Sunday, August 31, 2014

दीनदुःखीको अवसान

मैले ‘दीनदुःखी’ उपनाम लेख्न छाडेको ६ वर्ष भएछ । मैले ६ वर्षअघि जनआस्था साप्ताहिकमा ‘दीनदुःखीको अवसान’ भएको  आलेख लेखेको थिएँ । कतिपय साथी, आफन्त र शुभचिन्तकले हिजोआज पनि ‘दीनदुःखी’ जी भनेरै बोलाउनुहुन्छ । जतिबेला म नामको पछि ‘दीनदुःखी’ लेख्थें त्यतिबेला कतिपयलाई ‘दीनदुःखी’ मन नपरेर हटाउन सुझाउँथे भने कतिपयले हिजोआज पनि ‘दीनदुःखी’ भनेरै सम्बोधन गर्छन् । त्यही भएर ०६५ चैतमा काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकमा छापिएको आलेख यहाँहरूसमक्ष पुनः पेस गरेको छु ।

(दीपेन्द्र राई)

उपनाम लेख्ने लहरै चल्यो गाउँभरि । सँगातीहरू कोही ‘बेहोसी’, कोही ‘विरही’, कोही ‘अभागी’, कोही ‘पागल’ लेख्न थाले । भाइहरू विक्रम चेतनशील राई र यज्ञराज राई दुवैले नामको पछि ‘तिवारी’ लेख्न थाले । ‘तिवारी’ लेखेपछि अरूले यो के लेखेको भनेर सोध्दा दुवैको सामूहिक उत्तर थियो, ‘उपनाम नि ।’ 

आफूलाई पनि उपनाम राख्ने रहर लाग्यो । अनि आफ्नो न्वारन आफैं गरें– ‘दीनदुःखी’ भनेर । नामको पछि दीनदुःखी लेख्न थालेपछि राई लेख्न छाडें । दीपेन्द्र दीनदुःखी राई लेख्दा एक त नाम लामो हुने, अर्को कुरा राईले जातीय बोध गराउने हुँदा जातिवाद विरोधी र समतावादी सोचले राई लेख्न छाडें । तर, सोचाइ गलत रहेछ ।
आफूले आफैंलाई दीनदुःखी भनेर न्वारन गरेकोप्रति धेरैलाई मन परेन । हुन त कसैले राखेको उपनामसँग कोही सहमत हुनुपर्छ भन्ने छैन । किनकि सबैले दीपेन्द्र दीनदुःखी लेख्नुभन्दा दीपेन्द्र राई लेख्नु अर्थपूर्ण हुन्छ भन्नेको बहुमत थियो । भन्नेले भनिरहे म सुन्दै गएँ । दीनदुःखी भने लेख्न छाडिनँ ।

०६४ वैशाख १ बाट म राजधानी दैनिकको जागिरे भएँ । सोही दैनिकमा कार्यरत कवि तथा पत्रकार आदरणीय दाइ पदम गौतमले राजधानी दैनिकका तात्कालिक सम्पादक जिवेन्द्र सिंखडासँग राजधानीकै कार्यालयमा पहिलोपटक चिनजान गराउनुभयो । राजधानीमा काम गर्न थालेको तीन दिनपछिे जिवेन्द्र दाइले दीनदुःखी उपनाम हटाउन आग्रह गर्नुभयो । म अन्योलमा परें । 

राजधानीमा काम गर्ने भाषा सम्पादकको कार्यतालिका बन्यो । तयार पारिएको कार्यतालिकामा दीनदुःखी नै उल्लेख थियो । जिवेन्द्र दाइले फेरि भन्नुभयो, ‘यो दीनदुःखी नराखेर राई राखौं न ।’ मैले हुन्छ मात्रै भनें । दीनदुःखी हटाउनैपर्ने दबाब आयो । जिवेन्द्र दाइले पुनः ख्यालठट्टा गर्दै भन्नुभयो, ‘कि जागिर छाड्नू कि दीनदुःखी हटाउनू । मलाई जागिर छाड्न मन छैन अनि दीनदुःखी शब्दको पनि अगाध माया छ । अब के गर्ने होला भन्दै सोचमग्न थिएँ । त्यही अवस्थामा जिवेन्द्र दाइले राजधानी छाड्ने पक्कापक्की भइसकेको थियो । जसले मलाई काम गर्ने अवसर दिनुभयो उहाँले नै राजधानी दैनिक छाड्ने खबरले दुःख त पक्कै लाग्यो । उहाँले राजधानी छाड्नुभएपछि मैले जागिर पनि छाड्नु परेन दीनदुःखी नलेख्नू भन्ने दबाब पनि आएन । लाग्यो– मैले ठूलै युद्ध जितें ।


गोरखापत्र दैनिकका तात्कालिक समाचार सम्पादक लक्ष्मी गुरागाईंसँग परिचय साटासाट गर्दा उहाँले पनि दीनदुःखी मन पराउनु भएन । उहाँले पनि दीनदुःखी उपनाम हटाउने आग्रह गर्नुभयो ।

