Wednesday, May 29, 2013

गीतकार आ–आफ्नै डम्फु बजाउन व्यस्त

(दीपेन्द्र राई)
     ‘त्यतिवेला,’ गीतकार शुभ मुकारुङ भने, ‘मैले एसएलसी पास गरेकै
थिइनँ । तर, मैले लेखेका गीत रेडियोबाट बज्न थालिसकेको थियो ।’
 विद्यालय पढ्दाताका उनी गीत गाउँथे, बाजा बजाउँथे । त्यही लगावअनुसार, उनी गायक वा संगीतकार बन्नुपथ्र्याे । तर, उनी गीतकारका रूपमा चिनिए । ‘दैनिकजसो दस–बाह्रपटक संगीतकार बुलु मुकारुङको नाम रेडियोबाट बज्थ्यो,’ गीतकार मुकारुङले भने, ‘आहा ! मेरा दाइ काठमाडौं गएर महान् मानिस बनिसकेछन् । म पनि दाइजस्तै महान् बन्ने लोभमा गीत गाउँथेँ, गीत लेख्थेँ र बाजा बजाउँथेँ ।’
     गीतकार शुभ मुकारुङलाई त्यसताका रेडियोबाट बज्ने सबै गीत कण्ठस्थ हुन्थ्योे । भने, ‘रेडियोबाट बज्ने विज्ञापनसमेत म कण्ठ पार्थें ।’ उनी सधैँ रेडियो सुन्थे । उनको सबैभन्दा नजिकका साथी नै रेडियो
मानिन्थ्यो ।
   एसएलसी पास गरेपछि उनी काठमाडौं पसे । घरबाट हिँडेको पाँचौं उनले काठमाडौं टेकेका हुन् । उनी रत्नराज्यलक्ष्मी (अहिलेको नेपाल मानविकी) क्याम्पस प्रदर्शनीमार्गमा भर्ना भए । रेडियोप्रतिको मोह कम भएको थिएन । ‘महान् मानिस बन्न रेडियोभन्दा अर्काे ‘प्लेटफर्म’ नै थिएन कि भन्ने लागेको थियो,’ उनले भने, ‘क्याम्पस गयो, बढीमा दुई विषयको कक्षा लियो अनि सीधै रेडियो नेपाल (सिंहदरबार) पुग्थेँ ।’ उनलाई दैनिकजसो रेडियो नेपाल नपुगी चित्तै बुझ्दैनथ्यो ।
   काठमाडौंमा उनलाई खान, बस्न र पढ्न समस्या भएन । गीतकार शुभ मुकारुङले एक/डेढ वर्षसम्म काठमाडौंलाई नजिकबाट नियाले । यसबीचमा उनले गीत–संगीतमा लागेकाहरूसँग सम्पर्क, सम्बन्ध विस्तार गरिसकेका थिए । राजेशपायल राई र यम बराललगायतसँग उनको घनिष्ठ सम्बन्ध थियो । सम्वत् ०५१ मा उनले ‘सायद’ नामक गीतिएल्बम तयार पारे । संवेग एल्बमका लागि शम्भु राई, कुवेर राई, राजेशपायल राई, यम बराल, रामकृष्ण ढकाल, सुनिता सुब्बा, लासिमित राई र रिमा गुरुङलाई गाउन लगाए ।
त्यसपछि उनको ‘संवेग’ नामक गीतिएल्बम सार्वजनिक भयो । यो गीतिएल्बम सार्वजनिक भएपछि उनको गीतिकारिता अग्लिँदै गयो । ‘संवेगले मलाई गीतकारका रूपमा स्थापित गरायो,’ गीतकार मुकारुङले भने, ‘त्यसताका गायक, गीतकार र संगीतकार बनाउने रेडियो नेपालमात्रै थियो । क्रमशः एफएम रेडियो खुल्न थाले । एफएम रेडियो खुल्न थालेपछि नेपाली गीत–संगीतमा रेडियो नेपालको एकाधिकार तोडियो ।’
