Saturday, November 13, 2010

मिसकलकै भरमा समाचार संकलन


(दीपेन्द्र राई)
 
संकलित जानकारीआफूसम्बद्ध सञ्चारमाध्यममा सम्प्रेषण गर्न तपाईं के गर्नुहुन्छ ? सुविधा भएमा इमेल गर्नुहोला नभए फ्याक्स । त्यो पनि सुविधा नभए फोन गरेर समाचार टिपाउनुहोला ।

उल्लिखित तीनवटै विधि नअपनाई खोटाङका सञ्चारकर्मीले भने आफूसम्बद्ध सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्दै आएका छन् । त्यो पनि मिसकलकै भरमा । सुन्दा अचम्म लाग्छ समाचार सम्प्रेषण गर्नका लागि मिसकलले कसरी सम्भव होला ? तर हुँदोरहेछ ।
रेडियो रुपाकोट खोटाङसँग सम्बद्ध सञ्चारकर्मीले समाचार संकलन गरेपछि समाचार शाखाअन्तर्गत डेस्कमा कार्यरत रेडियो पत्रकारको मोबाइलमा मिसकल गर्ने गर्छन् । कापी, कलम ठिक्क पारेपछि मिसकल गर्नेलाई डेस्काले कलब्याक गर्छन्  ।

मिसकल गर्ने व्यक्तिले बुँदागत रुपमा समाचार पढेर सुनाउँछन् । फोनकर्ताले टिप्छन् । तिनै बुँदागत रुपमा टिपिएको टिपोटलाई समाचार बनाएर रेडियो रुपाकोटमा वाचन गरिन्छ  ।

रेडियो रुपाकोटसँग सम्बद्ध स्थानीय प्रतिनिधिले वर्षाैंदेखि यसरी नै संकलित समाचार सम्प्रेषण गर्दै आएका छन् । रेडियो रुपाकोटसँग सम्बद्ध च्यास्मिटार गाविस प्रतिनिधि महासेर राई भन्छन्, ‘गाउँघरमा इमेल, इन्टरनेट तथा फ्याक्सको सुविधा छैन । सधैँ फोन गरेर समाचार सम्प्रेषण गर्न सम्भव पनि छैन । तसर्थ, समाचार तयार पारेपछि सधैँ मिसकल गर्ने गर्छु । डेस्कमा बस्नेले कलब्याक गरिहाल्छन् ।’

मिसकलकै माध्यमबाट आफ्ना प्रतिनिधिमार्फत रेडियो रुपाकोटले समाचार संकलन गर्दै आएको छ । गाउँघरमा इमेल, इन्टरनेट र फ्याक्सको सुविधा नभए पनि जानियो भने मिसकलकै भरमा पनि समाचार संकलन गर्न सकिँदो रहेछ भन्ने गतिलो उदाहरण हो, यो ।

Friday, November 12, 2010

देउसी खेलेरै २ हजार पुस्तक संकलन

(दीपेन्द्र राई)

सोताङ (सोलुखुम्बु) । चोमोलोङ्मा प्रतिष्ठान नेपालले देउसी खेलेर १ हजार पुस्तक संकलन गरेको छ । तिहार सकिए पनि पुस्तक संकलन भइरहेको प्रतिष्ठानका सचिव भद्रगोल किरातीले बताए । सचिव किरातीले भने, ‘संकलित पुस्तक सोलुखुम्बु पठाउने तयारी भइरहेको छ, त्यतिन्जेलसम्ममा २ हजार पुस्तक संकलन हुने अनुमान गरिएको छ ।’

‘जिल्लाको सोताङमा रहेको वीरेन्द्र ज्योति उच्च माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ प्रतिष्ठानले देउसी-भैलो खेलेको थियो । विभिन्न संघ-संस्थाले विभिन्न शीर्षकमा देउसी-भैलो खेले पनि पुस्तक संकलनका लागि देउसी-भैलो खेलिएको सायदै नेपालमै यो पहिलोपटक हुनुपर्छ,’ वीरेन्द्र ज्योति उच्च मावि व्यवस्थापन समिति अध्यक्ष वीरबहादुर राईले बताए ।

जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी आफू अध्ययन गरिरहेका कक्षाको पाठ्यक्रमका पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तक पढ्न पाउँदैनन् । यो समस्या दृष्टिगत गरी प्रतिष्ठानले यसपटक देउसी-भैलो खेल्दै पुस्तक संकलन अभियान अगाडि सारेको हो । विव्यस अध्यक्ष राईले भनॆ, ‘हाम्रा गाउँठाउँका विद्यार्थीले पाठ्यक्रमका पाठ्यपुस्तकमात्रै पढ्ने पाउँथे, अब त्योबाहेक साहित्यका विभिन्न विधाका पुस्तक पाउने भएका छन्जु, न सबैका लागि उपयोगी हुनेछ ।’

चोमोलोङ्मा प्रतिष्ठानले व्याकुल माइला, ध्रुवचन्द्र गौतम, भूपाल राई, श्रवण मुकारुङ, विष्णुविभु घिमिरे, तुलसी भट्टराई, जगदीश घिमिरेलगायत साहित्यकारको घरमा देउसी-भैलो खेली पुस्तक संकलन गरेको थियो । देउसी-भैलो खेल्न नगए पनि हाम्रो अभियान थाहा पाएर काठमाडौँमा रहेका थुप्रै साहित्यकारले पुस्तक लिन आउनु भन्दै सम्पर्क गरेको भन्दै चोमोलोङ्मा प्रतिष्ठानका सचिव किरातीले भनॆ, ‘नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति बैरागी काइँलाको घरमा जुठो परेकाले उहाँकोमा देउसी-भैलो खेल्न नपाए पनि पुस्तक लिन प्रतिष्ठानमै बोलाउनुभएको थियो ।’

प्रतिष्ठानको अभियान थाहा पाएर साझा, पैरवी, खोजी प्रकाशन, रत्न पुस्तक भण्डार र नेपाल प्रज्ञाप्रतिष्ठानले समेत पुस्तक लिन बोलाएका थिए । संकलित पुस्तक लिन काठमाडौँ जाने तयारी गर्दै रहेका वीरेन्द्र ज्योति उच्च माविका प्राचार्य रामबाबु रेग्मीले भनॆ, ‘केही दिनभित्रै काठमाडौँ जाँदै छु संकलित पुस्तक म आफैँले लिएर आउँछु ।’
(प्रकाशित मिति : २०६८ कात्तिक २६)

Sunday, November 7, 2010

भरियाका लागि छुट्टै होटल

(दीपेन्द्र राई)

त्यहाँ पुगेपछि उनीहरुलाई सधैँ रिस उठ्थ्यो । ‘यो ठाउँका मानिससँग मानवीय संवेदना छैन,’ उनीहरु यस्तै सोच्थे । उनीहरुको आरोप थियो, ‘यो ठाउँ हाम्रा लागि वैरी हो ।’

परिस्थिति बदलिएको
छ । परिस्थिति बदलिएपछि उल्लिखित आरोप-प्रत्यारोप सुन्न परोइन अचेल । यहाँका मानिससँग मानवीय संवेदना छैन भन्न पनि छाडिसके उनीहरुले । अनि उनीहरुले भन्न छाडे- यो ठाउँ हाम्रा लागि वैरी हो भनेर ।

अचम्म हिजोसम्म त्यही ठाउँसँग रिसाएका उनीहरुमा आज कसरी एकाएक यो परिवर्तन आयो  परिवर्तनका सूत्रधार को होलान्  सूत्रधारको कुन जादु-मन्तरले त्यस्तो काम गर्यो जसले गर्दा उनीहरुको मुखमा बुझो लगायो ।

सगरमाथा आरोहणमा जानेहरुले नाम्चे बजार नटेकी सुखै छैन । सगरमाथा प्रवेशद्वारका रुपमा परिचित नाम्चे बजारमा पर्यटक भरियाका लागि सधैँ हेलाँ-होचो गरिन्थ्यो गरिन्छ । त्यस्तो व्यवहार गरेपछि उनीहरु नाम्चे बजारलाई मुटु नभएको ठाउँ भनेर आरोप लगाउँथे । जुन आरोप उनीहरुले लगाउन छाडिसके ।

पर्यटक भरियाका लागि भनेरै नाम्चे बजारमा क्यान्टिन खोलिएको छ । नाम्चे युवा समूहले भरिया क्यान्टिन साचालनमा ल्याएपछि पर्यटक भरियाको रिस मत्थर भएको हो । नाम्चेले आपुूहरुलाई हेलाँ-होचो गरेकोमा कुनै फिक्री छैन । भरिया क्यान्टिन सञ्चालनमा आएपछि उनीहरु खुसी देखिन्छन् ।