सिंखडा र गुरागाईंजस्तै मलाई शुभ चिताउने अरू थुप्रैलाई दीनदुःखी शब्द मन परेको थिएन । सबैले हटाउन आग्रह गर्थे । कतिपयले त उपनामअनुसारको काम हुन्छ पनि भने । त्यसको प्रतिकार गर्दै मैले पनि कसैको अभिव्यक्ति पैंचो लिँदै भन्ने गर्थें, ‘गुलाफलाई गन्धेझारको फूल भनेर नाम राखे पनि आफ्नो प्राकृतिक स्वभावअनुसारको सौन्दर्य र वासना दिन छाड्दैन गुलाफले ।’ मैले दिएको उत्तरले कसैको चित्त बुझेको थिएन । 

दीनदुःखी लेख्न थालेको ०६५ मा १८ वर्ष भइसकेको थियो । पछिल्लो समय धेरै शुभचिन्तकले दीनदुःखी उपनाम हटाउन खुलेरै आग्रह गरे । तर, उहाँहरूको आग्रहलाई मैले कहिल्यै सुनिनँ ।

मैले राखेको दीनदुःखी उपनामप्रति किन यतिधेरैलाई आपत्ति ? यति धेरैलाई मन नपरेको मेरो उपनामलाई मैले भने प्रेम गरिरहें । १८ वर्षको अवधिमा कतिपय अवस्थामा चाहेर पनि मैले दीनदुःखी लेख्न पाइनँ । त्यतिबेला म विचलित भएको थिएँ । सूचना विभागबाट वितरण गरिने रेडकार्डमा दीनदुःखी लेख्न नपाउँदा मन कुँडिएको थियो । हरिहर विरही, विष्णु निष्ठुरी, प्रेम कैदी, शिव गाउँलेहरूको रेडकार्डमा त उपनाम नै उल्लेख छ, मैलेचाहिँ किन लेख्न नपाउने भन्दा त्यहाँका कर्मचारीले मेरो कुरै सुनेनन् । 

एकताका राई (आफ्नो थर) ले जातीय बोध गराउने हुनाले जातिवाद विरोधी म अहिले आप्mनो जातिप्रति गौरव गर्छु । जातीय पहिचानविनाको मानिस हुनै सक्दैनन् । मलाई पहिचानविनाको मानिस बन्ने रहर पनि छैन । मैले राखेको दीनदुःखी उपनाम मन नपरेर पहिलेदेखि अहिलेसम्म पनि हटाउनुुस् भन्नु हुने तपाईं सबैलाई धन्यवाद । अन्ततः तपाईंहरूकै जित भो । मैले हारें । म हारेर पनि खुसी छु । अबदेखि म दीपेन्द्र दीनदुःखी होइन दीपेन्द्र राई लेख्न/भन्न गौरव गर्छु । 

raideependra@gmail.com

(साभार :  जनआस्था साप्ताहिक, २०६५)

Tuesday, August 26, 2014

म कवि अनि मात्रै लाहुरे

कवि जगत नवोदित १३ वर्षदेखि बेलायत बस्दै आएका छन् । बेलायती सेनामा सम्बद्ध नवोदित बेलायत बसेर साहित्य सिर्जनामा लागिपरेकामध्ये उम्दा कवि हुन् । उनै कनि जगत नवोदितसँग दीपेन्द्र राईले गरेको कुराकानी :

कलम बलियो हुन्छ कि बन्दुक ? तपार्इंले दुवैको प्रयोग गरिरहनुभएको छ ।
म दुवैलाई आ–आफ्नो ठाउँमा शक्तिशाली मान्छु । विद्यालयमा हुने वादविवादमा म जहिल्यै कलम बलियो भनेर तर्क गर्थें तर संसार बुझ्दै जाँदा धेरै यस्ता परिघटना छन्, जहाँ
कलमले गर्न नसकेका काम बन्दुकले गरेका छन् ।

कलम र बन्दुकबीच फ्युजन भएको हो कि दुवैबीच प्रतिस्पर्धा चल्दै छ । कि शत्रुतापूर्ण सम्बन्ध छ ?
बन्दुक चलाउनु मेरो कर्म हो । कलम चलाउनु पहिलो रहर अनि अब बिस्तारै धर्म पनि बन्दै गएको महसुस गरेको छु । यिनीहरूबीचको तात्त्विक भिन्नता छर्लंगै देखिए पनि गहिरिएर हेर्दा मिलनबिन्दु पनि छ । मभित्र दुवैले आ–आफ्नो धर्म निर्वाह सापेक्षित ढंगले गरिरहेका छन् । 

तपाईं कवि लाहुरे कि लाहुरे कवि ?
म लाहुरे हुनुपूर्व नै कविताको धङधङीले छोइएको थिएँ । यसर्थ, म कवि अनि लाहुरे भन्नु युक्तिसंगत ठान्छु । 

मार्कपोलो र चिनियाँयात्री ह्वेन साङले लेखेको यात्रावर्णन पढ्दा अहिलेको नेपाल र भारतको इतिहास बुझ्न महत्त्वपूर्ण स्रोत बनेको छ । जागिरकै सन्दर्भमा तपार्इं पनि विभिन्न देश पुग्नुभएको छ । तर, नियात्रा लेख्नुभएको छैन । किन कविता, गीत र मुक्तकमा मात्रै सीमित रहनुभएको ? 
आंशिक रूपमा त मेरो नियात्रा पर्वते (बेलायतबाट प्रकाशित मासिक) को ‘मेरो स्तम्भ’ मा प्रकाशित छन् । संग्रहका रूपमा भने अलि समय पर्खनैपर्ने भएको छ । कारण जीवन धेरै हतारोमा बाँचिरहेको छ र मलाई हतारमा काम गरेर फुर्सदमा नपछुताउँ लागेको छ । 

