Sunday, November 7, 2010

भरियाका लागि छुट्टै होटल

(दीपेन्द्र राई)

त्यहाँ पुगेपछि उनीहरुलाई सधैँ रिस उठ्थ्यो । ‘यो ठाउँका मानिससँग मानवीय संवेदना छैन,’ उनीहरु यस्तै सोच्थे । उनीहरुको आरोप थियो, ‘यो ठाउँ हाम्रा लागि वैरी हो ।’

परिस्थिति बदलिएको
छ । परिस्थिति बदलिएपछि उल्लिखित आरोप-प्रत्यारोप सुन्न परोइन अचेल । यहाँका मानिससँग मानवीय संवेदना छैन भन्न पनि छाडिसके उनीहरुले । अनि उनीहरुले भन्न छाडे- यो ठाउँ हाम्रा लागि वैरी हो भनेर ।

अचम्म हिजोसम्म त्यही ठाउँसँग रिसाएका उनीहरुमा आज कसरी एकाएक यो परिवर्तन आयो  परिवर्तनका सूत्रधार को होलान्  सूत्रधारको कुन जादु-मन्तरले त्यस्तो काम गर्यो जसले गर्दा उनीहरुको मुखमा बुझो लगायो ।

सगरमाथा आरोहणमा जानेहरुले नाम्चे बजार नटेकी सुखै छैन । सगरमाथा प्रवेशद्वारका रुपमा परिचित नाम्चे बजारमा पर्यटक भरियाका लागि सधैँ हेलाँ-होचो गरिन्थ्यो गरिन्छ । त्यस्तो व्यवहार गरेपछि उनीहरु नाम्चे बजारलाई मुटु नभएको ठाउँ भनेर आरोप लगाउँथे । जुन आरोप उनीहरुले लगाउन छाडिसके ।

पर्यटक भरियाका लागि भनेरै नाम्चे बजारमा क्यान्टिन खोलिएको छ । नाम्चे युवा समूहले भरिया क्यान्टिन साचालनमा ल्याएपछि पर्यटक भरियाको रिस मत्थर भएको हो । नाम्चेले आपुूहरुलाई हेलाँ-होचो गरेकोमा कुनै फिक्री छैन । भरिया क्यान्टिन सञ्चालनमा आएपछि उनीहरु खुसी देखिन्छन् ।

पर्यटकको भारी बोकेर नाम्चे पुग्दा सधैँ तनावमा देखिन्थे उनीहरु । नाम्चेको जुनै होटलमा खाना खाए पनि खाना खाएको होटलमै बास बस्न दिइन्नथ्यो पर्यटक भरियालाई । त्यसैले नाम्चेबजारसँग उनीहरुको हित्तचित्त नमिलेको हो । नाम्चेबजारसँग हित्तचित्त नमिले पनि पछिल्लो समयमा भरिया क्यान्टिनसँग उनीहरुको सुमधुर सम्बन्ध जोडिएको छ । पर्यटकको भारी बोकेर नाम्चे आइपुगेका श्याम तामाङ भन्छन्, ‘नाम्चे कहिल्यै हामीजस्ताका ठाउँ नलागे पनि त्यही ठाउँमा मन मुटु भएका मानिस पनि हुँदा रहेछन् । जसले हाम्रो समस्यालाई सम्बोधन गर्दै हाम्रै समूहका लागि भनेर क्यान्टिन खुलाइएको छ ।’

 नाम भरिया क्यान्टिन भने पनि यहाँ खान बस्नका लागि राम्रो प्रबन्ध मिलाइएको छ । नाम्चेले सधैँ उपेक्षा गरेको समूहलाई लक्ष्यित गरेर भरिया क्यान्टिन सञ्चालनमा आएपछि क्यान्टिन सञ्चालक मदनकुमार थुलुङ भरियाका पक्षपाती ठहरिएका छन् । क्यान्टिन साचालक थुलुङ भन्छन्, ‘क्यान्टिन भरियाकै लागि भनेर खोलिएको हो । तसर्थ, यहाँ खान बस्नका लागि पहिलो प्राथमिकतामा भरिया नै पर्छन् । त्यसपछि मात्रै
अरु ।’
 
नाम्चे युवा समूहले भरिया क्यान्टिन सञ्चालनमा ल्याएपछि होटलमा प्रतिछाक दुई सय रुपियाँमा खाना खाँदै आएका भरियाले क्यान्टिनमा सय रुपियाँमा पेटले मागेजति खाना खान पाएका छन् । नाम्चेमा सञ्चालित होटलमा भन्दा कम मूल्यमा खाना खाजा खान पाउनु भरिया क्यान्टिनको विशेषता हो । खाना खाएपछि बास बस्नका लागि छुट्टै रुपियाँ बुझाउनु परोइन ।

एकैपटक एक सय ४० जना सुत्न सकिने सो क्यान्टिनमा बास बस्नका लागि रुपियाँ बुझाउनु परोइन । बाहिर खाना खाएर आएर आएका भरियाले क्यान्टिनमा सुत्न मात्रै पनि पाउँछन् । भरिया क्यान्टिन सञ्चालनमा आउनुअघि पर्यटक भरिया नाम्चेमा ओडार र रुखको फेदमा ओत लागेर रात कटाउँथे ।

No comments:

Post a Comment