     ‘एफएम रेडियो खुलेपछि गीत–संगीतमा विकृति पनि भित्रिए,’ उनको ठम्याइ छ, ‘प्राइभेट रेकर्डिङ स्टुडियो खुलेकै थिए । गीत रेकर्ड हुनासाथ एफएम रेडियोबाट बजिहाल्थ्यो । गीत–संगीतमा मापदण्ड नै रहेन । त्यहीँबाट सुुरु भयो नेपाली गीत–संगीतमा पैसाको चलखेल ।’ उनले भने, ‘पैसा भएपछि जो पनि गायक । जो पनि गीतकार र जो पनि संगीतकार । नेपाली गीत–संगीतलाई अनुगमन गर्ने कुनै आधिकारिक निकाय नै भएन । सबैलाई लोकप्रिय बन्ने होडबाजी नै चल्यो । यो प्रवृत्ति बढ्न थालेपछि असली गीतकार पलायन हुन थाले ।’
    शुभकै भनाइअनुसार उनी पनि पलायनजस्तै भए । उनलाई रातारात लोकप्रिय बन्ने लोभ जागेन । तर पनि उनले लेखेका गीत रेकर्ड भइरहे । क्याम्पस धाउन्जेल गाडीभाडास्वरूप उनले दैनिक १० रुपैयाँ पाउँथे । क्याम्पस जान–फर्कन चार रुपैयाँ लाग्थ्यो । दुई–अढाई रुपैयाँको खाजा खान्थे । उब्रेका रुपैयाँ जम्मा पारेर उनी रिल किन्थे । फोटो खिच्थे । फोटोग्राफीमा उनको औधी रुचि थियो ।
   आइए दोस्रो वर्षमा पढ्दै गरेका उनले एक साप्ताहिक पत्रिकामा काम थाले । काम थाल्नुअघि त्यस साप्ताहिकका सम्पादकले उनलाई भनेको अभिव्यक्ति उनले सम्झे, ‘तपाईं पढेर आउनु भा’को, म परेर । सहकार्य गरौँ । एक–अर्काले जानेका कुरा ‘सेयर’ गरौँ ।’
     गीत लेख्ने उनी क्रमशः पत्रकारितामा रमाउन थाले । साप्ताहिक पत्रिकाको जागिर छाडेर उनी एक मासिक पत्रिकासँग आबद्ध भए । सो पत्रिकामा उनले कार्यकारी सम्पादकको भूमिका निर्वाह गरे । यसबीचमा उनले स्वदेश तथा विदेशबाट प्रकाशित थुप्रै पत्रपत्रिका र किताब सम्पादन गरे । नेपाल टेलिभिजनका लागि आधा घन्टाको कार्यक्रम बनाए ।
    काठमाडौंमा जे–जे गरे पनि शुभले गीतिकारितालाई औधी माया गरे । मुकारुङ खलकमा सबैभन्दा पहिले उनका बुबा भीमप्रसाद मुकारुङले लेख्न थालेका हुन् । भीमप्रसादले ०१४ सालमै ‘किरात सुधारको सवाई’ प्रकाशन गरेका थिए । अहिले पनि भीमप्रसादले फुटकर रूपमा लेखिरहेका छन् । शुभ बुबाले हिँडेकै बाटोमा हिँडिरहेका छन् ।
    ०५९ मा ‘संवेग’ नामक सीडी र एल्बम सार्वजनिक भयो । यही एल्बममा उनले नेपालका दिग्गज गायक/गायिका र संगीतकारसँग काम गर्ने मौका पाए । नेपाली गीत–संगीतमा रुचि राख्नेहरूका लागि शुभ मुकारुङको नाम अपरिचित होइन ।