नेपाली साहित्यले ‘डायोस्पोरा’ लाई कसरी हेरेको छ ?
वास्तवमै भन्नुपर्दा नेपाली साहित्यले ‘डायोस्पोरा’ को कर्मकाण्डलाई सही रूपमा बुझ्न बाँकी छ । केहीले बुझ्ने प्रयत्नसम्म गरेका छन्, त्यो केवल अन्धाले हात्ती छामेर अड्कल काटेबराबर छ । धेरै काम हुन बाँकी छ, यो खण्डमा । 

नेपाली साहित्यले आफ्नो चिन्तन र शैली परिवर्तन नगर्ने हो भने नेपालबाहिरका सर्जकले कस्तो कदम चाल्लान् ? 
अबको दस वर्षपछि नेपाली साहित्यलाई विश्व परिवेशमा पुर्यायाउन नेपालबाहिरका स्रष्टा र सर्जकले भूमिका खेल्नेछन् र मूलधारको साहित्य भनिनेहरू ‘डायोस्पोरा’ को साहित्यमा मिल्न आउनेछन् । 

Friday, August 15, 2014

मुखले लेख्ने गीतकार

(दीपेन्द्र राई)

टीका बम्जन
नगरकोट सुतिसकेको थियो । रिपिटर टावर सुरक्षार्थ नेपाली सेना भने कर्तव्य निर्वाह गरिरहेका थिए । एक्कासि अन्धाधुन्ध गोली चल्यो । जवाफी कारबाहीस्वरूप जागा रहेका सेनाले पनि बन्दुक पड्काए । बन्दुक दोहोरो पड्किरह्यो । निद्रा खल्बलिएपछि १२ मंसिर ०५९ मा फेरि निदाउन सकेन नगरकोट । 

अघिल्लो रात अनिदोमै बिताएको नगरकोट भोलिपल्ट मनभरि डर पालेर सुतिसकेको थियो । रिपिटर टावर सुरक्षार्थ सेना भने जागै । कर्तव्य निर्वाह गर्नेक्रममा उनीहरूबीच आलोपालो चलिरहेको थियो । त्यहीक्रममा एक सिपाही रिपिटर टावरको पेरिमिटरमा लडे । पोस्ट बनाउनेक्रममा चिप्लेर लडेका उनी करेन्ट बगिरहेको तारमाथि परे । उपचारका लागि तत्काल उनलाई अस्पताल पुर्याइयो । उपचारमा संलग्न चिकित्सकले दुवै हात काटेमा उनी बाँच्ने उपाय सुझाए । र, काटियो उनको दुवै हात । 

दुवै हात काटिएपछि उनी बन्दुक बोक्न नसक्ने भए । धादिङको बैरेनीमा बन्दुक पड्काउन ११ महिना खर्चिएका उनीसँग अब बन्दुक बोकेको र पड्काएको ‘फ्ल्यासब्याक’ मात्र बाँकी छ । 

सेनामा भर्ना भएको ३६ महिनासम्म उनले थुप्रै ठाउँमा थुप्रैपटक बन्दुक पड्काए । बन्दुक पड्काउन जानेक्रममै अस्पताल भर्ना भएका उनी १३ वर्ष अघिदेखि अस्पतालमै छन् । कर्तव्य निर्वाह गर्दागर्दै गरिखाने हात गुमे पनि उनलाई बिस्मात् छैन । हात गुमाए पनि रत्तिभर बिस्मात् नहुनुका कारण प्रस्ट पार्दै उनी भन्छन्, ‘छोरालाई नेपाली सेना भएको देख्न चाहने बाबुआमाको सपना फुलाउन मैले कन्जुस्याइँ गरिनँ ।’

बन्दुकसँग सम्बन्धविच्छेद भएको १३ वर्ष भइसकेको छ । बन्दुक समाउने हात गुमे पनि उनको घनिष्ठ सम्बन्ध कलमसँग जोडियो । सम्बन्ध त जोडियो तर कलम कसरी समाउने ? उनले १८ दिनसम्म लगातार खुट्टाले लेख्न अभ्यास गरे । तर, सकेनन् । भने, ‘हातले लेख्न नसक्ने शारीरिक रूपमा अशक्तले खुट्टाले लेख्दै आएका छन्, उनीहरूभन्दा फरक देखिन मैले मुखले लेख्न अभ्यास गरेँ । चार महिनासम्मको निरन्तर अभ्यासपछि हातले लेखेजसरी मुखले सहज रूपमा लेख्न अभ्यस्त भएँ ।’

