Saturday, October 22, 2011

पुरुष हुनु त जंगबहादुरजस्तो




बबिता बस्नेत, सम्पादक, घटना र विचार साप्ताहिक

पत्रकारिता जीवनमा धेरैजसो सहकार्य पुरुष सहकर्मीसँगै भयो । आँखा जुधाएर कुरा गर्ने पुरुष मन पर्छ मलाई । आँखामा आँखा जुधाएर कुरा नगर्ने मान्छेमा आत्मविश्वास नभएजस्तो लाग्छ । देश काल र परिस्थितिबारे वेल इन्फम्र्ड नभएका पुरुषसँग संगत गर्न मन पराउँदिनँ । अनि सस्तो तरिकाले कुरा गरिहिँड्ने पुरुषसँग पनि मेरो ग्रह मिल्दैन । 

मेरो आदर्श पुरुष मेरा बुबा मोहनबहादुर बस्नेत हुनुहुन्छ । मैले पहिलोपटक संगत गरेको पुरुष पनि मेरो बुबा नै हो । उहाँ समाजसेवी र स्थानीय नेतासमेत हुनुहुन्छ । खोटाङजस्तो दुर्गम ठाउँमा पाठँपुस्तकबाहेक केही पढ्न पाइँदैनथ्यो । पढ्न पाइन्थ्यो भने चाउचाउ सलाई साबुन बिस्कुट र चक्लेटका खोलमा लेखिएका अक्षर मात्रै । त्यस्तो ठाउँमा जन्मेकी मैले मेरो बुबाका कारण त्यसताका पनि खप्तड स्वामीका विचार विज्ञान लेखनाथ पौडुलको तरुण तपस्वीजस्ता अन्य थुप्रै राम्रा-राम्रा किताब पढ्न पाएँ ।

जंगबहादुर राणा
त्यतिमात्रै होइन बुबाले मलाई रेडियोसमेत किनिदिनुभएको थियो । बुबा रेडियोका माध्यमले ुछोरीको बौद्धिक विकास होस्ु भन्ने चाहनुहुन्थ्यो । मलाई भन्ने गर्नुहुन्थ्यो ुगीत र कार्यक्रम मात्रै सुन्ने होइन समाचार र समाचारमूलक कार्यक्रम पनि ध्यान दिएर सुन्नुपर्छ ।ु 
पछि रेडियो नेपालमा घटना र विचार कार्यक्रम साचालन गर्दा बुबालाई खुब सम्झन्थेँ । र सम्झिन्थेँ- बुबाले मेरा लागि किनिदिनुभएको रेडियो । बहादुर साहसी र आँटिलो पुरुष मन पर्छ मलाई । पृथ्वीनारायण शाह बहादुरी साहस र हिम्मतका सबभन्दा भव्य प्रतीक हुन् । यी दुई गुणले नेपाल एकीकरण गर्न सम्भव भएको थियो उनलाई । हामी नेपाली हौँ भनेर विश्वसामु गर्व गर्ने वातावरण त उनै पृथ्वीनारायण शाहले बनाइदिएका हुन् नि &

पृथ्वीनारायण शाह
त्यसैले उनी बहादुरी साहसी वीर र सफल पुरुष पनि हुन् । नेपाललाई ुअसिल हिन्दुस्तानु बनाउने क्रममा यहाँका आदिवासी जनजातिको सांस्कृतिक सम्पदा ध्वस्त भए । कत्तिका नाक काटिए । जान-अन्जानमा उनीबाट जे-जति कमी-कमजोरी भए ती गौण मानिन्छन् । काम गर्दा तल-माथि त भइहाल्छ । त्यसैले उनी क्षम्य छन् । म अहिले पनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहजस्ता पुरुषको कल्पना गर्छु । जोदेखि म सधैँ प्रभावित छु । यसको मतलब सबै पुरुष उनीजत्तिकै बहादुर र साहसी हुनुपर्छ भन्ने होइन । त्यो सम्भव पनि छैन । 

साहस बहादुरी र हिम्मत महिला र पुरुष दुवैमा हुनु जरुरी छ यदि जीवनमा सफल हुने हो भने । कूटनीतिक क्षमता भएका पुरुष लोभलाग्दा हुन्छन् । कूटनीतिक क्षमता र दूरदर्शी पुरुष पलासको पुूलमा सुगन्धझैँ हुन्छन् । नेपाली इतिहासमा जंगबहादुर राणा यस्तै पुरुष हुन् भन्ने लाग्छ मलाई ।
चन्द्रशमशेरको पालामा अन्त्य भए पनि सतीप्रथा अन्त्यका लागि आधार भने जंगबहादुर राणाले नै तय गरेका थिए । म प्रेससँग सम्बन्धित रहेकाले पनि उनलाई सधैँ सम्मान गर्छु । किनकि बेलायतबाट फर्कंदा उनैले गिद्दे प्रेस नेपाल ल्याएका थिए ।