    ‘गीत लेख्नेहरू संगठित हुनु जरुरी थियो,’ उनले भने, ‘त्यही जरुरी ठानेर समकालीन गीतकार साथीहरूसँग कुरा गरेँ । तर, वास्ता गरेनन् ।’ अन्ततः ०५८ मा उनले आदिवासी जनजाति गीतकारहरूलाई समेटेर ‘आदिवासी गीतकार समाज’ स्थापना
गरे । जुन अभीष्टले गीतकार समाज स्थापना भएको थियो, समाज स्थापना हुनुको अभीष्ट पूरा हुनु त कता हो कता अहिले समाज नै निष्क्रियजस्तै बनेको छ ।
     ‘गीतकारहरूको अवस्था कहिले उकासिएन,’ उनको ठम्याइ छ, ‘गीतकारले गीतमात्रै लेखे, गीतमाथि चिन्तन–मनन कहिल्यै गरेनन् । गीत र गीतकारको हैसियत के ? भन्ने चिन्तन हुँदै भएन ।’ गीतकारहरू आ–आफ्नै डम्फु बजाउनमै व्यस्त छन् ।
    पछिल्लो समय उनी किरात संस्कार–संस्कृतिसम्बन्धी अध्ययन अनुसन्धानमा लागिपरेका छन् । उनको ०६४ सालमा किरात मिथक जोडिएका ढुंगाको कथा ‘कथा ढुंगैढुंगाको’ प्रकाशित छ । त्यस्तै, ०६५ मा ‘किरात राई जाति र मुन्धुमी सामग्री’ नामक खोज अनुसन्धानात्मक पुस्तकसमेत प्रकाशित भएको छ । यी दुई पुस्तक प्रकाशन भइसकेपछि उनको परिचय गीतकारका रूपमा मात्रै सीमित रहेन ।
  गीतको परिधि सानो भए पनि गीतिकारिताबाट आफू अलग हुन नसक्ने उनले बताए । विभिन्न गायक–गायिकाले विभिन्न गीतिएल्बमका लागि गाएका गीत संकलन गरेर उनले ०६३ मा ‘स्वीकृति’ नामक सीडी सार्वजनिक गरे । यसैगरी ‘पुग्नु कहाँ थियो’ नामक गीतसंग्रहसमेत नेपाली र अंग्रेजी भाषामा प्रकाशित भएको छ ।
    भोजपुर दिल्पाका यी गीतकार खाँटी किराती परिवारमा जन्मे, हुर्के । ‘म लाहुरे हुनुपथ्र्याे,’ उनको निष्कर्ष थियो, ‘आफूलाई ‘लाहुरे संस्कृति’को कट्टर विरोधी ठान्नेहरू नै बेलायत सरकारको बुटजुत्ता पालिस गरिरहेका छन् । म लाहुरे भएको भए के फरक पथ्र्यो र ?’ तर, उनी लाहुर गएनन् । न त आइडीकार्डमा हङकङ नै गए ।
   ०५२ तिरै उनलाई अभिभावकले आइडीकार्डमा हङकङ जान प्रेरित गरे । अभिभावकले सुझाएको उपाय उनलाई मन परेन ।  गीत नै लेखर उनलाई महान् मानिस बन्नु थियो । महान् बन्न गीत लेख्नु उनका निम्ति अनिवार्य थियो । भने, ‘त्यतातिर पटक्कै मन गएन । अहिले म जुन कित्तामा उभिएको छु । यसैमा रमाएको छु ।’
                                         

Saturday, May 25, 2013

मलेसियामा नेपाली व्यवसायी



( दीपेन्द्र राई)
   सरस्वती क्याम्पस सोह्रखुट्टे काठमाडौंमा आइए पढ्दै गरेका सुन्दर आले पढाइ छाडेर मलेसिया पुगे । ११ वर्षअघि मलेसिया पुगेका सलाङ–३ धादिङका आलेले आल्मुनियम कम्पनीमा काम गर्थे ।
