयोग अरू कसैसँग तुलना गर्न सकिँदैन । त्यसैले आजैदेखि आमालाई माया गर्न सिकौँ । अनि त सधैँ मातृदिवस होइन र ? मातृदिवसले हामी सबैको बुद्धि फिरोस् ।


मातृदिवसका अवसरमा ह्याप्पी मदर्स डेदेखि आई लभ यु ममी भन्नेको बाहुल्य रहेको छ । साथै आफ्ना आमालाई सुस्वास्थ्यको कामना गर्ने पनि उत्तिकै छन् । कवयित्री कविता राई ‘गाउँले’ ले फेसबुक स्टाटसमा लेखेकी छन्, ‘मेरी आमा, जसले अमूल्य जीवन प्रदान गरेर कहिल्यै तिर्न नसक्ने रिन लगाउनुभयो, म हृदयदेखि उहाँको दीर्घायुको अनि सुस्वास्थ्यको कामनासहित सादर प्रणाम अर्पण गर्छु ।’

पत्रकार दीपक श्रेष्ठले आमाका महिमा गाउँदै कविता लेखेका छन् । उनको कविताले भन्छ : 
मझेरीभरि
रहरको बिस्कुन सुकाएर 
सन्तानका खुसीखातिर
आफ्ना सबै खुसी
गाउँबेँसी, वनपाखामा रित्याएर
जून खोज्न पठाइन्
मेरी आमाले 
म 
यो सहरमा जूनको खोजीमा
भौँतारिइरहेको छु
उता
मझेरीमा 
नातिनीसँगै 
जून लेख्न सिक्दै छिन्
मेरी आमा । 

आमाले कुन सन्तानलाई माया
नगर्लान् । सन्तानले पनि आमालाई माया गर्छन् नै । पत्रकार राजेश राईले भनेका छन्, ‘मेरो विचारमा म आमालाई माया गर्छु । मलाई पनि आमाले माया गर्नुहुन्छ भनिरहनु नपर्ला
कि ।’ राईको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ज्ञानेन्द्र खड्का लेख्छन्, ‘कुरो सही हो । माया गर्छु भनेर माया हुने भए त ।’
वैदेशिक रोजगारीक्रममा इजरायल रहेकी भगवती बस्नेत भन्छिन्, ‘आमा शब्द नै अवर्णनीय छ । आमाको गुणगान शब्दमा व्यक्त गर्न सकिँदैन । अरूको लाख, आमाको काख आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ । अर्थात् त्यो ममता किनेर पाइँदैन ।’ कवयित्री बस्नेतसँग सहमत नहुने को होलान् र ? उनको बुझाइ छ– आमालाई शान्ति, क्षमा, करुणा, वात्सल्य, दान र दयाको स्रोत मानिन्छ । आमाले सन्तानको सुखमा आफ्नो खुसी देख्छिन् । आफ्ना र संसारभरिका आमालाई शुभकामना दिँदै उनले भनिन्, ‘जे–जे खोज सबै चीज धर्तीमै छ थरीथरी, जन्म दिने आमा अर्काे पाइँदैन कसैगरी ।’


आमालाई भगवान् मानेकी छन्– दाहालनी रन्जनाले । उनले आमाको महिमागान गाउँदै फेसबुक स्टाटसमा लेखेकी छन्, ‘आमा कति प्यारो शब्द । सबैले मामु पनि भन्नुहुन्छ । हजुर भगवान्को साथमा हुनुहुन्छ रे । तर, मेरा लागि हजुर त आँट, विश्वास, साहस, उद्देश्य, लक्ष्य अनि मेरो सुख, दुःख र खुसीमा सँगै हुनुहुन्छ । मामु हजुर कति महान् । हजुरलाई धेरै–धेरै धन्यवाद, यो सारमा मलाई ल्याइदिनुभयो ।’


मातृदिवसले मेजना राईलाई पनि भावुक बनाएको छ । उनी सोध्छिन्, ‘आमालाई माया गर्नेले आजैको दिन पर्खनुपर्छ भन्ने छैन । म तिमीलाई धेरै माया गर्छु भनेर झरेको आँसु पुछिदिने छोराछोरी त होलान् तर विवेकी छोराछोरी बनी आमाको आँखाबाट आँसु नै झर्न नदिने छोराछोरी कति छन् ?’


मेरो परिवारको सबैभन्दा पुछारको सन्तान म तर शुभकामना पहिले दिएँ मेरी आमालाई । बाउहरू पनि दुःख नमान्नुस् फादर्स डे पनि त आउन बाँकी नै छ नि ।’ 
बेलायतमा रहेकी सुष्मा राईले पनि फेसबुकमार्फत आफ्ना दिवंगत आमालाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । राईले तमाम जीवित आमाहरूलाई मातृदिवसको शुभकामनासमेत दिएकी छन् । कवयित्री दीपा एवाई राईले विश्वभरिका सबै आमालाई सबै छोरीका तर्फबाट शुभकामना अर्पण गर्दै भनेकी छन्, ‘मेरी आमा ध्रुवतारा हुन्, मलाई मेरी आमा ग्यालिलियो लाग्छ, मलाई मेरी आमा पिकासो लाग्छ ।’

(प्रकाशित मिति : २०७१ वैशाख १२)

Friday, April 25, 2014

नेपाली संगीत अन्तर्राष्ट्रियकरण गर्ने चिन्ता

(दीपेन्द्र राई)
(दीपेन्द्र राई)
 (दीपेन्द्र राई)
(दीपेन्द्र राई)

कोही गीत गाउने मञ्चको खोजीमा हुन्छन्, कोही एउटै मात्र भए पनि गीतिएल्बम निकाल्न पाए हुन्थ्यो भन्ने चिन्तामा छन् । समकालीन सहकर्मीको भन्दा पदम राईको चिन्ता पृथक छ । राई मञ्चको खोजीमा छैनन् । न त गीतिएल्बम निकाल्ने चिन्ताले नै चिमोटेको छ । भने, ‘नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियकरण कसरी गर्न सकिएला भन्ने चिन्ता मात्रै छ ।’