मुखले लेख्न अभ्यस्त आफूले पहिलोपटक कविता लेखेको उनले सुनाए । कविता र गीत दुवै लेख्ने उनले पछिल्लो समयमा कविता लेख्न छाडे । जागिर खानेक्रममा बन्दुक बोकेर देशको विभिन्न ठाउँ पुगेका उनी हात गुमाउनुअघि सिर्जनशील थिएनन् । साहित्यमा रुचि थिएन रे । हात गुमाउनु र मुखले लेख्न अभ्यस्त हुनुले फुर्सदको समय कसरी सदुपयोग गर्ने भन्ने उनलाई पीर भएन । उपाय सुझ्यो– अन्जानमै भए पनि साहित्य सिर्जना गर्नतिर लाग्ने । लेख्दै जाँदा लेख्ने लत बस्यो । लेख्ने लत बसेपछि व्यर्थमै बित्ने समय सदुपयोग भयो । त्यसो भए अहिलेसम्म कति गीत लेखे होलान् उनले ? भने, ‘एक सय ५० भन्दा बढी ।’ 

लेखिएको गीत डायरीमै सीमित रहेन । सार्वजनिक भए । उनले लेखेको गीत कर्णदास, ईश्वर अमात्य, जगदीश समाललगायतका गायकको आँखा पर्यो । गाउनका लागि अनुमति माग्ने थुप्रै भए । भनेपछि कति गीत रेकर्ड भए होलान् त उनको ? ‘५० नाघ्यो नि हौ सर,’ पूर्वेली लवजमा उनले भने । उनैले लेखेका गीतको सँगालोस्वरूप तीन गीतिएल्बम सार्वजनिक भइसकेको छ । गीतकारका रूपमा उनलाई थुप्रै संघ–संस्थाले सम्मान गरिसकेका छन् । आफूसम्बद्ध संस्थाले पनि उनलाई कलाकारका रूपमा सम्मान गर्ने गरेको उनले बताए । 

देश, काल, परिस्थितिले सिर्जेको यथार्थता गीतिभावमा उतार्नु उनको लेखनको विशेषता हो । गीतिलेखनको अलावा उनले पाँच वर्षसम्म शास्त्रीय गायनसम्बन्धी तालिम लिन पनि भ्याएका छन् । उनले अस्पताल बसाइको समय यसरी नै सदुपयोग गरिरहेका छन् ।

गीत लेख्न तेस्रो व्यक्तिको सहयोग नचाहिए पनि अरू सबै काम उनका लागि सहयोगीमार्फत सम्भव भएको छ । अस्पतालमा उनको हेरचाहका लागि एकजना सहयोगीको व्यवस्था सरकारले नै गरेको छ । सहयोगीमार्फत उनी हप्तामा दुईपटक नुहाउँछन् । खाना खानुदेखि दाँत माझ्नु र बाथरुममा गरिने सबै काम सहयोगीमार्फत नै सम्भव भएको हो । 

आफ्नो नागरिकताभन्दा उनी दुई वर्ष जेठा छन् । नागरिकतामा उल्लेख भएको जन्ममितिभन्दा दुई वर्ष कान्छो उनी २०३७ कात्तिक १६ गते जन्मे पनि जागिर खानका लागि उमेर कम भएपछि दुई वर्ष बढाउनुपरेको थियोे । पोखराबाट भर्ती भएका उनको सुरुको तनखा दुई हजार दुई सय रुपैयाँ थियो । अहिले त थुप्रै गुना बढेको छ । त्यही तनखाले आफू र परिवार पालेका उनले माध्यमिक तहसम्मको पढाइ पार लगाएका छन् ।

कर्तव्य नै बन्दुक बोक्ने र पड्काउने भए पनि अहिले उनको दिनचर्या नितान्त भिन्नखालको छ । एकताका शत्रुलाई कसरी परास्त गर्ने भन्ने ध्याउन्न हुन्थ्यो भने अहिले उनको ध्यान कसरी राम्रो गीत लेख्ने भन्ने छ । हिमचिम पनि गीत–संगीतमै भिजेकासँग बाक्लो छ । 

बाबुआमाको सपना फुलाउन कत्ति पनि कन्जुस नगरेका दुई छोरा र एक छोरीकी बाबुको गाउँमै डोजो खोलेर कराते खेलाउने सपना भने फुल्न पाएन । जागिर खानुअघि सितोरिया करातेमा ‘ब्ल्याकबेल्ट’ गरेका उनको त्यो सीप पनि अब काम नलाग्ने भएको छ । परिआउँदा पड्काउनुपर्ने बन्दुक अब उनको हातबाट पड्किने अब । पुख्र्याैली घर ओखलढुंगा भए पनि राजघाट–२ सर्लाहीबाट नागरिकता पाएका टीका बम्जनले नयाँसडकस्थित त्रि–चन्द्र मिलिटरी अस्पताल चेस्ट वार्डको २ नम्बर शय्याबाट जीवनको अवयव बताइरहँदा घाम घर फर्किसकेको थियो । 

raideependra@gmail.com

Sunday, August 10, 2014

अमेरिकी सेनामा नेपाली

(दीपेन्द्र राई)

