Saturday, January 22, 2011

गोरु जुधाउँदै मनोरन्जन लिँदै

(दीपेन्द्र राई)

तारुका-५ चन्दनी र गेर्खु-६ बेत्रावती नुवाकोटमा सालिन्दा माघ १ गते गोरु जुधाउने गरिन्छ । विक्रम सम्वत् १९७८ सालदेखि नुवाकोटमा गोरु जुधाउन थालिएको हो ।

सोही परम्परालाई निरन्तरता दिँदै यसपालि पनि तारुकाको चन्दनीमा पाँच हल र गेर्खुको बेत्रावतीमा ६ हल गोरु जुधाइयो । चन्दनी र गेर्खुमा ११ हल गोरु जुधाइ पनि दुई हल गोरुचाहिँ अप्रतियोगीका रुपमा सहभागी गराइएको थियो ।

ढाका टोपीका लागि पाल्पा र घङ्गरुका लठ्ठीका लागि खोटाङले प्रसिद्धि पाएजस्तै पछिल्लो समय नुवाकोटको पहिचानका रुपमा लोकपि्रय बन्दै गएको छ, गोरु जुधाउने प्रतियोगिता । मेला व्यवस्थापन समिति अध्यक्ष सीता खतिवडाका अनुसार जिल्लाको तारुका-५ चन्दनी सात वर्षदेखि व्यवस्थित रुपमा गोरु जुधाउन थालिएको हो । प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न यसपटक मैदानसमेत फराकिलो पारिएको थियो ।

नुवाकोटमा हुँदै आएको गोरु जुधाउने प्रतियोगिताले स्पेनको राष्ट्रिय खेल ‘बुलफाइट’को सम्झना गराउने स्थानीय साचारकर्मी नवदीप अजनवीले बताए । तारुकाको चन्दनीमा भएको यसपटकको प्रतियोगितामा नीलकण्ठ अधिकारी यमकुमार जमरकटेल जनक तामाङ र विष्णुमान श्रेष्ठको गोरुले बाजी मारेका थिए । वसन्त रिमाल र विष्णुप्रसाद ढकालको गोरुको प्रतिस्पर्धा बराबरीमा सकिएको थियो । प्रतियोगिता जित्ने गोरुधनीलाई एक हजार रुपैयाँ र प्रमाणपत्र र हार्ने गोरुधनीलाई पाँच सय रुपैयाँ र प्रमाणपत्र दिइएको थियो ।

तीन वर्ष अघिदेखि मात्रै जिल्लाकै बेत्रावतीमा सुरु गरिएको गोरु जुधाउने प्रतियोगितामा ६ हल गोरु उतारिएको थियो । बेत्रावती मेला संयोजक चक्रबहादुर डंगोलले भने, ‘प्रतियोगितामा जित्ने गोरुधनीलाई चार सय र हार्ने गोरुधनीलाई तीन सय रुपैयाँ पुरस्कार दिइएकॊ थियो ।’ चन्दनी र बेत्रावतीमा सम्पन्न गोरु जुधाउने प्रतियोगिता हेर्न काठमाडौं, चितवन, हेटौंडा, धादिङ र रसुवाबाट २० हजार दर्शक भेला भएका थिए ।

सम्वत् १९७८ मा बझाङी राजा जयपृथ्वीबहादुर सिंह तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भान्जालाई मनोराजन दिने उद्देश्यले गोरु जुधाउने परम्परा थालिएको बताइन्छ । यसबारे ऐतिहासिक प्रमाण भने फेलापरेको छैन । तर, जिल्लामा गोरु जुधाउने प्रतियोगितालाई जात्राका रुपमा मनाउन थालिएको छ । सालिन्दा हुँदै आएको यो प्रतियोगिताले नुवाकोटको आन्तरिक पर्यटन प्रवद्र्धन हुने दानसिङ नुवाकोटका हरिशरण खनालले बताए ।

‘परम्परालाई जोगाइराख्न आफूले पालेको साँढे जुधाएर नाम कमाउन कतिपय स्थानीय आफूले गन्द्रुक खाएर गोरुलाई मास खुवाउँदै स्याहार गर्ने गरेको खुलासा गर्दै,’ तारुकाका दण्डपाणि अधिकारीले भनॆ, ’आफू रुखोसुखो खाएर गोरुलाई मीठोमसिनु खुवाउने प्रवृत्ति विकास भएको छ ।’