सस्तो लोकप्रियताको पछि नलाग्ने पदमले नेपाली गीत–संगीतसम्बन्धी आठ वर्ष अध्ययन गरेका छन् । उनले आठ वर्षमा बीम्युज छिचोलेका हुन् । उनका साथीहरू गीत गाउने मञ्च खोजी गर्दै गर्दा उनी भने संगीतसम्बन्धी सैद्धान्तिक ज्ञान फराकिलो बनाउने ध्याउन्नमा छन् । उनले सैद्धान्तिक ज्ञानमात्रै होइन, नेपाली गीत–संगीतसम्बन्धी गहिरो अनुसन्धानसमेत गर्दै आएका छन् ।

बुझ्दै जाँदा उनलाई नेपाली गीत–संगीतको परिभाषासमेत चित्तबुझ्दो लागेन रे । भने, ‘तथाकथित ओस्ताजले नेपाली गीत–संगीतको परिभाषा नै फरक ढंगले गरेका रहेछन् । सो परिभाषाप्रति म सहमत हुनै सकिनँ ।’
पदम राई


‘अमेरिकामा म्युजिक फेस्टिभल भयो भने नेपालबाट कुन म्युजिक लैजाने ?,’ उनको जिकिर छ, ‘खाँटी नेपाली गीत–संगीत भनेको नेपालका आदिवासी जनजातिका मौलिक भाका हुन् । त्यसलाई प्रवद्र्धन गर्न सके अन्तर्राष्ट्रियस्तरमा नेपाली गीत–संगीतले प्रतिनिधित्व गर्न सक्छ । अनि मात्रै नेपाली गीत–संगीत समृद्ध बन्छ ।’

नेपाली गीत–संगीतमा आदिवासी जनजाति समुदायको उपस्थिति लोभलाग्दो भए पनि हामीले हाम्रा मौलिक भाका व्यावसायीकरण, राजनीतिकरण गर्न नसक्दा आफ्ना पुस्ताले नगरे पनि पदमलाई चिन्ता लाग्नु स्वाभाविकै हो । र पनि उनी नेपालका आदिवासी जनजाति भनेर सूचीकृत ५९ जातिका मौलिक भाका कसरी प्रवद्र्धन गर्न सकिएला भनेर अध्ययन, अनुसन्धान गर्दै आएका छन् ।

सुम्निमा कल्चर एकेडेमी सातदोबाटोबाट बीम्युज पूरा गरेका उनले काठमाडौं र ललितपुरका पाँच बोर्डिङ स्कुलमा संगीत पढाउँछन् । ६ महिना, वर्ष दिन पढेर, सिकेर संगीत पढाउने लहड चलेको यो अवस्थामा पदमजस्ता सैद्धान्तिक विषयमा जानकार संगीत प्रशिक्षकको खाँचो छ । उनको बुझाइ छ, ‘बीम्युज गरेपछि पढाउन सकिन्छ । शास्त्रीय संगीतमा कम्तीमा पाँच वर्ष पढेकाले म्युजिक पढाउन सक्छन् । दोस्रो वर्षको पढाइ पूरा गरेपछि म पनि म्युजिक पढाउन सक्छु भन्ने घमन्ड जाग्यो तर जब मैले तेस्रो वर्षको पढाइ थालेँ अनि पढाउन आँट गरिनँ । छैटौँ वर्षको पढाइ थालेपछि भने मैले संगीत पढाउन थालेँ । सिक्दै सिकाउनुको आनन्द अरू केहीसँग तुलना गर्नै सकिँदैन ।’ उनले संगीत पढाउन थालेको चार वर्ष भयो ।

गीत–संगीतमै भविष्य खोज्दै रहेका पदमका साथीहरू काठमाडौंका चोक–चोक र गल्लीहरूमा चिया गफ गरेर संगीतसम्बन्धी प्रवचन दिन्छन् । उनीहरूलाई अल्पज्ञान महारोगले सताएको छ । यी सारासाराबाट उनी टाढै छन् । त्यसैमा खुसी छन् । उनको आफ्नै काम गर्ने शैली छ । साथीहरू गीत रेकर्ड गरेको संख्या बढाउने हतारोमा छन् । दुईपैसे लोभमा मैले त संगीत पनि गर्न भ्याएँ हौ भन्नेको जगजगी रहेको बेला उनले भने भर्खर सोलो गीतिएल्बम तयारी गर्दै छन् । अरूकै गीतिएल्बममा भने गीत गाउन भ्याएका उनले गीत कम्पोजसमेत गरेका छन् । ०६१ बाट गाउन थालेका उनले कुराकानी गरिरहँदा बीचबीचमा धेरैपटक कैलाश राईको नाम गर्वसाथ उच्चारण गरे । जसले उनलाई सारेगम पढाए, सिकाए । त्यतिमात्रै होइन बीम्युज छिचोल्न सघाए ।

संगीत पढ्न काठमाडौं जान्छु भन्दा घरपरिवारले स्वीकृति दिएका थिएनन् । विनास्वीकृति काठमाडौं पसेका लामिडाँडा–३ चिउरीबासका पदमले दुःखका पापड बेल्नै बेले । संगीत पढ्न काठमाडौं पसेका उनले बाँच्ने उपक्रममा अन्नपूर्णपोस्ट दैनिक ग्राहकको घर–घर पुर्याए । हिमाल खबर पत्रिका बेचे । वालपेन्टिङ गरे । दुःखले मानिसलाई इस्पातजस्तै बनाउँछ । उनी त्यस्तै छन् पनि । नेपाली गीत–संगीतसम्बन्धी इस्पात बन्दै आएका उनलाई क्याम्पसको पढाइ निरन्तरता दिन नसकेमा भने थोर–बहुत गुनासो छ । पाटन संयुक्त क्याम्पस ललितपुरबाट व्यवस्थापनमा आइएसम्मको अध्ययन पूरा गरेका उनी आफ्नो कर्मप्रति भने सन्तुष्ट छन् ।

बीम्युज गरेका गायक पदम राईले थुप्रै प्रतियोगितामा सहभागी जनाए होलान्, त्यत्तिकै पुरस्कार पनि त हात पारे होलान् नि ? भने, ‘अहिलेसम्म पहिलो र अन्तिम भनेकै खोटाङ जागरण प्रतिभामा सहभागी भएको हुँ । सो प्रतियोगिमा तेस्रो भएको थिएँ । तेस्रो भएबापत पाँच हजार रुपैयाँ र गिफ्ट ह्याम्पर पाएँ । पुरस्कारस्वरूप एउटा गीत रेकर्ड गराउने मौका मिल्यो ।’ यसको सम्पूर्ण जस डीबी सरोजलाई दिँदै पदमले पुछारमा बोले, ‘डीबी सरोजले उत्साहित बनाउनुभएपछि प्रतियोगितामा सहभागी भएँ । उहाँले नै गीत र संगीतकार खोजिदिनुभयो । नभन्दै खोटाङ जागरण प्रतिभाजस्तो ऐतिहासिक प्रतियोगितामा भाग लिने शौभाग्य झन्डै गुमाएँ ।’