    केही न केही नयाँ काम गर्न मन पराउने उनले सन् २००४ मा मलेसियाको केलाङनेरुमा रेष्टुरेन्ट
खोले । लमजुङका टुकमान लामिछानेसँगको साझेदारी खोलिएको सो रेष्टुरेन्टमा नेपाली परिकार पाइन्थ्यो । आलेले भने, ‘विभिन्न शीर्षकमा मलेसिया पुगेका नेपालीलाई त्यहाँको खाना मन पर्दैनथ्यो । त्यो थाहा पाएपछि नेपालीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेको हुँ ।’
    मलेसियामा नेपाली खाना खान पाइने भएपछि सो रेष्टुरेन्टमा नेपालीको भीड लाग्न थाल्यो । मलेसियामा रहेर पत्रकारिता गर्नेको त झन् भीड लाग्न थाल्यो । कोही महिनावारी खाना खान आउँथे त कोही एक छाकमात्रै भए पनि मुख फेर्न आइपुग्थे । आलेले रेष्टुरेन्ट चलाउँदाको समय सम्झे, ‘दैनिक तीन सयजनालाई खाना खुवायौँ । रेष्टुरेन्टमा आएर खान नभ्याउनेलाई सम्बन्धित कम्पनीसम्म खाना पुर्याउने व्यवस्थासमेत गरिएको थियो ।’
     रेष्टुरेन्टका मालिक आले स्वयम्ले कम्पनी–कम्पनीमा खाना पुर्याउँथे । रेष्टुरेन्टमा खाए पनि कम्पनीमा पुर्याए पनि खानाको मूल्य उही सात रिङ्गेट (मलेसिया रूपैयाँ) नै तोकिएको थियो । महिनावारी खानेलाई एक सय ५० रिङ्गेट लिइन्थ्यो । ‘रेष्टुरेन्टमा खान आउँदा अघाउन्जेल खान पाइन्थ्यो भने अड्कलेर कम्पनीमा पुर्याइएको खानाले कसैलाई पुग्थ्यो पनि होला कसैलाई पुग्थेन कि,’ उनले भने, ‘मैले विभिन्न कम्पनीमा काम गर्ने ८० नेपालीलाई खाना पुर्याउँथेँ तर उनीहरूले कहिल्यै सिकायत गरेनन् ।’
   सुन्दरले आल्मुनियम कम्पनीमा आठ घन्टा काम भ्याएर आफ्नै रेष्टुरेन्टमा पनि कम्तीमा सात घन्टा समय दिन्थे । मलेसियमा १५ घन्टा काम गर्दा कति कमाइँदो हो ? उनको उत्तर थियो, ‘५० हजार नेपाली रुपैयाँ चोखो बचाउँथेँ ।’ सन् २००४ तिर एक नेपालीले मलेसियामा ५० हजार रुपैयाँ बचाउनुलाई कम आँक्न मिल्दैन । त्यसो त उनले आफ्नै रेष्टुरेन्टमा आठ नेपालीलाई काम दिएका थिए । उनीहरूले त्यतिबेला नै आठ सय रिङ्गेट पाउँथे ।
     त्यतिबेला १५ हजार रिङ्गेट लगानीमा खोलिएको रेष्टुरेन्ट सन् २००८ मा बेच्नुपर्यो । साझेदारीमा खोलिएको रेष्टुरेन्टमा साथीले हात झिकेपछि सुन्दर एक्लैले चलाउने आँट गरेनन् । ‘जागिर छँदै थियो,’ सुन्दरले भने, ‘अरू नै केही गर्ने सोच बनाएँ ।’