श्वेता लामिछाने
सुनसरी, धरानका सुधाकर घलेले सैनिक सेवामा लागेर भविष्य बनाउँला भनेर कहिल्यै सोचेका थिएनन् । तर, कहिल्यै नसोचेको सेवामा प्रवेश गरेर घलेले भविष्य उज्यालो बनाउँदै छन् । एमबीबीएस पढ्न अमेरिका पुगेका उनी पढाइ पूरा गरेपछि अमेरिकी सेनामा प्रवेश गरे । अमेरिकाको जोहनसोन एन्ड वेल्स विश्वविद्यालयमा ‘ग्लोबल बिजनेस लिडरसिप’ अन्तर्गत वित्त व्यवस्थापनमा एमबीए पूरा गरेपछि उनी सेनामा प्रवेश गरेका हुन् ।

फुर्वा याङ्जी शेर्पा नेपाली सेना बन्न चाहन्थिन् । एकताका शेर्पाको सपना–जपना नै नेपाली सेना बन्ने थियो । सैनिक सेवामा प्रवेश गरेर देशको सेवा गर्ने उनको उत्कट अभिलाषा थियो । देखेजति सबै सपना पूरा हुँदैनन् । उनको हकमा पनि त्यो लागू भएरै छाड्यो । सैनिक पोसाक लगाएर परेड खेल्ने उनको सपनाले न फुल्न पायो न फल्न नै । र पनि, उनी निराश भइनन् । निराश भएकी भए उनी अमेरिकासम्म पुग्ने थिइनन् । अधुरो सपना साँचेर अमेरिका पुगेकी शेर्पा आफूले देखेको सपना अमेरिकाले साकार बनाइदियो । विविध कारणले नेपाली सेना बन्न नपाए पनि शेर्पा अमेरिकी सेना बन्न सफल भइन् ।

स्याङ्जाबाट अमेरिका पुगेकी सुनीता कार्की अमेरिकी सेनाकी सैनिक अधिकृत हुन् । ‘तिमी भविष्यमा के बन्न चाहन्छौ ?’ भनेर सोध्दा आर्मी वा पाइलट बन्छु भन्ने उत्तर दिने कार्की पाइलट नबने पनि अमेरिकी सेना बन्न सफल भइन् । 

सुधाकर घले र फुर्वा याङ्जी शेर्पा र सुनीता कार्की प्रतिनिधि पात्रमात्रै हुुन् । अमेरिकी सेनामा प्रवेश गर्ने घले, शेर्पा र कार्कीजस्ता नेपाली सयभन्दा बढी नै रहेको बताइन्छ । अमेरिका पुगेका नेपालीले ग्रीनकार्ड पाएपछि मात्रै त्यहाँको सैनिक सेवामा प्रवेश गर्न पाउँछन् । कानुनतः अमेरिकी नागरिक भए पनि नेपालबाट त्यता पुगेका नेपाली सैनिक सेवामा प्रवेश गरेर भविष्य उजिल्याउँदै गर्दा अन्य नेपालीलाई गर्व नलाग्ने कुरै भएन । अमेरिकी नागरिक हुनुपहिले उनीहरू नेपाली नै हुन् । 
 लामिछाने

बेलायत, सिंगापुर, भारतमा मात्रै होइन, ब्रुनाईको राजकीय सुरक्षामा समेत नेपालीको उपस्थिति बाक्लै रहेको छ । पछिल्लो समय दुबई प्रहरीमा समेत नेपाली छानिन थालेका छन् । यसलाई सुखद् मान्नैपर्छ । यसै सन्दर्भमा अमेरिकी सरकारले समेत आफ्नो सैनिक सेवामा नेपालीलाई प्रवेश गराएका छन् । यो त झनै गौरवको विषय हो । अमेरिकी सेनामा कार्यरत सबैको समान सेवा–सुविधा प्रदान गरिनुलाई सर्वत्र चर्चा गर्ने गरिन्छ । विभिन्न देशबाट अमेरिका पुगी सेनामा प्रवेश गरेकालाई समान तलब र व्यवहार गरिनुलाई थप आकर्षणका रूपमा हेरिएको छ । 

अधिकांश नेपालीका लागि अमेरिका सपनाको देश हो । सपनाको देश पुगेका नेपालीले सैनिक सेवामा प्रवेश गरेर नेपालको प्रतिनिधित्व गर्नुलाई कम आँक्न मिल्दैन । विभिन्न शीर्षकमा अमेरिका पुगेकामध्ये सैनिक सेवामा प्रवेश गरी ‘करिअर’ बनाउन लागिपरेकी छन्– प्रेसिका चौधरी । चौधरी जागिरक्रममा अमेरिकाको माउन्टेन भ्युदेखि अफगानिस्तानको कान्दाहारसम्म पुगेकी छन् । अमेरिकादेखि अफगानिस्तानसम्म पुगेर आफ्नो कर्तव्य निर्वाह गरेकी चौधरीको बुझाइ छ, ‘सैनिक सेवामा प्रवेश गरी सम्बन्धित सेवामा सिकेको ज्ञान भूगोलको जुनसुकै ध्रुवमा पुगे पनि काम लाग्दोरहेछ ।’ 

चौधरीको बुझाइमा सहमत छिन्– श्वेता लामिछाने । लामिछाने अमेरिकी सेनामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् । पढ्नका लागि अमेरिका पुगेकी उनले पढाइ खर्च जुटाउन धौ–धौ परेपछि सेनामा जागिर खान पुगेको सुनाइन् । उनको जिकिर छ, ‘सेनाजस्तो उत्तम पेसा अरू केही छैन ।’ 
श्वेता लामिछाने