कोठा नपाए रातोपुल जानू

(दीपेन्द्र राई)
(दीपेन्द्र राई)

(दीपेन्द्र राई)
कोठा सर्दै हुनुहुन्छ ? आफूलाई पायक पर्ने ठाउँमा कोठा सर्न पाए हुन्थ्यो भन्ने सोच्नुभएको छ कि ? पायक पर्ने ठाउँमा सर्न तपाईंले कोठा खोजेको कति भयो ?
सरस्वती काफ्ले

जागिरभन्दा कोठा पाउन गाह्रो काठमाडौंमा तपाईं यी झन्झटबाट मुक्त हुन चाहनुहुन्छ भने रातोपुल (काठमाडौं) जानूस् । तपाईंको समस्या सजिलै समाधान हुनेछ । तर, केही दिन पर्खनुपर्ने हुन्छ ।

तपाईंलाई कतिवटा कोठा चाहिएको हो ? कुन ठाउँमा चाहिएको ? रातोपुल गएर आफ्नो नाम र टेलिफोन सरस्वती काफ्लेलाई टिपाउनुस् । भनेकै ठाउँमा कोठा पत्ता लागेपछि काफ्लेले तपाईंलाई खबर गर्नेछिन् । त्यसो भएपछि भएन त काइदा ?

३० वर्ष भयो सरस्वती काफ्लेले कोठा खोज्दै हिँडेको । उनको कामै कोठा खोज्ने । आफूलाई नभएर अरूका लागि । ‘आफ्नो त जागिर, बैंक ब्यालेन्स, जग्गा–जमिन भनेकै कोठा खोज्ने काम हो,’ उनले भनिन् । यो कामले उनलाई दालभात जुटाएको छ भने कोठा नपाएर सास्ती खेपेकालाई ढुंगा खोज्दा देउता भेटेजस्तो ।

विक्रम संवत् ०४१ सालदेखि कोठा खोज्दै आएकी उनले कोठा खोजिदिएबापत निश्चित पारिश्रमिक निर्धारण गरेकी छन् । पारिश्रमिकमा ‘बार्गेनिङ’ हुँदैन । एउटा कोठादेखि फ्लाटसम्म खोजिदिने उनले भनिन्, ‘एउटा कोठा खोजिदिएबात पाँच सय रुपैयाँ पारिश्रमिक लिन्छु ।’ फ्लाटको आवश्यक हुनेले फ्लाटमा जतिवटा कोठा छ त्यहीअनुसार पाँच सय थप्दै जानुपर्छ । मतलब जतिवटा कोठा त्यहीअनुसार पाँच–पाँच सय थप्नुपर्छ । ‘एउटा कोठा खोजिदिनु है बज्यै भन्दै आफ्नो मोबाइलमा घन्टी बजाउनेको बाहुल्य रहेको,’ बताउँदै उनले भनिन्, ‘कहिलेकाहीँ त एउटा कोठा खोज्दा–खोज्दै पाँच सयभन्दा बढी खर्च हुन्छ ।’

कामै कोठा खोज्ने भएकाले अहिलेसम्म उनले कस्ता– कस्ता मानिसलाई कोठा खोजिदिइन् ? ‘सर्वसाधारणदेखि मन्त्रीसम्म अनि पाइलटदेखि विदेशी पर्यटकलाई समेत कोठा खोजिदिएँ,’ उनले सुनाइन् । तपाईंलाई कोठा खोजिमाग्ने मन्त्री र पाइलटको नाम त थाहा छैन होला है ? ‘किन थाहा नहुनु, मैले मन्त्रीदेखि पाइलटसम्मका लागि कोठा खोजिदिएकी हुँ भनेर ७५ वर्षीया पाकाको कुरा तपाईंले विश्वास गर्नु भएन जस्तो लाग्यो,’ उनले गुनासो गरिन् ।

तीसवर्षे अवधिमा उनले कति कोठा खोजिन् कति । गनिसाध्य छैन । होस् पनि कसरी ? उनले खोजिदिएको कोठामा डेरा बस्ने थुप्रैले काठमाडौं उपत्यकामा घर ठड्याइसकेको उनलाई थाहा छ । भनिन्, ‘कतिपयले त मेरै घरमा बस्न आउनुस् भाडा तिर्न पर्दैन भन्छन् । मैले मानिनँ ।’ म जहिल्यै कोठा खोजिहिँडेको देखेर उनीहरू (एकताका आफैँले कोठा खोजिदिए पनि अहिले घरमालिक भएका) लाई टीठ लाग्दोरहेछ । तर, पसिनाको गीत गाएर खानुको आनन्द बेग्लै हुने उनको ठम्याइ छ ।
स्वर्गीय वन राज्यमन्त्री गोपाल राई, पाइलट किरण मल्ल, सञ्चारकर्मी, चलचित्रकर्मी, विद्यार्थी, नेता, सुरक्षाकर्मी र सर्वसाधारणलाई उनको कामले गुन लगाएको छ । त्यही गुनिलो कामबापत आउने पारिश्रमिक नै हो उनको जीविकोपार्जनको भरोसायोग्य शीर्षक । खान, लाउन, गाडीभाडादेखि कोठाभाडा तिर्ने उनको आयस्रोत पनि यही हो । बिहान सबेरैदेखि बेलुका अबेरसम्म कोठा खोज्दै हिँडेपछि अरू काम गर्ने समय नै कहाँ मिल्छ र उनलाई ।