     मलेसियामा सुन्दर आले भनेपछि नचिन्ने सायदै होलान् । आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति मलेसिया शाखा अध्यक्ष र प्रवासी मगर संघ मलेसिया अध्यक्षको भूमिका निर्वाह गर्दै आएका आलेले मलेसियामा समाजसेवी र पत्रकारका रूपमा समेत परिचय बनाइसकेका छन् । महिनामा ५० हजार आर्जन गरे पनि आर्जित रुपैयाँ उनले समाजसेवामा समेत खर्चेका छन् । भन्छन्, ‘महिनामा ५० हजार आर्जन गर्दा भन्दा समाजसेवा गर्दा आनन्द लाग्छ ।’
     पत्रकारका रूपमा समेत स्थापित सुन्दर आलेले मलेसियाबाट नेपाल पृष्ठभूमि साप्ताहिक प्रकाशित गर्दै आएका छन् । प्रत्येक शुक्रवार प्रकाशित हुने पृष्ठभूमि १६ पेजको रहेको छ । सातजनाले पाँच–पाँच हजार रिङ्गेट लगानी गरेर प्रकाशित सो पत्रिकामा सन् २००२ बाटै संलग्न उनले सन् २०१० बाट एकलौटी बनाएको पत्रिकाको पाठक उल्लेख्य रहेको छ । पृष्ठभूमिकै लागि भनेर मलेसियाको विभिन्न ८० ठाउँमा नेपाली प्रतिनिधि राखिएका छन् । नेपालमा रहेर काम गर्न तीनजना पत्रकार राखिएका छन् ।
काम गर्न मलेसिया पुगेका उनले पछिल्लो समय कामै छाडेर सबै समय पत्रिका प्रबद्र्धनकै लागि लगाएका छन् । मलेसियामा कमाएको रुपैयाँ पृष्ठभूमिमै लगानी गरेको उनको भनाइ छ, ‘लगानी रिटर्न हुँदै छ । मिहिनेतको फल भने रिटर्न भएको छैन ।’ मलेसियाबाट नेपाल पृष्ठभूमि, नेपाली खबर, श्रम र प्रवासी सन्देश साप्ताहिक प्रकाशित छन् । मलेसियामा रहेका सात लाख नेपालीले मलेसियाबाटै प्रकाशित चार पत्रिका पढ्न पाएका छन् ।
      ११ वर्षदेखि मलेसियामै रहेका सुन्दर आलेले पत्रिकाको अलावा मोबाइल पसल खोलका छन् । पसल खोलेको सात महिना भयो । नेपालीलाई केन्द्रित गरेरै पसल खोलिएको हो । सो पसलमा नयाँ मोबाइमात्रै किन्न पाइन्छ । ‘बिग्रेको मोबाइल मर्मतसम्भार गर्ने व्यवस्था भए आम्दानी गर्न सकिन्थ्यो,’ उनले भने, ‘आदिवासी जनजाति महासंघको आठौँ अधिवेशनमा सहभागी हुन नेपाल आउँदा पसल बन्द गरेरै आएको हुँ । अब फर्केपछि मात्रै खोल्छु । पसलबाट सोचेजस्तो आम्दानी नभए पनि मलेसियामा बस्नसम्म धानेको छ ।’ पत्रिका प्रबद्र्धन र समाजसेवामा दौडिरहनुपर्ने भएकाले पनि उनले पसलमा समय दिन नसकेका हुन् ।
      ३२ वर्षकै उमेरमा सफल व्यवसायी बन्न सफल सुन्दर मलेसियाबारे जानकार मानिन्छन् । मलेसिया पुगेर व्यवसाय गर्न सोच बनाएकाले के गर्नुपर्ला ? उनले भने, ‘कुनै पनि व्यवसाय थाल्न सर्वप्रथम अनुमतिपत्र लिनुपर्छ । अनुमतिपत्र दुई तरिकाले पाउन सकिन्छ । पहिलो, मलेसियामा रहेको रजिष्ट्रार कार्यालयले दिन्छ भने दोस्रो नगरपालिकाले । दुईमध्ये एक कार्यालयबाट अनुमतिपत्र लिन सकिन्छ । सुरुमा परीक्षणका लागि महिना दिनको अनुमतिपत्र दिने व्यवस्था । महिना दिनभित्र सम्बन्धित व्यवसायीको पसलमा आएर निरीक्षण गरिन्छ । निरीक्षकले ‘ओके’ गरेपछि वर्ष दिनको अनुमतिपत्र पाइन्छ ।’
