Saturday, March 23, 2013

अधुरो सपनाको माया लाग्छ



 (दीपेन्द्र राई)
     ‘देखेको दुई सपनामध्ये एउटा पूरा भएको छ,’ छिला राईले भनिन्, ‘म एअरहोस्टेस र मिडिया पर्सन बन्न चाहन्थेँ । मिडिया पर्सन बने पनि एअरहोस्टेस बन्न सकिनँ ।
     छिलाले रेडियो त्रियुगामा दुई वर्षसम्म काम गरिन् । सुरु–सुरुमा सूचनामूलक कार्यक्रम चलाउने उनले बिस्तारै मनोरञ्जनात्मक कार्यक्रम हुँदै समाचार शाखामा रहेरसमेत काम गरिन् । उनीद्वारा सञ्चालित कार्यक्रम ‘सँगालो’बारे हिजोआजसमेत रेडियो त्रियुगामा चर्चा हुने गर्छ । भनिन्, ‘सो कार्यक्रम प्रत्येक अंक विशेष अंकजस्तै बनेको थियो । कार्यक्रममा कहिले गृहिणी, कहिले युवायुवती, कहिले बालबालिका त कहिले वृद्धवृद्धालाई बोलाएर कार्यक्रम गर्थें ।’
     सँगालोसँगै ‘दम्पती त्रियुगामा’ भन्ने उनको कार्यक्रम झनै लोकप्रिय बन्यो । सो कार्यक्रममा श्रीमान्–श्रीमतीलाई सहभागी गराएर उनीहरूको दाम्पत्य जीवनको विविध पक्षमाथि छलफल गरिन्थ्यो । यो कार्यक्रमले थुप्रै श्रीमान्–श्रीमतीबीच रहेको असमझदारी हल भएको थियो ।
     उनले रेडियो त्रियुगामा ‘अखबार–अखबार’ नामक अखबारकै समाचार पढ्नसमेत भ्याइन् । रेडियो त्रियुगा छाडे पनि उनी काठमाडौंमा रहेको गोर्खा एफएममा भाषाभाषी कार्यक्रमअन्तर्गत चाम्लिङ राई भाषाका कार्यक्रम चलाउँछिन् ।
     सगरमाथा मोडेल स्कुल उदयपुरमा पढ्दा उनी गीत गाउँथिन् । त्यसले निरन्तरता पाएन । सोही विद्यालयमा नौ कक्षामा पढ्दै गर्दा सरस्वतीपूजामा आनी छोइङको ‘फूलको आँखामा’ गीत गाउँदा उनले पहिलोपटक माइक्रोफोन समातेकी थिइन् । त्यसपछि भने उनी माइक्रोफोनसँग टाढिएकी छैनन् ।
‘मिडिया पर्सन’ छिला राईले पहिलो मिस राईमा समेत भाग लिएकी थिइन् । ‘टपटेन’सम्म पुगेकी उनले किरात राई समुदायको उत्थाननिम्ति सो प्रतियोगितामा भाग लिएको बताइन् । सो प्रतियोगितामा भाग लिँदा उनले क्याटवाक गर्न मात्रै जानिनन् किरात राई जातिको विविध पक्षबारे जान्ने मौका पाइन् । भनिन्, ‘चाम्लिङ राई मातृभाषी भए पनि मलाई आफ्नो संस्कार, संस्कृतिबारे त्यति ज्ञान रहेनछ । मिस राईमा भाग लिएपछि त्यससम्बन्धी जान्ने मौका पाएँ ।’
     छिलाका हजुरबुवा बेलायती सेना हुन् भने बुवा नेपाल प्रहरीसँग सम्बद्ध थिए । हजुरबुवा र बुवाकै पदचाप पछ्याउन खोजे उनका दाजुहरूले । लाहुरे बन्नकै लागि दाइहरू बिहान–बिहान दौडन्थे । दाइहरूसँग छिला पनि शारीरिक अभ्यासका लागि दौडन्थिन् । त्यहीक्रममा उनले दाइहरूसँग भन्थिन्, ‘म एअरहोस्टेस र मिडिया पर्सन बन्न चाहन्छु ।’ प्रतिउत्तरमा दाइहरूले भन्थे, ‘तँ एअरहोस्टेस र मिडिया पर्सन भएको भोलिपल्ट त........।’ तपाईंहरू लाहुरे बन्नुभयो भने म एअरहोस्टेस र मिडिया पर्सन बन्छु, बन्नु भएन भने पनि बन्दिनँ भन्ने छिलाका दुवै दाइ लाहुरे नबने पनि उनी भने मिडिया पर्सन बनेरै छाडिन् । आफू एअरहोस्टेस नबने पनि अधुरो सपनाको माया लाग्ने गरेको उनले बताइन् ।          

No comments:

Post a Comment