यी वृद्धाको नागरिकताको नाम मेटिँदै गएको छ । कामै कोठा खोज्ने भएकाले होला सबैले उनलाई डेरावाल्नी बज्यै भनेर सम्बोधन गर्छन् । बसाइ पनि डेरामै छ उनको । उनले डेराभाडा एक हजार सात सय बुझाउनुपर्छ
रे । १७ वर्षदेखि एउटै घरमा बस्दै आएकी उनी बसेको कोठाको भाडा पटक–पटक बढेर एक हजार सात सय पुगेको हो । कोठा खोज्नेक्रममा उनलाई काठमाडौंको नक्सा खुम्चिँदै गएको लाग्न थालेको छ रे । सधैँ कोठा खाली छ भन्दै काठमाडौं फन्को मारिरहने भएपछि उनलाई यस्तो लाग्नु स्वाभाविकै हो । यतिसम्म कि काठमाडौंको फलानो टोलको फलानाको घरको गेट यस्तो रङको छ सम्म भन्न सक्ने अवस्था बनाउने शीर्षक त्यही हो, जुन शीर्षकले उनलाई कोठा खोज्ने कामका लागि जाँगरिलो बनाएको छ ।

त्यही जाँगरले उनी कोठा खोज्न जोरपाटी, बौद्ध, चाबहिल, कालोपुल, रातोपुल, लैनचौर, ठमेल, बागबजार, पुतलीसडक, मैतिदेवी, घट्टेकुलो, डिल्लीबजार, कमलपोखरी, अनामनगर, नयाँबानेश्वर, कोटेश्वरदेखि ललितपुरको एकान्तकुना र नख्खूसम्म पुग्छिन् । ‘मैतिदेवी, घट्टेकुलो, रातोपुल, नया“बानेश्वरमा कोठा खोजिदिनु भन्नेको बाहुल्य रहेको,’ उनले बताइन् ।

गाडी नचढी नहुने ठाउँमा मात्रै गाडी चढ्ने उनी प्रायः पैदल हिँड्छिन् । कोठा खोज्ने काम घरघरै पुग्नुपर्ने भएकाले पनि उनले नहिँडी सुख छैन । झरी–बादल, घाम–पानी नभनी प्रायः हिँड्ने उनलाई वर्षमा कतिवटा जुत्ता धान्ला ? भनिन्, ‘एक बर्खमा चार जोर जुत्ता चाहिन्छ भने महिनामा दुई जोर मोजाले भ्याउँदैन ।’

बाँच्ने उपक्रममा उनले संघर्षका थुप्रै पापड बेलेका छन् । आठआना भारी बालुवा चाल्दा, ६ रुपैयाँ भारी घाँस काट्दाको दुःख र अहिले एउटा कोठा खोजेबापत पाँच सय रुपैयाँ पारिश्रमिक लिँदाको दुःखमा कुनै अन्तर
छैन । नभएर भोकै बसेको दिन गनिसाध्य छैन रे । तीन वर्षअघि दुई महिना बिरामी परेकाले रिन परेको उनले सुनाइन् । भोकै बस्नुका कारण कोठा नपाउनु पनि हो । कोठा नपाएपछि पारिश्रमिक आउँदैन । त्यो (पारिश्रमिक) नै बन्द भएपछि मुखाँ माड पर्ने कुरै भएन । ऊबेला (०४१ सालताका) कोठा पाउन सजिलो भए नि अहिले पहिलेजस्तो सजिलो छैन । 

उनीसँग कुराकानी चलिरहँदा १५ पटकभन्दा बढी उनको मोबाइलमा घन्टी बज्यो । त्यति नै बेला हनुमानढोकाबाट एकजना डीएसपीले फोन गरे । डीएसपीसँग कुराकानी सकिएपछि उनले भनिन्, ‘सुरक्षाकर्मीका लागि कोठा खोज्न असाध्यै गाह्रो हुन्छ । कोठा पत्ता लागेपछि यिनी (सुरक्षाकर्मी) हरू सर्नुअघि कोठाका नाप–जाँच गर्नेदेखि अनेक प्रक्रिया पुर्याउननुपर्ने हुन्छ । बडो झन्झट हुन्छ । झन्झट मानेर पनि के गर्नु ।

 raidependra@gmaiil.com

Sunday, April 20, 2014

पारुहाङ सपना

(दीपेन्द्र राई) 

गीतकारमात्रै भनियो भने भुवन पारुहाङको परिचय पूरा हुँदैन । पारुहाङ गीतकारका अलावा अलिकति रेडियो जकी (आरजे) र अलिकति कलाकार भएर पनि बाँचेका छन् ।

संवत् ०५८ मा काठमाडौं पसेका उनले बुझेर गीत लेख्न थालेको पनि त्यहीँदेखि होे । बाल्यकालदेखि नै कविता, गीत, गजल लेखे पनि आफूले लेखेको विधागत सिर्जना खुट्याउने क्षमता काठमाडौँले नै बनायो ।

‘१२ वर्षमा खोला पनि फर्कन्छ’ भन्ने नेपाली उखान सत्य साबित भएको छ– भुवन पारुहाङका लागि । उनले १२ वर्षमा पाँच सय गीत लेखिसकेका छन् । आफूद्वारा लेखिएका गीतहरूको संग्रह सार्वजनिक गर्न १२ वर्ष लागे पनि उनी पुलकित छन् । यस अर्थमा उनलाई १२ वर्षले साँच्चैको गीतकार बनायो । यसअघि उनी डायरीमा सीमित गीतहरूको गीतकारका रूपमा चिनिन्थे । पाँच सय गीतमध्ये सय गीतचाहिँ पत्रपत्रिकामा छापिएका होलान् ।
पारिवारिक वातावरणले गीत लेख्न थालेको बताउने गीतकार पारुहाङ आफूले यो उचाइ नाप्नु पछाडिको जस मामा कवि बाल आवारा र माइजू मनीषा केयरलेसलाई दिन्छन् । उहाँहरूको पदचाप पछ्याउनेक्रममै आफू गीतकार बनेको उनको स्विकारोक्ति छ । भने, ‘काठमाडौँमा मामामाइजूसँगै बस्थेँ । उहाँहरू लेख्नुहुन्थ्यो । उहाँहरू लेखेरै स्थापित भइसक्नुभएको थियो । उहाँहरूको लोभलाग्दो परिचय देखेर म पनि मामामाइजूजस्तै बन्ने प्रयत्नस्वरूप लेख्न थालेँ । लेख्न त पहिलेदेखि नै लेख्थेँ, काठमाडौँ पसेपछि विधागत अध्ययन गरेर, बुझेर लेख्न थालेँ ।’

