मैले ‘दीनदुःखी’ उपनाम लेख्न छाडेको ६ वर्ष भएछ । मैले ६ वर्षअघि जनआस्था साप्ताहिकमा ‘दीनदुःखीको अवसान’ भएको आलेख लेखेको थिएँ । कतिपय साथी, आफन्त र शुभचिन्तकले हिजोआज पनि ‘दीनदुःखी’ जी भनेरै बोलाउनुहुन्छ । जतिबेला म नामको पछि ‘दीनदुःखी’ लेख्थें त्यतिबेला कतिपयलाई ‘दीनदुःखी’ मन नपरेर हटाउन सुझाउँथे भने कतिपयले हिजोआज पनि ‘दीनदुःखी’ भनेरै सम्बोधन गर्छन् । त्यही भएर ०६५ चैतमा काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकमा छापिएको आलेख यहाँहरूसमक्ष पुनः पेस गरेको छु ।
उपनाम लेख्ने लहरै चल्यो गाउँभरि । सँगातीहरू कोही ‘बेहोसी’, कोही ‘विरही’, कोही ‘अभागी’, कोही ‘पागल’ लेख्न थाले । भाइहरू विक्रम चेतनशील राई र यज्ञराज राई दुवैले नामको पछि ‘तिवारी’ लेख्न थाले । ‘तिवारी’ लेखेपछि अरूले यो के लेखेको भनेर सोध्दा दुवैको सामूहिक उत्तर थियो, ‘उपनाम नि ।’
आफूलाई पनि उपनाम राख्ने रहर लाग्यो । अनि आफ्नो न्वारन आफैं गरें– ‘दीनदुःखी’ भनेर । नामको पछि दीनदुःखी लेख्न थालेपछि राई लेख्न छाडें । दीपेन्द्र दीनदुःखी राई लेख्दा एक त नाम लामो हुने, अर्को कुरा राईले जातीय बोध गराउने हुँदा जातिवाद विरोधी र समतावादी सोचले राई लेख्न छाडें । तर, सोचाइ गलत रहेछ ।
आफूले आफैंलाई दीनदुःखी भनेर न्वारन गरेकोप्रति धेरैलाई मन परेन । हुन त कसैले राखेको उपनामसँग कोही सहमत हुनुपर्छ भन्ने छैन । किनकि सबैले दीपेन्द्र दीनदुःखी लेख्नुभन्दा दीपेन्द्र राई लेख्नु अर्थपूर्ण हुन्छ भन्नेको बहुमत थियो । भन्नेले भनिरहे म सुन्दै गएँ । दीनदुःखी भने लेख्न छाडिनँ ।
०६४ वैशाख १ बाट म राजधानी दैनिकको जागिरे भएँ । सोही दैनिकमा कार्यरत कवि तथा पत्रकार आदरणीय दाइ पदम गौतमले राजधानी दैनिकका तात्कालिक सम्पादक जिवेन्द्र सिंखडासँग राजधानीकै कार्यालयमा पहिलोपटक चिनजान गराउनुभयो । राजधानीमा काम गर्न थालेको तीन दिनपछिे जिवेन्द्र दाइले दीनदुःखी उपनाम हटाउन आग्रह गर्नुभयो । म अन्योलमा परें ।
राजधानीमा काम गर्ने भाषा सम्पादकको कार्यतालिका बन्यो । तयार पारिएको कार्यतालिकामा दीनदुःखी नै उल्लेख थियो । जिवेन्द्र दाइले फेरि भन्नुभयो, ‘यो दीनदुःखी नराखेर राई राखौं न ।’ मैले हुन्छ मात्रै भनें । दीनदुःखी हटाउनैपर्ने दबाब आयो । जिवेन्द्र दाइले पुनः ख्यालठट्टा गर्दै भन्नुभयो, ‘कि जागिर छाड्नू कि दीनदुःखी हटाउनू । मलाई जागिर छाड्न मन छैन अनि दीनदुःखी शब्दको पनि अगाध माया छ । अब के गर्ने होला भन्दै सोचमग्न थिएँ । त्यही अवस्थामा जिवेन्द्र दाइले राजधानी छाड्ने पक्कापक्की भइसकेको थियो । जसले मलाई काम गर्ने अवसर दिनुभयो उहाँले नै राजधानी दैनिक छाड्ने खबरले दुःख त पक्कै लाग्यो । उहाँले राजधानी छाड्नुभएपछि मैले जागिर पनि छाड्नु परेन दीनदुःखी नलेख्नू भन्ने दबाब पनि आएन । लाग्यो– मैले ठूलै युद्ध जितें ।
गोरखापत्र दैनिकका तात्कालिक समाचार सम्पादक लक्ष्मी गुरागाईंसँग परिचय साटासाट गर्दा उहाँले पनि दीनदुःखी मन पराउनु भएन । उहाँले पनि दीनदुःखी उपनाम हटाउने आग्रह गर्नुभयो ।
सिंखडा र गुरागाईंजस्तै मलाई शुभ चिताउने अरू थुप्रैलाई दीनदुःखी शब्द मन परेको थिएन । सबैले हटाउन आग्रह गर्थे । कतिपयले त उपनामअनुसारको काम हुन्छ पनि भने । त्यसको प्रतिकार गर्दै मैले पनि कसैको अभिव्यक्ति पैंचो लिँदै भन्ने गर्थें, ‘गुलाफलाई गन्धेझारको फूल भनेर नाम राखे पनि आफ्नो प्राकृतिक स्वभावअनुसारको सौन्दर्य र वासना दिन छाड्दैन गुलाफले ।’ मैले दिएको उत्तरले कसैको चित्त बुझेको थिएन ।
दीनदुःखी लेख्न थालेको ०६५ मा १८ वर्ष भइसकेको थियो । पछिल्लो समय धेरै शुभचिन्तकले दीनदुःखी उपनाम हटाउन खुलेरै आग्रह गरे । तर, उहाँहरूको आग्रहलाई मैले कहिल्यै सुनिनँ ।
मैले राखेको दीनदुःखी उपनामप्रति किन यतिधेरैलाई आपत्ति ? यति धेरैलाई मन नपरेको मेरो उपनामलाई मैले भने प्रेम गरिरहें । १८ वर्षको अवधिमा कतिपय अवस्थामा चाहेर पनि मैले दीनदुःखी लेख्न पाइनँ । त्यतिबेला म विचलित भएको थिएँ । सूचना विभागबाट वितरण गरिने रेडकार्डमा दीनदुःखी लेख्न नपाउँदा मन कुँडिएको थियो । हरिहर विरही, विष्णु निष्ठुरी, प्रेम कैदी, शिव गाउँलेहरूको रेडकार्डमा त उपनाम नै उल्लेख छ, मैलेचाहिँ किन लेख्न नपाउने भन्दा त्यहाँका कर्मचारीले मेरो कुरै सुनेनन् ।
एकताका राई (आफ्नो थर) ले जातीय बोध गराउने हुनाले जातिवाद विरोधी म अहिले आप्mनो जातिप्रति गौरव गर्छु । जातीय पहिचानविनाको मानिस हुनै सक्दैनन् । मलाई पहिचानविनाको मानिस बन्ने रहर पनि छैन । मैले राखेको दीनदुःखी उपनाम मन नपरेर पहिलेदेखि अहिलेसम्म पनि हटाउनुुस् भन्नु हुने तपाईं सबैलाई धन्यवाद । अन्ततः तपाईंहरूकै जित भो । मैले हारें । म हारेर पनि खुसी छु । अबदेखि म दीपेन्द्र दीनदुःखी होइन दीपेन्द्र राई लेख्न/भन्न गौरव गर्छु ।
raideependra@gmail.com
(साभार : जनआस्था साप्ताहिक, २०६५)
No comments:
Post a Comment