Tuesday, May 21, 2013

नाम, दाम र सम्मान नै स्वस्तिक

(दीपेन्द्र राई)
     काठमाडौंको सुनधारामा रहेको धरहरालाई पछाडि पारेर दुई मिनेटजति दक्षिणतिर लाग्दै गर्दा एउटा बाटो पश्चिमतिर मोडिन्छ । पश्चिमतिर लाग्ने बाटो छाडेर दक्षिण–पूर्व फर्कंदा धरहराझैँ अग्लिएको भवन
देखिन्छ । त्यही भवन हो– स्वस्तिक गेष्टहाउस ।
     गेष्टहाउस सञ्चालक हुन्– लक्ष्मी गुरुङ । लुम्ले, पोखराकी गुरुङलाई स्वस्तिकले नाम, दाम र सम्मान दिएको छ । उनी स्वस्तिक गेष्टहाउसका मात्रै होइनन्, स्वस्तिक ट्राभल्स, स्वस्तिक हेन्डिक्राफ्ट, स्वस्तिक इको प्रडक्ट र स्वस्तिक एग्रीकल्चर सञ्चालक पनि हुन् ।
     ‘व्यापार व्यवसायमा लागुँला भनेर सपनामा पनि चिताएकी थिइनँ,’ स्वस्तिक गेष्टहाउसको सिरान तलामा कुरा गर्दै गुरुङले भनिन्, ‘म एन्सिडेन्ट्ली यतातिर लागेँ ।’ अचानक यतातिर लागे पनि उनलाई यही व्यवसायले सफल व्यवसायी बनाएको छ । उनीद्वारा सञ्चालित सबै कम्पनीका नाम स्वस्तिक नै राखिएका छन् । स्वस्तिक ‘ब्रान्ड’ भइसकेको छ । लक्ष्मी गुरुङ र स्वस्तिक कम्पनी पयार्य बनेका छन् ।
     स्वस्तिक गेष्टहाउस सञ्चालन गरेको पाँचवर्षे अनुभव सुनाउँदै उनले भनिन्, ‘गेष्टहाउस सञ्चालनबारे केही थाहा थिएन । विभिन्न देश घुम्दा/पुग्दा सम्बन्धित देशका गेष्टहाउसमा बसेकी थिएँ । त्यहाँका गेष्टहाउसमा बस्दा देखेका राम्रा कुरा आफ्नो गेष्टहाउसमा लागू गर्ने प्रयास गरेकी छु । स्वस्तिकको विशेषता भनेकै सजावट, सरसफाइ र हाइजेनिक खाना हो ।’
     गेष्टहाउसको अर्काे विशेषता भनेको ‘गेष्ट क्लालिटी’ पनि हो । स्वस्तिकका ‘गेष्ट क्लालिटी’ उच्चस्तरकै हुन्छन् । बेलायत, अमेरिका, हङकङ र जापानबाट आएका पाहुना ‘बुक’ गरेरै आउँछन् । यदाकदा एनजीओ/आईएनजीओले समेत गेष्टहाउस ‘बुक’ गर्छन् । नेपालका प्रमुख सहरबाट काठमाडौं आउने व्यापारीसमेत स्वस्तिक नै रोज्ने गर्छन् ।
     व्यक्तिगत सम्पर्क÷सम्बन्धबाट समेत गेष्टहाउस आउने पाहुना उल्लेख्य छन् । साथीभाइका ट्रेकिङ एजेन्सीमार्फत बेलायत र जापानबाट आएका पर्यटक बेलाबेलामा स्वस्तिकमै रात बिताउँछन् । विदेशबाट तालिमका लागि नेपाल आएका विदेशीको रोजाइसमेत स्वस्तिक नै हुने गर्छ । ‘गेष्ट क्वालिटी’ हेरेरै कोठा ‘डिजाइन’ गरिएका छन् । २० कोठा रहेको स्वस्तिक गेष्टहाउसमा १५ जनाले काम पाएका छन् ।
    पहिले ठमेल त्यसपछि हात्तीसारमा रहेको स्वस्तिक ट्राभल्स पनि यही भवनबाट सञ्चालित छन् । गुरुङले भनिन्, ‘स्वस्तिक कम्पनी एउटै भवनबाट सञ्चालन गर्दा सजिलो होस् भनेर स्वस्तिकका सबै कम्पनी एउटै भनवबाट सञ्चालन गर्दै छु ।’ गेष्टहाउसभन्दा ट्राभल्स पहिलेदेखि सञ्चालनमा आएको हो । ट्राभल्समा चारजनाले काम पाएका छन् । सञ्चालनमा रहेका गेष्टहाउस र ट्राभल्स कुनबाट लक्ष्मी गुरुङको चित्त बुझेको होला ? भनिन्, ‘दुवै (गेष्टहाउस र ट्राभल्स) राम्रो चलेको छ । हिजोआज हरेक क्षेत्रमा मन्दी छाएको छ । अस्वस्थ प्रतिस्पर्धा चलेको छ । त्यस्तो अवस्थामा पनि दुई/चार पैसा खेलाइरहन पाइनेचाहिँ होटल व्यवसाय नै रहेछ ।’