भुवनले काठमाडौँ पसेपछि नै गीत, कविता र गजल भनेको के हो थाहा पाए । ‘कल्पनामा बहकिएरभन्दा वास्तविक भोगाइमा आधारित गीत लेख्दा शक्तिशाली हुन्छ,’ उनको तर्क छ, ‘गीतकारसँग संवेदना हुनुपर्यो । संवेदना छाम्न सक्नुपर्यो । चिन्न सक्नुपर्यो । अनुभूत गर्न सक्नुपर्यो ।’ उल्लिखित योग्यता भएमा जोकोही गीतकार बन्ने बलियो सम्भावना हुन्छ । केही समयअघि सार्वजनिक उनको गीतिएल्बम ‘सुनको अक्षर’मा उल्लिखित योग्यताभित्र परेका छन् । सुनको अक्षरमा मानवीय संवेदना, जीवन र जगत् समेटिएको बताउने उनी नेपालको असल र सफल गीतकार बन्ने ध्याउन्नमा छन् ।

भुवन पारुहाङले रेडियो जकी ‘आरजे’का रूपमा पनि परिचय बनाएका छन् । उनले खोटाङको दिक्तेलमा रहेको रेडियो हलेसीमा वर्ष दिनजति रेडियो जकीका रूपमा काम गरे । उनका लागि जिन्दगीको सबैभन्दा सुखद पाटो त्यही समय थियो रे । कहिल्यै माइक्रोफोन नसमातेका उनी कसरी रेडियो जकी बन्न पुगे ? भने,
‘जिल्लामा रूपाकोट एफएम सञ्चालनमा आइसकेको थियो । हलेसी एफएम पनि सञ्चालनमा आयो । त्यहाँ गाउँकै भाइबहिनीले कार्यक्रम चलाउँथे । उनीहरूलेभन्दा भाँती पुर्याएर म पनि बोल्न सक्छु भन्ने हिम्मतसाथ रेडियो जकी बन्न पुगेँ ।’ हलेसीमा वर्ष दिनजति काम गर्दा धेरै श्रोताको माया पाएँ । भन्नेले अझै पनि भन्छन्– हलेसीको अत्यन्त रुचाइएको आरजे भुवन पारुहाङ नै हो ।
दयाहाङ राई र सौगात मल्लसाथ भुवन पारुहाङ बीचमा ।


रेडियो जकीको परिचय बनाउनुअघि भुवन पारुहाङले राम गुरुङ निर्देशित चलचित्र अनागरिकमा अभिनय गरेका थिए । सो चलचित्रका लागि नायक भनेर छानिए पनि उनी नायक साथी भएर चलचित्रमा अनुहारिएका छन् । कहिल्यै अभिनय नगरेका उनलाई अनागरिकमा नायकको भूमिका निर्वाह गर्न सकस परेपछि नायकका साथी हुन पुगे । भने, ‘अभिनय के हो ज्ञानै थिएन । क्यामेरा तेर्सिंदा होशहवास उड्यो । बन्दुक हो कि क्यामेरा तेर्सिएको भनेर सातोपुत्लो 
उड्यो । तसर्थ तोकिएको भूमिकामा अभिनय गर्न सकिएन । तर, आफूले आफैँलाई बुझाउने नायकको साथीको भूमिकामा देखिएको छु ।’ 

गीतकार भुवन पारुहाङले सुनको अक्षर–२ गीतिएल्बम तयारी गर्दै छन् । निकट भविष्यमै सार्वजनिक गर्न सो गीतिएल्बमा समेटिएका केही गीतमा आफैँले मोडलिङ गर्ने उनले बताए । सार्थक होस् पारुहाङको रहर ।

Wednesday, April 16, 2014

‘गीत–संगीतमा भविष्य देखेकी छु’

(दीपेन्द्र राई)
सरला राई

स्वर परीक्षा पास गरेको पनि १८ वर्ष भयो । उनले खोटाङको बुइपामा रहेको चम्पावती माध्यमिक विद्यालयबाट एसएलसी र रेडियो नेपालबाट स्वर परीक्षा एकै वर्ष पास गरेकी थिइन् । दुवै परीक्षा उत्तिकै महत्त्वपूर्ण थिए । विक्रम संवत् २०५३ मा पास गरेको परीक्षामध्ये एउटाले क्याम्पस जानका लागि ढोका खोलिदिएको थियो भने अर्काले उनको परिचय गायिका भनेर थपिदियो ।


एसएलसी पास गर्नाका लागि दस वर्ष खर्चिनुपर्यो भने उनले दुईजनाको अगाडि गीत नगाई पहिलोपटकमै स्वर परीक्षा पास गरिन् । त्यहाँदेखि आजसम्म उनले विभिन्न विधामा तीन सयभन्दा गीत गाइसकेकी छन् ।


सामूहिक पहलमा मिनिबसैमा, अजम्बरी माया, फूलै फुल्यो चिमालको लगायत थुप्रै गीतिएल्बम सार्वजनिक भइसकेको उनको एकल (सोलो) गीतिएल्बम भने स्वर परीक्षा पास गरेको एघार वर्षपछि ०६३ मा मात्रै सार्वजनिक भएको थियो । बाह्र वर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान प्रचलिन रहे पनि उनका लागि ११ वर्षमै खोलो फर्केको थियो । 

युके कम्पनी गीतिएल्बम सार्वजनिकसँगै उनको व्यस्तता बढेको छ । गीत गाउनकै लागि एकताका उनी पोखरा, पाल्पा, दाङलगायत अधिराज्यका विभिन्न ठाउँ र कतारसम्म पुगेकी थिइन् । समयले कोल्टे फेर्दै गएको छ । गायिका सरला राई समयको त्यही कोल्टे फेराइसँगै गृहिणी भएकी छन् । कसैको धर्मपत्नी र छोरा स्पन्दनकी ममतामयी आमा बनेकी छन् । यतिबेलाको उनको ‘आइडिन्टिटी’ हो यो । यति धेरै आइडिन्टिटी जगेर्ना गर्दै गीत–संगीतबाट उनले आफूलाई टाढा राखेकी छैनन् । तसर्थ सोध्नै पर्दैन– उनले गीत–संगीतमा भविष्य खोज्छिन् कि खोज्दिनन् । 

सरला राईले गीत गाएर खान्छिन् भन्नेमा ढुक्क छन् गीतकार भूपाल राईदेखि दिनेश अधिकारीसम्म । संगीतकार भरत लामा, शिलाबहादुर मोक्तान, राजु सिंह र शान्तिराम राई पनि विश्वस्त छन् उनले गीत गाएर खान्छन् भन्ने कुरामा ।