नारायणमान बिजुक्छे
उनको आत्मसम्मानपूर्ण व्यवहारले पनि  मलाई प्रभाव पारेको हो । बेलायत भ्रमणमा जाँदा राष्ट्रप्रमुखलाई दिइनेभन्दा तीन तोप कमको सलामी दिने कुरा चल्दा जंगबहादुरले भनेका थिए ुम नेपाल सरकारको प्रतिनिधित्व गरेर बेलायत आएको हुँ बेलायतका राष्ट्रप्रमुख नेपाल आउँदा पाउने ओहदाकै सम्मान मैले पाइनँ भने त्यो मान्य हुने छैन ।ु राष्ट्रप्रमुखको ओहदासरहकै सम्मान पाएपछि मात्रै उनले बेलायत टेकेका थिए । 
वरिपरि घर काठमाडौं उपत्यका बीचमा भने खाली जग्गा राख्ने उनले परिकल्पना गरेका थिए । उनको यो दूरदर्शी परिकल्पना व्यवहारमा उतारिएको थियो भने काठमाडौँ कंकि्रटको सहर हुने थिएन । उनको यिनै दूरदर्शी र कूटनीतिक नीतिले मजस्ता अरु धेरैलाई प्रभाव पारेको हुनुपर्छ ।
आफ्नै भाइभारदारले मात्रै प्रधानमन्त्री बन्न पाउने उनको स्वनिर्णयले १०४ वर्षसम्म नेपालमा जहानियाँ राणा शासन हाबी भयो । जहानियाँ राणा शासनले नेपाली जनतामाथि निरंकुशता लादे नेपालमा सबैभन्दा बढी विदेशी हस्तक्षेप िभœयाउने काम उनैको पालादेखि सुरु भयो । उनकै समयदेखि अप्रत्यक्ष रुपमा अंग्रेजको उपनिवेश भयो नेपाल । तैपनि जंगबहादुर राणाको कूटनीतिक क्षमता दूरदर्शिता र आत्मसम्मानपूर्ण भावनाको सधैँ सम्मान गर्छु । 

बहादुरी साहस र हिम्मतजस्ता गुणकै कारण जंगबहादुरले नेपाली इतिहासमा तहल्का मच्चाइदिए । जंगबहादुरबाट यो देशले पर्याप्त पीडा पाए पनि केही अवसरमा उनको कूटनीतिक क्षमता दूरदर्शिता र आत्मसम्मानपूर्ण भावना कदरयोग्य छन् । व्यक्तित्वका दृष्टिले जंगबहादुर लोभलाग्दा पुरुष हुन् । 

देवप्रकाश त्रिपाठी

राजनीतिलाई फोहोरी खेल भन्नेहरु पनि कम छैनन् नेपाली समाजमा । राजनीतिलाई फोहोरी खेल मान्नेहरुको भनाइ नै सही मान्ने हो भने त्यही फोहोरी खेलमा संलग्न सुग्घरी राजनीतिक खेलाडीदेखि म साह्रै प्रभावित छु ।

मलाई प्रभाव पारेको राजनीतिक व्यक्तित्व हुन्- नारायणमान बिजुक्छे । नेपाल मजदुर किसान पार्टीका अध्यक्षसमेत रहेका बिजुक्छे भ्रष्टाचाररहित नेता मानिन्छन् । राष्ट्रप्रति अत्यन्तै संवेदनशील नेता बिजुक्छेसँग पदलोलुपता कत्ति पनि छैन । आत्मसम्मानले भरिपूर्ण राजनीतिक व्यक्तित्व उनी हल्काफुल्का बोल्दैनन् । आज एउटा कुरा बोल्यो भोलिपल्ट नै माफी माग्दै हिँड्नुपरेको छैन उनलाई । जहिले-जहिले सरकार भंग हुन्छ साना दलका तर्फबाट प्रत्येकपटक मन्त्री हुन सक्ने हैसियत छ उनको । तर उनले त्यसो गर्न चाहेनन् । पदप्रति मरिहत्ते नगर्ने साधारण जीवनपद्धति भएका यस्ता नेताले पो देशको नेतृत्व गर्नुपर्छ त भन्ने लाग्छ मलाई ।
पत्रकारितामा बीस वर्ष एक महिना बिताइसकेँ मैले । यत्तिका अवधिमा पुरुष सहकर्मीसँगै धेरैजसो सहकार्य भयो । उठबस भयो । पत्रकारिता व्यवसाय अँगालेपछि धेरैसँग भेट भयो;हुन्छ । सभा-समारोहमा नगई सुखै छैन । पत्रकारितामा सबै पुरुष बौद्धिक छैनन् । औसतभन्दा पनि कम प्रतिभा भएका पुरुष यस क्षेत्रमा छन् । 

सरुभक्त


पत्रकारितामा मलाई प्रभाव पार्नॆ बौद्धिक पुरुष देवप्रकाश त्रिपाठी हुन् । उनको तर्क गर्न सक्ने क्षमता र अध्ययनपि्रयता मलाई असाध्यै मन पर्छन् । अबौद्धिक पुरुषसँग म संगत गर्न सक्दिनँ चाहन्नँ । प्रेमप्रति निष्ठा र समर्पण भएका पुरुषलाई म सम्मान गर्छु । यस्ता पुरुषले महिलालाई आत्मैदेखि आदर गर्छन् । 
हिजोआज घरमा श्रीमती हुँदाहुँदै अरु महिलासँग सम्बन्ध स्थापित गर्ने पुरुष धेरै छन् । यस्ता पुरुषका महिलालाई हेर्ने दृष्टिकोण साह्रै फोहोरी हुन्छ । मलाई उनीहरु एकदम विकृत लाग्छन् । 
प्रेमप्रति निष्ठा र समर्पण भएका पुरुषमा मलाई साहित्यकार सरुभक्त अब्बल लाग्छन् । प्रेमिकाको नामबाटै आफ्नो पहिचान बनाउन चाहे उनले । प्रेम सम्बन्ध सफल नभए पनि प्रेमिकाकै नाममा आजीवन अविवाहित रहे सरुभक्त । 
 
प्रस्तुति ः दीपेन्द्र राई
 

No comments:

Post a Comment