(दीपेन्द्र राई)
सरकारी नीति स्पष्ट नभएकाले पर्यटक भरियाको जिन्दगी कष्टकर बन्दै गएको छ । पर्यटन व्यवसायी र भरियाबीचको सम्बन्धसमेत हार्दिक नभएपछि पर्यटक भरियाको पीडा कष्टकर बन्दै गएको हो ।
पर्यटकको भारी बोकेर उनीहरुलाई गन्तव्यसम्म पुर्याउने भरिया वर्षाैंदेखि हेपिँदै आएका छन् । भरियाका लागि भनेर पर्यटकबाट जति ज्याला लिइएको हुन्छ, त्यो सबै नपाएको उनीहरुको गुनासो नयाँ होइन । पर्यटक भरिया मंगले राईले भने, ‘भरियाका निम्ति तोकिएको रकम नदिने, सरदारलाई जागिरबाटै बर्खास्त गर्ने कडा नियम नबनेसम्म हामी भरियामाथि सधैँ थिचोमिचो भइरहन्छ ।’
पर्यटन निमावली ०५९ मा ३७०० फिटसम्मको उचाइमा भारी बोकेर पुगेका भरिका लागि २ सय र सोभन्दा माथिको उचाइका लागि २ सय ५० दैनिक ज्याला उपलब्ध गराउनुपर्ने उल्लेख छ । तर, त्यति ज्यालाले हिमाली क्षेत्रमा खोलिएका होटलमा खाना खानसमेत नपुग्ने पर्यटक भरिया राईले बताए । एकताका खुम्बु क्षेत्रमा एमाओवादीसम्बद्ध मजदुर संगठनले भरियाको न्यूनतम ज्याला दैनिक ६ सय तोकेको थियो भने उनीहरुलाई ३० किलोभन्दा बढी तौलको भारी बोकाउन नहुने नियम बनाइएको थियो ।
नेपालमा ५० हजार भरिया रहेका छन् । पर्यटकको भारी बोकेर पदयात्रामा निक्लिएका भरियाका लागि स्वास्थोपचारको समेत व्यवस्था छैन । जुनसुकै समयमा दुखबिमार परे पनि पर्यटकका लागि भने हेलिकोप्टरको व्यवस्था गरिएको हुन्छ । तर, पदयात्रामा निक्लिएका भरिया भने बिरामी परे बाटोमै छाडिन्छन् । कतिपयको बाटोमै मृत्यु हुन्छ । सम्बन्धित परिवारले आफन्तको मृत्यु भएको पत्तो पाउँदैनन् । तसर्थ, पर्यटक भरियाको काम जोखिममा पर्दै गएको हो । जोखिम मोलेर जीवन निर्वाह गर्दै आएका उनै भरियाको जीवन बिमाको व्यवस्थासमेत गरिएको छैन । त्यही भएर मजदुर युनियनले १७००० फिटसम्ममा मृत्यु हुने भरियका नाममा २ लाख र सोभन्दा माथिको उचाइमा मृत्यु हुँदा ३ लाखसम्मको बिमाको व्यवस्था गरिनुपर्ने माग गर्दै आएको छ । तर, युनियनको सो मागको सुनुवाइ हुन सकेको छैन । ट्राभल र ट्रेकिङ एजेन्सी नियमावली ०३७ मा भने पदयात्रामा निक्लिएका भरियाको मृत्यु भएमा सम्बन्धित परिवारले २५ हजार क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।
ट्राभल र ट्रेकिङ एजेन्सी नियमावली ०३७ अनुसार भारी बोकेर हिमाली भेगमा निक्लिएका भरियाका लागि एउटा ज्याकेट, ऊनीको कपडा एकजोर, जुत्ता र पन्जा उपलब्ध गराउनुपर्ने उल्लेख छ । नियमावलीमा उल्लेख भएअनुसारको सुविधा भरियाले नपाएको भन्दै पर्यटक भरिया केशव क्रलुङले भने, ‘भरियालाई बीचबाटोबाटै फर्काउने पनि गरिन्छ । जसले गर्दा उसको रोजीरोटी खोसिन्छ ।’
No comments:
Post a Comment