Friday, August 15, 2014

मुखले लेख्ने गीतकार

(दीपेन्द्र राई)

टीका बम्जन
नगरकोट सुतिसकेको थियो । रिपिटर टावर सुरक्षार्थ नेपाली सेना भने कर्तव्य निर्वाह गरिरहेका थिए । एक्कासि अन्धाधुन्ध गोली चल्यो । जवाफी कारबाहीस्वरूप जागा रहेका सेनाले पनि बन्दुक पड्काए । बन्दुक दोहोरो पड्किरह्यो । निद्रा खल्बलिएपछि १२ मंसिर ०५९ मा फेरि निदाउन सकेन नगरकोट । 

अघिल्लो रात अनिदोमै बिताएको नगरकोट भोलिपल्ट मनभरि डर पालेर सुतिसकेको थियो । रिपिटर टावर सुरक्षार्थ सेना भने जागै । कर्तव्य निर्वाह गर्नेक्रममा उनीहरूबीच आलोपालो चलिरहेको थियो । त्यहीक्रममा एक सिपाही रिपिटर टावरको पेरिमिटरमा लडे । पोस्ट बनाउनेक्रममा चिप्लेर लडेका उनी करेन्ट बगिरहेको तारमाथि परे । उपचारका लागि तत्काल उनलाई अस्पताल पुर्याइयो । उपचारमा संलग्न चिकित्सकले दुवै हात काटेमा उनी बाँच्ने उपाय सुझाए । र, काटियो उनको दुवै हात । 

दुवै हात काटिएपछि उनी बन्दुक बोक्न नसक्ने भए । धादिङको बैरेनीमा बन्दुक पड्काउन ११ महिना खर्चिएका उनीसँग अब बन्दुक बोकेको र पड्काएको ‘फ्ल्यासब्याक’ मात्र बाँकी छ । 

सेनामा भर्ना भएको ३६ महिनासम्म उनले थुप्रै ठाउँमा थुप्रैपटक बन्दुक पड्काए । बन्दुक पड्काउन जानेक्रममै अस्पताल भर्ना भएका उनी १३ वर्ष अघिदेखि अस्पतालमै छन् । कर्तव्य निर्वाह गर्दागर्दै गरिखाने हात गुमे पनि उनलाई बिस्मात् छैन । हात गुमाए पनि रत्तिभर बिस्मात् नहुनुका कारण प्रस्ट पार्दै उनी भन्छन्, ‘छोरालाई नेपाली सेना भएको देख्न चाहने बाबुआमाको सपना फुलाउन मैले कन्जुस्याइँ गरिनँ ।’

बन्दुकसँग सम्बन्धविच्छेद भएको १३ वर्ष भइसकेको छ । बन्दुक समाउने हात गुमे पनि उनको घनिष्ठ सम्बन्ध कलमसँग जोडियो । सम्बन्ध त जोडियो तर कलम कसरी समाउने ? उनले १८ दिनसम्म लगातार खुट्टाले लेख्न अभ्यास गरे । तर, सकेनन् । भने, ‘हातले लेख्न नसक्ने शारीरिक रूपमा अशक्तले खुट्टाले लेख्दै आएका छन्, उनीहरूभन्दा फरक देखिन मैले मुखले लेख्न अभ्यास गरेँ । चार महिनासम्मको निरन्तर अभ्यासपछि हातले लेखेजसरी मुखले सहज रूपमा लेख्न अभ्यस्त भएँ ।’

मुखले लेख्न अभ्यस्त आफूले पहिलोपटक कविता लेखेको उनले सुनाए । कविता र गीत दुवै लेख्ने उनले पछिल्लो समयमा कविता लेख्न छाडे । जागिर खानेक्रममा बन्दुक बोकेर देशको विभिन्न ठाउँ पुगेका उनी हात गुमाउनुअघि सिर्जनशील थिएनन् । साहित्यमा रुचि थिएन रे । हात गुमाउनु र मुखले लेख्न अभ्यस्त हुनुले फुर्सदको समय कसरी सदुपयोग गर्ने भन्ने उनलाई पीर भएन । उपाय सुझ्यो– अन्जानमै भए पनि साहित्य सिर्जना गर्नतिर लाग्ने । लेख्दै जाँदा लेख्ने लत बस्यो । लेख्ने लत बसेपछि व्यर्थमै बित्ने समय सदुपयोग भयो । त्यसो भए अहिलेसम्म कति गीत लेखे होलान् उनले ? भने, ‘एक सय ५० भन्दा बढी ।’ 