धेरैको अगाडि गाउँदा लाज मान्ने उनी घाँस–गोठाला गर्दा पनि अरूले सुन्लान् कि भनेर मनमनै गीत गाउँथिन् । पोल एक दिन खुलिहाल्यो– सरलाले गीत गाउँछिन् भनेर । सरलाले गीत गाउँछिन् भनेर थाहा पाएपछि दिदी रेखा राईले उनलाई काठमाडौँ पठाइन् । 

संगीत पढ्न काठमाडौँ आएकी सरला नेपाली सांगीतिक क्षेत्रको परिचित नाम बन्न सफल भएको छ । उनले गाएको गीत श्रोताको अनुरोधमा बारम्बार प्रसारण हुन्छ रेडियो र एफएम रेडियोहरूमा । आवाजलाई मन पराइएकैले स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमका लागि उनलाई निम्तो दिइन्छ ।

यो लोकप्रियता हात पार्न उनले मीरा राणा, ओमकार गर्ताैलासँग प्रशिक्षण लिइन् । राष्ट्रिय नाचघरबाट एकवर्षे प्रशिक्षण लिएकी छन् । आरआर (प्रस्तावित नेपाल मानविकी) क्याम्पसबाट संगीत विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन पार लगाइसकेकी छन् भने हाल शारदा क्षेत्रीलाई गुरु थापेकी छन् ।

गीत–संगीतमा लागेको यत्तिका अवधिमा उनले थुप्रै पुरस्कार हात पारे पनि रेयुकाई नेपाल मध्यमाञ्चलद्वारा आयोजित दोस्रो राष्ट्रिय खुला लोकगीत प्रतियोगितामा प्रथम हुँदाताकाको क्षण आज पनि बिर्सेकी छैनन् ।

Tuesday, April 8, 2014

पानी घट्दै गए अनिष्ट

रौतापोखरी
(दीपेन्द्र राई)
काठमाडौँ, २५ चैत । ‘यदाकदा पोखरीको पानी थपघट हुन्छ,’ पोखरी छेउमै रहेको मन्दिरका पुजारी हितबहादुर रानामगरले भने, ‘पोखरीको पानी घट्दै गएमा देशमा अनिष्ट भएरै छाड्छ ।’ विक्रम संवत् ०५८ मा यहाँको पानी घट्दै जाँदा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

पोखरीको पानी कहिल्यै धमिलो हुँदैन । माछा नपाइने यो पोखरीमा भ्यागुता मात्रै हुनुले सबैलाई अचम्म पारेको छ । त्यतिमात्रै कहाँ हो र, पोखरीमा पातपतिङ्गर झरे सिउर उम्रेको चराले सफा गरिहाल्छ ।

इच्छासिद्धिका लागि जपतप, रुद्रीलगायत पूजापाठ गर्न रौता आइपुग्ने धर्मभीरु बाक्लै भेटिन्छन् । सालिन्दा वैशाख १ र माघ १ गते साता दिनसम्म मेला लाग्ने यहाँ साधु–सन्त र श्रद्धालुको घुइँचो छिचोलिनसक्नुको हुन्छ । पुजारी रानामगरका अनुसार रौता मन्दिरमा बाख्राको पाठी र परेवा बलि दिने गरिन्छ ।
५९०० फिट उचाइमा रौतापोखरी रहेको छ । न पानीको स्रोत छ न त मुहान नै । तर पनि त्यत्तिका उचाइमा रहेको डाँडामा बर्तुलाकार पोखरी छ । जुन पोखरीलाई रौतापोखरी भनिन्छ । यो पोखरी उदयपुरको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिएको हो ।

सधैँ कुहिरोभित्र लुकिरहने रौतापोखरीबाट देखिने मनै लोभ्याउने प्राकृतिक सुन्दरताको बयान गरिसाध्य
छैन । यहाँबाट सूर्याेदय र सूर्यास्तको दृश्य नियाल्नुको मज्जा बेग्लै हुन्छ । वनभोज खान यहाँ आउने पनि बाक्लै भेटिन्छन् ।

यस पोखरीको नाम लिई अपशब्द प्रयोग गर्नेको तत्कालै खति  (अनिष्ट) हुने किंवदन्ती रहेको छ । निकै पहिले यस पोखरीलाई सुँगुर आहाल खेल्ने ठाउँ भनेर हाँसिमजाक गर्दा ओखलढुंगाका भेँडा, च्याङ्ग्रा व्यापारी भुजुङ गुरुङले ठूलो विपत्ति भोग्नुपर्यो । व्यापारी गुरुङले त्यसो भन्नबित्तिकै तत्काल आँधीबेहरी चल्यो । असिना पर्यो । पोखरीवरिपरि चरिरहेका गुरुङका भेँडा, च्याङ्ग्रा एकाएक हराए । विपत्ति आइलागेपछि उनले तत्काल माफी माग्दा प्राकृतिक प्रकोपमात्रै हटेन चरिरहेका भेँडा, च्याङ्ग्रा एकैठाउँ भएको स्थानीय वृद्धवृद्धा हिजोआज पनि यहाँ आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई सुनाउने गर्छन् ।

यहाँ आइपुगेकाका लागि सुविधाको नाममा जिल्ला विकास समिति उदयपुरले पोखरीको उत्तरपट्टि धर्मशाला बनाइदिएको छ । जहाँ मुस्किलले ५० जनासम्म बस्न सकिन्छ । होटल तथा लज र सूचनाकेन्द्रको व्यवस्था नहुँदा पहिलोपटक यहाँ आइपुगेका तीर्थालु अलमलमा पर्छन् ।

बिरामी परे प्राथमिक उपचार गराउने स्वास्थ्यकेन्द्रसमेत नहुँदा यहाँ आइपुगेकाहरू अप्ठ्यारोमा पर्ने समस्या नयाँ भने होइन । आँपटार–७ का घमानबहादुर केप्छाकीमगरले भने, ‘यहाँ आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकका लागि गाँस, बास, सूचनाकेन्द्र र प्राथमिक उपचारसम्म व्यवस्था गर्न सकिए, यो ठाउँ पर्यटकका लागि उपयुक्त गन्तय बन्ने थियो ।’

रौतापोखरी आसपासमा यतीका पाइला, ढुंगामा देखिने पानको पात, धर्म र पापद्वार, गाडधनको घैँटो, साधु–सन्त र गीतावालको गुफा, चिसापानी डाँडा र सातकन्या धारा हेर्न छुटाउनै नहुने ठाउँ हुन् ।

