Saturday, November 13, 2010

मिसकलकै भरमा समाचार संकलन


(दीपेन्द्र राई)
 
संकलित जानकारीआफूसम्बद्ध सञ्चारमाध्यममा सम्प्रेषण गर्न तपाईं के गर्नुहुन्छ ? सुविधा भएमा इमेल गर्नुहोला नभए फ्याक्स । त्यो पनि सुविधा नभए फोन गरेर समाचार टिपाउनुहोला ।

उल्लिखित तीनवटै विधि नअपनाई खोटाङका सञ्चारकर्मीले भने आफूसम्बद्ध सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्दै आएका छन् । त्यो पनि मिसकलकै भरमा । सुन्दा अचम्म लाग्छ समाचार सम्प्रेषण गर्नका लागि मिसकलले कसरी सम्भव होला ? तर हुँदोरहेछ ।
रेडियो रुपाकोट खोटाङसँग सम्बद्ध सञ्चारकर्मीले समाचार संकलन गरेपछि समाचार शाखाअन्तर्गत डेस्कमा कार्यरत रेडियो पत्रकारको मोबाइलमा मिसकल गर्ने गर्छन् । कापी, कलम ठिक्क पारेपछि मिसकल गर्नेलाई डेस्काले कलब्याक गर्छन्  ।

मिसकल गर्ने व्यक्तिले बुँदागत रुपमा समाचार पढेर सुनाउँछन् । फोनकर्ताले टिप्छन् । तिनै बुँदागत रुपमा टिपिएको टिपोटलाई समाचार बनाएर रेडियो रुपाकोटमा वाचन गरिन्छ  ।

रेडियो रुपाकोटसँग सम्बद्ध स्थानीय प्रतिनिधिले वर्षाैंदेखि यसरी नै संकलित समाचार सम्प्रेषण गर्दै आएका छन् । रेडियो रुपाकोटसँग सम्बद्ध च्यास्मिटार गाविस प्रतिनिधि महासेर राई भन्छन्, ‘गाउँघरमा इमेल, इन्टरनेट तथा फ्याक्सको सुविधा छैन । सधैँ फोन गरेर समाचार सम्प्रेषण गर्न सम्भव पनि छैन । तसर्थ, समाचार तयार पारेपछि सधैँ मिसकल गर्ने गर्छु । डेस्कमा बस्नेले कलब्याक गरिहाल्छन् ।’

मिसकलकै माध्यमबाट आफ्ना प्रतिनिधिमार्फत रेडियो रुपाकोटले समाचार संकलन गर्दै आएको छ । गाउँघरमा इमेल, इन्टरनेट र फ्याक्सको सुविधा नभए पनि जानियो भने मिसकलकै भरमा पनि समाचार संकलन गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण हो, यो ।

No comments:

Post a Comment