सन् १७७५ देखि अमेरिकी सरकारले महिलालाई सेनामा भर्ती गर्न थालेका हुन् । त्यसको प्रत्यक्ष फाइदा अमेरिका पुगेका नेपालीले पनि पाएका छन् । त्यही भएर अमेरिका पुगेका कतिपय नेपालीले बाध्यता र कतिले रहरै–रहमा सैनिक सेवामा प्रवेश गरेका छन् । अमेरिकाको सैनिक सेवामा आकर्षक सुविधा भएकाले नेपाली पुरुष र महिलाको आकर्षण बढ्दै गएको हो कि भनेर जोकोहीलाई ठम्याउन गाह्रो पर्दैन ।

अमेरिकी सेनामा प्रवेश गरेका नेपाली पुरुष तथा महिलाले प्रसिद्धिसमेत कमाएका छन् । त्यसमध्ये एक हुन्– सुधाकर घले । घलेले शारीरिक सुगठनअन्तर्गत ‘आर्मी भेलु सोल्जर्स’ अवार्ड हात पारेका छन् । घलेले भने, ‘तपाईंसँग कुराकानी गरिरहँदासम्म यो अवार्ड अमेरिकी सेनामा कार्यरत नेपाली पाउन सकेका छैनन् ।’ 

घलेजस्तै उदाहरणीय व्यक्ति हुन्– सरलकुमार श्रेष्ठ । १३ वर्षअघि अमेरिकी सेनामा भर्ती भएका श्रेष्ठले समेत ‘बेस्ट अफ दी इयर २०१२’ उपाधि हात पारेका छन् । यो अमेरिकाको खेलकुद प्रतियोगिताअन्तर्गत वितरण गरिने सबैभन्दा ठूलो उपाधि मानिन्छ । 

अमेरिकी सेनामा प्रवेश गरेपछि नेपाली महिला र पुरुषमा के–कस्तो परिवर्तन ल्याएको होला ? ‘अमेरिकी सेनामा जागिरे भएपछि आत्मबल बढेको छ,’ प्रेसिका चौधरीको स्वाकारोक्ति छ, ‘साथै भविष्य पनि सुरक्षित भयो नि ।’ 

रहरै–रहरले अमेरिकी सेनामा जागिर खाएको बताउने एलिजा रन्जितले नेपालबाट अमेरिका पुगेर सेनामा जागिर खानुलाई चुनौती ठानेकी छन् । ‘अमेरिकी सेनाको सुखद पक्ष भनेकै सहकार्य हो,’ अमेरिकी सेना भएर काम गर्दा फुर्वा याङ्जी शेर्पा आफूले बुझेको गुह्य सुनाइन्, ‘जस्तोसुकै अप्ठ्यारो अवस्थामा समेत अमेरिकी सेनाले एकले अर्काेलाई सहयोग नगरी रहन सक्दैनन् । यसले मलाई साह्रै प्रभाव पा¥यो ।’ 

(स्रोत : इन्टरनेट तथा विभिन्न पत्रपत्रिका)

अनुसन्धाता गायिका

(दीपेन्द्र राई)

सस्तो लोकप्रियताका लागि मरिहत्ते गर्नेको बाहुल्य छ । गीतिएल्बम त के एउटा गीत रेकर्ड गराउन पाएको छैन, प्रत्येक सञ्चार गृह धाएर प्रचार–प्रसार गर्न लागिपर्नेको बाहुल्य देखिएकै हो । उनीहरूलाई विषयगत दक्षतासम्बन्धी खासै वास्ता छैन । केवल प्रचार–प्रसार भए पुग्छ । डाँडामा पानी पर्दा उर्लिने खहरेखोला पानी पर्न छाडेपछि फेरि सुकिहाल्ने त हो नि ।

गायिका झुमा लिम्बूलाई सस्तो लोकप्रियताको पछि लाग्नु छैन । गायिका लिम्बूले पानी पर्दा उर्लिने खहरेखोलाको आयु छोटो हुन्छ भन्ने राम्ररी बुझेकी छन् । आफूले गरेको कामको प्रचार–प्रसार गर्न आवश्यक नठान्ने उनी चुपचाप आफ्नै काममा लागिपरेकी छन् । निकासको होइन मुहानको पानी पिउन मन पराउने उनी सधैँ मुहानको पानी खोजीमा आफ्नैपाराले लागिपरेको बताउँछिन् । कति सुन्दर अभिव्यक्ति । निकासको पानी प्रदूषित हुन सक्छ, त्यसले स्वास्थ्यलाई हानि–नोक्सानी पुर्या
उँछ । सस्तो बेसाहाले पखाला चलाउँछ भनेझैँ गायिका लिम्बू सस्तो बेसाहाको कुरा गर्दा मात्रै पनि तीन हात पर बस्न मन पराउँछिन् ।