   स्वस्तिक कम्पनीअन्तर्गत स्वस्तिक ह्यान्डिक्राफ्ट र स्वस्तिक इको प्रडक्ट सञ्चालनमा ल्याउन लागिएको गुरुङले जानकारी दिइन् । भनिन्, ‘ह्यान्डिक्राफ्ट र प्रडक्ट सञ्चालनका लागि दुई वर्षदेखि अध्ययन गरिरहेकी छु ।’ स्वस्तिक हेन्डिक्राफ्ट प्रवद्र्धनका लागि पटक–पटक एसियन कन्ट्री पुगेकी उनको सपना छ– एकल महिलालाई जीविकोपार्जन गर्न सजिलो होस् भनेर हेन्डिक्राफ्ट सञ्चालनमा ल्याउन लागिएको हो । ‘स्वस्तिक हेन्डिक्राफ्टले उनीहरूको जीवनशैलीमा फेरबदल ल्याउनेछ । त्यतिमात्रै होइन, यहाँ उत्पादित सामग्री विदेश निर्यात हुँदा नेपाल सरकारलाई पनि सपोर्ट हुुन्छ नि ।’ सामान्य तरिकाले जोकोहीले पनि हेन्डिक्राफ्ट चलाएका छन् । आफूले चाहिँ व्यवस्थित तरिकाले हेन्डिक्राफ्ट चलाउने सोच बनाएको उनले बताइन् । स्वस्तिक इको प्रडक्टले भने अर्गानिक वस्तु बनाएर उत्पादन गर्नेछ । यसैगरी, स्वस्तिक गेष्टहाउस अलावा उनले अर्काे होटल सञ्चालनमा ल्याउने तयारी गर्दै छिन् ।
     गोरखा भूतपूर्व सैनिककी छोरी लक्ष्मी गुरुङको बाल्यकाल हङकङमै बित्यो । उनी बेलायत र जापानसमेत बसिन् । विद्यालय तहको पढाइ हङकङबाटै पूरा गरेकी उनले आईएस्सी भने पीएन क्याम्पस पोखराबाट पूरा गरिन् । आईएस्सी पूरा गरेर उनी फेरि विदेश लागिन् । उनी पछिल्लो समय निरन्तर नेपाल बस्न थालेकोे १४ वर्ष हुँदै छ । परिवारका उनीमात्रै नेपालमा छन् । केटाकेटी छँदैदेखिका महत्वाकांक्षी लक्ष्मीको तर्क छ, ‘स्मार्ट ब्रेन हुनेले नेपालमै कमाउन सक्छन् ।’ उनलाई आमाबाबुका साथै भाइबहिनीको समेत साथ, सहयोग छ ।
     व्यवसाय सफल पार्ने तीन सूत्र के–के हुन् ? सर्वाधिक सफल व्यवसायी गुरुङले भनिन्, ‘पहिलो, दूरदर्शी दोस्रो मिहिनेत र तेस्रोमा सम्बन्धित देशको नियम–कानुनबारे जानकार हुनुपर्छ । त्यति भयो भने आफूले हात हालेको व्यवसाय भड्खालोमा पर्दैन ।’ यसको साथै सकारात्मक सोच अनिवार्य सर्त हो ।
    लक्ष्मीले जुन–जुन व्यवसायमा हाल हालिन् सफल भएरै छाडिन् । ‘गोर्खा स्कुलिङले मलाई यो सफलता हात लागेको हो,’ उनको बुझाइ छ, ‘इमानदारी, सीप, जाँगर मैले त्यही स्कुलमा सिकेकी हुँ ।’
     लक्ष्मी गुरुङले बैंक, हाइड्रोमा र डेभपर्समा समेत लगानी गरेकी छन् । सेन्चुरी बैंककी प्रबद्र्धकमध्येकी एक गुरुङले पवित्र डेभलपर्स, सोपान डेभलपर्सको समेत प्रवद्र्धक हुन् । यति धेरै व्यवसायमा हात हाले पनि उनको सबै काम ‘अटोमेटिकल्ली’ चलेको छ । तसर्थ, उनी आफूलाई ‘हेल्दी र वेल्दी’ बनाउन लागिपरेकी छन् ।
   भूपू गोरखा सैनिकले अवकाश पाएर नेपाल फर्केपछि बाँकी जीवन सक्रिय रुपमा जिउन विभिन्न व्यवसायमा हात हालेका छन् । भूपू गोरखा सैनिकमात्र होइन, उनीहरुका छोराछोरीले समेत आमाबाबुको पदचाप पछ्याउँदै आएका छन् । प्रत्येक भूपू गोरखा सैनिक र तिनका छोराछोरी लक्ष्मी गुरुङले जस्तै १९/२० जनालाई काम दिने हो महिनामा १०/१५ हजार रुपैयाँ कमाउन अरब जानु पर्दैनथ्यो । नेपालको बेरोजगार समस्या हल हुँदै जाने थियो ।
    आफूलाई ‘हेल्दी र वेल्दी’ बनाउँदै उनी समाजसेवामा समेत जुटेकी छन् । गुरुङको सामाजिक संस्था तमू बौद्ध सेवा समिति, सदस्य रहेकी उनी तमू बौद्ध सेवा समितिअन्तर्गत आमा समूह, सचिवको भूमिका निर्वाह गर्दै आएकी छन् । सुुन्धारा–बागदरबार होटल एसोसिएसनका चार सल्लाहकारमध्ये एक उनी रोटरी क्लब पब्लिक रिलेसन डाइरेक्टर हुन् ।
    सुनधारा–बागदरबार क्षेत्रमा लभभग १०० गेष्टहाउस छन् । यस क्षेत्रमा गोरखा भूपू सैनिकद्वारा सञ्चालित गेष्टहाउससमेत छन् । त्यसमध्ये सिंगापुर, हेभन र न्यु क्यास्टल गेष्टहाउस मुख्य हुन् ।



No comments:

Post a Comment