पर्यटकको भारी बोकेर नाम्चे पुग्दा सधैँ तनावमा देखिन्थे उनीहरु । नाम्चेको जुनै होटलमा खाना खाए पनि खाना खाएको होटलमै बास बस्न दिइन्नथ्यो पर्यटक भरियालाई । त्यसैले नाम्चेबजारसँग उनीहरुको हित्तचित्त नमिलेको हो । नाम्चेबजारसँग हित्तचित्त नमिले पनि पछिल्लो समयमा भरिया क्यान्टिनसँग उनीहरुको सुमधुर सम्बन्ध जोडिएको छ । पर्यटकको भारी बोकेर नाम्चे आइपुगेका श्याम तामाङ भन्छन्, ‘नाम्चे कहिल्यै हामीजस्ताका ठाउँ नलागे पनि त्यही ठाउँमा मन मुटु भएका मानिस पनि हुँदा रहेछन् । जसले हाम्रो समस्यालाई सम्बोधन गर्दै हाम्रै समूहका लागि भनेर क्यान्टिन खुलाइएको छ ।’

 नाम भरिया क्यान्टिन भने पनि यहाँ खान बस्नका लागि राम्रो प्रबन्ध मिलाइएको छ । नाम्चेले सधैँ उपेक्षा गरेको समूहलाई लक्ष्यित गरेर भरिया क्यान्टिन सञ्चालनमा आएपछि क्यान्टिन सञ्चालक मदनकुमार थुलुङ भरियाका पक्षपाती ठहरिएका छन् । क्यान्टिन साचालक थुलुङ भन्छन्, ‘क्यान्टिन भरियाकै लागि भनेर खोलिएको हो । तसर्थ, यहाँ खान बस्नका लागि पहिलो प्राथमिकतामा भरिया नै पर्छन् । त्यसपछि मात्रै
अरु ।’
 
नाम्चे युवा समूहले भरिया क्यान्टिन सञ्चालनमा ल्याएपछि होटलमा प्रतिछाक दुई सय रुपियाँमा खाना खाँदै आएका भरियाले क्यान्टिनमा सय रुपियाँमा पेटले मागेजति खाना खान पाएका छन् । नाम्चेमा सञ्चालित होटलमा भन्दा कम मूल्यमा खाना खाजा खान पाउनु भरिया क्यान्टिनको विशेषता हो । खाना खाएपछि बास बस्नका लागि छुट्टै रुपियाँ बुझाउनु परोइन ।

एकैपटक एक सय ४० जना सुत्न सकिने सो क्यान्टिनमा बास बस्नका लागि रुपियाँ बुझाउनु परोइन । बाहिर खाना खाएर आएर आएका भरियाले क्यान्टिनमा सुत्न मात्रै पनि पाउँछन् । भरिया क्यान्टिन सञ्चालनमा आउनुअघि पर्यटक भरिया नाम्चेमा ओडार र रुखको फेदमा ओत लागेर रात कटाउँथे ।

जुरिचजस्तै जिरी

(दीपेन्द्र राई)

जिरी
तेन्जिङ नोर्ग शेर्पा र एड्मन्ड हिलारी सगरमाथा आरोहण गर्न जाँदा र फर्कंदा जिरीकै बाटो हिँडेका थिए । ०५४ मा स्विट्जरल्यान्डका राष्ट्रपति आर्नाेल्ड कलर जिरी आई दुई घन्टा घुमे । १४ हजार किलोमिटर नेपालको यात्रा गरेका भूगर्वविद् टोनी हागनले पनि उहिल्यै जिरी टेकेका हुन् । त्यही जिरी एकताका सगरमाथा जाने गौँडाका रुपमा चिनिन्थ्यो ।

स्वीस राष्ट्रपति कलरले दुई घन्टा लगाएर घुमेको जिरीलाई चारैतिर जंगलले घेरेको छ । बीचमा छ- स-साना रहरलाग्दा बस्ती । त्यही बस्तीलाई स्विट्जरल्यान्डको जुरिचसँग तुलना गरिँदै आएको पाइन्छ । स्थानीय व्यापारी सुमन श्रेष्ठ भन्छन्, ‘स्विट्जरल्यान्डको जुरिचजस्तै भएकाले नै यस ठाउँलाई नेपालको जुरिच भनिएको हो । जुरिचलाई नै पछि जिरी भन्न
थालियो ।’