लेखिएको गीत डायरीमै सीमित रहेन । सार्वजनिक भए । उनले लेखेको गीत कर्णदास, ईश्वर अमात्य, जगदीश समाललगायतका गायकको आँखा पर्यो । गाउनका लागि अनुमति माग्ने थुप्रै भए । भनेपछि कति गीत रेकर्ड भए होलान् त उनको ? ‘५० नाघ्यो नि हौ सर,’ पूर्वेली लवजमा उनले भने । उनैले लेखेका गीतको सँगालोस्वरूप तीन गीतिएल्बम सार्वजनिक भइसकेको छ । गीतकारका रूपमा उनलाई थुप्रै संघ–संस्थाले सम्मान गरिसकेका छन् । आफूसम्बद्ध संस्थाले पनि उनलाई कलाकारका रूपमा सम्मान गर्ने गरेको उनले बताए । 

देश, काल, परिस्थितिले सिर्जेको यथार्थता गीतिभावमा उतार्नु उनको लेखनको विशेषता हो । गीतिलेखनको अलावा उनले पाँच वर्षसम्म शास्त्रीय गायनसम्बन्धी तालिम लिन पनि भ्याएका छन् । उनले अस्पताल बसाइको समय यसरी नै सदुपयोग गरिरहेका छन् ।

गीत लेख्न तेस्रो व्यक्तिको सहयोग नचाहिए पनि अरू सबै काम उनका लागि सहयोगीमार्फत सम्भव भएको छ । अस्पतालमा उनको हेरचाहका लागि एकजना सहयोगीको व्यवस्था सरकारले नै गरेको छ । सहयोगीमार्फत उनी हप्तामा दुईपटक नुहाउँछन् । खाना खानुदेखि दाँत माझ्नु र बाथरुममा गरिने सबै काम सहयोगीमार्फत नै सम्भव भएको हो । 

आफ्नो नागरिकताभन्दा उनी दुई वर्ष जेठा छन् । नागरिकतामा उल्लेख भएको जन्ममितिभन्दा दुई वर्ष कान्छो उनी २०३७ कात्तिक १६ गते जन्मे पनि जागिर खानका लागि उमेर कम भएपछि दुई वर्ष बढाउनुपरेको थियोे । पोखराबाट भर्ती भएका उनको सुरुको तनखा दुई हजार दुई सय रुपैयाँ थियो । अहिले त थुप्रै गुना बढेको छ । त्यही तनखाले आफू र परिवार पालेका उनले माध्यमिक तहसम्मको पढाइ पार लगाएका छन् ।

कर्तव्य नै बन्दुक बोक्ने र पड्काउने भए पनि अहिले उनको दिनचर्या नितान्त भिन्नखालको छ । एकताका शत्रुलाई कसरी परास्त गर्ने भन्ने ध्याउन्न हुन्थ्यो भने अहिले उनको ध्यान कसरी राम्रो गीत लेख्ने भन्ने छ । हिमचिम पनि गीत–संगीतमै भिजेकासँग बाक्लो छ । 

बाबुआमाको सपना फुलाउन कत्ति पनि कन्जुस नगरेका दुई छोरा र एक छोरीकी बाबुको गाउँमै डोजो खोलेर कराते खेलाउने सपना भने फुल्न पाएन । जागिर खानुअघि सितोरिया करातेमा ‘ब्ल्याकबेल्ट’ गरेका उनको त्यो सीप पनि अब काम नलाग्ने भएको छ । परिआउँदा पड्काउनुपर्ने बन्दुक अब उनको हातबाट पड्किने अब । पुख्र्याैली घर ओखलढुंगा भए पनि राजघाट–२ सर्लाहीबाट नागरिकता पाएका टीका बम्जनले नयाँसडकस्थित त्रि–चन्द्र मिलिटरी अस्पताल चेस्ट वार्डको २ नम्बर शय्याबाट जीवनको अवयव बताइरहँदा घाम घर फर्किसकेको थियो । 

raideependra@gmail.com

No comments:

Post a Comment