Sunday, August 10, 2014

अनुसन्धाता गायिका

(दीपेन्द्र राई)

सस्तो लोकप्रियताका लागि मरिहत्ते गर्नेको बाहुल्य छ । गीतिएल्बम त के एउटा गीत रेकर्ड गराउन पाएको छैन, प्रत्येक सञ्चार गृह धाएर प्रचार–प्रसार गर्न लागिपर्नेको बाहुल्य देखिएकै हो । उनीहरूलाई विषयगत दक्षतासम्बन्धी खासै वास्ता छैन । केवल प्रचार–प्रसार भए पुग्छ । डाँडामा पानी पर्दा उर्लिने खहरेखोला पानी पर्न छाडेपछि फेरि सुकिहाल्ने त हो नि ।

गायिका झुमा लिम्बूलाई सस्तो लोकप्रियताको पछि लाग्नु छैन । गायिका लिम्बूले पानी पर्दा उर्लिने खहरेखोलाको आयु छोटो हुन्छ भन्ने राम्ररी बुझेकी छन् । आफूले गरेको कामको प्रचार–प्रसार गर्न आवश्यक नठान्ने उनी चुपचाप आफ्नै काममा लागिपरेकी छन् । निकासको होइन मुहानको पानी पिउन मन पराउने उनी सधैँ मुहानको पानी खोजीमा आफ्नैपाराले लागिपरेको बताउँछिन् । कति सुन्दर अभिव्यक्ति । निकासको पानी प्रदूषित हुन सक्छ, त्यसले स्वास्थ्यलाई हानि–नोक्सानी पुर्या
उँछ । सस्तो बेसाहाले पखाला चलाउँछ भनेझैँ गायिका लिम्बू सस्तो बेसाहाको कुरा गर्दा मात्रै पनि तीन हात पर बस्न मन पराउँछिन् ।

बाँच्न पाए हाँस्न सकिन्छ । अर्थपूर्ण जीवन जिउने रहर कसलाई नहोला ? सबैलाई यस्तो अवसर कहाँ मिल्छ र ? तर, ढुंगेसाँघु–८ ताप्लेजुङकी झुमा लिम्बूलाई त्यो अवसर मिलेको छ । उनको दोस्रो गीतिएल्बम ए ! साइँला विमोचन समारोहमा साहित्यकार दाहाल यज्ञनिधिले भनेका थिए, ‘विमोचित गीतिएल्बममा समेटिएका सबै गीत दुईपटक सुन्दा अरुणा लामा बौरेको महसुस भयो ।’ दाहालले नेपाली गीत–संगीतमा अरुणा लामाको अभावपूर्ति झुमाले गर्ने विश्वास व्यक्त गरे । सोही समारोहमा उनले झुमालाई अरुणा लामाको संज्ञासमेत दिए ।

प्रतिउत्तरमा गायिका लिम्बूले भनेकी थिइन्, ‘माया गरेर अरुणा लामाको संज्ञा दिनुभएकोमा धन्यवाद । तर, म अरुणा लामा नभएर झुमा लिम्बूको परिचय बनाउन चाहन्छु ।’ साँच्चै आफूद्वारा व्यक्त आफ्नै अभिव्यक्ति उनले आत्मसात् गरेकी छन् । हो, कसैको ‘फोटोकपी’ प्रतिभाका रूपमा परिचय बनाउनुभन्दा आफू आफैँजस्तो भएर परिचय बनाउनुको आनन्द बेग्लै हुन्छ । उनी नेपाली गीत–संगीतमा मौलिक पहिचान बनाउन उद्यत छन् ।

मौलिक पहिचान बनाउने उनले संगीतसम्बन्धी कक्षा लिँदै आएकी छन् । उनी संगीतज्ञ अम्बर गुरुङको विद्यार्थीसमेत हुन् । गुरुङको विद्यार्थी हुने रहर धेरैले साँचेका होलान् । साँच्नेजत्तिको रहर पूरा भएको छैन । त्यस अर्थमा थोरै भाग्यमानी विद्यार्थीमध्ये झुमा लिम्बू पनि एक हुन् । गुरुङ पनि झुमासँगै निकै आशावादी छन् । गुरुङद्वारा प्रशिक्षित सबैले नेपाली गीत–संगीतमा पृथक पहिचान बनाएका छन् । झुमा पनि पृथक पहिचान बनाउने ध्याउन्नमा छिन् ।