स्थानीय होटल व्यवसायी कमला मगरका अनुसार असोजदेखि चैतसम्ममा रौता आउन उपयुक्त मानिन्छ । राँकुली, अँधेरी, हुल्मा, बरुवा र त्रियुगा नदीको जलाधार स्रोत मानिने रौतापोखरी उदयपुरको रौता गाउँ विकास समितिअन्तर्गत पर्छ । यहाँसम्म आउनका लागि उदयपुरको गाईघाटबाट गाईघाट–साउने–रौता सडक सञ्चालनमा आएको छ । गाडीबाट ओर्लेर १० मिनेट उकालो चढेपछि रौता पुगिन्छ ।

Sunday, April 6, 2014

सैनिक अभ्यासमै १२ वर्ष

दयाकृष्ण राई ।
     भूतपूर्व गोर्खा सैनिक दयाकृष्ण राई पहिलोपटक बेलायत पुग्दा तीनछक परे । त्यहाँको सडक त्यत्तिकै चिल्ला र सफामात्रै होइन, बेलायती सभ्यता झनै लोभलाग्दो थियो । भन्छन्, ‘तर, हिजोआज बेलायती सभ्यता चर्चायोग्य छैन । बेलायतका सडक पहिलेको जस्तो चिल्लो र सफा देखिँदैनन् ।’ तर पनि, उनी बेलायतमै बसेर अवकाशप्राप्त जीवन सिर्जनशील बनाउने ध्याउन्नमा छन् । भूपू गोर्खा सैनिक दयाकृष्ण राईले दीपेन्द्र राईसँग आफ्नो सैनिक जीवन यसरी सम्झे :
फर्कुंफर्कुं लाग्यो 
     ‘गेटपास पाएपछि सिधै हङकङ पुर्याए । त्यहाँ पुगेपछि सैनिक अभ्यास सुरु भयो,’ भूतपूर्व गोर्खा सैनिक तथा साहित्यकार दयाकृष्ण राईले सन् १९८४ डिसेम्बरको अतीत सम्झे, ‘सैनिक अभ्यास गर्न गाह्रो लाग्यो । अनुमति दिएको भए त्यही दिन नेपाल फर्कुंफर्कुं लागेको थियो ।’
     सैनिक अभ्यास गर्न गाह्रो भए पनि गर्नैपथ्र्याे । नगरी सुखै थिएन । गेटपास पाउन गरेको तालिमभन्दा रिक्रुट तालिम गर्न गाह्रो थियो । तालिमको पहिलो दिन ‘ट्रेनिङ डिपोट’मा अपरिचित अनुहारै अनुहार देख्दा झनै बैराग लागेर आयो । तालिम गर्दै जाँदा ‘ट्रेनिङ डिपोट’ जाउँजाउँ लाग्न थाल्यो । जहाँ हामीलाई तालिम दिइन्थ्यो । म रत्तिँदै गए छु ।
सजाय ! सजाय ! ! सजाय ! ! !  
     १४/१४ जनाको सेक्सन बनाएर हामीलाई राखेका थिए । आपसमा घुलमिल हुँदै गयौँ । बिहान–बिहान तीन माइल दौडनुपथ्र्याे । नौ मिनेटभित्र तीन माइल दौड पूरा गर्नुपथ्र्याे । नगरे सजाय पाइन्थ्यो । गुरुजीले निर्मम सजाय दिन्थे ।
     अनुशासन उस्तै कडा । खुला तरिकाले बोल्न नपाइने । हाँस्नु त परै जाओस्, आफूभन्दा सिनियरले बोलाउँदा उठेर ‘एटेन्सन’ हुनुपर्ने । खुट्टा जोडेर तनक्क तन्केन भने पनि सजाय नै पाइन्थ्यो । सैनिक जीवनमा सजाय ! सजाय ! ! सजाय ! ! ! फेरि पनि सजाय ।
     मलाई अंग्रेजी भाषामा कुराकानी गर्न त्यति समस्या परेन । तर, भाषाभन्दा पनि सैनिक अभ्यास गर्न गाह्रो लाग्यो । सैनिक अभ्यासअन्तर्गत पौडी खेल्न झनै गाह्रो । पहाडको खोलामा पौडी खेल्ने गरेको मलाई स्वीमिङ पुलको अचल पानीमा १०० मिटर पौडिन कम्ती सकस परेन ।
हङकङबाट ब्रुनाई 
     हङकङ पुगेको साढे चार वर्षपछि हाम्रो बटालियन नै ब्रुनाई सरुवा भयो । बटालियनमा एक हजारजना
थियौँ । हाम्रो पल्टनको मात्रै ८० (१९८४ मा भर्ना भएका नम्बरी) जना थियौँ । त्यहाँ दुई वर्ष रह्यौँ । ब्रुनाईमा पनि सैनिक अभ्यास नै गरेँ । ‘प्रमोसन कोर्स’ गरेरै ब्रुनाई बसाइ पूरा भयो ।
     नेपालमा हासिल गरेको शिक्षाले ‘प्रमोसन कोर्स’मा थोर–बहुत सघाउ पुपुर्याउँछ । नेपालमा पढेर गएकालाई ‘प्रमोसन’का लागि केही हदसम्म सरल र सहज हुँदोरहेछ । ब्रुनाई रहँदा त्यहाँका सेनासँग कहिल्यै देखभेट गर्न पाइएन । गोर्खालीले ब्रुनाईका सुल्तानलाई सुरक्षा दिँदै आएको छ । ब्रुनाईमा रहेका गोर्खाली बटालियन प्रत्येक दुई/दुई वर्षमा परिवर्तन भइरहन्छ ।
कामै मानिस समात्ने  
     ब्रुनाईबाट फेरि हङकङ फिर्ता भयौँ । त्यहाँबाट फर्केपछि चीन र हङकङको सिमानामा ड्युटी प¥यो । चीनमा कम्युनिस्ट शासन थियो भने बेलायतको उपनिवेश भएकाले हङकङमा भने स्वतन्त्रता थियो । त्यही भएर चिनियाँ नागरिक हङकङ जान चाहन्थे । त्यसरी जान चाहनेलाई हामीले समातेर फिर्ता पठाउनुपथ्र्यो । हाम्रो बटालियनले पनि सालिन्दा एकपटक त्यो काम गर्नुपथ्र्यो ।
बिग्रँदै बेलायती सम्यता  
     ब्रुनाईबाट बेलायत गएँ । त्यहाँ २०/२२ तालिम गरियो । जहाँ युद्ध हुन्छ बेलायतमा रहेका पल्टन त्यहाँ पुग्न तम्तयार हुनुपर्छ । पहिलोपटक बेलायत पुग्दा आश्चर्य लाग्यो त्यहाँको सडक त्यत्तिकै चिल्ला र सफा
देख्दा ।
     बेलायती सभ्यता झनै लोभलाग्दो थियो । तर, हिजोआज बेलायती सभ्यता चर्चायोग्य छैन । बेलायतका सडक पहिलेको जस्तो चिल्लो र सफा देखिँदैनन् ।
बेलायतबाट जर्मनी  
     बेलायतबाट सैनिक अभ्यासकै लागि जर्मनी गएँ । त्यहाँ पनि महिना दिन सैनिक अभ्यासमै बित्यो । नेपाली र बेलायती गुरुले हामीलाई तालिम दिए । गोर्खालीलाई विभिन्न देशमा लगेर तालिम गराउनुका कारण विदेशको भूगोल, वातावरण बुझाउनलाई हो । कुन बेला कहाँ युद्ध हुन्छ त्यहाँ पुगिहाल्नुपर्ने भएकाले गोर्खालीलाई विदेश लगीलगी तालिम दिइने गरिन्छ । म जर्मनीबाट फेरि बेलायत नै फर्कें ।
औंलाले घोचेर खानेकुरा माग्दा  
     फ्रान्स र जर्मनीमा अंग्रेजी भाषा बोल्न मान्छे कमै भेटिँदा रहेछन् । बोलिहालेमा पनि बेवास्ता गर्दा
रहेछन् । कतिले त अंग्रेजी भाषा बुझ्दै बुझ्दैनन् । हामीले एक रेस्टुरेन्ट पसेर अंग्रेजी भाषामा खानेकुरा माग्दा उनीहरूले बुझ्दै बुझेनन् । त्यसपछि बाध्य भएर औँलाले घोचेर खानेकुरा मागेका थियौँ ।
एक कार्यक्रममा साहित्यकार बैरागी काइँलासथ दयाकृष्ण राई ।