    कम्पनी नै खोलेर व्यवसाय चलाउनचाहिँ झन्झट छ । कम्पनी खोल्न चाहेमा मलेसियाकै नागरिकको सहयोग लिनुपर्छ । सम्बन्धित नागरिकले स्वीकृति जनाएर कम्पनी खोलेपछि उसलाई कम्पनीको ४० प्रतिशत सेयर दिनुपर्छ ।

Tuesday, May 21, 2013

नाम, दाम र सम्मान नै स्वस्तिक

(दीपेन्द्र राई)
     काठमाडौंको सुनधारामा रहेको धरहरालाई पछाडि पारेर दुई मिनेटजति दक्षिणतिर लाग्दै गर्दा एउटा बाटो पश्चिमतिर मोडिन्छ । पश्चिमतिर लाग्ने बाटो छाडेर दक्षिण–पूर्व फर्कंदा धरहराझैँ अग्लिएको भवन
देखिन्छ । त्यही भवन हो– स्वस्तिक गेष्टहाउस ।
     गेष्टहाउस सञ्चालक हुन्– लक्ष्मी गुरुङ । लुम्ले, पोखराकी गुरुङलाई स्वस्तिकले नाम, दाम र सम्मान दिएको छ । उनी स्वस्तिक गेष्टहाउसका मात्रै होइनन्, स्वस्तिक ट्राभल्स, स्वस्तिक हेन्डिक्राफ्ट, स्वस्तिक इको प्रडक्ट र स्वस्तिक एग्रीकल्चर सञ्चालक पनि हुन् ।
     ‘व्यापार व्यवसायमा लागुँला भनेर सपनामा पनि चिताएकी थिइनँ,’ स्वस्तिक गेष्टहाउसको सिरान तलामा कुरा गर्दै गुरुङले भनिन्, ‘म एन्सिडेन्ट्ली यतातिर लागेँ ।’ अचानक यतातिर लागे पनि उनलाई यही व्यवसायले सफल व्यवसायी बनाएको छ । उनीद्वारा सञ्चालित सबै कम्पनीका नाम स्वस्तिक नै राखिएका छन् । स्वस्तिक ‘ब्रान्ड’ भइसकेको छ । लक्ष्मी गुरुङ र स्वस्तिक कम्पनी पयार्य बनेका छन् ।
     स्वस्तिक गेष्टहाउस सञ्चालन गरेको पाँचवर्षे अनुभव सुनाउँदै उनले भनिन्, ‘गेष्टहाउस सञ्चालनबारे केही थाहा थिएन । विभिन्न देश घुम्दा/पुग्दा सम्बन्धित देशका गेष्टहाउसमा बसेकी थिएँ । त्यहाँका गेष्टहाउसमा बस्दा देखेका राम्रा कुरा आफ्नो गेष्टहाउसमा लागू गर्ने प्रयास गरेकी छु । स्वस्तिकको विशेषता भनेकै सजावट, सरसफाइ र हाइजेनिक खाना हो ।’
     गेष्टहाउसको अर्काे विशेषता भनेको ‘गेष्ट क्लालिटी’ पनि हो । स्वस्तिकका ‘गेष्ट क्लालिटी’ उच्चस्तरकै हुन्छन् । बेलायत, अमेरिका, हङकङ र जापानबाट आएका पाहुना ‘बुक’ गरेरै आउँछन् । यदाकदा एनजीओ/आईएनजीओले समेत गेष्टहाउस ‘बुक’ गर्छन् । नेपालका प्रमुख सहरबाट काठमाडौं आउने व्यापारीसमेत स्वस्तिक नै रोज्ने गर्छन् ।
