Saturday, January 12, 2013

बेलायतमा गोर्खाली

      कवि जगत नवोदित १२ वर्षदेखि बेलायत बस्दै आएका छन् । बेलायती सेनामा सम्बद्ध नवोदित बेलायत बसेर साहित्य सिर्जनामा लागिपरेकामध्ये उम्दा कवि हुन् । बेलायतमा गोर्खालीको वर्तमान अवस्था, साहित्यिक गतिविधि, सामाजिक संघ-संस्था र राजनीतिबारे भोगाइ र देखाइ जगत नवोदितले दीपेन्द्र राईलाई सुनाए :
गोर्खालीको अवस्था 
     बेलायतले गोर्खालीका लागि 'इन्डिफिनेट लिभ टु स्टेट' व्यवस्था गरेको छ । जसले गोर्खालीहरू बेलायतमा बस्न पाएका छन् । उनीहरूको छोराछोरीले त्यहाँको शिक्षा हासिल गर्न पाएका छन् । यो सकारात्मक पक्ष हो । यसको नकारात्मक पक्ष झनै विकराल छ ।
     पहिलेका भूतपूर्व गोर्खा सैनिक अंग्रेजी भाषामा दख्खल छैनन् । भाषा कमजोर भएपछि बेलायती समाज, संस्कार, संस्कृति, रहन-सहन बुझ्न कठिन हुन्छ । किनभने कोठाबाहिर निस्केपछि प्रत्येक पाइलामा अंग्रेजीमा कुराकानी गर्नुपर्छ । बेलायतमा सबै कुरा पद्धतिमा चलेको हुन्छ । पद्धतिमा चलेको ठाउँमा हामी पद्धतिमा नचेलको देशका मानिस बेलायतको पद्धति बुझ्न अंग्रेजी भाषा जान्नैपर्‍यो ।
      बेलायतमा विभिन्न संघ-संस्था स्थापना भएको छ । त्यसले भाषा नबुझ्ने बुवाआमालाई कक्षा सञ्चालन गरेर मद्दत गरिरहेका छन् । तर, यो कक्षा सधैं सञ्चालन गर्न सम्भव छैन । उनीहरूलाई सहयोगमात्रै गरेर हिँड्न सम्भव पनि हुादैन । भाषिक ज्ञान अभावले कत्ति भूपू गोर्खालीको जीवन कष्टकर बन्दै गएको छ । कतिपयले त आफ्ना छोराछोरी सँगै लैजान पाएका छन् । उनीहरूका लागि त्यस्तो अप्ठ्यारो छैन । बेलायतमा ६० वर्षमाथिका बूढाबूढीमात्रै बसेको छन् उनीहरूलाई भाषिक समस्याले अप्ठ्यारो पारेको छ । उनीहरूलाई कसरी खाना किनेर ल्याउने भन्नेसमेत थाहा छैन ।
  गोर्खालीको संघ-संस्था बिजिडब्लुएस, गेसो, युजिबिएनसम्बद्ध पदाधिकारीले समयतालिका मिलाएर विभिन्न ठाउँमा स्वयम्सेवक परिचालन गरेर भाषा नजान्नेका लागि सहयोग गर्दै आएका छन् । उनीहरूकै लागि भने नेपालको गाविस, नगरपालिका भनेजस्तै बेलायतको काउन्सिलले निश्चित रकम छुट्याएर तालिम चलाउने गरेका छन् । त्यसले पनि भाषिक समस्या बेहोरिइरहेकालाई केही राहत मिलेको छ ।
     म १२ वर्षदेखि बेलायतमा बस्दै आएको छु । तर, मलाई पनि बेलायतको सबै पद्धतिको ज्ञान छैन । म त नेपालमै पढेर आएको हुँ । यस्तो मानिसलाई त त्यस्तो छ भने बेलायतमा रहेका वृद्धवृद्धालाई समस्या त पर्ने नै भयो । तर पनि उनीहरू बेलायत बसिरहेका छन् । समस्या बेहोरेर पनि बेलायत बस्नुका कारण उनीहरूलाई पेन्सन सुविधा छ । बेलायत सरकारले ६५ वर्षमाथिका वृद्धवृद्धालाई छुट्टै पेन्सन भत्ता दिने गरेको छ । उनीहरूले मासिक आठ सय पाउन्ड वृद्ध भत्ता पाउँछन् ।
