(दीपेन्द्र राई)
‘क्यासेट प्लेयरमा गीत रेकर्ड गरेर आफ्नो आवाज कस्तो छ भनेर सुन्थेँ,’ पहिलो मिस राई युमा राईले गीत–संगीतसम्बन्धी आफ्नो लगावबारे प्रस्ट पारिन्, ‘म त्यतिबेला ओखलढुंगामै पढ्थेँ । गीत–संगीतप्रति अगाध लगाव भए पनि यो मेरो ‘पार्ट अफ लाइफ’मात्रै हो ।’
संगीतलाई ‘पार्ट अफ लाइफ’ माने पनि किराती सभ्यतासम्बन्धी गीत गाउने युमाको धोको पूरा भएको छैन । भनिन्, ‘व्यावसायिक रूपमा गीत गाउँदिनँ होला ।’ संगीतसम्बन्धी गहिरो ज्ञान नभए पनि गीत गाउँदै आएकी उनले मिस राईमा भाग लिँदा सुम्निमा एकेडेमीमा संगीतसम्बन्धी विशेष कक्षा लिएकी थिइन् । मिस राईअन्तर्गत ‘ट्यालेन्ट सो’मा गीत गाउने सोच बनाएपछि उनले संगीतसम्बन्धी विशेष कक्षा लिएकी हुन् ।
सानैदेखि गीत गाउने रहर भए पनि उनले यही क्षेत्रमा भविष्य नखोज्ने पक्का छ । तर, शुभचिन्तकले तिम्रो आवाज राम्रो छ, गीतिएल्बम निकाल्नुपर्छ भनेर जोड गरिरहेकाले ‘नर्सिङ क्लास’ सकिएपछि एउटा गीतिएल्बमचाहिँ निकाल्ने हो कि भनेर सोचिरहेको उनले बताइन् ।
दिनभरिजसो कलेजमै बिताउने उनले आफ्नो ‘करिअर’लाई बढी महत्त्व दिएकी छन् । ‘मिस राई भएपछि नेपाली चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्ने थुप्रै प्रस्ताव आए पनि ‘करिअर’मा बढी ‘फोकस’ भएकीले अस्वीकार गरेँ,’ उनले भनिन्, ‘विन्टर भ्याकेसनमा यम गुरुङको गीतिएल्बम ‘तिम्रो जीवन’को शीर्षगीत तिम्रो जीवन नामक गीतमा भने मोडलिङ गरेँ । विन्टर भ्याकेसनको सदुपयोग गर्न म्युजिक भिडियोमा अभिनय गरेकी
हुँ ।’
छ । त्यससम्बन्धी फिल्ममा अभिनय गर्न प्रस्ताव आए पनि अहिलेलाई उनी करिअरमै केन्द्रित हुने बताउँछिन् । उनले समय अनुकूल पारेर त्यस्ता फिल्ममा अभिनय गर्ने बताइन् ।
युमा आफ्नो संस्कार, संस्कृतिप्रति उत्तिकै सचेत छिन् । २० वर्षीया बाहिङ राई मातृभाषी उनलाई मातृभाषा बोल्न फररर्र आउँछ । घरमा रहँदा बुवाआमा र दाइसँग मातृभाषामै कुराकानी गर्ने उनले किरात राईको संस्कृतिबारे केही काम गर्ने सोच बनाएकी छन् । भनिन्, ‘मानव जीवनका यावत् पक्ष संस्कृतिमै निहित हुन्छ । पहिले म युमा राई मात्रै थिएँ । मिस राई प्रतियोगितामा सहभागी हुन तालिम लिएपछि आफ्नो जातिको इतिहास बुझ्ने पाएँ । मिस राई भएपछि आफ्नो जातीय इतिहास र पहिचान जान्ने मौका पाएँ ।’ उनलाई किरात राई जातिको भाषिक विविधताबारे समेत ज्ञान छ । उनलाई आफ्नो जातिको इतिहास जान्ने, बुझ्ने तीव्र इच्छाशक्ति छ ।