     व्यक्तिगत सम्पर्क÷सम्बन्धबाट समेत गेष्टहाउस आउने पाहुना उल्लेख्य छन् । साथीभाइका ट्रेकिङ एजेन्सीमार्फत बेलायत र जापानबाट आएका पर्यटक बेलाबेलामा स्वस्तिकमै रात बिताउँछन् । विदेशबाट तालिमका लागि नेपाल आएका विदेशीको रोजाइसमेत स्वस्तिक नै हुने गर्छ । ‘गेष्ट क्वालिटी’ हेरेरै कोठा ‘डिजाइन’ गरिएका छन् । २० कोठा रहेको स्वस्तिक गेष्टहाउसमा १५ जनाले काम पाएका छन् ।
    पहिले ठमेल त्यसपछि हात्तीसारमा रहेको स्वस्तिक ट्राभल्स पनि यही भवनबाट सञ्चालित छन् । गुरुङले भनिन्, ‘स्वस्तिक कम्पनी एउटै भवनबाट सञ्चालन गर्दा सजिलो होस् भनेर स्वस्तिकका सबै कम्पनी एउटै भनवबाट सञ्चालन गर्दै छु ।’ गेष्टहाउसभन्दा ट्राभल्स पहिलेदेखि सञ्चालनमा आएको हो । ट्राभल्समा चारजनाले काम पाएका छन् । सञ्चालनमा रहेका गेष्टहाउस र ट्राभल्स कुनबाट लक्ष्मी गुरुङको चित्त बुझेको होला ? भनिन्, ‘दुवै (गेष्टहाउस र ट्राभल्स) राम्रो चलेको छ । हिजोआज हरेक क्षेत्रमा मन्दी छाएको छ । अस्वस्थ प्रतिस्पर्धा चलेको छ । त्यस्तो अवस्थामा पनि दुई/चार पैसा खेलाइरहन पाइनेचाहिँ होटल व्यवसाय नै रहेछ ।’
   स्वस्तिक कम्पनीअन्तर्गत स्वस्तिक ह्यान्डिक्राफ्ट र स्वस्तिक इको प्रडक्ट सञ्चालनमा ल्याउन लागिएको गुरुङले जानकारी दिइन् । भनिन्, ‘ह्यान्डिक्राफ्ट र प्रडक्ट सञ्चालनका लागि दुई वर्षदेखि अध्ययन गरिरहेकी छु ।’ स्वस्तिक हेन्डिक्राफ्ट प्रवद्र्धनका लागि पटक–पटक एसियन कन्ट्री पुगेकी उनको सपना छ– एकल महिलालाई जीविकोपार्जन गर्न सजिलो होस् भनेर हेन्डिक्राफ्ट सञ्चालनमा ल्याउन लागिएको हो । ‘स्वस्तिक हेन्डिक्राफ्टले उनीहरूको जीवनशैलीमा फेरबदल ल्याउनेछ । त्यतिमात्रै होइन, यहाँ उत्पादित सामग्री विदेश निर्यात हुँदा नेपाल सरकारलाई पनि सपोर्ट हुुन्छ नि ।’ सामान्य तरिकाले जोकोहीले पनि हेन्डिक्राफ्ट चलाएका छन् । आफूले चाहिँ व्यवस्थित तरिकाले हेन्डिक्राफ्ट चलाउने सोच बनाएको उनले बताइन् । स्वस्तिक इको प्रडक्टले भने अर्गानिक वस्तु बनाएर उत्पादन गर्नेछ । यसैगरी, स्वस्तिक गेष्टहाउस अलावा उनले अर्काे होटल सञ्चालनमा ल्याउने तयारी गर्दै छिन् ।