      बेलायत बस्नुको फाइदा प्रशस्तै छन् । बेलायत सरकारले भूपू गोर्खालीलाई निःशुल्क स्वास्थोपचार गर्ने गर्छ । खाना त्यत्तिकै स्वस्थकर । सडक उस्तै सफा । चौबीसै घन्टा बिजुली सुविधा । हावापानी उत्तिकै स्वस्थकर । यावत् सुविधाको लोभमा उनीहरू बेलायत बसिरहेका होलान् । ९९ प्रतिशत अवकाशप्राप्त गोर्खाली 'सुक्युरिटी गार्ड'का रूपमा कार्यरत छन् । लेखपढ गर्न नजान्ने आमा-क्षामाहरू भने कोठामै बस्छन् ।
साहित्यिक गतिविधि
      बेलायतमा अहिले नेपाली साहित्यिक माहोल दमदार रूपमा जम्दै गएको छ । सक्रिय रूपमा क्रियाशील संघ-संस्था मात्रै आधा दर्जन बढी छन् । त्यसमा अग्रपंक्तिमा नेपाली प्रतिभा प्रतिष्ठान रहेको छ । म त्यसको संस्थापक सदस्य पनि हुँ । त्यसले सालिन्दा नेपालका स्रष्टालाई सम्मान र पुरस्कार दिने गर्छ । यसपटक प्रतिभा सम्मान डा. गोविन्दराज भट्टराई र प्रतिभा पुरस्कार मोमिलालाई दिइएको थियो ।
      यसैगरी, अन्तर्राष्ट्रिय साहित्य समाजको सञ्जाल संसारभरि विस्तार हुँदै छ । त्यसमा बेलायत पनि अछुतो छैन । अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत च्पाप्टर पनि क्रियाशील छ । खगेन्द्र नेपाली दाइले नेतृत्व गरेको नेपाली साहित्य परिषद् बेलायत पनि अत्यन्त जुझारुसाथ अगाडि आएको छ । जसले बेलायतमा नेपाली भाषासम्बन्धी विचार गोष्ठी, नेपाली स्रष्टासम्बन्धी अन्तक्रिर्या गर्दै आएको छ ।
      अन्य संघ-संस्था पनि जुझारु रूपमा लागिपरेका छन् । साथै, बेलायतमा साहित्यिक जयन्ती मनाउने गरिन्छ । जुन कामले बेलायतमा सुषुप्त रहेको साहित्यिक माहोललाई सधैं झकझकाइरहन्छ ।
      मेरो नितान्त व्यक्तिगत धारणा छ- नेपाली साहित्यबाट 'डायस्पोरा' अलग पार्ने हो भने नेपाली साहित्य पूर्ण हुँदैन । नेपालीहरूको सबैभन्दा ठूलो संख्या त्यसमा पनि युवा पुस्ता नेपालबाहिर रहेर श्रम गरिरहेका
छन् । उनीहरूको अनुभूति, उनीहरूको कथा, उनीहरूको जिन्दगी नै अबको मूलधारको नेपाली साहित्य हो । किनभने हिजो मायापिरतीका कुरा जति लेखिए-लेखिए अब पनि त्यही चौतारा, देउराली, धारा, पानीको कथा लेखेर नयाँ कुरा आउँदैन । 'नयाँ कुरा आउन नेपालबाहिर पुगेर लेख्नुपर्‍यो,' अन्तर्राष्ट्रिय साहित्य समाजको उपाध्यक्षका हैसियतले म यसो भन्दै छु ।
      अब अरब पुगेका नेपाली दाजुभाइले नयाँ कुरा ल्याउँछन् । यसैगरी, बेलायती सेनामा कार्यरत गोर्खा सैनिकले केही नयाँ कुरा ल्याउँछन् । अथवा अमेरिकाजस्तो सुविधासम्पन्न ठाउँमा बसेर केही सफलता हासिल गरेका मानिसले नयाँ कुरा बोकेर आउँछन् ।