स्विट्जरल्यान्डको जुरिच नदेखेकाले जिरीजस्तै त होला नि जुरिच भनी कल्पना गर्छन् । तर, जुरिच देखेकाले भने जिरी र जुरिचबीच आकाश पातालको भिन्नता रहेको बताउँछन् । जिरी भ्रमण गरी फर्केपछि सञ्चारकर्मी वसन्त थापाले लेखे, ‘स्विट्जरल्यान्डको जुरिच र जिरीबीच अघिल्तिरको ‘जु’ अक्षरभन्दा केही समानता पाइँदैन । जुरिचमा ठूलो प्राकृतिक ताल छ । त्यस्तो ताल जिरीमा छैन । उता जुरिचबाट आल्पस् पर्वतमाला देख्न सकिन्छ । जिरीबाट एक टुक्रा हिमालसमेत देख्न सकिँदैन भने जिरीलाई किन जुरिचसित दाँज्नु ।’
जिरीको सिक्रीगाउँ

चोर्लुङ तामे र हनुमन्ते पहाडको काखमा रहेको जिरी गहना लगाएको दुलहीजस्तै देखिन्छ । तसर्थ, अनुकूल मिल्नासाथ जोकोही जिरीतिर लागिहाल्छन् । पछिल्लो समय विकासे टोली र सप्ताहान्त बिताउन काठमाडौँबाट जिरी जाने बाक्लै भेटिन्छन् । जिरीका लागि स्वीस वरदान साबित भएको जिरीवासी
स्विकार्छन् । स्वीसले शिक्षा स्वास्थ्य, सडक, कृषि, वन, खानेपानी र पुलपुलेसाजस्ता जनताका आधारभूत आवश्यकतामाथि पहिलो प्राथमिकता दिई यहाँका विकास निर्माणमा सघाउ पुर्यायो । जिरीमा स्वीसको त्यही विकास निर्माणका काम हेर्न मात्रै आउने पनि उत्तिकै भेटिन्छन्  ।

टी टुरिजमका लागि पनि जिरी उपयुक्त थलो मानिन्छ । ‘अहिले जिरीमा २०० किलोग्राम चिया उत्पादन हुने त छँदै छ, टी टुरिजमका लागि समेत जिरी छनोटमा परेको,’ जिरी टी डेभलपमेन्ट कम्पनीका प्रबन्ध निर्देशक नुर्बु शेर्पाको बताए । यहाँ आइपुगेपछि च्यार्दाेङ चीज कारखाना घुम्न छुटाउँदैनन् जोकोही पनि । ०३१ मा स्वीस सरकारले चीज कारखाना स्थापना गरेपछि सिजनमा ६/७ हजार किलोग्राम चीज उत्पादन हुन्छ । जिरी घुमेर फर्केकाहरू यहाँ उत्पादित चीज उपहारका रूपमा लैजाने गर्छन् ।

व्यावसायिक तथा रोजगारमूल प्राविधिक शिक्षाका लागि स्वीसले नै प्राविधिक शिक्षालय स्थापना गरिदिएपछि पचहत्तरै जिल्लाका मानिस भेट हुने ठाउँ बन्न पुगेको हो, जिरी । यसो भनौँ सानोसानो नेपाल अटाएको छ । स्वीसले अस्पताल बनाइदिएपछि यहाँका बासिन्दाले अकालमै ज्यान गुमाउनुपरेको छैन । काठमाडौँबाट समेत उपचारका लागि बिरामी यता ल्याउने गरिन्छ । स्वीस सरकारकै सहयोगमा यहाँका कतिपय जिरेलले डाक्टर, इन्जिनियर बन्ने अवसर पाएका छन् । 
जिरी

स्वीसले जिरीमात्रै होइन, दोलखावासीलाई तिर्न नसक्ने गुन लगाएको छ । त्यसैले त जोकोही एकपटक जिरी घुम्ने योजना बनाउँछन् । जिरी उच्च माध्यमिक विद्यालयका प्राचार्य टेकबहादुर जिरेल बुझाइ छ, ‘स्वीस जिरी नआएको भए हामी गोठाला मात्रै हुन्थ्यौँ ।’

