(दीपेन्द्र राई)
![]() |
भेडेटार |
धरान र धनकुटाको संगमस्थल । समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटार धरानदेखि ठ्याक्कै १६ किलोमिटर दूरीमा रहेको छ । ‘छिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ अचम्मकै रहेछ,’ भेडेटारमा भेटिएकी इलामकी रन्जु साम्पाङले भनिन्, ‘इलामका मानिस भेडेटार आउने अनि धनकुटाका मानिसले इलाम भ्रमण गरेमात्रै पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुने थियो ।’
कन्याम इलामकी रन्जुमात्रै होइन, यहाँ आइपुगेका जोकोही भेडेटारको प्राकृतिक सुन्दरतासँग लोभिन्छन् । बेलायतका युवराज चाल्स्र पनि भेडेटारको प्राकृतिक सुन्दरता देखेर लोभिएका थिए । २७ वर्षअघि भेडेटार आइपुगेका चाल्स्रले यहीँबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वकै तेस्रो र चौथो अग्ला हिमशृङ्खला काचनजङ्घा र मकालु तराईका समथर फाँट सप्तकोसी नदी सूर्यास्तको दृश्य धितमरुन्जेल हेरेका थिए । बाह्रैमास यहाँ बग्ने चिसो हावाले उत्तिकै रोमाञ्चक बनाएको थियो, युवराज चाल्स्रलाई ।
त्यतिबेला युवराज चाल्स्रले आँखाले भ्याइन्जेल भेडेटारवरिपरिको दृश्य नियाले । जिल्ला विकास समिति धनकुटा र भेडेटार गाउँ विकास समितिको लगानीमा भ्युटावर बनेपछि टाढाटाढासम्मको दृश्य नियाल्न सजिलो भएको छ । ३० फिट अग्लो भ्युटावरबाट हिमाल, पहाड र तराई एकैठाउँ बसेर नियाल्न सजिलो भएको हो । यहाँबाट देखिने प्राकृतिक सुन्दरताको दृश्य कैद गर्न कतिपय क्यामेरा सोझ्याएर अनुकूल वातावरण कुरिरहेका हुन्छन् ।
पछिल्लो समयमा भेडेटारको लोकपि्रयता बढ्दै गएको छ । स्थानीय होटल सञ्चालकको भनाइ सही मान्ने हो भने भारतका दार्जिलिङ, सिक्किम, कालेम्पोङ र कस्र्याङबाट भेडेटार घुम्न आउने पर्यटक पनि कम
छैनन् । भेडेटारमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीबाट आएका हौँ भन्दै कुराकानी गरिरहेकाहरू पनि उत्तिकै भेटिन्छन् । विभिन्न शीर्षकमा पूर्वाञ्चल आइपुगेकाहरु भेडेटार पुगेरमात्र फर्किन्छन् ।
छैनन् । भेडेटारमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीबाट आएका हौँ भन्दै कुराकानी गरिरहेकाहरू पनि उत्तिकै भेटिन्छन् । विभिन्न शीर्षकमा पूर्वाञ्चल आइपुगेकाहरु भेडेटार पुगेरमात्र फर्किन्छन् ।
धरानेका लागि त पानी पधेँरो भएको छ, भेडेटार । फुर्सद मिल्नासाथ भेडेटार चढिहाल्ने उनीहरु साँझ पर्दै जाँदा घर फर्किरहेका भेटिन्छन् । गर्मी छल्नमात्र होइन, हप्ताभरिको थकान मेट्न भेडेटार नै उनीहरुको रोजाइमा पर्छ । मोरङको विराटनगर, बेलबारी, उर्लाबारी, झापाको दमक र सुनसरीको इटहरी, इनरुवासम्मका मानिस बिहान भेडेटार गएर बेलुका घरै फर्कन्छन् ।
सबैसबैको रोजाइमा परेकाले लोभलाग्दो पर्यटकीय स्थल बन्दै गएको छ, भेडेटार । त्यसो त यो ठाउँ धार्मिकस्थल पनि हो । भेडेटारबाट दुई किलोमिटर पश्चिममा रहेको हिन्दू धर्मावलम्बीका धार्मिक आस्थाकी प्रतिमूर्ति पाथिभरा र एक किमि दक्षिणमा रहेको पाचकन्या मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । यहाँ आइपुगेका हिन्दू धर्मावलम्बी पाथिभरा र पाचकन्या मन्दिर जान बिर्संदैनन् ।
धरान-धनकुटे बाटो बन्नुअघि लेकबाट ल्याइने भेडाको खर्क गोठ राखिने यो ठाउँ अहिले व्यवसायीका लागि गरिखाने गतिलो माध्यम बनेको छ । यहाँ आइपुगेकालाई खान, बस्नका लागि चिन्ता छैन । होटल भेडेटार, नाङ्लो, ऐंसेलु, अरुण भ्याली र सेकुवाघरलगायतले आतिथ्य सत्कार गर्न भ्याएकै छन् । वनभोजप्रेमीको रोजाइमा पनि भेडेटार नै परेको छ । शैक्षिक भ्रमण जाने कुरा उठ्नसाथ विद्यार्थी भेडेटार नै जाऊँ न भनिरहेका हुन्छन् ।
विभिन्न साहित्यिक संघ-संस्थाले यही ठाउँमा साहित्यिक कार्यक्रम गरिसकेका छन् । नेपाली गीत-संगीतमा भेडेटारको प्रसंगले पनि ठाउँ पाएकै छ । अनि कथा, कविता, निबन्ध, गजलमा भेडेटारको वर्णन गरिएको पढ्न पाइन्छ । यहाँ विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाले भेडेटारमा गोष्ठी, सेमिनार गरिरहेकै हुन्छन् । एकैछिनका लागि साथीको मोटरसाइकल मागेर भेडेटार फन्को मार्न भ्याउने पनि भेटिन्छन् । उपयुक्त ठाउँको खोजी गर्दै भेडेटार आइपुगेका युवायुवती मायापिरतीमा लहसिएपछि संसार बिर्सेको अवस्थामा भेटिनुलाई अचम्म मानिदैन । त्यसैले हिजोआज भेडेटारले नयाँ नाम पाएको छ ‘लभर्स प्वाइन्ट’ भनेर ।
बेलायतका युवराज चाल्स्रले विक्रम संवत् ०४० मा भेडेटार टेकेका थिए । उनले भेडेटार टेकेपछि यो ठाउँलाई चाल्स्र प्वाइन्ट भन्न थालिएको थियो । यही चाल्स्र प्वाइन्टमा नेपाल टेलिभिजन र कान्तिपुर एफएमको टावर राखिएको छ । अनि छ आवाकेन्द्र कृषि र पशु सेवा केन्द्र वन कार्यालय स्वास्थ्यचौकी, प्रहरी चौकी । तसर्थ, यहाँ सधैँ चहलपहल भइरहन्छ । त्यतिमात्र होइन, ताप्लेजुङ तेह्रथुम संखुवासभा र भोजपुरे यही बाटो भएर घर फर्कन्छन् । अनि परदेश लाग्छन् ।
भेडेटार आइपुग्नुभएको तपाईंसँग समय छ भने राजारानी उपत्यका हेर्न जानु भए हुन्छ । बसाइ लम्ब्याउन सक्नुहुन्छ भने गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरे, मिल्के जानैपर्ने ठाउँ हुन् । सहिदको गाउँ छिन्ताङ पनि पुग्नैपर्ने ठाउँ हो ।
No comments:
Post a Comment