      नेपाली साहित्यका केही मानिसले (डायस्पोरा) लाई सकारात्मक रूपमा हेरेका छन् । केहीले चाहिँ ईष्र्याले हेर्न छाडेका छैनन् । कसैले यसको गरिमा र महत्व बुझेर पनि बुझ पचाएका छन् । उनीहरूले सानो ठाउँ दिन पनि अप्ठ्यारो मानिरहेका छन् । तर, केचाहिँ राम्रो काम सुरुवात भएको छ भने कम्तीमा डायस्पोरामा पनि साहित्य बुझ्ने मानिस छन् । साहित्य बुझेर लेख्न जमात छ भन्ने प्रभाव नेपाली मूलधारको साहित्यमा देखापरेको छ । मतलब 'डायस्पोरा'ले पनि नेपाली साहित्यमाथि हस्तक्षेप गर्दै गएको छ ।
     यदि नेपाली मूलधारको साहित्यले आफ्नो चिन्तन र शैली परिवर्तन नगर्ने हो भने नेपाली साहित्यको सम्पूर्ण नेतृत्व हामी (नेपालबाहिर बसेका) ले गर्ने छौं । 'डायोस्पोरा' मा पनि त्यत्तिकै प्राज्ञिक व्यक्तित्व जन्मदै छन् । नेपाली साहित्य नेतृत्व गर्न सक्षम मानिस नेपालबाहिर पनि छन् । र, अबको दस वर्षपछि त्यत्तिकै उत्कृष्ट कृति पनि आउँदै छन् ।
     नेपाली साहित्यलाई गाली गर्नु र दोष दिनुभन्दा नेपाली साहित्यले नेपालबाहिर आएको हलचललाई आत्मसात् गर्नुपर्छ । महत्व दिनुपर्छ । अनि नेपालबाहिर रहेकाले पनि नेपाली साहित्यको श्रीवृद्धिमा हरसम्भव प्रयत्नरत रहनुपर्‍यो ।
    अन्तर्राष्ट्रिय साहित्य समाज र नेपाली प्रतिभा प्रतिष्ठानको मिसन नै छ-  स्थानीय (बेलयायत) स्तरमा पठनपाठनका लागि नेपाली भाषालाई ऐच्छिक विषयका रूपमा स्थापित गराउने । हामी पहिलो नभएर पछिल्लो पुस्तासाग चिन्तित छौं । किनकि उनीहरूले भोलि नेपाली भाषा नै बोल्न जानेनन् भने ठूलो अभिसाप हुनेछ । बेलायतका केही विद्यायलमा नेपाली भाषा पढाइ भइरहेको छ भने लन्डन विश्वविद्यालयमा समेत स्नातकोत्तरसम्म नेपाली विषय पढाइ हुन्छ ।
सामाजिक संघ-संस्था
     बेलायतमा चाहिनेभन्दा बढी सामाजिक संघ-संस्था स्थापित छन् । तर, राम्रो कुरा उनीहरूमा भ्रातृत्व सम्बन्ध छ । उनीहरूले केही न केही सिर्जनशील काम गरिरहेका छन् । जस्तो, उनीहरूले गाउँको विकासका लागि आर्थिक सहयोग पठाउने गर्छन् । मर्दापर्दा भेला हुने परम्परा नै बसेको छ । विभिन्न जातीय उत्सवमा भेला भएर दुःख-सुख बाँड्ने, आत्मीयता साट्ने क्रम जारी छ ।
    संसारमा मानवीय संवेदना सबैभन्दा ठूलो कुरा हो । त्यो मर्दै गएको छ । यस्तो बेला परदेशमा बसेर दुःख-सुख साट्नु भनेको भावनात्मक सम्बन्ध सुढृढ गर्न खोज्नु खुसीको कुरा हो । त्यो काम यहाँका सामाजिक संघ-संस्थाले गर्दै आएका छन् ।
अनि, राजनीति
    बेलायतमा रहेका गोर्खालीसमेत विभिन्न राजनीतिक दलसम्बद्ध छन् । यहाँ नेपालका विभिन्न राजनीतिक दलका आंगिक संगठन बनेका छन् । हालै, नवगठित संघीय समाजवादी पार्टीको आंगिक संगठनसमेत बनेकोे छ ।
    बेलायतमा रहेका विभिन्न दलसम्बद्ध सबैको सामूहिक भनाइ के हो भने हाम्रो नेता अनिर्णयका बन्दी मात्रै बनेनन् देश र जनताको सामूहिक स्वार्थलाई बेवास्ता गरिरहेका छन् । खालि दलीय स्वार्थको दलदलमा फसेका छन् ।