जिरी पुग्न ६ किलोमिटर वरै वासामा पाँच अल्पका पालिएको छ । जिरी आइपुगेकाहरू अल्पका नहेरी पर्कन मान्दैनन् । यहाँ आइपुगेपछि चरिकोट नपसे यात्रा अधुरो हुन्छ । नेपालको समय निर्धारण गरिने गौरीशंकर हिमाल चरिकोटको आँगनमै देखिन्छ । चरीघ्याङ डाँडामा रहेको दूरवीनबाट हिमाल पहाड तराई नियाल्नुको आनन्द शब्दमा व्यक्त गर्न सम्भव छैन । 

जिरी काठमाडौंबाट १८८ किलोमिटरको दूरीमा रहेको छ । काठमाडौँको पुरानो बसपार्कबाट सीधै जिरीसम्म गाडी पुग्छ । तीन दशकदेखि बन्द रहेको हवाई उडान पुनः सञ्चालनमा आएको छ । जसले गर्दा कम समयमा जिरी यात्रा गर्न चाहनेका लागि सजिलो बनाइदिएको छ । तसर्थ, जिरी जाऊँ आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ । 

भेडाविहीन भेडेटार


(दीपेन्द्र राई)
भेडेटार

धरान र धनकुटाको संगमस्थल । समुद्र सतहबाट १४२० मिटर उचाइमा रहेको भेडेटार धरानदेखि ठ्याक्कै १६ किलोमिटर दूरीमा रहेको छ । ‘छिनमै कुहिरो लाग्ने छिनमै पानी पर्ने अनि छिनमै घाम लाग्ने यो ठाउँ अचम्मकै रहेछ,’ भेडेटारमा भेटिएकी इलामकी रन्जु साम्पाङले भनिन्, ‘इलामका मानिस भेडेटार आउने अनि धनकुटाका मानिसले इलाम भ्रमण गरेमात्रै पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुने थियो ।’

कन्याम इलामकी रन्जुमात्रै होइन, यहाँ आइपुगेका जोकोही भेडेटारको प्राकृतिक सुन्दरतासँग लोभिन्छन् । बेलायतका युवराज चाल्स्र पनि भेडेटारको प्राकृतिक सुन्दरता देखेर लोभिएका थिए । २७ वर्षअघि भेडेटार आइपुगेका चाल्स्रले यहीँबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा विश्वकै तेस्रो र चौथो अग्ला हिमशृङ्खला काचनजङ्घा र मकालु तराईका समथर फाँट सप्तकोसी नदी सूर्यास्तको दृश्य धितमरुन्जेल हेरेका थिए । बाह्रैमास यहाँ बग्ने चिसो हावाले उत्तिकै रोमाञ्चक बनाएको थियो, युवराज चाल्स्रलाई ।  

त्यतिबेला युवराज चाल्स्रले आँखाले भ्याइन्जेल भेडेटारवरिपरिको दृश्य नियाले । जिल्ला विकास समिति धनकुटा र भेडेटार गाउँ विकास समितिको लगानीमा भ्युटावर बनेपछि टाढाटाढासम्मको दृश्य नियाल्न सजिलो भएको छ । ३० फिट अग्लो भ्युटावरबाट हिमाल, पहाड र तराई एकैठाउँ बसेर नियाल्न सजिलो भएको हो । यहाँबाट देखिने प्राकृतिक सुन्दरताको दृश्य कैद गर्न कतिपय क्यामेरा सोझ्याएर अनुकूल वातावरण कुरिरहेका हुन्छन् । 

पछिल्लो समयमा भेडेटारको लोकपि्रयता बढ्दै गएको छ । स्थानीय होटल सञ्चालकको भनाइ सही मान्ने हो भने भारतका दार्जिलिङ, सिक्किम, कालेम्पोङ र कस्र्याङबाट भेडेटार घुम्न आउने पर्यटक पनि कम
छैनन् । भेडेटारमा इलाम, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीबाट आएका हौँ भन्दै कुराकानी गरिरहेकाहरू पनि उत्तिकै भेटिन्छन्  । विभिन्न शीर्षकमा पूर्वाञ्चल आइपुगेकाहरु भेडेटार पुगेरमात्र फर्किन्छन् ।
 