बाँच्न पाए हाँस्न सकिन्छ । अर्थपूर्ण जीवन जिउने रहर कसलाई नहोला ? सबैलाई यस्तो अवसर कहाँ मिल्छ र ? तर, ढुंगेसाँघु–८ ताप्लेजुङकी झुमा लिम्बूलाई त्यो अवसर मिलेको छ । उनको दोस्रो गीतिएल्बम ए ! साइँला विमोचन समारोहमा साहित्यकार दाहाल यज्ञनिधिले भनेका थिए, ‘विमोचित गीतिएल्बममा समेटिएका सबै गीत दुईपटक सुन्दा अरुणा लामा बौरेको महसुस भयो ।’ दाहालले नेपाली गीत–संगीतमा अरुणा लामाको अभावपूर्ति झुमाले गर्ने विश्वास व्यक्त गरे । सोही समारोहमा उनले झुमालाई अरुणा लामाको संज्ञासमेत दिए ।

प्रतिउत्तरमा गायिका लिम्बूले भनेकी थिइन्, ‘माया गरेर अरुणा लामाको संज्ञा दिनुभएकोमा धन्यवाद । तर, म अरुणा लामा नभएर झुमा लिम्बूको परिचय बनाउन चाहन्छु ।’ साँच्चै आफूद्वारा व्यक्त आफ्नै अभिव्यक्ति उनले आत्मसात् गरेकी छन् । हो, कसैको ‘फोटोकपी’ प्रतिभाका रूपमा परिचय बनाउनुभन्दा आफू आफैँजस्तो भएर परिचय बनाउनुको आनन्द बेग्लै हुन्छ । उनी नेपाली गीत–संगीतमा मौलिक पहिचान बनाउन उद्यत छन् ।

मौलिक पहिचान बनाउने उनले संगीतसम्बन्धी कक्षा लिँदै आएकी छन् । उनी संगीतज्ञ अम्बर गुरुङको विद्यार्थीसमेत हुन् । गुरुङको विद्यार्थी हुने रहर धेरैले साँचेका होलान् । साँच्नेजत्तिको रहर पूरा भएको छैन । त्यस अर्थमा थोरै भाग्यमानी विद्यार्थीमध्ये झुमा लिम्बू पनि एक हुन् । गुरुङ पनि झुमासँगै निकै आशावादी छन् । गुरुङद्वारा प्रशिक्षित सबैले नेपाली गीत–संगीतमा पृथक पहिचान बनाएका छन् । झुमा पनि पृथक पहिचान बनाउने ध्याउन्नमा छिन् ।

बितेका चार वर्ष उनी निकै व्यस्त रहिन् । उनका कतिपय साथीलाई गीतिएल्बम निकाल्न भ्याइनभ्याई होला, कोही विदेशसम्म पुगेर गीत गाउने दौडधुप गरिरहेका होलान् तर झुमा कसैको वास्ता नगरी कहिले इलामको माङ्सेबुङ पुगेकी हुन्थिन् भने कहिले तेह्रथुममा भेटिइन्थिन् । त्यतिमात्रै होइन, काठमाडौंबाट फुत्त निस्केर झापा, पाँचथर र ताप्लेजुङका गाउँ–गाउँका लिम्बू संस्कृतिसँग जानकार वृद्धवृद्धासँग अन्तर्वार्ता लिन भ्याएकी उनी यही सिलसिलामा सिक्किमसम्म पुग्न भ्याइन् ।

नेपाली गीत–संगीतमा लोकसंगीतको काम भयो । आधुनिक, पप र ज्याज संगीतको अध्ययन गरिएको छ तर नेपालका नेपालीले जन्मेदेखि मृत्युपर्यन्त गाएको, बजाएको सम्बन्धित जातिकोे सांस्कृतिक संगीतसम्बन्धी प्रभावकारी काम भएको छैन । त्यसैले उनी लिम्बू संगीतमार्फत लिम्बू सभ्यता खोज्ने लामो यात्रामा निस्किन् ।

चारवर्षे यात्राले मूर्त रूप लिँदै गएको छ । उनले यो अवधिमा खासाम (सभ्यता) नामक गीतिएल्बम तयार पारेकी छन् । चार–चार वर्ष लगाएर तयार गरिएको सो गीतिएल्बम तयारीको उद्देश्य के होला ? झुमाको दाबी छ, ‘म संगीतको विद्यार्थी भएकाले आफू जन्मेर हुर्केको संगीतलाई जीवन्त राख्ने र आफूभन्दा पछिल्लोे पुस्ता (जो संगीतका विद्यार्थी)लाई सन्दर्भ–सामग्री होस् भनेर मात्रै होइन नेपालका गीत–संगीतमध्ये यो संगीतको छुट्टै विशेषता र पहिचान छ भनेर जानकारी दिने प्रयत्न गरेकी छु । यो लिम्बू जातिका लागि मात्रै नभएर समग्र नेपाली र गैरनेपालीका लागि समेत दस्तावेज हुन सक्छ ।’
आफन्तसँग दायाँबाट दोस्रो झुमा ।