बितेका चार वर्ष उनी निकै व्यस्त रहिन् । उनका कतिपय साथीलाई गीतिएल्बम निकाल्न भ्याइनभ्याई होला, कोही विदेशसम्म पुगेर गीत गाउने दौडधुप गरिरहेका होलान् तर झुमा कसैको वास्ता नगरी कहिले इलामको माङ्सेबुङ पुगेकी हुन्थिन् भने कहिले तेह्रथुममा भेटिइन्थिन् । त्यतिमात्रै होइन, काठमाडौंबाट फुत्त निस्केर झापा, पाँचथर र ताप्लेजुङका गाउँ–गाउँका लिम्बू संस्कृतिसँग जानकार वृद्धवृद्धासँग अन्तर्वार्ता लिन भ्याएकी उनी यही सिलसिलामा सिक्किमसम्म पुग्न भ्याइन् ।

नेपाली गीत–संगीतमा लोकसंगीतको काम भयो । आधुनिक, पप र ज्याज संगीतको अध्ययन गरिएको छ तर नेपालका नेपालीले जन्मेदेखि मृत्युपर्यन्त गाएको, बजाएको सम्बन्धित जातिकोे सांस्कृतिक संगीतसम्बन्धी प्रभावकारी काम भएको छैन । त्यसैले उनी लिम्बू संगीतमार्फत लिम्बू सभ्यता खोज्ने लामो यात्रामा निस्किन् ।

चारवर्षे यात्राले मूर्त रूप लिँदै गएको छ । उनले यो अवधिमा खासाम (सभ्यता) नामक गीतिएल्बम तयार पारेकी छन् । चार–चार वर्ष लगाएर तयार गरिएको सो गीतिएल्बम तयारीको उद्देश्य के होला ? झुमाको दाबी छ, ‘म संगीतको विद्यार्थी भएकाले आफू जन्मेर हुर्केको संगीतलाई जीवन्त राख्ने र आफूभन्दा पछिल्लोे पुस्ता (जो संगीतका विद्यार्थी)लाई सन्दर्भ–सामग्री होस् भनेर मात्रै होइन नेपालका गीत–संगीतमध्ये यो संगीतको छुट्टै विशेषता र पहिचान छ भनेर जानकारी दिने प्रयत्न गरेकी छु । यो लिम्बू जातिका लागि मात्रै नभएर समग्र नेपाली र गैरनेपालीका लागि समेत दस्तावेज हुन सक्छ ।’
आफन्तसँग दायाँबाट दोस्रो झुमा ।

खासाममा लिम्बू जातिको गायन सभ्यतालाई प्राथमिकतासाथ उजागर गरिएको छ । लिम्बूको धार्मिक र सांस्कृतिक पक्षलाई संगीतमार्फत उजागर गर्नु सामान्य कुरा होइन । चार वर्षको निरन्तर अध्ययन र अनुसन्धानबाट गायिका झुमालाई समेत ज्ञात भयो– लिम्बू जातिको संगीत गायनप्रधान रहेछ । लिम्बू संस्कृतिसम्बन्धी अनभिज्ञलाई खासाम गौरव गर्नलायक दस्तावेज हो । पुस्तान्तरसँग भाषा, संस्कार, संस्कृति लोप हुँदै गएको बेला झुमाले गरेको यो काम प्रशंसनीय मानिन्छ । लिम्बू संगीतमार्फत लिम्बू सभ्यता जान्न पाउनु नै खासामको सफलता हो ।

लिम्बूको संगीतको उठान मुन्धुम गायनबाट सुरु भएर अहिलेको समसामयिक गायनजस्तै पालाम (धाननाच) सम्मको बहावलाई शाब्दिक र सांगीतिक रूपमा प्रस्ट्याउन खोज्नु सजिलो काम होइन । यस अर्थमा गायिका झुमाले लिम्बू जातिको सम्बद्र्धनका लागि लोभलाग्दो काम गरेकी छन् ।