गोरु जुधाउने प्रतियोगिता भव्य र सभ्य बनाउन इजरायलमा रहेको नेपालीले २९ हजार रुपैयाँ पठाएका थिए भने र मेला हेर्न आउनेले समेत गच्छेअनुसार आर्थिक सहयोग गरेका थिए ।
                                                    
(तस्बिर सौजन्य  : नवदीप अजनवी)

भरियाको जिन्दगी कष्टकर

(दीपेन्द्र राई)
 
सरकारी नीति स्पष्ट नभएकाले पर्यटक भरियाको जिन्दगी कष्टकर बन्दै गएको छ । पर्यटन व्यवसायी र भरियाबीचको सम्बन्धसमेत हार्दिक नभएपछि पर्यटक भरियाको पीडा कष्टकर बन्दै गएको हो ।

पर्यटकको भारी बोकेर उनीहरुलाई गन्तव्यसम्म पुर्याउने भरिया वर्षाैंदेखि हेपिँदै आएका छन् । भरियाका लागि भनेर पर्यटकबाट जति ज्याला लिइएको हुन्छ, त्यो सबै नपाएको उनीहरुको गुनासो नयाँ होइन । पर्यटक भरिया मंगले राईले भने, ‘भरियाका निम्ति तोकिएको रकम नदिने, सरदारलाई जागिरबाटै बर्खास्त गर्ने कडा नियम नबनेसम्म हामी भरियामाथि सधैँ थिचोमिचो भइरहन्छ ।’

पर्यटन निमावली ०५९ मा ३७०० फिटसम्मको उचाइमा भारी बोकेर पुगेका भरिका लागि २ सय र सोभन्दा माथिको उचाइका लागि २ सय ५० दैनिक ज्याला उपलब्ध गराउनुपर्ने उल्लेख छ । तर, त्यति ज्यालाले हिमाली क्षेत्रमा खोलिएका होटलमा खाना खानसमेत नपुग्ने पर्यटक भरिया राईले बताए । एकताका खुम्बु क्षेत्रमा एमाओवादीसम्बद्ध मजदुर संगठनले भरियाको  न्यूनतम ज्याला दैनिक ६ सय तोकेको थियो भने उनीहरुलाई ३० किलोभन्दा बढी तौलको भारी बोकाउन नहुने नियम बनाइएको थियो ।

नेपालमा ५० हजार भरिया रहेका छन् । पर्यटकको भारी बोकेर पदयात्रामा निक्लिएका भरियाका लागि स्वास्थोपचारको समेत व्यवस्था छैन । जुनसुकै समयमा दुखबिमार परे पनि पर्यटकका लागि भने हेलिकोप्टरको व्यवस्था गरिएको हुन्छ । तर, पदयात्रामा निक्लिएका भरिया भने बिरामी परे बाटोमै छाडिन्छन् । कतिपयको बाटोमै मृत्यु हुन्छ । सम्बन्धित परिवारले आफन्तको मृत्यु भएको पत्तो पाउँदैनन् । तसर्थ, पर्यटक भरियाको काम जोखिममा पर्दै गएको हो । जोखिम मोलेर जीवन निर्वाह गर्दै आएका उनै भरियाको जीवन बिमाको व्यवस्थासमेत गरिएको छैन । त्यही भएर मजदुर युनियनले १७००० फिटसम्ममा मृत्यु हुने भरियका नाममा २ लाख र सोभन्दा माथिको उचाइमा मृत्यु हुँदा ३ लाखसम्मको बिमाको व्यवस्था गरिनुपर्ने माग गर्दै आएको छ । तर, युनियनको सो मागको सुनुवाइ हुन सकेको छैन । ट्राभल र ट्रेकिङ एजेन्सी नियमावली ०३७ मा भने पदयात्रामा निक्लिएका भरियाको  मृत्यु भएमा सम्बन्धित परिवारले २५ हजार क्षतिपूर्ति पाउने व्यवस्था गरिएको छ ।

ट्राभल र ट्रेकिङ एजेन्सी नियमावली ०३७ अनुसार भारी बोकेर हिमाली भेगमा निक्लिएका भरियाका लागि एउटा ज्याकेट, ऊनीको कपडा एकजोर, जुत्ता र पन्जा उपलब्ध गराउनुपर्ने उल्लेख छ । नियमावलीमा उल्लेख भएअनुसारको सुविधा भरियाले नपाएको भन्दै पर्यटक भरिया केशव क्रलुङले भने, ‘भरियालाई बीचबाटोबाटै फर्काउने पनि गरिन्छ । जसले गर्दा उसको रोजीरोटी खोसिन्छ ।’