खासाममा लिम्बू जातिको गायन सभ्यतालाई प्राथमिकतासाथ उजागर गरिएको छ । लिम्बूको धार्मिक र सांस्कृतिक पक्षलाई संगीतमार्फत उजागर गर्नु सामान्य कुरा होइन । चार वर्षको निरन्तर अध्ययन र अनुसन्धानबाट गायिका झुमालाई समेत ज्ञात भयो– लिम्बू जातिको संगीत गायनप्रधान रहेछ । लिम्बू संस्कृतिसम्बन्धी अनभिज्ञलाई खासाम गौरव गर्नलायक दस्तावेज हो । पुस्तान्तरसँग भाषा, संस्कार, संस्कृति लोप हुँदै गएको बेला झुमाले गरेको यो काम प्रशंसनीय मानिन्छ । लिम्बू संगीतमार्फत लिम्बू सभ्यता जान्न पाउनु नै खासामको सफलता हो ।

लिम्बूको संगीतको उठान मुन्धुम गायनबाट सुरु भएर अहिलेको समसामयिक गायनजस्तै पालाम (धाननाच) सम्मको बहावलाई शाब्दिक र सांगीतिक रूपमा प्रस्ट्याउन खोज्नु सजिलो काम होइन । यस अर्थमा गायिका झुमाले लिम्बू जातिको सम्बद्र्धनका लागि लोभलाग्दो काम गरेकी छन् ।

खासामा सात भाका समेटिएका छन् । जसमा सृष्टि मुन्धुम पहिलो नम्बरमा समेटिएको छ । यस मुन्धुममा ब्रह्मान्ड, धर्ती, आकाश, जल–जमिन, कीटपतंग, वनस्पति, जन्तु, जनावर, मनुष्य चोलाको सृष्टि र विकास कसरी भएको थियो भनेर प्रस्ट्याउन खोजिएको छ । मनुष्य चोला र सभ्यता के–कस्ता संकट र व्यवधानसँग जुध्दै यहाँसम्म आयो भन्ने जीवनका दार्शनिक पक्षलाई सृष्टि मुन्धुमभित्र मुन्धुमका रूपमा गाइएको छ ।

यसैगरी, कुनै मानिसको अकालमा मृत्यु भएपछि अतृप्त आत्मा जसलाई लिम्बू भाषमा ‘सोघा’ भनिन्छ, बनेर गाउँघरका मानिसलाई दुःख दिन थाले सोघालाई फकाइ–फुलाइ, हकार–पकार गरी, उसले पाउने सिदा दिएर उसको बाटो लगाउँदा गाइने सोघानाप्मा मुन्धुम गाइन्छ । खासामलाई सोघानाप्मा मुन्धुमले जीवन्त बनाएको छ । लिम्बू जातिमा आफ्नो प्यारो मानिसको मृत्यु हुँदा सि?मेरिङ अर्थात् शोक व्यक्त गर्ने गरिन्छ । सि?मेरिङ गाउँदा सुरुमा मृत्यु भएको अस्वीकार, त्यसपछि मृत्यु भएकोमा आवेश, मेरो बच्चालाई बचाइदेऊ भन्दै अनुनय विनय गर्ने, आफ्नो बच्चाको मृत्युका असर र अन्त्यमा मृत्यु शाश्वत छ भनी स्वीकार गर्ने चरणलाई सिमेरिङ मुन्धुममा गाइन्छ । यो लिम्बू जातिको विशिष्ट सांस्कृतिक पक्ष हो । जुन मुन्धुम खासाममा सुन्न पाइन्छ ।

खासाममा हाक्पारा गायन पनि समेटिएको छ । लिम्बू जातिको गायन परम्परा हाक्पारेबाट सुरु भएका मानिन्छ । यसमा मनुष्य चोला धर्तीमा विकास भएपछि उसले आफ्नो जीवनलाई उन्नत बनाउन उज्ज्वल भविष्य र जीवनको कामना गरेको हाक्पाराभित्र मुन्धुमका रूपमा गाउने गरिन्छ । खासाममा हाक्पारा मात्रै होइन ख्याली पनि समेटिएको छ । लिम्बू जातिका मानिस भेट हुँदा कवितात्मक रूपमा कुराकानी गर्दै चिनजान गर्ने, साइनो केलाउने चलन छ । सो जातिका युवायुवतीले ख्यालीकै भाकामा साइनो केलाउने र साइनो लागे ढोगभेट र नलागे धान नाच्ने प्रस्ताव राख्छन् । जुन परम्परा आजसम्म कायमै छ । जसले खासामलाई बलशाली बनाएको छ ।

यौवन र मायापिरती मानव जीवनको शाश्वत पक्ष हुन् । लिम्बू जातिले यौवनमा माया र पिरतीका शिष्ट गाथा लिम्बू संस्कृति पालाम गाउँदै, धान नाच्दै मायाप्रीतिको मुन्धुम गाथा गाउने गर्छन् । खासाममा पनि पालाम गायनले ठाउँ पाएकै छ ।

खासाममा प्रयोग भएका बाजा मुन्धुममा आधारित र पूर्वी नेपालका चलनचल्तीमा रहेका लोकबाजा हुन् । खासाममा पात (पेपेनेप्पा), च्याब्रुङ (के), थाल, बिनायो (मिक्लाकोम), यलम्बर (फातुङ), मुर्चङ्गा (फेङ्कोम), झ्याम्टा, एकतारे लोकबाजा सुन्न सकिन्छ ।

(प्रकाशित मिति : २०७० पुस ३०)