Sunday, November 7, 2010

जुरिचजस्तै जिरी

(दीपेन्द्र राई)

जिरी
तेन्जिङ नोर्ग शेर्पा र एड्मन्ड हिलारी सगरमाथा आरोहण गर्न जाँदा र फर्कंदा जिरीकै बाटो हिँडेका थिए । ०५४ मा स्विट्जरल्यान्डका राष्ट्रपति आर्नाेल्ड कलर जिरी आई दुई घन्टा घुमे । १४ हजार किलोमिटर नेपालको यात्रा गरेका भूगर्वविद् टोनी हागनले पनि उहिल्यै जिरी टेकेका हुन् । त्यही जिरी एकताका सगरमाथा जाने गौँडाका रुपमा चिनिन्थ्यो ।

स्वीस राष्ट्रपति कलरले दुई घन्टा लगाएर घुमेको जिरीलाई चारैतिर जंगलले घेरेको छ । बीचमा छ- स-साना रहरलाग्दा बस्ती । त्यही बस्तीलाई स्विट्जरल्यान्डको जुरिचसँग तुलना गरिँदै आएको पाइन्छ । स्थानीय व्यापारी सुमन श्रेष्ठ भन्छन्, ‘स्विट्जरल्यान्डको जुरिचजस्तै भएकाले नै यस ठाउँलाई नेपालको जुरिच भनिएको हो । जुरिचलाई नै पछि जिरी भन्न
थालियो ।’

स्विट्जरल्यान्डको जुरिच नदेखेकाले जिरीजस्तै त होला नि जुरिच भनी कल्पना गर्छन् । तर, जुरिच देखेकाले भने जिरी र जुरिचबीच आकाश पातालको भिन्नता रहेको बताउँछन् । जिरी भ्रमण गरी फर्केपछि सञ्चारकर्मी वसन्त थापाले लेखे, ‘स्विट्जरल्यान्डको जुरिच र जिरीबीच अघिल्तिरको ‘जु’ अक्षरभन्दा केही समानता पाइँदैन । जुरिचमा ठूलो प्राकृतिक ताल छ । त्यस्तो ताल जिरीमा छैन । उता जुरिचबाट आल्पस् पर्वतमाला देख्न सकिन्छ । जिरीबाट एक टुक्रा हिमालसमेत देख्न सकिँदैन भने जिरीलाई किन जुरिचसित दाँज्नु ।’
जिरीको सिक्रीगाउँ

चोर्लुङ तामे र हनुमन्ते पहाडको काखमा रहेको जिरी गहना लगाएको दुलहीजस्तै देखिन्छ । तसर्थ, अनुकूल मिल्नासाथ जोकोही जिरीतिर लागिहाल्छन् । पछिल्लो समय विकासे टोली र सप्ताहान्त बिताउन काठमाडौँबाट जिरी जाने बाक्लै भेटिन्छन् । जिरीका लागि स्वीस वरदान साबित भएको जिरीवासी
स्विकार्छन् । स्वीसले शिक्षा स्वास्थ्य, सडक, कृषि, वन, खानेपानी र पुलपुलेसाजस्ता जनताका आधारभूत आवश्यकतामाथि पहिलो प्राथमिकता दिई यहाँका विकास निर्माणमा सघाउ पुर्यायो । जिरीमा स्वीसको त्यही विकास निर्माणका काम हेर्न मात्रै आउने पनि उत्तिकै भेटिन्छन्  ।

टी टुरिजमका लागि पनि जिरी उपयुक्त थलो मानिन्छ । ‘अहिले जिरीमा २०० किलोग्राम चिया उत्पादन हुने त छँदै छ, टी टुरिजमका लागि समेत जिरी छनोटमा परेको,’ जिरी टी डेभलपमेन्ट कम्पनीका प्रबन्ध निर्देशक नुर्बु शेर्पाको बताए । यहाँ आइपुगेपछि च्यार्दाेङ चीज कारखाना घुम्न छुटाउँदैनन् जोकोही पनि । ०३१ मा स्वीस सरकारले चीज कारखाना स्थापना गरेपछि सिजनमा ६/७ हजार किलोग्राम चीज उत्पादन हुन्छ । जिरी घुमेर फर्केकाहरू यहाँ उत्पादित चीज उपहारका रूपमा लैजाने गर्छन् ।

व्यावसायिक तथा रोजगारमूल प्राविधिक शिक्षाका लागि स्वीसले नै प्राविधिक शिक्षालय स्थापना गरिदिएपछि पचहत्तरै जिल्लाका मानिस भेट हुने ठाउँ बन्न पुगेको हो, जिरी । यसो भनौँ सानोसानो नेपाल अटाएको छ । स्वीसले अस्पताल बनाइदिएपछि यहाँका बासिन्दाले अकालमै ज्यान गुमाउनुपरेको छैन । काठमाडौँबाट समेत उपचारका लागि बिरामी यता ल्याउने गरिन्छ । स्वीस सरकारकै सहयोगमा यहाँका कतिपय जिरेलले डाक्टर, इन्जिनियर बन्ने अवसर पाएका छन् । 
जिरी

स्वीसले जिरीमात्रै होइन, दोलखावासीलाई तिर्न नसक्ने गुन लगाएको छ । त्यसैले त जोकोही एकपटक जिरी घुम्ने योजना बनाउँछन् । जिरी उच्च माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर जिरेल बुझाइ छ, ‘स्वीस जिरी नआएको भए हामी गोठाला मात्रै हुन्थ्यौँ ।’

जिरी पुग्न ६ किलोमिटर वरै वासामा पाँच अल्पका पालिएको छ । जिरी आइपुगेकाहरू अल्पका नहेरी पर्कन मान्दैनन् । यहाँ आइपुगेपछि चरिकोट नपसे यात्रा अधुरो हुन्छ । नेपालको समय निर्धारण गरिने गौरीशंकर हिमाल चरिकोटको आँगनमै देखिन्छ । चरीघ्याङ डाँडामा रहेको दूरवीनबाट हिमाल पहाड तराई नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न सम्भव छैन । 

जिरी काठमाडौंबाट १८८ किलोमिटरको दूरीमा रहेको छ । काठमाडौँको पुरानो बसपार्कबाट सीधै जिरीसम्म गाडी पुग्छ । तीन दशकदेखि बन्द रहेको हवाई उडान पुनः सञ्चालनमा आएको छ । जसले गर्दा कम समयमा जिरी यात्रा गर्न चाहनेका लागि सजिलो बनाइदिएको छ । तसर्थ, जिरी जाऊँ आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ । 

No comments:

Post a Comment