खासामा सात भाका समेटिएका छन् । जसमा सृष्टि मुन्धुम पहिलो नम्बरमा समेटिएको छ । यस मुन्धुममा ब्रह्मान्ड, धर्ती, आकाश, जल–जमिन, कीटपतंग, वनस्पति, जन्तु, जनावर, मनुष्य चोलाको सृष्टि र विकास कसरी भएको थियो भनेर प्रस्ट्याउन खोजिएको छ । मनुष्य चोला र सभ्यता के–कस्ता संकट र व्यवधानसँग जुध्दै यहाँसम्म आयो भन्ने जीवनका दार्शनिक पक्षलाई सृष्टि मुन्धुमभित्र मुन्धुमका रूपमा गाइएको छ ।

यसैगरी, कुनै मानिसको अकालमा मृत्यु भएपछि अतृप्त आत्मा जसलाई लिम्बू भाषमा ‘सोघा’ भनिन्छ, बनेर गाउँघरका मानिसलाई दुःख दिन थाले सोघालाई फकाइ–फुलाइ, हकार–पकार गरी, उसले पाउने सिदा दिएर उसको बाटो लगाउँदा गाइने सोघानाप्मा मुन्धुम गाइन्छ । खासामलाई सोघानाप्मा मुन्धुमले जीवन्त बनाएको छ । लिम्बू जातिमा आफ्नो प्यारो मानिसको मृत्यु हुँदा सि?मेरिङ अर्थात् शोक व्यक्त गर्ने गरिन्छ । सि?मेरिङ गाउँदा सुरुमा मृत्यु भएको अस्वीकार, त्यसपछि मृत्यु भएकोमा आवेश, मेरो बच्चालाई बचाइदेऊ भन्दै अनुनय विनय गर्ने, आफ्नो बच्चाको मृत्युका असर र अन्त्यमा मृत्यु शाश्वत छ भनी स्वीकार गर्ने चरणलाई सिमेरिङ मुन्धुममा गाइन्छ । यो लिम्बू जातिको विशिष्ट सांस्कृतिक पक्ष हो । जुन मुन्धुम खासाममा सुन्न पाइन्छ ।

खासाममा हाक्पारा गायन पनि समेटिएको छ । लिम्बू जातिको गायन परम्परा हाक्पारेबाट सुरु भएका मानिन्छ । यसमा मनुष्य चोला धर्तीमा विकास भएपछि उसले आफ्नो जीवनलाई उन्नत बनाउन उज्ज्वल भविष्य र जीवनको कामना गरेको हाक्पाराभित्र मुन्धुमका रूपमा गाउने गरिन्छ । खासाममा हाक्पारा मात्रै होइन ख्याली पनि समेटिएको छ । लिम्बू जातिका मानिस भेट हुँदा कवितात्मक रूपमा कुराकानी गर्दै चिनजान गर्ने, साइनो केलाउने चलन छ । सो जातिका युवायुवतीले ख्यालीकै भाकामा साइनो केलाउने र साइनो लागे ढोगभेट र नलागे धान नाच्ने प्रस्ताव राख्छन् । जुन परम्परा आजसम्म कायमै छ । जसले खासामलाई बलशाली बनाएको छ ।

यौवन र मायापिरती मानव जीवनको शाश्वत पक्ष हुन् । लिम्बू जातिले यौवनमा माया र पिरतीका शिष्ट गाथा लिम्बू संस्कृति पालाम गाउँदै, धान नाच्दै मायाप्रीतिको मुन्धुम गाथा गाउने गर्छन् । खासाममा पनि पालाम गायनले ठाउँ पाएकै छ ।

खासाममा प्रयोग भएका बाजा मुन्धुममा आधारित र पूर्वी नेपालका चलनचल्तीमा रहेका लोकबाजा हुन् । खासाममा पात (पेपेनेप्पा), च्याब्रुङ (के), थाल, बिनायो (मिक्लाकोम), यलम्बर (फातुङ), मुर्चङ्गा (फेङ्कोम), झ्याम्टा, एकतारे लोकबाजा सुन्न सकिन्छ ।

(प्रकाशित मिति : २०७० पुस ३०) 

No comments:

Post a Comment