Saturday, January 22, 2011

गोरु जुधाउँदै मनोरन्जन लिँदै

(दीपेन्द्र राई)

तारुका-५ चन्दनी र गेर्खु-६ बेत्रावती नुवाकोटमा सालिन्दा माघ १ गते गोरु जुधाउने गरिन्छ । विक्रम सम्वत् १९७८ सालदेखि नुवाकोटमा गोरु जुधाउन थालिएको हो ।

सोही परम्परालाई निरन्तरता दिँदै यसपालि पनि तारुकाको चन्दनीमा पाँच हल र गेर्खुको बेत्रावतीमा ६ हल गोरु जुधाइयो । चन्दनी र गेर्खुमा ११ हल गोरु जुधाइ पनि दुई हल गोरुचाहिँ अप्रतियोगीका रुपमा सहभागी गराइएको थियो ।

ढाका टोपीका लागि पाल्पा र घङ्गरुका लठ्ठीका लागि खोटाङले प्रसिद्धि पाएजस्तै पछिल्लो समय नुवाकोटको पहिचानका रुपमा लोकपि्रय बन्दै गएको छ, गोरु जुधाउने प्रतियोगिता । मेला व्यवस्थापन समिति अध्यक्ष सीता खतिवडाका अनुसार जिल्लाको तारुका-५ चन्दनी सात वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न यसपटक मैदानसमेत फराकिलो पारिएको थियो ।

नुवाकोटमा हुँदै आएको गोरु जुधाउने प्रतियोगिताले स्पेनको राष्ट्रिय खेल ‘बुलफाइट’को सम्झना गराउने स्थानीय साचारकर्मी नवदीप अजनवीले बताए । तारुकाको चन्दनीमा भएको यसपटकको प्रतियोगितामा नीलकण्ठ अधिकारी यमकुमार जमरकटेल जनक तामाङ र विष्णुमान श्रेष्ठको गोरुले बाजी मारेका थिए । वसन्त रिमाल र विष्णुप्रसाद ढकालको गोरुको प्रतिस्पर्धा बराबरीमा सकिएको थियो । प्रतियोगिता जित्ने गोरुधनीलाई एक हजार रुपैयाँ र प्रमाणपत्र र हार्ने गोरुधनीलाई पाँच सय रुपैयाँ र प्रमाणपत्र दिइएको थियो ।

तीन वर्ष अघिदेखि मात्रै जिल्लाकै बेत्रावतीमा सुरु गरिएको गोरु जुधाउने प्रतियोगितामा ६ हल गोरु उतारिएको थियो । बेत्रावती मेला संयोजक चक्रबहादुर डंगोलले भने, ‘प्रतियोगितामा जित्ने गोरुधनीलाई चार सय र हार्ने गोरुधनीलाई तीन सय रुपैयाँ पुरस्कार दिइएकॊ थियो ।’ चन्दनी र बेत्रावतीमा सम्पन्न गोरु जुधाउने प्रतियोगिता हेर्न काठमाडौं, चितवन, हेटौंडा, धादिङ र रसुवाबाट २० हजार दर्शक भेला भएका थिए ।

सम्वत् १९७८ मा बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भान्जालाई मनोराजन दिने उद्देश्यले गोरु जुधाउने परम्परा थालिएको बताइन्छ । यसबारे ऐतिहासिक प्रमाण भने फेलापरेको छैन । तर, जिल्लामा गोरु जुधाउने प्रतियोगितालाई जात्राका रुपमा मनाउन थालिएको छ । सालिन्दा हुँदै आएको यो प्रतियोगिताले नुवाकोटको आन्तरिक पर्यटन प्रवद्र्धन हुने दानसिङ नुवाकोटका हरिशरण खनालले बताए ।

‘परम्परालाई जोगाइराख्न आफूले पालेको साँढे जुधाएर नाम कमाउन कतिपय स्थानीय आफूले गन्द्रुक खाएर गोरुलाई मास खुवाउँदै स्याहार गर्ने गरेको खुलासा गर्दै,’ तारुकाका दण्डपाणि अधिकारीले भनॆ, ’आफू रुखोसुखो खाएर गोरुलाई मीठोमसिनु खुवाउने प्रवृत्ति विकास भएको छ ।’

गोरु जुधाउने प्रतियोगिता भव्य र सभ्य बनाउन इजरायलमा रहेको नेपालीले २९ हजार रुपैयाँ पठाएका थिए भने र मेला हेर्न आउनेले समेत गच्छेअनुसार आर्थिक सहयोग गरेका थिए ।
                                                    
(तस्बिर सौजन्य  : नवदीप अजनवी)

No comments:

Post a Comment