     गोरखा भूतपूर्व सैनिककी छोरी लक्ष्मी गुरुङको बाल्यकाल हङकङमै बित्यो । उनी बेलायत र जापानसमेत बसिन् । विद्यालय तहको पढाइ हङकङबाटै पूरा गरेकी उनले आईएस्सी भने पीएन क्याम्पस पोखराबाट पूरा गरिन् । आईएस्सी पूरा गरेर उनी फेरि विदेश लागिन् । उनी पछिल्लो समय निरन्तर नेपाल बस्न थालेकोे १४ वर्ष हुँदै छ । परिवारका उनीमात्रै नेपालमा छन् । केटाकेटी छँदैदेखिका महत्वाकांक्षी लक्ष्मीको तर्क छ, ‘स्मार्ट ब्रेन हुनेले नेपालमै कमाउन सक्छन् ।’ उनलाई आमाबाबुका साथै भाइबहिनीको समेत साथ, सहयोग छ ।
     व्यवसाय सफल पार्ने तीन सूत्र के–के हुन् ? सर्वाधिक सफल व्यवसायी गुरुङले भनिन्, ‘पहिलो, दूरदर्शी दोस्रो मिहिनेत र तेस्रोमा सम्बन्धित देशको नियम–कानुनबारे जानकार हुनुपर्छ । त्यति भयो भने आफूले हात हालेको व्यवसाय भड्खालोमा पर्दैन ।’ यसको साथै सकारात्मक सोच अनिवार्य सर्त हो ।
    लक्ष्मीले जुन–जुन व्यवसायमा हाल हालिन् सफल भएरै छाडिन् । ‘गोर्खा स्कुलिङले मलाई यो सफलता हात लागेको हो,’ उनको बुझाइ छ, ‘इमानदारी, सीप, जाँगर मैले त्यही स्कुलमा सिकेकी हुँ ।’
     लक्ष्मी गुरुङले बैंक, हाइड्रोमा र डेभपर्समा समेत लगानी गरेकी छन् । सेन्चुरी बैंककी प्रबद्र्धकमध्येकी एक गुरुङले पवित्र डेभलपर्स, सोपान डेभलपर्सको समेत प्रवद्र्धक हुन् । यति धेरै व्यवसायमा हात हाले पनि उनको सबै काम ‘अटोमेटिकल्ली’ चलेको छ । तसर्थ, उनी आफूलाई ‘हेल्दी र वेल्दी’ बनाउन लागिपरेकी छन् ।
   भूपू गोरखा सैनिकले अवकाश पाएर नेपाल फर्केपछि बाँकी जीवन सक्रिय रुपमा जिउन विभिन्न व्यवसायमा हात हालेका छन् । भूपू गोरखा सैनिकमात्र होइन, उनीहरुका छोराछोरीले समेत आमाबाबुको पदचाप पछ्याउँदै आएका छन् । प्रत्येक भूपू गोरखा सैनिक र तिनका छोराछोरी लक्ष्मी गुरुङले जस्तै १९/२० जनालाई काम दिने हो महिनामा १०/१५ हजार रुपैयाँ कमाउन अरब जानु पर्दैनथ्यो । नेपालको बेरोजगार समस्या हल हुँदै जाने थियो ।
    आफूलाई ‘हेल्दी र वेल्दी’ बनाउँदै उनी समाजसेवामा समेत जुटेकी छन् । गुरुङको सामाजिक संस्था तमू बौद्ध सेवा समिति, सदस्य रहेकी उनी तमू बौद्ध सेवा समितिअन्तर्गत आमा समूह, सचिवको भूमिका निर्वाह गर्दै आएकी छन् । सुुन्धारा–बागदरबार होटल एसोसिएसनका चार सल्लाहकारमध्ये एक उनी रोटरी क्लब पब्लिक रिलेसन डाइरेक्टर हुन् ।
    सुनधारा–बागदरबार क्षेत्रमा लभभग १०० गेष्टहाउस छन् । यस क्षेत्रमा गोरखा भूपू सैनिकद्वारा सञ्चालित गेष्टहाउससमेत छन् । त्यसमध्ये सिंगापुर, हेभन र न्यु क्यास्टल गेष्टहाउस मुख्य हुन् ।