धरानेका लागि त पानी पधेँरो भएको छ, भेडेटार । फुर्सद मिल्नासाथ भेडेटार चढिहाल्ने उनीहरु साँझ पर्दै जाँदा घर फर्किरहेका भेटिन्छन् । गर्मी छल्नमात्र होइन, हप्ताभरिको थकान मेट्न भेडेटार नै उनीहरुको रोजाइमा पर्छ । मोरङको विराटनगर, बेलबारी, उर्लाबारी, झापाको दमक र सुनसरीको इटहरी, इनरुवासम्मका मानिस बिहान भेडेटार गएर बेलुका घरै फर्कन्छन् ।

सबैसबैको रोजाइमा परेकाले लोभलाग्दो पर्यटकीय स्थल बन्दै गएको छ, भेडेटार । त्यसो त यो ठाउँ धार्मिकस्थल पनि हो । भेडेटारबाट दुई किलोमिटर पश्चिममा रहेको हिन्दू धर्मावलम्बीका धार्मिक आस्थाकी प्रतिमूर्ति पाथिभरा र एक किमि दक्षिणमा रहेको पाचकन्या मन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ । यहाँ आइपुगेका हिन्दू धर्मावलम्बी पाथिभरा र पाचकन्या मन्दिर जान बिर्संदैनन् । 
कुहिरोले ढाकिएको भेडेटार

धरान-धनकुटे बाटो बन्नुअघि लेकबाट ल्याइने भेडाको खर्क गोठ राखिने यो ठाउँ अहिले व्यवसायीका लागि गरिखाने गतिलो माध्यम बनेको छ । यहाँ आइपुगेकालाई खान, बस्नका लागि चिन्ता छैन । होटल भेडेटार, नाङ्लो, ऐंसेलु, अरुण भ्याली र सेकुवाघरलगायतले आतिथ्य सत्कार गर्न भ्याएकै छन् । वनभोजप्रेमीको रोजाइमा पनि भेडेटार नै परेको छ । शैक्षिक भ्रमण जाने कुरा उठ्नसाथ विद्यार्थी भेडेटार नै जाऊँ न भनिरहेका हुन्छन् ।

विभिन्न साहित्यिक संघ-संस्थाले यही ठाउँमा साहित्यिक कार्यक्रम गरिसकेका छन् । नेपाली गीत-संगीतमा भेडेटारको प्रसंगले पनि ठाउँ पाएकै छ । अनि कथा, कविता, निबन्ध, गजलमा भेडेटारको वर्णन गरिएको पढ्न पाइन्छ । यहाँ विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्थाले भेडेटारमा गोष्ठी, सेमिनार गरिरहेकै हुन्छन् । एकैछिनका लागि साथीको मोटरसाइकल मागेर भेडेटार फन्को मार्न भ्याउने पनि भेटिन्छन् । उपयुक्त ठाउँको खोजी गर्दै भेडेटार आइपुगेका युवायुवती मायापिरतीमा लहसिएपछि संसार बिर्सेको अवस्थामा भेटिनुलाई अचम्म मानिदैन । त्यसैले हिजोआज भेडेटारले नयाँ नाम पाएको छ ‘लभर्स प्वाइन्ट’ भनेर । 

बेलायतका युवराज चाल्स्रले विक्रम संवत् ०४० मा भेडेटार टेकेका थिए । उनले भेडेटार टेकेपछि यो ठाउँलाई चाल्स्र प्वाइन्ट भन्न थालिएको थियो । यही चाल्स्र प्वाइन्टमा नेपाल टेलिभिजन र कान्तिपुर एफएमको टावर राखिएको छ । अनि छ आवाकेन्द्र कृषि र पशु सेवा केन्द्र वन कार्यालय स्वास्थ्यचौकी, प्रहरी चौकी । तसर्थ, यहाँ सधैँ चहलपहल भइरहन्छ । त्यतिमात्र होइन, ताप्लेजुङ तेह्रथुम संखुवासभा र भोजपुरे यही बाटो भएर घर फर्कन्छन् । अनि परदेश लाग्छन् । 

भेडेटार आइपुग्नुभएको तपाईंसँग समय छ भने राजारानी उपत्यका हेर्न जानु भए हुन्छ । बसाइ लम्ब्याउन सक्नुहुन्छ भने गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरे, मिल्के जानैपर्ने ठाउँ हुन् । सहिदको गाउँ छिन्ताङ पनि पुग्नैपर्ने ठाउँ हो ।