जंगलमा बस्ने नि अंग्रेजी बोल्ने  
     फ्रान्सपछि केन्या गएँ । त्यहाँ पुग्दा हामीलाई कतिले जापानी भने । त्यहाँको जंगलमा बस्ने मसाइ वारियर (केन्याका एक जाति) नाङ्गै हिँड्दा रहेछन् । उनीहरू भोकभोकै हिँड्ने गर्छन् । आफूसँग केही नभएपछि उनीहरूले हामीलाई खानेकुरा माग्थे ।
     उनीहरूले गाई पाल्दारहेछन् । दूध दोहेर काँचै खाँदारहेछन् । उनीहरूले नशा पहिल्याएर धारिलो हतियारले घोपेर गाईको रगत काँचै पिउँदारहेछन् । जंगलमै बसे पनि उनीहरू अंग्रेजी बोल्छन् । खेती गर्नलाई उर्वर भूमि छैन । मसाइ वारियरलाई देखेपछि मलाई नेपालको राउटेको सम्झना आयो ।
     केन्यामा भारतबाट गएका प्रशस्तै भारतीय भेटिए । केन्याको राजधानी नैरोवीमा भारतीय मूलका नागरिकले ठुल्ठूला उद्योगधन्दा चलाएका छन् । त्यहाँका हलमा भारती फिल्मसमेत देखाइन्छन् ।
     केन्याबाट फर्केको ५/६ महिनापछि ‘रिटायर्ड’ भएँ । म सन् १९९७ मा कटौतीमा परेको हुँ । नोकरी गरेको साढे १२ वर्ष भए पनि तीन वर्ष थपेर १५ वर्ष पुपुर्याई हामीलाई पेन्सनमा पठाइयो । अवकाश हुनुअघि गोर्खालीलाई एकमहिने तालिम दिइन्छ । तालिम दिनुको उद्देश्य भनेको सम्बन्धित व्यक्ति नेपाल फर्केपछि आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर नै हो । सम्बन्धित व्यक्तिले इच्छाएअनुसार सीपमूलक तालिम लिन पाइन्छ । मैले ‘ड्राइभिङ’ सिकेको थिएँ ।
बाह्रघन्टे ड्युटी  
     बेलायतबाट फर्केपछि जापान पुगेँ । म १९९६ मा जापान पुगेको हुँ । त्यहाँ गाडी कम्पनीमा काम गरेँ । मेसिनको तालमा १२ घन्टा काम गर्नुपथ्र्याे । सुरु–सुरुमा मेसिनको तालमा काम गर्न निकै गाह्रो भयो । म सात वर्ष जापान बसेँ । त्यतिन्जेलसम्म काम गर्ने बानी परिसकेको थियो ।
साहित्यका कुरा  
     गोर्खा भर्ती हुनुभन्दा पहिलेदेखि नै साहित्य लेख्न गर्थें । विद्यालय तहमा पढ्दा प्रत्येक शुक्रवार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत साहित्यिक कार्यक्रम पनि हुन्थ्यो । सो कार्यक्रममा म पनि सहभागी हुन्थेँ ।
भर्ती भएपछि पनि साहित्य सिर्जनाले निरन्तरता पायो । त्यसैको निरन्तरताले मेरो ‘लाहुरेको कथा र जापानको व्यथा’, ‘ईश्वरको मलामी’ कवितासंग्रह, ‘सम्झनाको आलिंगनमा बाँधिएर’ नियात्रासंग्रह र ‘पागल दार्शनिकको अभिव्यक्तिहरू’ निबन्धसंग्रह सार्वजनिक छन् ।
फेरि बेलायत  
     बेलायत सरकारले आवासीय भिसा दिने व्यवस्था मिलाएपछि म फेरि बेलायत पुगेँ । त्यहाँदेखि अहिलेसम्म बेलायतमै छु । बेलायत–नेपाल पानीपँधेरो जस्तै भएको छ । कहिलेकाहीँ मेरो लाहुरे जीवन सम्झन पुग्छु– १२ वर्ष गोर्खा भर्तीमा रहँदा सैनिक अभ्यास गरेरै बिताएँ । सो अवधिमा कहीँ, कतै युद्धमा जान परेन ।